ज्योतिष ज्ञान तथा ज्योतिर्विज्ञानको कसीमा समय: अतीत, वर्तमान या भविष्य ?

फर्कलान् र ती दिनहरु

ज्योतिष ज्ञान तथा ज्योतिर्विज्ञानको कसीमा समय: अतीत, वर्तमान या भविष्य ?

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  फाल्गुन २७, २०७९

समयलाई मानिसले आफ्नो नियन्त्रणमा राख्न सक्छ कि समयले मानिसलाई आफ्नो पकडमा राखेको हुन्छ ? यसबारेमा बहस हुनसक्छ र बहस भएकै छ । समय भनेको एउटा कल्पनाको धारा हो । प्रकृतिको स्वरुप हो । प्रकृतिको एउटा अनुशासन हुन्छ, उज्यालो हुन्छ, रात पर्छ फेरि उज्यालो हुन्छ अनि रात पर्छ । समयको स्वरुप भनेको पानीमा या नदीमा या समुद्रमा रेखा खिचे जस्तै हो । तर बहस जहिले पनि छ, भनिन्छ समयको अघिल्तिर कसैको केही लाग्दैन । मानौँ समय नै अत्यन्त बलशाली छ, तर देखिँदैन ।

देखिन त प्राणवायु अक्सिजन पनि देखिँदैन तर त्यसको कमीमा कुनै पनि प्राणी यो धरा धाममा जीवित रहँदैन । समयको वेग कस्तो हुन्छ भनेर जसलाई जुन अनुभव प्राप्त छ , त्यसैलाई आधार मानेर भन्ने गरिन्छ । इतिहासमा घटित अचानक का घटनाहरुको समीक्षा गर्दा कुनै कारण नदेखिएपछि भनिन्छ-समय समयको खेल हो, समयसँग  कसैको केही पनि लाग्दैन ।

तर बितेको समय भनौँ न, कहिल्यै उस्तै गरी किन फर्किँदैन ? सायद बितेको समय फर्कँदैन । समयलाई अतीतसँग बढी तुलना गरिन्छ र भावी दिनको कल्पना गरिन्छ जुन सहज र अहिलेको अवस्थाभन्दा अझ उन्नति सहितको समय आओस् । तर समय आफैँ न त उन्नत हुन्छ, न कमजोर हुन्छ । तर हामीले समयको मापन अनेक तरिकाले गर्छौँ अनि भविष्यको बारेमा चिन्तनशील हुन्छौँ । अतीतले पनि प्रभाव पारे कै हुन्छ । भन्नै पर्ने हुन्छ, वर्तमान अतीतको वारेस हो र अतीतका डोबहरुको पद चिन्हमा वर्तमानले आफ्नो बाटो कोर्छ । सबैको त्यही हो । 

आध्यात्मिक धारका धेरैवटा धारहरू देखिन्छन् जसलाई विभिन्न धर्मले आफ्ना आदर्श र दर्शनको धार बनाएका छन् । त्यसमध्ये एउटा धारले भन्छ, पुनर्जन्म हुन्छ अर्थात् पूर्व जन्मको आधारमा अहिलेको जन्मको निर्धारण पहिले नै भएको हुन्छ । अवतारको सिद्धान्त मान्ने धारमा पूर्व जन्मको कामहरुको अपुर्णतालाई पूर्णता दिन बारम्बार अवतार हुन्छ । त्यस्तो अवतार भनेको कामको जिम्माका आधारमा विभाजित हुने रहेछ । जस्तो कि वैदिक तथा पौराणिक कालमा समाज परिवर्तनको कामका आधारमा अवतारलाई मान्यता दिएको पाइन्छ जसमा अवतारले क्षमताको विभाजन गरिएको हुने रहेछ ।

अर्थात् एउटा निश्चित समयको निश्चित कामको जिम्मा दिइएको हुने रहेछ भन्ने कुरा उदाहरणका रुपमा प्रस्तुत गर्दै व्याख्या गरिएको हुन्छ । अनि गीतामा श्रीकृष्णले अर्जुनलाई भन्दै हुन्छन्- सम्भवामि युगे युगे । अर्थात् विभिन्न स्वरुपमा अवतारको अवतरण हुन्छ र कुनै पूर्ण समयका लागि , कुनै अवतार निश्चित काम पूरा गर्नका लागि तर समयको निश्चित चक्रका आधारमा । त्यसो भए समयको चक्र के हो त ? समय कसैको नियन्त्रणमा छ कि ? कुनै अदृश्य शक्तिको नियन्त्रणमा छ त ? किन चाहेको भन्दा फरक तरिकाले परिणाम प्राप्त हुन्छ ? सायद त्यसैलाई भनिएको होला समयसँग कसैको पनि केही लाग्दैन । 

अवतारको कुरा गर्दा दलाई लामा वा लामाहरुको सिद्धान्तमा अहिले पनि पूर्व जन्म र पुनर्जन्मको आधारमा धार्मिक नेतृत्व प्रदान गरिन्छ । कुनै धार्मिक नेतृत्व क्षमताको आधार प्राप्त हुन्छ भने कुनै नेतृत्व जन्मका आधारमा भएर क्षमता अभिवृद्धि गरिने जस्तो लाग्छ । त्यहाँ त्यही विश्वासका आधारमा धार्मिक अनुष्ठान र साँस्कृतिक क्रियाकलाप निरन्तर रुपमा चलेकै छ । कुनै समयमा त्यसलाई कसैले सुरु गरेको होला, विश्वासका आधारमा । सामाजिक विश्वासको आधार कति बलियो देखिन्छ भने त्यसलाई परिवर्तन त्यसैभित्र रहेर मात्र गर्न सकिन्छ ।

चीनले साँस्कृतिक क्रान्तिका नाममा गरेको बुद्धमार्गीहरु प्रतिको ज्यादती आज आएर गलत थियो भनेर गुम्बाहरुको पुनस्र्थापना गरेको देखिन्छ र धार्मिक रुपमा जसले जुन धर्म मान्न पाउने स्वतन्त्रता दिएको देखिन्छ । त्यसको कारण हुनु पर्छ-मानवीय मान्यताको परिवर्तन स्वयं व्यक्तिले आफैँले चाहेर मात्र गर्न सक्छ , अरुले लादेर गर्न खोज्दा त्यसले ल्याउने परिणाम भनेको विद्रोह मात्रै हो । आफ्नो मालिक स्वयं व्यक्ति आफैँ हो । प्रत्येक व्यक्ति आफैँमा एउटा एकाइ हो र अर्को भन्दा फरक पनि हो । तर सामाजिक रुपमा व्यक्ति सामाजिक प्राणी पनि हो र समाजभित्र रहेर आफैँलाई कसरी समाजमा समायोजन गर्ने भनेर सिक्दै, त्यस्तै गर्दै आफूलाई समाजमा कसरी स्थापित गर्ने भन्ने बारेमा प्राप्त अनुभवलाई आफैँले आफैँमा प्रयोग गर्ने रहेछ ।

मानिसहरुको बारेमा इतिहास लेख्ने पनि मानिसले नै हो । त्यतिमात्र होइन, विश्व ब्रह्माण्डका बारेमा अनुसन्धान गरिँदै छ र कुनै ठोस र देखिने प्रमाणका आधारमा जेजे भनिएको छ, तिनमा पनि नयाँ नयाँ प्रमाणहरु फेला पर्दैछन् । समयको आधारमा त्यसलाई गणना गरिन्छ । तर समयको नियन्त्रण गर्ने मानिस हो कि कुनै अदृश्य शक्ति हो ? त्यसको बहस जारी छ, जारी रहने छ । 

अतीतका बारेमा त घटेका घटनाले केही समीक्षा गर्न सकिन्छ जसलाई इतिहासको रुपमा मान्न सकिन्छ । तर इतिहासको पनि समीक्षा गर्दा अचानक घटेका घटनाको वारेमा कसरी कसले समीक्षा गर्ने ? त्यसो त परिणामको समीक्षा गर्दै नयाँ परिणामका बारेमा चिन्तन गर्नका लागि इतिहासले पाठ सिकाउँछ । प्रजातन्त्रका बारेमा भएका संघर्ष र प्रयोग अनि प्रजातन्त्रका विरुद्धमा गरिएका प्रयास र तिनको अभ्यासको परिणामले के देखाउँछ ? विकासको आधार प्रजातन्त्रको धार हो कि विकासको आधार जनताको समृद्धि मात्र हो ? जनताको समृद्धिमा उसको मानव अधिकारको सुरक्षा आवश्यक छ कि छैन ? या मानव अधिकार पनि फरक फरक हुन्छन् र ठाउँ अनुसार ? कि मानिसहरुका लागि केही अधिकार साझा पनि हुन्छन् बोल्न पाउने अधिकार, संगठन गर्न पाउने अधिकार, अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्वक भेला भएर विरोध या समर्थन गर्ने अधिकार । या आफ्नो अधिकार प्राप्तिका लागि व्यक्तिगतरुपमा या सामूहिक रुपमा सशस्त्र आन्दोलन गरेर भए पनि मानव अधिकारको सुरक्षाको प्रत्याभूति गर्ने पनि मानव अधिकार भित्र पर्छ कि पर्दैन ? प्रजातन्त्रको आधारभूत अधिकारभित्र पर्छ कि पर्दैन ? 

निर्जीव पदार्थहरुको गुण र जीवनमा देखिने परिणामले मानव जीवनमा फरक फरक  प्रभाव पार्ने हो भन्ने मानिन्छ । सायद त्यसैलाई समयको परिभाषाभित्र समेट्न सकिन्छ, तर पनि मानवीय समवेदनासँग समयको के सम्बन्ध हुन्छ भन्नेचाहिँ अझै परिभाषित हुन बाँकी छ । कसरी समय नै भाग्य हो, कर्म हो र ब्रह्माण्डको गतिको गणना हो भन्ने मान्ने ?

अतीतबाट कति सिकिन्छ ? अतीतसँगको सामीप्यता कति स्मृति र कति विस्मृतिमा हुन्छ ? मानिसले किन सम्झन्छ ? अनि किन बिर्सन्छ ? समयको कसरी विभाजन गर्न सकिन्छ अतीत , वर्तमान र भविष्यका सम्बन्धमा ? समयको दार्शनिक आधार के होला ? अनि मानिसहरुको चाहना भविष्यको बारेमा बढी जिज्ञासा किन हुन्छ मानिसहरुमा ? भविष्यवाणीको खेती किन धेरै फस्टाएको छ संसारभरि ? मलाई एउटा अनुभव छ , जब म विद्यालयको या क्याम्पसको पुस्तकालयमा पढ्न बस्थेँ, विद्यार्थीहरु आफ्नो फुर्सदको बेलामा आउने र सबैभन्दा पहिले आएर दैनिक पत्रिकाको संक्षिप्त राशि फल हेर्ने गर्थे दैनिक । अनि कति शब्दहरुको अर्थ थाहा नपाइ कन पनि हेरेर हिँड्थे, जस्तो कि लेको हुन्थ्यो कान्ति क्षय । बुझ्दैन थिए तर हाँस्दै भन्थे मेरो त आज कान्तिक्षय पो रहेछ । मिष्ठान्न प्राप्ति भने या धन  प्राप्ति भन्दा खुसी हुन्थे । 

मानिसहरुको चाहना अतीतको समीक्षामा भन्दा भविष्यको जानकारी पाउने कुरामा बढी जिज्ञासा देखिन्छ । कति राजनीतिज्ञहरू आफ्नो भावी पदका लागि चिन्तित हुन्छन् र ग्रहको गणनाका आधारमा भावी दिनको बारेमा ढुक्क हुन चाहन्छन् । पूर्वीय शास्त्रमा वेदभित्रको ज्योतिष ज्ञान या ज्योतिर्विज्ञानको महत्वलाई मान्ने चलन छ । त्यसलाई गणितको आधारमा फल प्राप्तिको भविष्यवाणीको आधार मानिन्छ ।

व्यक्तिको जन्म लग्नको आधारमा उसको जीवनमा आकाशमा घुमिरहने ग्रहले पार्ने प्रभावलाई गणितको संख्याका आधारमा देखाउने परिणामको संख्यालाई संश्लेषण र विश्लेषण गरिने हुन्छ । त्यसो त खगोलमा ग्रहको भ्रमण, परि भ्रमण, स्थिरता र एक अर्को ग्रहमा देखिन परनिर्भरता अनि स्वयंमा देखिने निर्भरता को व्याख्या गर्ने पनि ज्योतिर्विज्ञान नै हो रहेछ जसलाई पर्यायवरण विज्ञानको रुपमा मान्न सकिने रहेछ ।

विभिन्न ग्रहहरूको अवस्था नै ब्रह्माण्डको आकार र आधार हुनाले त्यसले एकअर्कालाई पार्ने र  पर्ने प्रभावका आधारमा ब्रह्माण्डको गतिसँगै ब्रह्माण्डमा रहेका सजीव प्राणीहरू या निर्जीव पदार्थहरुको गुण र जीवनमा देखिने परिणामले मानव जीवनमा फरक फरक  प्रभाव पार्ने हो भन्ने मानिन्छ । सायद त्यसैलाई समयको परिभाषाभित्र समेट्न सकिन्छ, तर पनि मानवीय समवेदनासँग समयको के सम्बन्ध हुन्छ भन्नेचाहिँ अझै परिभाषित हुन बाँकी छ । कसरी समय नै भाग्य हो, कर्म हो र ब्रह्माण्डको गतिको गणना हो भन्ने मान्ने ?

नमाने के आधारमा आफूलाई गणना गर्ने ? विपला, पला, घडी, दिन, महिना, वर्ष या युग शताब्दीका आधारमा ? अनि पला , विपला, घडीसँग कसरी सेकेन्ड, मिनेट र घण्टाको तादात्म्यता ६०को अंकसँग मिल्न गयो होला पश्चिम र पूर्वको समय गणनामा ? कसरी सौर्य मास, चान्द्र मासको गणनाका लागि वैदिक युगमा विकास भयो होला ? आज पनि वैदिक गणनाको आधारमा विकास कसरी भयो होला समय गणनाको ? समय के हो त, अतीत , वर्तमान या भविष्य ? समयले सबैभन्दा बढी प्रभाव पारेको सायद मानिसलाई मात्रै हो जस्तो छ किनभने अरु त प्रकृतिको अनुशासनमा यन्त्रवत् चलेकै देखिन्छ । क्रमशः