शोक दिवस कि प्रणय दिवस ? भ्रम र वास्तविक्ताको कसीमा ‘भ्यालेन्टाइन डे’

शोक दिवस कि प्रणय दिवस ? भ्रम र वास्तविक्ताको कसीमा  ‘भ्यालेन्टाइन डे’

राजबाबु श्रेष्ठ 'सागर'  |  दृष्टिकोण  |  फाल्गुन २, २०७९

भन्न त भनिन्छ: फेब्रुअरी १४ प्रेम गर्नेहरूका लागि विश्वकै विशेष शुभ दिन अर्थात् प्रणय दिवस ‘भ्यालेन्टाइन डे’ हो भनेर । भ्यालेन्टाइन डे, जसलाई सेन्ट भ्यालेन्टाइन दिवस अथवा विशेष गरी यसलाई ‘सेन्ट भ्यालेन्टाइन’ पर्व पनि भन्ने गरिन्छ पश्चिमतिर ।

अझै भन्ने हो भने, यो वास्तवमा ‘वेस्टर्न क्रिश्चियन भोज’को रूपमा सुरु भएको थियो । तर यो कुनै शुभ अथवा खुसीको दिन नभएर वास्तवमा भन्नुपर्दा, यो निकै कहालीलाग्दो दिन अथवा शिर छेदन गरी ‘सेन्ट भ्यालेन्टाइन ’लाई मारिएको यो कालो शोकको दिन थियो । 

त्यति मात्रै होइन, अर्को थरी तर्क गर्नेहरू नभएका पनि होइनन् हाम्रो देशमा, प्रशस्तै छन्  र भन्ने पनि गर्छन्–'यो पश्चिमा संस्कृति हो । आयातित संस्कृति हो ।'  मात्रै यसलाई प्रेम अथवा हेयको दृष्टिकोणले लिएका छन् तर ‘सेन्ट भ्यालेन्टाइन’को महात्याग, बलिदान र फेब्रुअरी १४ मा शहीद हुनुको विषयमा भने मानिसहरू धेरैले ध्यानै दिएका छैनन् र कमैले मात्रै जानकारी राखेका छन् भन्छु म त । 

प्रेम गर्नलाई किन पश्चिमी र पूर्वी ? म त भन्छु, असल विचार र दर्शनलाई हामीले जोकोहीका हुन् सहर्ष स्वीकार्नु पर्छ । देश र भूगोललाई लिएर किन विभेद ? के हामीले कृष्णलाई स्वीकारेका छैनौँ र ? के हामीले बुद्धलाई स्वीकारेका छैनौँ र रु के हामीले जेसस् क्रास्ट अ. र मोहम्मद स. ओ. स.लाई स्वीकारेका छैनौँ र ?
प्रेम एउटा विशाल पृथ्वी र खुला आकाश पनि त हुन् 

तर प्रेम गर्नेहरू र प्रेमलाई प्रशंसा गर्नेहरू भन्छन् – 'प्रेमको कुनै देश हुँदैन । प्रेमको कुनै भूगोल हुँदैन । प्रेमको कुनै सीमा हुँदैन । प्रेमको कुनै जात र धर्म हुँदैन । प्रेम आफैँमा विशाल पृथ्वी र एउटा खुला आकाश हुन् ।'

हुन पनि यो एक अर्थमा ध्रुवसत्य पनि हो । प्रेम गर्नलाई कस्ले रोकेको छ र ? विवाह गर्नलाई कस्ले छेकेको छ र ? के प्रेम गर्नलाई र विवाह गर्नलाई ‘भ्यालेन्टाइन डे’ नै कुर्नुपर्छ र ?, पर्दै पर्दैन । युवायुवतीले प्रेम जहिले पनि गरिरहेका छन् र भैरहेका नै हुन्छन् । के प्रेम रोकेर रोकिने कुरा हो र ? वास्तविक भन्नुपर्दा, जन्मदै हामीले मुटुभित्र त्यो अदृश्य अनुभूति लिएर आएका हुन्छौँ । हामी मानिसमा मात्रै हुने होइन प्रेम र भावना, जिउँदा रहेका र मुटु हुने हरेक प्राणीमा त्यो यथावत् छन् । 

यसलाई कसैले पनि नकार्न सक्दैनन् । पृथ्वीमा बसोबास गर्ने जति पनि मानिसहरू छन् ती सबै मानिसहरू विभिन्न जातजाति, भाषाभाषी, सम्प्रदाय र संस्कृति र धर्मभित्रका रहेका छन् । र तिनीहरू सबैका छानो एउटै आकाश हुन् र प्रकाश सबैले एउटै सूर्यबाट नै प्राप्त गर्छन् र पानी पनि एउटै पृथ्वीबाट प्राप्त गर्छन् । 

त्यति मात्रै कहाँ हो र ? अक्सिजन सम्म पनि सबैले एउटै प्राप्त गर्छन् । यहाँ कुनै जातजाति, धर्म, सम्प्रदाय र संस्कृतिलाई अलग-अलग भूगोल, आकाश, प्रकाश, पानी र अक्सिजन भनेर छुट्याएका छैनन् र त्यो छुट्याउन कसैका वशमा पनि छैनन् भन्छु म । 

यदि, यी सबै चीजहरूलाई भगवान् स्वयम् अथवा प्रकृतिले छुट्याएका छैनन् भने, को हौँ हामी जातजाति र धर्म संस्कृति छुट्याउने ? को हौँ हामी, प्रेम र विवाह जातजाति र धर्म संस्कृतिभित्रै हुनुपर्छ भनेर वाध्यताको पहाड खडा गर्ने ?  । तर पनि छुट्टिँदा रहेछन् देश र भूगोल । छुट्टिँदा  रहेछन् जात, धर्म संस्कृति र भाषाहरू । छुट्टिनु पर्दा रहेछन् प्रेम गर्ने जोडीहरू पनि । मर्नु पर्दा रहेछन् बाँच्ने रहर हुँदाहुँदै जिउँदै जिन्दगी पनि ।  

एकथरी ‘भ्यालेन्टाइन डे’ मनाउनु हुन्न भन्नेहरू पनि छन् । 

हुन त केही नेपालीहरू हाम्रो आफ्नै संस्कृतिमा पनि प्रणय दिवस भएको र त्यो कृष्ण अष्टमी हो भन्नेमा जोड् दिने पनि छन् । त्यसैले, अर्काको संस्कृति अनुसार प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ मनाउन नहुने भनेर तर्क पेस गर्न पनि पछि नपरेका कहाँ हुन् र रु त्यसो त नेवारहरूमा पनि परापूर्व कालदेखि नै प्रेम दिवसको रूपमा ‘मतिना पारू’ भन्ने पर्वको चलन चल्दै आएको देखिन्छ । तर हालमा आएर भने यो पर्व लोप भएको देखिन्छ । तर म भन्छु, प्रणय दिवस र सेन्ट भ्यालेन्टाइन दिवसमा नितान्त फरक छन् जसरी पूर्व र पश्चिमको दिशामा फरक छन् । 

जब ‘सेन्ट भ्यालेन्टाइन’लाई शिर छेदन गरी हत्या गर्नू भनी आदेश भयो सम्राट्  क्लाउडियस् दोस्रोबाट । उनी एस्टेरियसको छोरीलाई भित्रैदेखि माया गर्थे । तब मारिनुभन्दा अघि उनले आफ्नो नोट बूकमा एस्टेरियसको दृष्टिविहीन  छोरीको नाउँमा एउटा चिठ्ठी लेखे । र त्यो चिठ्ठीभित्र लेखिएको थियो, ‘प्रेम र रोमान्सलाई प्रेरित गर्न कहिल्यै नछाड्नु ।’ र चिठ्ठीको मुनि ‘फ्रम यौर भ्यालेन्टाइन ।’ लेखी हस्ताक्षर गरेर यो चिठ्ठी 'तिम्रो छोरीलाई दिनू' भनी एस्टेरियसको हातमा थमाएका थिए ।

तर पनि ‘भ्यालेन्टाइन डे’ले नेपाली समाजमा पनि निकै गहिरो जरा गाड्दै गइरहेको अवस्था भने छ । १४ फेब्रुवरीका दिन मनाइने यो दिवसमा विशेष गरी प्रेम प्रस्ताव राख्ने र जीवनसाथी रोज्ने एक प्रथा अथवा भनूँ, एक माया र प्रेमका खुसी मनाउने संस्कृतिकै रूपमा स्थापित नै भैसकेका छन् । 

त्यति मात्रै कहाँ हो र ? कालान्तरमा आएर ‘भ्यालेन्टाइन डे’ मात्रै होइन, ‘भ्यालेन्टाइन डे’ एक हप्ताअघिदेखि नै मानिसहरूले रोज डे, प्रपोज डे, चकलेट डे, टेडी डे, प्रोमिस डे, हग डे र किस् डेसँगै अन्त्यमा फेब्रुअरी १४ मा ‘भ्यालेन्टाइन डे’ मनाउने गर्छन् । ‘भ्यालेन्टाइन डे’ विशेष गरी इटालिएन देशको रोम शहरबाट सुरु भएको हो भन्ने ऐतिहासिक मान्यता छ ।

‘भ्यालेन्टाइन डे’ तेस्रो शताब्दीको अन्त्यतिर रोमका नागरिक क्याथोलिक पादरी सेन्ट भ्यालेन्टाइनको शिर छेदन गरी मारिएको दिन उनैको सम्झनामा, उत्सर्ग र विवाह गर्नुपर्छ र प्रेम गर्नुपर्छ भन्ने ‘क्लाउडियस दोश्रो’को विरुद्ध क्रान्ति गर्ने प्रेम संरक्षक र  प्रेम क्रान्तिकारी शहीद भएकोमा स्मृति दिवस सन् २६९ फेब्रुअरी १४ मा उनी शहीद हुनुको सम्मानको रूपमा मनाइएको हो भन्ने कुरामा कसैले नकार्न सक्दैनन् ।  

यो खासमा प्रणय दिवस अथवा ‘भ्यालेन्टाइन डे’ नभएर वास्तविक प्रेम गर्ने र विवाह गर्नेहरूका लागि ढाल अथवा पर्खाल भएर सम्राट ‘क्लाउडियस दोस्रो’को विरुद्ध उभिने एक वीर योद्धा शहीद भएकोमा उनको मृत्युको दिनलाई सम्मानका साथ सम्झिने वास्तविक स्मृति दिवस हो । यथार्थमा भन्नुपर्दा, यो रोमान्स गर्ने प्रणय दिवस हुँदै होइन भन्छु म । तर उनको सम्झनामा गरिएको हुँदा, यहाँ कुनै र कसैलाई केही हानिनोक्सानी भने पक्कै हुनेछैन यत्ति भन्छु म । 

तर यहाँ मानिसहरू ‘भ्यालेन्टाइन डे’लाई प्रणय दिवस अथवा एउटा प्रेम रोमान्सको रूपमा मनाउने गरिरहेका छन् । वास्तविक भन्नुपर्दा, यो कुनै प्रणय दिवस अथवा प्रेम रोमान्स नभएर मात्रै ‘भ्यालेन्टाइन् डे’ दिवस अर्थात् ‘भ्यालेन्टाइन् स्मृति’ मृत्युको दुःखद शोक दिवस हो । हामीले बुझ्नुपर्ने खास यत्ति मात्रै हो भन्छु म ।  

प्रणय दिवस अथवा ‘भ्यालेन्टाइन डे’को इतिहास 

के हो प्रणय दिवस अथवा भ्यालेन्टाइन डे रु भनेर यस बारेमा हामीले जान्नको लागि सर्वप्रथम त क्लाउडियस द्वितीय र ‘सेन्ट भ्यालेन्टाइन’को हुन् भनेर बुझ्नुपर्ने हुन्छ । अझै थप जान्नको लागि हामीले आयर्ल्याण्डको डब्लिनमा रहेको ह्वाइट्फ्रियर्स स्ट्रीट् चर्चका फादर  फ्रान्क ओगाराले सेन्ट भ्यालेन्टाइनको बारेमा लेखेका वास्तविक दर्दनाक कथा पढ्नुपर्ने हुन्छ । 

न. १ को हुन् त यिनी क्लाउडियस ?

क्लाउडियसको पूरा नाम भने मार्कस ओरेलियस क्लाउडियस ‘गोथीकस’ हुन् । जसलाई क्लाउडियस् दोस्रो (२) पनि भन्ने गरिन्छ । उनको जन्म सन् ‘२१४ दस मे’ मा भएका थिए । उनी रोमका तेस्रो शताब्दीको अन्त्यतीरका सम्राट थिए । जसले रोममा सन् २६८ देखि लिएर सन् २७० सम्म मात्रै दुई वर्ष शासन गरे । 

उनले आफ्नो शासनकालमा अलेमान्नी विरुद्ध लडाइँ लडे र नाइससको गोथ्सलाई इमान्दारी रूपमा पराजित गरेका थिए । साइप्रियनको प्लेग रोगले साम्राज्यका प्रान्तहरूलाई तहसनहस पारेपछि त्यही प्लेग महामारीको शिकार भएपछि उनको मृत्यु सन् २७० जनवरीमा करिब छपन्न वर्षको आयुमा भएका थिए । 
 

न. २ को हुन् त यिनी सेन्ट भ्यालेन्टाइन ? 

‘सेन्ट भ्यालेन्टाइन’को जन्म सन् २२६ इटालियनको टेर्नी शहरमा भएको थियो भने मृत्यु सन् २६९ फेब्रुअरी १४ मा इटालियनको राजधानी रोममा भएको थियो । 

ह्वाइट्फ्रियर्स स्ट्रीट् चर्चका फादर फ्रान्क ओगाराले आफ्ना कथामा लेखेका छन् – 'उनी एक समयमा क्याथोलिक चर्चका पुजारी अथवा पादरी (फादर) थिए । त्यसै समयमा ‘क्लाउडियस् दोस्रो’ पनि शासनकालमा थिए । उनले त्यस समय चर्च र चर्चका पादरीहरूलाई  निकै दुःख दिने गर्थे ।'

उनले लेखेका छन् – 'सम्राट् ‘क्लाउडियस् दोस्रो’को मान्यता थियो । अविवाहित पुरुषहरू विवाहित पुरुषहरूभन्दा अझै राम्ररी लडाइँ लड्न सक्छन् किनकि, विवाहित सिपाहीहरू सोच्न थाल्छन्, 'उनीहरूको मृत्य भयो भने घर-परिवार र बाआमा भन्दा श्रीमतीको बारेमा बढी चिन्ता गर्न थाल्छन् र उनीहरूका कुरा सुन्न थाल्छन् । यही पीरले सैनिकहरू राम्ररी लडाइँ लड्न सक्दैनन् । त्यसैले उनले युवा तथा सैनिकहरूलाई विवाह गर्नबाट रोक लगाउने आदेश जारी गरेका थिए । 

तर सम्राटको यो आदेश ‘सेन्ट भ्यालेन्टाइन’ लाई मन पर्दै परेन उनी सम्राटको विरुद्ध युवा र सैनिकहरूलाई विवाह र प्रेम गर्ने कार्यमा उक्साउन थाले । र उनको कुरामा सहमतिमा आउने युवा तथा सैनिकहरूलाई चर्चमा गोप्य रूपमा विवाह गराउने कार्यमा जुटे । उनले जे गरेका थिए त्यो राम्रै गरेका थिए । त्यो प्रकृतिको नियमको हिसाबले पनि सही नै थियो उनको अभियान भन्ने लाग्छ मलाई । 

म वैदिक धर्ममा पनि देख्छु । कोही जोगी बनेको, कोही सन्न्यासी त कोही ऋषिमुनिहरू बनेका छन् । कोही विवाह पश्चात पनि समाज, जीवन र र परिवारदेखि बिरक्तिएर जोगी, फकिर, सन्न्यासी, ऋषिमुनि र तपस्वी बनेका जिउँदा उदाहरणहरू तपाईँ हामीले नदेखेका भने पक्कै होइनौं । आफू कुमारै रहेर पनि तपस्वी बन्ने धेरै उदाहरणहरू हामी देखिरहेका छौँ । 

तर इस्लाममा भने त्यस्तो इजाजत छैनन् । हदिसमा मैले पढेको छु, -'कुनै पुरुष बूढो भएर पनि अथवा आफूलाई एक वर्ष बाँच्छु जस्तो लाग्छ भने र आफू एक्लै छ भने त्यो उमेरमा पनि यदि कुनै पुरुष बिधुवालाई अर्धाङ्गिनीको अधिकार दिई मर्छ भने त्योजस्तो पुण्य अरू केहीमा हुँदैनन्'  भनेर लेखिएको छ । अर्थात् मर्दासम्म पनि साथ-सहयोग र जोडीमा रहनू भन्ने आदेश छ । किमार्थ पनि कुनै पुरुष अथवा स्त्रीलाई विवाह नगरी एक्लै नरहनु भन्ने धार्मिक आदेश छ । 

तसर्थ उनले सम्राटको आदेश तोडेको आरोपमा युवा र सैनिकहरूलाई चर्चभित्रै विवाह गर्न र प्रेम गर्न उक्साउने उनै पादरी ‘सेन्ट भ्यालेन्टाइन’लाई बन्दी बनाइयो र कडा याताना दिइयो । यातना पनि तीन किसिमका यातना घोषणा गरियो । न। १, चरम यातना दिएर कुट्पिट् गर्ने । न. २, ढुङ्गै ढुङ्गाले हानी चरम यातना दिने र न.३, अन्त्यमा घाँटी रेटेर शिर छेदन गरी हत्या गर्ने ।

त्यतिबेला रोमी कानुनी अनुसार उनलाई न्याय गर्ने पुरुषहरूमध्ये एक एस्टेरियस भनिने व्यक्ति थिए जसको छोरी अन्धी थिइन् । उनले प्रार्थना गरिदिएका थिए र छोरीलाई आश्चर्यजनक पाराले बिरामी निको भएको कारण एस्टेरियस् स्वयम् आफैँ ‘सेन्ट भ्यालेन्टाइन’सँग प्रभावित भएर परिणामको रूपमा उनी क्रिश्चियन बने । 

जब ‘सेन्ट भ्यालेन्टाइन’लाई शिर छेदन गरी हत्या गर्नू भनी आदेश भयो सम्राट्  क्लाउडियस् दोस्रोबाट । उनी एस्टेरियसको छोरीलाई भित्रैदेखि माया गर्थे । तब मारिनुभन्दा अघि उनले आफ्नो नोटबूकमा एस्टेरियसको दृष्टिविहीन  छोरीको नाउँमा एउटा चिठ्ठी लेखे । र त्यो चिठ्ठीभित्र लेखिएको थियो, ‘प्रेम र रोमान्सलाई प्रेरित गर्न कहिल्यै नछाड्नु ।’ र चिठ्ठीको मुनि ‘फ्रम यौर भ्यालेन्टाइन ।’ लेखी हस्ताक्षर गरेर यो चिठ्ठी 'तिम्रो छोरीलाई दिनू' भनी एस्टेरियसको हातमा थमाएका थिए ।

भन्न त भनिन्छ, चिठ्ठी हातमा थमाएपछि भनेका थिए, 'म मरेपछि मेरा आँखाहरू तिम्रो छोरीलाई दान गर्नू जुन आँखाले उसले संसार हेर्न सकून् ।'  तर यो भनाइ र लेखाइ म फ्रान्क ओगाराले लेखेका कथामा पाउँदिनँ । तर ‘सेन्ट भ्यालेन्टाइनले प्रेम गरेका थिए भन्ने कुरा चाहिँ उनले लेखेको चिठ्ठीबाट पनि पुष्टि हुनजान्छ । 

सम्राट क्लाउडियस दोस्रोको आदेशआनुसार सन् २६९ को १४ फेब्रुअरीमा सेन्ट भ्यालेन्टाइनलाई शिर छेदन गरी हत्या गरियो । यहि दिनलाई सेन्ट भ्यालेन्टाइनको स्मृति दिवसको रूपमा संसारभरि नै मानिसहरूले भ्यालेन्टाइनन डे अर्थात् प्रणय दिवसको रूपमा मनाउन सुरु गरे । 

भ्यालेन्टाइन डे कसरी संसारभरि लोकप्रिय बन्दै गयो त ?
यो भ्यालेन्टाइनलाई सम्झिने स्मृति दिवस १४ औँ र १५ औँ शताब्दीमा आएर रोमान्टिक प्रेम प्रसङ्गमा परिणत हुँदै गयो । अठारौँ शताब्दीतिर आएर इङ्गल्याण्डमा यो यस्तो संस्कृतिको रूपमा परिणत भयो किस जसमा दम्पतीहरू एक अर्कामा फूलहरू, चकलेट र मिठाइका उपहारहरू आदान-प्रदान गर्ने देखि लिएर भ्यालेन्टाइनको ग्रिटीङ् कार्डहरू पठाई एक अर्कामा आ-आफ्ना प्रेमहरू व्यक्त गर्ने चलनको थालनी भएको देखिन्छ । 

इङ्ल्याण्डमा सुरु भए लगत्तै उन्नइसौँ शताब्दीमा आएर अङ्ग्रेजी बोल्ने देशहरू हुँदै विश्वभरि नै यो रोमान्सको रूपमा विस्तार हुँदै गयो । पछि बीसौं र एक्काइसौं शताब्दीतिर आएर क्रिसमस अनि सान्ता क्लाउड फैलिएजस्तै सिङ्गापुर, चिन र दक्षिण कोरियासम्म पनि फैलियो । 

नेपालमा भ्यालेन्टाइनको प्रभाव कहिलेदेखि ?

भारतको एम टिभी हुँदै नेपालको पूर्वीय गीत सङ्गीतमा समर्पित एफयम रेडियो र टिभी च्यानलहरूका प्रेम सम्बन्धित व्यावसायिक कार्यक्रमहरूका माध्यमबाट बिस्तारै नेपाली समाजमा पनि फैलिएको देखिन्छ ।