रवि लामिछानेको आवेशका अभिव्यक्ति मात्र हाे कि पत्रकारिताको मखुन्डो खोलिदिएका हुन् ?

रवि लामिछानेको आवेशका अभिव्यक्ति मात्र हाे कि पत्रकारिताको मखुन्डो खोलिदिएका हुन् ?

पूर्ण ओली  |  दृष्टिकोण  |  फाल्गुन १, २०७९

 रवि लामिछानेको नागरिकता बिषय र उनको आफ्नो संसद पद, मन्त्री पद सबै अत्यन्त छोटो समयमा समाप्त भयो । समाप्त भएपछि रविले गरेको पत्रकार सम्मेलनले धेरै कुरा बाहिर ल्याएको मात्र होइन पुरै देशलाई दुई भागमा विभाजित गरिदिएको छ ।

उनल आबेशमा आएर केहि कुराहरु उठाए पनि ती सबै विषयहरु अत्यन्त महत्वपूर्ण र सम्बन्धित विज्ञहरुले गहिरिएर बुझ्न आबश्यक विषय पनि उठाएका  छन् । यस बिषयलाई वादविवाद बनाइनु भन्दा पनि गहन रुपमा अध्ययन, अनुसन्धान र छानबीन हुन सके भविष्यमा पत्रकारिताको छवि सुधार्न सहयोग पुग्ने नै देखिन्छ ।

कतिपय बिकसित देशमा बसेका नेपालीहरु त्यहाँको सुबिधा र सहुलियतको कारण हतपत स्वदेश फर्कन चाहँदैनन् । खासगरी ग्रीन कार्ड, पीआर तथा सिटिजन सिप लिइसकेका मानिसहरु नेपाल फर्केर देशका लागि केहि गरुँ भन्ने मानिसहरु पाउन गाह्रो छ ।

तर बिदेशमा बसेका नेपालीको नेपालप्रति अत्यन्त माया र श्रद्धा छ । उनीहरु हरबखत नेपालको बिषयमा कुरा गरिरहेको पाइन्छ । नेपालमा सबैतिर राजनीतिकरण भयो, भ्रष्टाचार भयो भनेर चिन्ता गरेको प्रशस्तै भेटेको छु मैले ।

तर रविले आफ्ना सबै सुबिधा त्यागेर  आफ्नै मातृभूमिमा  केहि गर्छु भन्ने दृढ संकल्प गरेर फर्केको दावी गरेका छन्   रविले नेपाल फर्केर सुरुमा राजनीति नगरी  नेपाली जनताको लागि न्युज च्यानल मार्फत धेरै राम्रा काम गरे ।  भ्रष्टाचार बिरुद्ध पनि निडर भएर आवाज उठाए ।  छोटो समयमा उनी स्वदेश देखि बिदेश सम्मका अत्यधिक नेपालीका मन मनमा बस्न सफल भएको कुरालाई नकार्न सकिन्न  । त्यहि भएर उनलाई देशको नीति निर्माता तहमा पुगेर  केहि गर्न सक्छु कि भन्ने आसा पलायो र राजनीतिमा हाम फाले । 

पत्रकार सम्मेलन मार्फत रविले नङ्याएका केहि पत्रकार र ठुला मिडियाप्रति लगाएको लान्छनालाई सतही रुपमा लिने कि अध्ययन पनि गर्ने ? हामी सर्वसाधरण नेपाली जनताको ध्यान सिर्फ नेपाल र नेपाली जनताको बिकास होस । हाम्रा युवाहरु स्वदेशमै बसेर केहि रोजगार हुन् । शिक्षाको गुणस्तर बढोस्, हाम्रो दुर्गम गाउँमा औषधि उपचार नपाएर गरिब जनता अकालमा न मरुन । हाम्रा कृषकका उत्पादनले राम्रो मुल्य र बजार पाओस् ।  हामी स्वाभिमानी पूर्वक स्वदेशमा बस्न पाउँ भन्ने मात्र चाहना गर्छौ ।

तर दलका नेता कसरी हुन्छ सत्तामा गएर  विदेशीको चाकडी गरेर भएपनि  हालीमुहाली गर्ने मात्र ध्याउन्न भएका देखिने गरेका छन् । अनि यीनै भ्रष्ट र सत्ता लिप्सा भएका नेताका पछि लाग्ने हाम्रा केहि पत्रकार सिर्फ नेतालाई फकाएर हुन्छ कि तर्साएर हुन्छ उनीहरुबाट फाइदा लिने धेरै देखिने गरेको विषयलाई नजरअन्दाज गर्न मिल्छ र ? कुन नेता र कर्मचारीलाई  माथि चढाउने कसलाई तल झार्नेमा नै उनीहरुको संचार माध्यमहरु दुरुपयोग भएको समेत रवि लामिछानेले आरोप लगाएका छन् । 

अब यस्ता बिषयमा पन्छिने भन्दा पत्रकार संघ, संगठन, परिषद तथा चौतारी आदिले तथ्य छानबीन गरि पत्रिकाको गरिमा बढाउने प्रयास गर्न जरुरी छ । खालि रवि लामिछाने उठाएका कुरालाई आवेशको अभिव्यक्ति भनेर ढाकछोप गर्ने हो भने महाभूल हुने छ ।

दलका भातृसंगठन जस्ता केही पत्रकारले आफ्नो दलको चढाइ बढाइ गर्नु र अर्को दलको बद्खुंवाइ गर्नु मात्र पत्रकारिता होइन ?  कुनै मानिस मन नपरेपछि त्यसको पछि लागेर खेदो गर्ने गरिएको  कुरा रविले हिम्मत साथ बाहिर ल्याए । तर  जुन सन्दर्भमा र अवस्थामा ल्याउन हुने कि नहुने त्यो अलग कुरा हो । 

त्यहि भएर यी स्वदेशमा एकलौटी राज गरेर बसेका पत्रकारिता चलाउने मिडिया हाउसलाई रविले गरेका कतिपय कार्य नपच्नु स्वभाविक हो ।

परिणामस्वरुप उनीमाथि केहि पत्रकारको एकोहोरो हमलाको कारणले अदालतले यति छिटो निर्णय गर्न बाध्य भएको र उनका सबै पद गएकोमा  भन्ने रविको आवेशको अभिव्यक्ति थियो त्यो । त्यहि भएर उनले पत्रकार भेला गरेर आक्रोस पोखे ।   त्यसमा उनको मन्त्री पद गएको रिस पनि थियो जुन कुरा स्वयं उनले नै स्विकारेका छन् । जे भएपनि पत्रकारको नाममा भएका केहि तथ्यलाई बाहिर ल्याएका भने अवश्य स्विकार गर्नु पर्दछ ।  

रविले पोलेका १२ भाइ भनिएका मिडिया कर्मी सबैलाई मैले प्रत्यक्ष आक्षेप लगाउन नसकिए पनि  तर केहि मिडियाहरू प्रष्टरुपमा ब्यक्तिको बिरुद्ध उत्रेको सबैलाई जग जाहेर भएको विषय हो । रविले जुन कुरा बोल्न आँट गरे यसले गर्दा ठुला मिडिया भनिनेहरूको असली मखुन्डो खोलिएको दाबी गर्नेहरुको पनि कमी छैन । रवि लामिछानेका आवेशका अभिव्यक्ति मात्र हाे कि पत्रकारिताको मखुन्डो खोलिदिएका हुन् ? भन्ने प्रश्न उठिरहेको छ । 

कुनै ठुला पत्रिकाले भारतको बिरुद्ध कुनै सानो बिषय भएमा त्यसलाई नछाप्न , अमेरिकाको बिरुद्ध लेख्ने आँट नगर्ने किनकि उनीहरुलाई अमेरिका छिर्ने अवसर जान सक्ने डर हुन्छ । अहिले एक महिनामा ४/५ टोलि अमेरिकनको टिम नेपाल आइरहेका छन् । यिनीहरु किन नेपालमा लगातार आइरहन्छन् ? उनीहरुको नियत के हो ? धेरै नेपालीले बुझ्दैनन् र बुझ्ने कुरा पनि होइन ।  

एमसीसी पास गर्ने बेलामा पनि यस्तै टिम लगातार आइरहन्थे । त्यसको काउण्टरमा चीनबाट पनि केहि टिमहरु आएका छन् । भारतको त कुरै भएन त्यहाँबाट देखिने गरि नआए पनि कतिपय नेपाल भित्रका एजेण्ट मार्फत काम गरिरहेका हुन्छन् । यस्ता संवेदनशिल बिषयमा यी १२ भाइ भनिने पत्रकारले लेख्ने र बोल्ने आँट गर्दैनन् । यिनीहरु कसैले पनि दिल्लीमा भएको १२ बुँदेको सहमतिको बिरोध गर्ने आँट गर्दैनन् । शायद उतैबाट तलब भत्ता प्राप्त हुने गरेकाे आरोप विगत लामो समयदेखि लाग्दै आएको छ । 

केहि अगाडि पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरको खोइरो खन्न लाग्ने ठुला मिडिया मध्येको एउटा संचार माध्यमले यति सम्म लेख्यो कि चोलेन्द्र शम्शेरलाई हटाए मात्र अदालत सहि ढंगले अगाडी बढ्न सक्छ ! तर जब उनीलाई महाअभियोग लगाएर कुनै कारबाही पनि अघि नबढाइ अवकास भए, त्यसपछि ती मिडिया हाउसको मुखमा ताला लागेको छ । अर्थात् उनीहरुको उद्देश्य पुरा भएको छ ।

न्यायालय सुधारमा न उनीहरुको हिजो ध्यान गएको छ न आज नै । चोलेन्द्र शम्शेर राम्रो न्यायाधीश होइनन् तर उनलाई आक्षेप लाउने बरिष्ठ अधिवक्ताको बारेमा ती मिडियाले कहिले पनि खोजतलास गरेनन् । त्यतिखेर भनिन्थ्यो चोलेन्द्रले ललिता निवास काण्डका प्रमुख ब्यक्ति जसलाई एमालेले दलबाट निस्कासन गरेर पनि उनको सांसद पद यथावत थियो,  उनको पद जाने गरी अदालतको फैसला आउँदै थियो भन्ने खवर बाहिर आएको थियो ।

त्यसपछि छिटो गरि चोलेन्द्रलाई महाअभियोग लगाइयो । यसमा नेता र मिडियाका बिग हाउसको मिलीभगत नै थियो होइन र ? यस्ता बिषयमा चलखेल हुँदा किन ती मिडियाहरू निश्पक्ष  भएर  बोल्न र लेख्न  सक्दैनन् ? कुनै पत्रकारहरु ठुला योजना, ठुला ब्यापारी, तस्करलाई तर्साएर पैसा असुल्ने गर्छन भनेर पनि बाहिर चर्चामा आइरहेका विषय हुन । 

 अब यस्ता बिषयमा पन्छिने भन्दा पत्रकार संघ, संगठन, परिषद तथा चौतारी आदिले तथ्य छानबीन गरि पत्रिकाको गरिमा बढाउने प्रयास गर्न जरुरी छ । खालि रवि लामिछाने उठाएका कुरालाई आवेशको अभिव्यक्ति भनेर ढाकछोप गर्ने हो भने महाभूल हुने छ । उनले बोलेका कुरा अहिले स्वतन्त्र दलका अध्यक्षको बिरोध मात्र गरिरहने हो भने नेता मात्र होइन पत्रकार पनि नेपाली जनताको तारो बन्ने  स्थिति आउन सक्छ । 



चाबहिल सरस्वतीनगर, काठमाण्डौ 
२०७९ माघ २८