एक भुक्तमानको जिज्ञासा: शिक्षा के हो ?  शिक्षा कस्तो हुनुपर्छ ? के हो शिक्षाको पहिलो कर्तव्य ?

फर्कलान् र ती दिनहरु

एक भुक्तमानको जिज्ञासा: शिक्षा के हो ?  शिक्षा कस्तो हुनुपर्छ ? के हो शिक्षाको पहिलो कर्तव्य ?

हरिविनोद अधिकारी  |  शिक्षा  |  चैत्र ११, २०७९

विश्वभर नै एउटा बहस सुरु भएको छ, शिक्षा कस्तो हुनुपर्छ ? जुन देश तथा समाजमा शिक्षा प्रभावकारीरुपमा प्रयोगमा छ भन्ने मानिएको हो, त्यहाँ पनि अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने बहस छ । विभिन्न जीवन दर्शनहरूको आधारमा जीवन यापन गर्नका लागि आवश्यक ज्ञान कस्तो हुनुपर्छ, कुन उमेरबाट औपचारिक शिक्षा दिन थाल्नुपर्छ र त्यो शिक्षा प्राप्ति कहिले अन्त्य हुन्छ ? मान्छे उही हो, तर परिवेश फरक फरक त हुन्छ हामी मान्छेले नै बनाएको परिवेश । 

शिक्षाको परिभाषा नै पो छैन किनभने ज्ञान अनुभूतिको परिणाम हो र अनुभूति प्रत्येक प्राणीमा फरक फरक पनि हुनसक्छ, वैयक्तिक फरक पनले फरक फरक परिणाम आउने गरी अनुभूति सँगालिएको पनि हुनसक्छ । तर केही अनुभवहरु हुन्छन् ती साझा हुन्छन् । केही अनुभूति हुन्छन् नितान्त फरक फरक परिणामका आधारमा नै अनुभूतिको लेखाजोखा गरिन्छ ।

जीवनमा कति प्रभावकारी भएको हो भन्ने अनुमान गर्न सकिन्छ, त्यसैका लागि हो शिक्षाको बारेका बहस बारम्बार हुनेगर्छ । राज्यले नै विभिन्न तप्काका विद्वान, अनुभवी व्यक्तिहरुबाट सुझाव माग्ने गर्छ । अझ भन्ने हो भने केही कुराहरु साझा होलान् मानवीय आवश्यकताका लागि तर व्यक्ति, परिवार, समाज, समुदाय, राज्य र हालको परिवेशले निम्त्याएको आवश्यकतालाई संबोधन हुने गरी ज्ञानको व्यवस्थापन अपरिहार्य मानिन्छ । 

आज म शिक्षाका परा र अपराको पनि फरक देखाउने पक्षमा छैन, विद्या र अविद्याका बारेमा चलेका बहस अनि त्यसका पूर्वीय मान्यताका बारेमा पनि कुनै पक्ष वा विपक्षमा केही भन्न चाहेको पनि होइन । वेदमा , उपनिषद्मा या पुराणहरुमा के छ भनेर नयाँ कुनै मीमांसाका बारेमा छलफलको प्रसङ्ग पनि उठाउन चाहेको होइन , बरु आजको शिक्षाको , ज्ञानका बारेमा समय सापेक्ष हुनका लागि कस्तो शिक्षाको आवश्यकता पर्नेछ भनेर बहसको थालनी भने गर्न चाहेको हुँ । 

म आफ्नो  क्षमताले नभ्याउने कुरामा  कुनै उपचारात्मक सुझाव दिने पक्षमा पनि छैन किनभने मैले पाएको अनुभवले कुनै परिणाममा पुग्ने देख्दिन । मजस्ता धेरैले गरेको अभ्यासले आजको हाम्रो शिक्षाको यो गति भएको हो भन्नेमा पटक्कै लाज मान्नु पर्दैन ।  हामी स्वघोषित शिक्षाविद् र शिक्षा योजनाविद्हरु सर्प देख्दा दुला बाहिर हात झिक्छौँ अनि माछा छ भन्ने थाहा पाएपछि चाहिँ दुलाभित्र हात लगेर माछा समातेको जस्तो गर्छौँ । हामी जागिरे शिक्षक थियौँ कि समाजसेवाको लक्ष्य पूरा गर्न चाहेर शिक्षा सेवा गर्न आएका थियौँ ? जे भए पनि हामीले सकी नसकी शिक्षाको सेवा गरेका थियौँ चाहे कक्षा कोठामा पढाएर होस् या कक्षा कोठामा जाँच लिएर होस् या शिक्षकका रुपमा प्रशिक्षण लिएर वा प्रशिक्षकका रुपमा प्रशिक्षण दिएर होस् । 

झनझन शिक्षा क्षेत्रमा देखिने बेथितिले नयाँ नयाँ समस्या आउँदैछन् । कसैले भन्छन्, नैतिक शिक्षाको कमी भयो, कसैले भन्छन् प्राविधिक शिक्षाको कमीले आजको बेथिति बढेको हो , कसैले भन्छन् पुरातन शिक्षाको कमी भयो, कसैले भन्छन् सूचनाप्रविधि शिक्षाको कमीले बेथिति बढेको हो तर मलाई लाग्छ, कस्तो शिक्षा हुनुपर्छ भन्ने बारेमा गम्भीरतम छलफल नभएकाले बाटो पहिल्याउन नै मुस्किल परेको हो । 

शिक्षाको समग्र रुप भनेको जीवन बाँच्ने कलाको जानकारी स्वतः दिने हो । कति जानकारी भोगेर पाइन्छ त कति जानकारी भोग्नका लागि तयारी गर्नुपर्छ । भन्छन् नि कि पढेर जानिन्छ, कि परेर जानिन्छ । हामी साना हुँदा देख्न पाइन्थ्यो कसैले माछा मार्थे त कसैले भाडा बनाउँथे त कसैले लुगा सिउँथे अनि कसैले जुत्ता बनाउँथे । त्यो बेलामा ती सबै कुराहरु एउटा सिप अन्तर्गत पेशागत काम रहेछ तर आज त्यो बाध्यता रहेको छैन ।

सिप भनेको आफ्नो क्षमता बृद्धि गरेर जीवन यापन गर्ने कला रहेछ । हामी साना छँदा सिन्धुलीको देउरालीटारको गैरी गाउँमा साने दाइ हुनुहुन्थ्यो जसले हाम्रो लुगा सिइदिनु हुन्थ्यो । अर्थात् हामीलाई थाहा थियो, लुगा सिउने काम दमाई दाइले मात्र गर्नुहुन्छ । तर तल्लो देउरालीटारमा सुजीकार भिनाजु हुनुहुन्थ्यो कलमा लुगा सिउनु हुन्थ्यो तर उहाँ नेवार समुदायको हुनुहुन्थ्यो जसलाई बाले ज्वाइँ भन्नुहुन्थ्यो र हामी भिनाजु भन्थ्यौँ । उहाँ बालीमा लुगा सिउनु हुन्थेन । सामान्यतया उहाँले लुगा या त पैसा लिएर सिउनु हुन्थ्यो या त अन्नपातको साटोफेरोमा । एकदम कम बोल्नु हुन्थ्यो र उहाँ धामीको काम झारफुक पनि गर्नुहुन्थ्यो ।

देउरालीटारकी चेली बिहे गरेकाले उहाँ सबैको ज्वाईँ, भिनाजु , फुपाजु या नाताको व्यक्ति हुनुहुन्थ्यो । अनि हामीलाई पनि कसैले नभने पनि शिक्षा प्राप्त भएको थियो, कपडा सिउनुले मात्र पनि दमाई जातिको होइँदो रहेनछ । कामको कुरा रहेछ जसले पनि लुगा सिउँदो रहेछ । त्यही बिचमा काठमाडौँमा चिनियाँको सहयोगमा बाँसबारीमा  छाला जुत्ता कारखाना खुलेको थियो जहाँ मेरा जेठी फुपूका कान्छा छोरा ईश्वरी भान्दाइ र माहिली फुपूका कान्छा छोरा भुवन भान्दाइले काम गर्नुभएको रहेछ । उपाध्याय ब्राम्हणमा छोराहरुले छाला जुत्ता कारखानामा काम गर्न थालेको हल्लाले गाउँ ठाउँ हल्लायो तर त्यो बाँच्नका लागि गरिएको पेसा थियो , काम थियो जसले ब्राह्मणका छोराहरुले रुद्री, वेद, चण्डी, श्राद्ध र सत्यनारायणको पूजा मात्र गर्नुपर्छ भन्ने मान्यतामा त्यसले एउटा नयाँ परिवर्तन ल्याएको थियो । 

त्यसो त मेरो कान्छा बा कमला कान्त उपाध्याय स्वयं वैदिक निष्ठावान ब्राह्मणकुलीय कर्मकाण्डी भए पनि उहाँले २००७ सालताका नेपाली सेनामा काम गर्नु भएको रहेछ । उहाँले सेनामा काम गर्ने कुरामा घरका कसैलाई  न त थाहा रहेछ, न त चाहना नै रहेछ तर सेनाको डाङ्ग्री लाएर गाईको सेवा गर्नु भएको थियो होला, सेनाले गर्नुपर्ने नियमित सेवा गर्नु भएको थियो होला ।

भन्नुहुन्थ्यो कान्छा बा, एकपटक यसो सहर घुम्दै गर्दा कुनै सेनाको हाकिमले माथिबाट काम लगाए रे ! ए केटा, त्यो गाईको दाम्लो अलिकति लामो पारेर झिक्रा फाल्दे त  !  अनि कान्छा बाले भन्नुभएछ, तँ जस्ता त मेरा घरमा ५ जना नोकर छन्, म त ५२घुस्सा ५३ ठक्कर खान पो सेनाको जागिर खान आएको छ, तैँले भनेको मान्न आएको हो र ? अरु कसैले पनि त्यो झिक्रो झिकेनन् र दाम्लो पनि लामो पारेनन् , बरु हतारपतारमा भागेछन् किनभने कमला कान्तको कुरा सुनेको हाकिमले कति बेर लातले हान्ने हो भनेर ।

भोलिपल्टको रोलकलमा त्यो हाकिमले सोधेछ रे ! हिजो मेरो घरको छेउबाट हिँड्ने तिमीहरूमध्ये मैले भनेको नमानी कसले मुख मुखैै लागेको हो ? कोही पनि बोलेनन् रे तर कान्छा बालाई पटक्कै डर लागेको थिएन रे ! किनभने हद्द के गर्छ दुई चार छडी लाउने हो, अनि जागिरबाट निकाल्ने हो । तर साथीहरुले भनेनन् र तत्काललाई जोगिएको कुरा । एउटा सेनाको जवानले पनि भोग्ने कुरा अरुभन्दा फरक पनि हुने रहेछ बाटामा हिँड्दा या  आफ्ना आवश्यकता र चाहना अनुसार पनि । 

प्रत्येक व्यक्तिलाई स्वाभिमानी बनाउने, स्वावलम्बी बनाउने, आफूमाथि आदर गर्न सिकाउने, सबैलाई आदर गर्न सिकाउने अनि स्वरोजगार सृजना गर्ने नै होइन र शिक्षाको पहिलो कर्तव्य ? या अरु नै छ ? 

 म कुनै बेलामा काठमाडौँ शिक्षा क्याम्पसको क्याम्पस प्रमुख थिएँ । त्यो बेलामा मलाई एउटा  हुटहुटी पलाएको थियो, शैक्षिक विज्ञानमा मात्र किन विश्व विद्यालय खोल्न सकिँदैन र ? प्रशिक्षार्थीका रुपमा आउनु हुने साथीहरु पहुँचवाला थिए । मैले सामाजिक न्याय शिक्षा र पाठ्यक्रम विकासका कक्षामा आफ्ना धारणाहरू राख्थेँ कसरी शिक्षाको नयाँ पाटो उघार्न सकिन्छ त ?

नियमित कक्षामा बहस हुनेगर्छ तर हाम्रो जस्तो रात्रि कक्षामा, त्यो पनि अर्काको विद्यालय या घर भाडामा लिएर साँझको ४बजेपछिको नियमित कक्षामा मात्र देखादेख र भेटघाट  सम्भव हुन्थ्यो । तर त्यसमध्ये एकजना कलाकार, शिक्षक तथा निजी विद्यालयका संस्थापक किरण प्रधान(प्रसिद्ध गीतकार, संगीतकार तथा गायक)ले त्यसमा नेतृत्वदायी भूमिका निर्वाह गर्न चाहनु भएको थियो आफ्नो विद्यालयमा बहसको थालनी गराएर । तत्कालीन शिक्षा सचिव दीपेन्द्र विक्रम थापाले यसमा आफ्नो तर्फबाट कोसिस गर्ने बचन पनि दिनुभयो तर हामीले नै त्यसलाई निरन्तरता दिन सकेनौँ भन्नुपर्‍यो । 

मेरो त्यो जिज्ञासाको उत्तर मैले पाएको छैन तर मेरा मनमा मात्र कुलबुल गरेर बसेका धारणाहरू अझै जीवित छन् । झनझन शिक्षा क्षेत्रमा देखिने बेथितिले नयाँ नयाँ समस्या आउँदैछन् । कसैले भन्छन्, नैतिक शिक्षाको कमी भयो, कसैले भन्छन् प्राविधिक शिक्षाको कमीले आजको बेथिति बढेको हो , कसैले भन्छन् पुरातन शिक्षाको कमी भयो, कसैले भन्छन् सूचनाप्रविधि शिक्षाको कमीले बेथिति बढेको हो तर मलाई लाग्छ, कस्तो शिक्षा हुनुपर्छ भन्ने बारेमा गम्भीरतम छलफल नभएकाले बाटो पहिल्याउन नै मुस्किल परेको हो । 
शिक्षाको कुरा गर्दा जीवन र जगतको कुरा पहिला पहिचान गरेरमात्र आवश्यकता पहिचान हुने होला कि ? क्रमशः