गजल

गजल

डा.भोजराज घिमिरे  |  साहित्य  |  चैत्र ११, २०७९

हरदम म उसकै भएझैँ गर्छ
पैसाले यो मन किनेझैँ गर्छ !

टुक्री कलेजो गएझैँ बाबु
टीका रगतले मुछेझैँ गर्छ !

हरप्रश्नले हरव्यथाको उत्तर
तिम्रो नजरमा दिएझैँ गर्छ !

देखेर हर्कत हृदयको हरदम
एक ठाउँ धड्कन रुकेझैँ गर्छ !

हेर्दै छ चुपचाप त्यो टोलाई
ईश्वर शिला भै दुखेझैँ गर्छ !

कसरी म बाधूँ रहर दाम्लोले
गोठको बाछो फुकेझैँ गर्छ !

आरिस गरी भीरले गाडीको
हरदम सडकमा कुदेझैँ गर्छ !

रेट्ने कि गिँड्ने अचानोमाथि
खुकुरीले गर्दन पुजेझैँ गर्छ !

के हात छाड्यौ तिमीले मेरो
बैसाखी आफैँ टुटेझैँ गर्छ !

देखेर बैँसालु चङ्गा उड्दो
बेलुन भई मन उडेझैँ गर्छ !

केही समय प्यास के टाढा भो,
हरदम नदी फन्किएझैँ गर्छ !

डुङ्गा किनारा बनेको देख्छु
सागरले पीडा बुझेझैँ गर्छ !