विस्मृतिमाका पानाबाट: कक्षा ७ नै नपढी ८ मा भर्ना गर्ने मेरो अहम् र जिरह सामु झुक्न बाध्य गुरु !

फर्कलान् र ती दिनहरु

विस्मृतिमाका पानाबाट: कक्षा ७ नै नपढी ८ मा भर्ना गर्ने मेरो  अहम्  र जिरह सामु झुक्न बाध्य गुरु !

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  फाल्गुन २०, २०७९

हिजोको परिभाषा के हो ? हिजो भनेको आजभन्दा पहिलेको समयलाई जनाउने एउटा विम्ब हो एकातिर भने आजको अघिल्लो दिन भन्ने पनि ठेट अर्थ हो । हिजोलाई अतीतको रुपमा इंगित गरिन्छ । अतीत अब जस्ताको तस्तै अब फर्कँदैन तर जेहेनमा भने त्यही छवि टड्कारो रुपमा चित्रित हुन्छ ।

त्यसो त अतीतका पानाहरूसँग अरु पनि अनुभवहरु जोडिएका हुन्छन् जस्तो कि आमाको सम्झनामा आमाको मात्र विम्ब आउँदैन, मावल, मावलका यावत् घटना र सम्बन्धित व्यक्तिहरु सबै नै बिस्तारै बिस्तारै जेहेनमा फुत्त फुत्त आउन थाल्छन् । मावल भन्ने बित्तिकै यदि भेट भएको थियो भने हजुरबा, हजुरआमा, मामा , माइजु, सानिमा, ठुली आमा र उहाँहरुसँग सम्बन्धित नातागोताहरू एकपछि अर्कोको सम्झना आउँछ ।

कतिसँग संगत भयो होला, कतिका बारेमा जानकारी लिइयो होला, कतिका बारेमा अरुले भनेको सुनियो होला र सामाजिक मनोविज्ञानका आधारमा सकारात्मक नकारात्मक सूचनाहरु जेहेनमा बस्यो होला । सबै खालका सूचनाको पोकोमा अनेक रंग थोपरिएर नयाँ नयाँ अनेक विम्ब तयार भएका होलान् । ती सबै नै अतीतका रुपमा लिइन्छ । 

अतीतका आयामहरु विविध हुने रहेछन् । आफ्ना व्यक्तिगत अनुभवका कुराहरु जुन कति भन्न लेख्न सकिँदैन तर मनमा बेलाबेलामा ज्वलन्त रुपमा स्मरण गरिन्छ । कति स्मृतिले पोल्छ, कतिले हँसाउँछ र त्यो बेलाको अनभिज्ञताका लागि अहिले मज्जा आउँछ । कति स्मृतिका झाल्याक झुलुक्क झलकको झिल्काले एकान्तमा हुँदा ती कुराहरुले एकातिर मुस्कान ल्याउँछन् भने कुनै स्मृतिले थाहै नपाई आँखामा आँसुको बलिन्द्र धारा बगेको थाहै नहुने रहेछ ।

सामान्यतया त्यस्ता स्मृतिहरू भने पारिवारिक नै हुने रहेछन् । न त भन्न मिल्ने, न त लेख्न मिल्ने तर अरुलाई भने थाहा भएको पनि हुनसक्ने रहेछ । त्यस्ता संवेदनशील स्मृतिले धेरै दिनसम्म गिजोलिरहन्छ । कति स्मृति विस्मृतिमा लैजान खोजे पनि झन झन सम्झनामा आउने हुन्छ अनवरत । 

म २०२३ सालको फागुनमा रामेछापमा पढ्न भनेर लगिएँ । लगिएँ भन्नुको अर्थ हो त्यो बेलामा कता पढ्ने कहाँ गएर पढ्ने भन्ने कुराको त्यति मेसो पनि थिएन र त्यति विद्यालयहरु पनि त थिएनन् । मैले कतै यो प्रसङ्ग उठाए जस्तो त लाग्छ तर आज सम्झनामा आएकाले लेख्न थालेको हुँ ।

वास्तवमा म कक्षा ७ मा भर्ना हुन भनेर गएको थिएँ किनभने आधिकारिक रुपमा मैले श्री कौशिका प्रावि ग्वाल्टारबाट कक्षा ५मात्र पास गरेको थिएँ । हाम्रो गाउँमा नै माध्यमिक विद्यालय खोल्ने भनेर गाउँमा सुरसार हुँदै थियो, त्यही बेलामा कुनै विद्वानजस्तो लाग्ने मानिस गाउँमा देखा परे बास बस्ने क्रममा । सायद उहाँ देहरादूनका हुनु हुँदो रहेछ निर्मल चन्द्र शर्मा । पुराना चाहिँ सिन्धुपाल्चोकका चौलागाईं रे ! उहाँले वन विज्ञानमा स्नातक तह पास गरेर फरेस्टर हुनु भएको रहेछ भारतमा नै । सायद उहाँ गुप्तबासका लागि नेपाल छिर्नु भएको रहेछ ।

त्यस्तो जानकारी त पाइएन, सायद सरकारी मामिलाका कारणले नेपाल छिर्नु भएको रहेछ भन्नेचाहिँ पछि बुझिएको हो । तर अत्यन्त सहज र अंग्रेजी, विज्ञान, गणित र नेपाली विषयका ज्ञाता हुनुहुन्थ्यो । म सहितका साथीहरु कक्षा ६मा भर्ना गरियौँ जसमा कृष्ण पोखरेल, अच्युत पोखरेल, टंकुकाका,  गणेशकाका थियौँ ।

कक्षा ८सम्मको पढाइ सुरु गरिएको थियो र कात्तिकेका घनेन्द्र कार्की दाइ, घोक्सिलाका दामोदर बराल काकासमेत पढ्नु हुन्थ्यो । अरु पनि थियौँ तर २०२१सालको कुरा भएकाले मैले कति साथीहरु, दाजु दिदीहरुको नाम  बिर्सिँएँ पनि ।

कक्षा ६को परीक्षा मंसिरमा सम्पन्न भयो र हामी कक्षा ७ मा पढ्ने , कोही कक्षा ८ मा त कोही कक्षा ९ मा पढ्ने भनेर तयारीमा थियौँ । हाइस्कुल गराउन भनेर त्यो बेलामा राष्ट्रिय पञ्चायतका सदस्य (रामेछापबाट)नवराज सुवेदी काकासँग सहयोग लिएर अनुमति लिने कुरा भइरहेको थियो । भरत बराल काका पनि हामीलाई पढाउन आउन भएको थियो । 

भरत काका त्यो बेलाको गौरीशंकर छात्र संघको सक्रिय सदस्य मात्र होइन कि नेपाली कांग्रेसको सक्रिय सदस्यको रुपमा समेत भूमिगत काम गर्न थाल्नु भएको रहेछ । त्यो बेलाका पञ्चायती राजनीतिको विरोधमा लागेका युवाहरुमा जसरी पनि यो व्यवस्था हटाएर बहुदलीय संसदीय व्यवस्था ल्याउने हुटहुटी रहेछ ।

म त कक्षा ६ मा पढ्थेँ र मलाई कता कता हेडसरको श्रीमती जस्तो लाग्यो र सीता दिदीसँग बिहे गर्ने कुरा अब भएन भन्ने लाग्यो । हेडसरलाई उहाँहरुले २-३ दिनमा नै लानु हुन्छ भन्नेचाहिँ लागेको थिएन । हेडसरलाई उहाँका भाइ र श्रीमतीले तत्कालै जस्तो लिएर जानुभयो ।अनि हाम्रो गाउँमा हाइस्कुलको सपना पूरा हुन झन्डै १६वर्ष लाग्यो । 

अनि उहाँहरु भनेको भरत काका, विपिन कोइराला, शिव वहादुर खड्का, हेमन्त कोइराला, श्रवण कोइराला, भवेन्द्र खड्का र लक्ष्मण घिमिरेले गोप्य रुपमा एउटा कागजमा यो व्यवस्थाको अन्त्यका लागि जीवनभर संघर्ष गर्नका लागि बचन बद्धता सहितको प्रतिबद्धता पत्रमा रगतको सहीछाप गरेर राखेको पत्र कतैबाट प्रहरीका हातमा परेको रहेछ ।एकप्रकारले भरत, विपिन, श्रवण, लक्ष्मण, हेमन्त एउटै नातागोताका , शिवबहादुर पनि कोइरालाको ज्वाईँ नाताको तर रामेछाप बेथानका अनि भवेन्द्र खड्काचाहिँ दोलखाका खड्का रहेछन् ।

काठमाडौँमा सबैजसो पक्राउ परेपछि भरत जीलाई यो जानकारी बाहिरका साथीहरुलाई दिनु पर्छ भनेर भाग्न भनिएको रहेछ र भागेर गाउँमा आउनु भएको रहेछ । केही समय भरत काकाले हामीलाई गणित र नेपाली पढाउनु भएको थियो । निर्मल चन्द्र सर भने सबै विषयको ज्ञाता हुनुहुन्थ्यो । उहाँ कहाँको हो भन्ने पनि थाहा थिएन, उहाँले आफ्नो नाम , थर, योग्यता जे भन्नु भय , त्यही मात्र बा हरुलाई थाहा थियो र उहाँको योग्यताका आधारमा हाइस्कुल खोल्न बा हरु कसिनु भएको थियो । मात्र यति थाहा थियो कि हाइस्कुलका लागि बी ए पास हेडमास्टर चाहिन्छ, उहाँले मैले बी ए पास गरेको छु, चाँडै प्रमाणपत्र लिएर आउने छु वा मगाउने छु भनेर बचन दिएकाले बा हरुले हामीलाई बाहिर पठाउनु पनि नपर्ने, गाउँमा नै चन्दा उठाएर भए पनि हाइस्कुल खोल्ने, शिक्षकहरुलाई बस्ने खाने र तलबको व्यवस्था गर्ने भन्ने थियो ।

आशा त नवराज काकाले सरकारबाट आर्थिक  सहायता मिलाउन सक्नुहुन्छ भन्ने पनि थियो जुन कुरा गाउँमा सञ्चालक समितिको बैठकमा हुने गथ्र्यो । म बाको अध्यक्षतामा हुने बैठक हुनाले बा सँगै गएको हुन्थेँ र  सुनेको  थिएँ । बरु गाउँमा सीता थापा नाम गरेकी दिदी थिइन् हर्कबहादुर थापाले भतिजी पालेको, उनै दिदीसँग हेडसरको बिहे गराउने र राख्ने भन्ने पनि गाइँगुइँ चलेको थियो जसका लागि बखतबहादुर बडाबाको अनुमति आवश्यक पर्थ्यो।  टेकबहादुर थापा काकाको अनुमति आवश्यक पर्थ्यो । उहाँहरुले आफ्नी भतिजी हेडसरलाई दिन हर्कबहादुर दाइलाई अनुमति दिनु भएको थियो । 

मलाई अहिले पनि एउटा कुराले गौरव महसुस हुन्छ, हाम्रो गाउँमा रहेका हामी अधिकारी , बराल, पोखरेल , थापा , कार्की अत्यन्तै मिलेर बसेका थियौँ र हाम्रा बिचमा सम्बन्ध परिवारको झैँ थियो । गाउँमा पर्ने कुनै पनि समस्याको समाधान गाउँका भद्र भलाद्मीदेखि सबैले राती विद्यालयमा जम्मा भएर समाधान गर्ने चलन थियो गोप्यताका साथ । एकाघर माझी दाइको थियो , एक घर भुजेलको थियो । माथिल्लो गाउँमा भने केही कार्कीहरू , बस्नेतहरु र भुजेलहरू बस्नुहुन्थ्यो । अरु जात र थरका पनि हुनुहुन्थ्यो तर सबैको सहमतिमा गाउँमा समस्या समाधान हुन्थ्यो ।

आदर्श गाउँ थियो । अलि टाढासम्म जानुपर्दा मुर्की, बसेरी, कात्तिके, भदौरे, ओख्ले, सान्ने, तमौरे, धेद्रेसम्म पनि आपसमा छलफल गरिन्थ्यो र सबैको सर्वमान्य रुपमा मेरो बालाई लिने चलन थियो । गाउँमा डिट्ठाजिबा गुणराज बराल, जिम्मलजिबा पुण्यप्रसाद बराल, सीताराम बराल, गोविन्दप्रसाद बराल, दीनबन्धु बराल, सुवेदारका छोरा भनेर भन्थे, अर्का पुण्यप्रसाद बराल, सुब्बादाइ चुडामणि बराल, छविरमण बराल , भोजराज पोखरेल, ज्वालाप्रसाद पोखरेल, ईश्वरीप्रसाद पोखरेल , बखतबहादुर थापा, टेकबहादुर थापा, हर्कबहादुर थापा, दंगबहादुर थापा, शान्तिबहादुर थापा, हरिबहादुर कार्की, वीरबहादुर कार्कीसहितको बुज्रुग टोली र  गाउँका सबै बालिगहरुको समस्याको आधारमा राती बैठक बस्थ्यो र निर्णय हुन्थ्यो , त्यही नै भोलिपल्टदेखि कार्यान्वयन गरिन्थ्यो । 

त्यसरी हाइस्कुल खोल्ने कुरामा व्यापक सहमति देउरालीटार, बलेनी, हैबार, घोक्सिलासहितको थियो । हर्कपुर वा तीनमाने, बितिजोर, तीनकन्यातिरको पनि सहमति थियो । साँच्चै व्यापकरुपमा हाइस्कुल बनाउने तयारी हुँदै गर्दा हेडसरलाई खोज्दै उहाँकी धर्मपत्नी, सानी छोरी र उहाँका भाइको गाउँमा आगमन भयो र हेडसरमाथि लगाएको मुद्दामा उहाँले जितेको तर गुप्तबास कहाँ हो भन्ने थाहा पाउन नसक्दा कसैले भनेको रहेछ, सिन्धुलीको ग्वाल्टारमा एकजना विद्वान तर कुनै ठेगाना नभएका मानिस पढाउन बसेका छन् भन्ने बुझेपछि आएका रहेछन् । 

काठमाडौँतिरबाट आउँदा मेरो घरतिरको बाटो भनौँ या जखनथानको चौतारी हुँदै गाउँमा पस्नुपर्ने हुनाले को नयाँ मानिस आएछ देउरालीटारबाट भनेर हामी त्यसै पर्खेर हेरिरहेका थियौँ । समय विहानकोे ९ बजे तिरको हो । हामी स्कुल जानका लागि नुहाउन भनेर कुलामा आएका थियौँ , उनीहरुले सोधे—निर्मलचन्द्र शर्मा भनेको चिनेका छौ? गुणराज बरालको घर कता हो ? मैले भनेको सम्झना छ, निर्मलचन्द्र सर भनेको हाम्रो हेडसर हुनुहुन्छ , गुणराज बराल भनेको मैले जिबा भन्छु हेडसर त्यहाँ नै बस्नु हुन्छ , अब स्कुल आउने बेला हुनलाग्यो । म त कक्षा ६ मा पढ्थेँ र मलाई कता कता हेडसरको श्रीमती जस्तो लाग्यो र सीता दिदीसँग बिहे गर्ने कुरा अब भएन भन्ने लाग्यो । हेडसरलाई उहाँहरुले २-३ दिनमा नै लानु हुन्छ भन्नेचाहिँ लागेको थिएन । हेडसरलाई उहाँका भाइ र श्रीमतीले तत्कालै जस्तो लिएर जानुभयो ।अनि हाम्रो गाउँमा हाइस्कुलको सपना पूरा हुन झन्डै १६वर्ष लाग्यो । 

अनि म सहितको एउटा किशोरहरुको टोली रामेछापतिर पढ्न लगियो जबकि कक्षा ६को समापन भयो भन्नुपर्‍यो,साथीहरु या दाइहरू अघिल्लै सालदेखि रामेछापको गौरीशंकर माविमा कक्षा ७मा भर्ना भएर पढ्दै हुनुहुन्थ्यो । देउरालीटारका गुणराज कोइराला पनि पहिले त त्यहीँ पढाउनु हुन्थ्यो क्यारे, पछि त्यहीको बैंकका काम गर्ने हुँदा उहाँका भाइहरु (मेरामामाहरु)नारद र उद्धव गौरीशंकर माविमै पढ्नु हुन्थ्यो र सँगै जसो पढ्न थाल्नुभयो कक्षा ७मा अनन्तमणि सुवेदी( नवराजकाकाको कान्छो भाइ) गुरु साम्बभक्त सुवेदीको अभिभावकत्वमा ।

मलाई र अनन्त (पछि मेरा भिनाजु)सुवेदीलाई गुरुले नै भर्ना गर्नु भएको थियो । पहिले म कक्षा ७मा भर्ना हुन गएको तर कक्षा ६ मसँगै पढेका दाजुहरु भने कक्षा ८मा पढ्ने अनि मचाहिँ किन कक्षा ७ मा भन्ने  एउटा अहम् मेरो मनमा पैदा भयो र गुरुलाई कक्षा ८ मा भर्ना गर्नका लागि जिरह गरेँ र पास भएर देखाउँछु भनेर भनेपछि गुरुले कक्षा ८मा भर्ना गर्न बाध्य हुनु भएको थियो । यसरी ग्वाल्टारमा हाइस्कुल स्थापना गर्ने मिसनले डेढ दशकको घुमाउरो बाटो तय गर्नु परेको थियो । भरत काका पनि वारेन्टका डरले गाउँबाट भाग्नु भयो र तराईको मंगलपुर भन्ने आफ्नो खेतीमा केही समय बसेपछि साथीहरु काठमाडौँमा छुटे अनि वारेन्ट रद्द भएको थाहा पाएर फेरि काठमाडौँ नै जानुभयो । क्रमशः