सशस्त्र विद्रोह कि साक्षी सांस्कृतिक योद्धाको संस्मरण: कलाकारलाई ज्यूँदै जलाइएको त्यो क्षण

सशस्त्र विद्रोह कि साक्षी सांस्कृतिक योद्धाको संस्मरण: कलाकारलाई ज्यूँदै जलाइएको त्यो क्षण

सजिना मोक्तान  |  साहित्य  |  चैत्र ६, २०७९

जनयुद्धको भट्टी यति ज्वलनशील र सशक्त थियो कि आकार विहिन फलाम या काँचो पाङ्गो माटोहरू कुमालेको सीपले आकर्षक माटाका भाँडाहरूले आकार पाएँ झै खारिएर इस्पात बनेर निस्कन्थे । 

त्यो १० वर्ष चानचुने समय थिएन । नेपाल आमाका हजारौँ सन्तानहरूको बलिदानीले माटो भिजेको पल, कतिका बाबा आमा कतिका छोराछोरी,आफन्तसँग विछोडिएको पल ।

ति राता मान्छेहरु जसले नटेकेको माटो विरलै थिए होलान् । जसले नजगाएको वस्ती कमै थिए होलान् । त्यो समर यात्रामा थुप्रै सर्जक र सिर्जनाहरू फूले । कतिलाई त निमोठेर कोपिलामै मिल्काए यो देशले त्यतिबेलाका निरंकुश शासकले । चुनु गुरुङ, शिव श्रेष्ठ र शारदा श्रेष्ठ, वीर वहादुर मोक्तान, चन्चला आलेमगर,गायत्री उप्रेती र राजकुमार शेष्ठहरु, गिरफ्तार गरेर मुठभेडको नाममा हत्या गर्दै आएको त्यतिबेलाका सत्ताले अनेकोटमा नयाँ प्रयोग गरेको थियो ।

जहाँ घरभित्रै रहेका कलाकारलाई बाहिरबाट आगो लगाएर नाजीशैलीमा हत्कण्ड प्रयोग गरेको थियो । अनेकोटका वीर–वीराङ्गनाहरूले पनि प्रतिरोधको नयाँ रेकर्ड राखे । आगोको लप्का र धुवाँको मुश्लो बीच आत्मसमर्पणका लागि गरिएको आदेशलाई उनीहरूले अस्वीकार गरे । आगोको लप्कोले लपेटिरहेको ज्यान, धुवाँको मुश्लोले सासै फेर्न पारेको कठिन अवस्थालाई पनि उनीहरूले पर्वाह गरेनन् । ‘बाँच्नका लागि आत्मसमर्पण गर’ भन्ने सत्ताको आदेशलाई उनीहरूले ठाडो चुनौती दिए । पार्टी स्कुलिङबाट विचारले लैस उनीहरुले भौतिक जीवनभन्दा विचार, आस्था र निष्ठाको महत्वलाई पुष्टि गरे । 

जनयुद्धसँग वैचारिक आस्था र सहमति राखेकै कारण ०५५ चैत्र ५ गते काभ्रेपलाञ्चोक जिल्लाको अनेकोटमा ७ जना कलाकारको हत्या भएको आज २५ वर्ष पूरा भएको छ । अनेकोटमा घरभित्रै बसिरहेको अवस्थामा हत्या गरिएका कलाकारको अपराध भनेको झुपडी बस्ती र जनमुक्तिको गीत गाउनु थियो । उनीहरूले गाउने जनमुक्तिको भाकालाई सत्ताले ‘आतङ्ककारी’ नारा ठान्यो र उनीहरूको भाकामा साथ दिने गितार, बाँसुरी, मादल, सारङ्गी, हार्मोनियम र मुर्चङ्गालाई सत्ताले विध्वंशक ‘बन्दुक’ देख्यो । उनीहरूले गाउने जनताको भाकाबाट आतङ्कित सत्ताले कलाकारहरूलाई आतङ्ककारी देख्नु अनौठो थिएन ।

त्यतिबेला कलाकार मात्र होइन, मेलापात गएका कयौं सर्वसाधारणलाई सत्ताले आतङ्ककारी देखेको थियो र मेलापातमा उनीहरूले प्रयोग गर्ने कुटो कोदालो, हँसिया, नाम्लो– जे सुकैलाई पनि खतरनाक हतियार ठानेर हत्या र आतङ्कको श्रृङ्खला नथोपरिएको होइन । जनयुद्धको सिर्जित जनचेतनाबाट त्रस्त सत्ताले दिनहुँ होइन, हरेक क्षण ‘दोहोरो भिडन्त’ का नाममा कयौं हत्याकाण्डहरू मच्चाइएको थियो ।

अनेकोट त्यही शृङ्खलाको एउटा पाटो थियो । 

आतङ्कित बनेका स्थानीय जनविरोधी तत्वको उक्साहटमा जनकलाकारहरूको हत्या योजना बुनिएको उतिबेलै सार्वजनिक भएको थियो । स्थानीयको भेषमा रहेका सुराकीहरूको सहयोगमा सत्ताले देशैभरि यस्ता हत्याकाण्डहरू मच्चाउँदै आए पनि जनताको गीत गाउने कलाकारहरूको सामूहिक हत्या पहिलो पटक भएको थियो । कलाकारहरू च्याङबा लामा, निर्मला देवकोटा, सुभद्रा सापकोटा, चिनीमाया लामा, गुम्बासिंह तामाङ, डम्बर श्रेष्ठ र मञ्जु कुँवर बसेको घरमा आगो लगायो र चारैतिरबाट घेरा हाली अन्धाधुन्ध ‘फायर’ गरियो ।

चौतर्फी आतङ्क खडा गरेर कलाकारहरूलाई आत्मसमर्पण गर्न आदेश दिइयो । तर उनीहरूले जीवनको भीख मागेनन् र आत्मसमर्पणको आदेश स्वीकार गरेनन् । बरु, आफ्नो सामर्थ्यले  भ्याएसम्म बन्दुक विरुद्ध आवाजले प्रतिरोध गरिरहे । इँटा, ढुङ्गा, भाटाले प्रतिरोध गरिरहे । मृत्यु स्वीकारे तर आस्था र निष्ठामा कुनै खोट हुन दिएनन् । त्यसैले त उनीहरू महान् भए ।

हरेक भूगोलमा कलाकारको जिल्ला परिवार, क्षेत्रीय परिवार, केन्द्रीय परिवार मात्र बनेनन् । पूर्व, पश्चिम र मध्ये क्षेत्रीय कमाण्डमा पनि कलाकारहरुको बाक्लो जमात थियो । च्याङवा लामा, चिनीमायाँ लामा, डम्वर शेष्ठ, शुभद्रा सापकोटा, गुम्बासिं लामा र मन्जु कुँवरहरूको सामूहिक हत्याकाण्ड भएको ठाउँको नामले काभ्रेमा अनेकोट स्मृति परिवार जन्मियो ।

पत्रकार एवं कवि कृष्ण सेन र च्याङवा लामाको नाममा सेनच्याङ परिवार जन्मिए । वीरबहादुर मोक्तान, वसन्त मगर, चन्चला आलेमगर, नमुना उप्रेती तारा घलेको नाममा नुवाकोट रसुवामा नव चेतना साँस्कृतिक परिवार जन्मिए । दोलखामा शैतिम साँस्कृतिक परिवार, धादिङमा लापा साँस्कृतिक परिवार, सिन्धुपाल्चोकमा श्रृङ्खला साँस्कृतिक परिवारहरूमा सयौं कलाकारले गीत संगीत मार्फत वस्ती जगाउँथ्यो । 

घटना घटेको २५ औँ वर्ष पूरा भएपनि अनेकोट काण्डको स्मरण ताजै छ । जतिबेला तत्कालीन माओवादीले साँस्कृतिक प्रतिरोध दिवसको रुपमा मनाउने निर्णय गर्यो । त्यतिबेला देखिनै अनेकोट हत्याकाण्डलाई साँस्कृतिक कर्मीहरुले साँस्कृतिक प्रतिरोध दिवसका रूपमा मनाउँदै आएको छ ।  बृहत् शान्ति सम्झौतापछि कर्मकाण्डी रूपमा मनाइँदै आएको त्यो दिवस पछिल्लो समय हराउन थालेको हो कि ! भन्ने आभास हुन थालेको छ ।

काठमाडौँ वरिपरिका तत्कालीन नेकपा माओवादीले संघीय संरचना अन्तर्गत घोषणा गरेको ताम्सालिङ र (तमुवान क्षेत्र ) गण्डक क्षेत्रमा त सेनाको संरचनामा नै कलाकारको सामना बटालियन नै घोषणा भयो । जसभित्र ३ वटा कलाकार कम्पनी र हरेक कम्पनीमा ३/३ वटा प्लाटुन र प्रत्येक जिल्लामा ३५ देखि ४० जना सम्मको प्लाटुनले जन संगीतको भाका गुन्जाउँथे ।

हर झुपडीको दुःख सुखमा जन संगीतको भाकाले क्रान्तिको राँको बाल्थ्यो र अन्यायका विरुद्ध, अत्याचार र दमनका विरुद्ध बदलाका स्वरहरूको गुन्जन हुन्थ्यो । अनेकोटकै नाममा च्याङबा लामा, निर्मला देवकोटा, सुभद्रा सापकोटा, चिनीमाया लामा, गुम्बासिंह तामाङ, डम्बर श्रेष्ठ र मञ्जु कुँवरको सम्झनामा अनेकोट साँस्कृतिक कम्पनीले साँस्कृतिक क्रान्तिमा नयाँ आयम थपेको थियो ।  

जनयुद्धमा लागेकाहरूको सपना एउटै थियो । सुन्दर संसार निर्माण गर्ने । उद्देश्य एउटै थियो सबैका लागि समान अवसर उपलब्ध गराउने । सपथ एउटै थियो मृत्यु या मुक्तिको । जीवनलाई हत्केलामा राखेर मुक्ति जन्माउने बिहानको खोजीमा जीवनलाई बलिभेदीमा समर्पण गर्नेहरुको लाममा कलाकारहरु पनि उति नै रहेका छन् । तर ति युद्धको भट्टीबाट जन्मिएका कलाकारहरुलाई संविधान सभाको चुनाव सके संगै तितरवितर बनाए । जति एउटा भाषण गर्ने नेता जन्मिन सजिलो छ त्यसको कयौँ गुणा एउटा कलाकार बन्नु र बनाउनुमा छ भन्ने कुराको भेउ नै राखेनन् नेतृत्वले ।

दस्तावेज या राजनीतिक भाषणले बुझाउन नसकेको कुरालाई कलाकारले एउटा अभिनय वा गीत मार्फत बुझाएर मात्रै जनयुद्ध वा कुनैपनि ठूला– ठूला राजनीतिक परिवर्तन संभव भएको हो । अथवा यसो भनौं बन्दुकका गोली र संगीनले जति तिर हानेको थियो त्यो भन्दा सयौं गुणा संगीतको सरगमले बस्ती ब्युँझेको हो भन्ने कुराको हेक्का राख्न सकेनन् । र साँस्कृतिक कर्मीहरुको बलिदानीको जगमा स्थापित र नामाङकित जन कलाकारहरुको हिस्साको अस्तित्व व्यवस्थापन गर्न नसकेर मासियो । 

आज अनेकोट हत्याकाण्डको २५ औँ  बर्ष पुग्दा देशमा ठूलै राजनीतिक परिवर्तन भएको छ । राजतन्त्रको ठाउँ गणतन्त्र आएको छ । दुई तिहाइ कम्युनिष्टहरुको सरकार बनेको थियो कुनै बेला । राजनीतिक व्यवस्थाको रुपमा केन्द्र देखि स्थानीय स्तरमा प्रदेशहरु बनेका छन् गाउँपालिका, नगर सहित स्थानीय सत्ता सञ्चालनमा छ । हेर्दा काठमाण्डौको सिंहदरबारमा सीमित अधिकारहरु गाउँसम्म पुगेको छ ।  भन्ने संरचनागत ड्राफ्टहरु कोरिएका देखिन्छन् । आज सशस्त्र जनयुद्धका नेतृत्व गरेका प्रचण्ड प्रधानमन्त्री छन् ।  तर परिवर्तनका ति नारा र विकासका डाटाहरु फाइलहरूमा बढी र व्यवहारमा कम भएर परिवार र आफन्त गुमाएका मात्र होइनन् जसका लागि लक्षित थियो जनयुद्ध । उपेक्षित बर्ग, जाती र समुदायका जनजीवन र जनसरोकारका समस्या ज्युँका त्युँ छन् । 

एउटै सपना र उद्देश्य बोकेका र एउटै सपथ खाएका योद्धाहरू कयौं शहीद भए । कयौं बेपत्ता छन् अझैपनि र कयौं घाइतेहरु शरीरभरी गोलीका छर्रा बोकेर खाडी छिरेका छन् परिवारको पेट पाल्न । आज कति अपाङ्गहरु छटपटीमै जीवन बिताइरहेका छन् । ‘सकुशल’ बाँचेकाहरूमाथि प्रश्नहरू उठेका छन् । अझ कतिपय नेताहरुमा आएको वर्गउत्थानले हिजो सँगै खाएको सपथ, एउटै उद्देश्य र सपनाको धज्जी उडाएको छ । भौतिक सुविधालाई नै जीवनको सबैथोक ठान्ने एउटा ‘ठालु’ वर्ग जनयुद्धकै जगमा खडा भएको आरोप छ । 

अनेकोटजस्तै कयौं बलिदानको जगमा निर्माण भएको नेतृत्व वैचारिक रूपमा स्खलित, व्यक्तिगत र पारिवारिक स्वार्थका लागि शहीदको सपना पाइतालाले कुल्चेर पद, प्रतिष्ठा र भौतिक सुख सुविधा प्राप्तिका लागि जस्तोसुकै हत्कण्डा मच्चाइरहेका समाचार सुन्नु अहिले हाम्रो बाध्यता बनेको छ ।

घटना घटेको २५ औँ वर्ष पूरा भएपनि अनेकोट काण्डको स्मरण ताजै छ । जतिबेला तत्कालीन माओवादीले साँस्कृतिक प्रतिरोध दिवसको रुपमा मनाउने निर्णय गर्यो । त्यतिबेला देखिनै अनेकोट हत्याकाण्डलाई साँस्कृतिक कर्मीहरुले साँस्कृतिक प्रतिरोध दिवसका रूपमा मनाउँदै आएको छ ।  बृहत् शान्ति सम्झौतापछि कर्मकाण्डी रूपमा मनाइँदै आएको त्यो दिवस पछिल्लो समय हराउन थालेको हो कि ! भन्ने आभास हुन थालेको छ ।

जसको बलिदानले गणतन्त्र आयो, उनीहरूलाई नै भुल्ने हामीले कस्तो सँस्कृति निर्माण गरिरहेका छौं ? प्रश्न गम्भिर छ । दुइ पार्टी पूर्व एमाले र पूर्व एकीकृत नेकपा (माओवादी) मिलेर नेकपा पार्टी पनि बन्यो चुनाव लाग्दै गर्दा फेरी फुट्यो । आज प्रचण्ड सरकारका पालामा नै जनयुद्धको मुद्दा उठाउन थालेपछि एक अर्कोको नाम नै सुन्न नचाहने हिजोका साराथीहरु एउटै आँगनमा जम्मा भएर हात मिलाइरहँदा हेर्न बाँकी छ अब त्यो साँस्कृतिक प्रतिरोध दिवसले कति मान्यता पाउनेछ । 

अझ यसो भनौं ति बलिदानी प्रति कतिको श्रद्धा भावले इतिहासको सम्मान र संरक्षण पाउँछ । राजनीतिक प्रणालीमा परिवर्तन आएपनि साँस्कृतिक रूपान्तरण हुन नसकेको त्यो विरासत आज बग्रेल्ती रुपमा उदाहरणहरु छन् । बरु त्यो अझ भद्दा रूपमा प्रस्तुत भएको प्रतीत हुन्छ । विचार, आस्था र निष्ठाका लागि अनेकोट हत्याकाण्डका शहीदहरूले देखाएको बलिदानको गाथालाई कायम राख्न नसके पनि गिज्याउने काम कसैले नगरे शहीदहरूको ‘आत्मा’ले शान्ति पाउँथ्यो कि ?  अनेकोटका  ‘संदिग्ध आतङ्ककारी’हरुलाई महान साँस्कृतिक शहीदहरूलाई चैत्र ५ साँस्कृतिक प्रतिरोध दिवसमा परदेशी माटोबाट साँस्कृतिक रातो सलाम !