इतिहास खोजका साधक गोपाल भण्डारी प्रति शब्द वन्दना

इतिहास खोजका साधक गोपाल भण्डारी प्रति शब्द वन्दना

राजकुमार दिक्पाल  |  दृष्टिकोण  |  चैत्र १२, २०७९

यी हरफहरू लेखिरहँदा मेरो हातमा एउटा प्रकाशित र अर्को प्रकाशोन्मुख गरी दुई वटा ग्रन्थ रहेका छन् । ‘श्रीनागेश्वर गुठीको सङ्क्षिप्त चिनारी’ (२०७९) र प्रकाशोन्मुख ‘नेपाल, चीन, भारतको सङ्क्षिप्त इतिहास सङ्ग्रह’ लाई सरसर्ती नियाल्ने अवसर पाएँ । यी दुवै ग्रन्थका लेखक हुनुहुन्छ, धनकुटा, लेगुवा निवासी श्रद्धेय गोपाल भण्डारी । यी दुवै ग्रन्थ लेखककै सुपुत्र मनोज भण्डारी (हाल त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पसमा प्राध्यापनरत) भाइले मलाई स प्रेम उपलब्ध गराउनुभएको हो ।

म आफू पनि इतिहासतिर रुची भएको सामान्य पाठक हुँ । जिविकाको लागि जीवनको ऊर्जा वान २२ वर्ष पत्रकारिता क्षेत्रमा क्रियाशील भएर यस क्षेत्रबाट हाललाई विश्रामको अवस्थामा गुज्रिरहेछु । पछिल्लो समय इतिहास अध्ययनतिर मेरो लगाव मोडिएको छ । इतिहास पढ्ने, बुझ्ने र सकेको लेख्ने धृष्टता बोकेर हिँडिरहेको छु । मेरो इतिहास मुखी गतिविधि बुझेर हुनुपर्छ, मनोज भाइले मलाई आफ्ना पिताद्वारा प्रकाशित भइसकेको र प्रकाशित हुन लागेको ग्रन्थमाथि सरसर्ती आँखा दौडाइदिन आग्रह आएको हो भन्ने मेरो लाटो बुझाई रहेको छ ।

जतिखेर मैले लेखक तथा इतिहासकार गोपाल भण्डारीलाई प्रत्यक्ष रुपमा देखेँ, भेटेँ । त्यसबेला उहाँलाई मैले एक पिता तुल्य अभिभावकको रुपमा लिएको थिएँ । यसको मुख्य कारण हो, उहाँका पुत्र सरोज भण्डारीसँग मेरो घनिष्ट मित्रता र सहकार्य । 

बुबा गोपाल भण्डारी त्यतिखेर शिक्षण पेशामा हुनुहुन्थ्यो र धनकुटा बहुमुखी क्याम्पसमा अध्ययनरत आफ्ना सन्तानलाई बेला बेलामा भेट्न लेगुवाबाट आइरहनुहुन्थ्यो । धनकुटा नगरमो स्थायी बासिन्दा म नियमित जस्तो सरोज जीको बालमन्दिर टोलस्थित डेरामा पुगिरहेको हुन्थेँ । उहाँले मलाई पनि एक प्रत्युत्तर  सम्वोधनका साथ गर्नुभएको मायालु स्पर्शको अनुभूति अहिले पनि मेरो मन मुटुबाट अलग हुन सकेको छैन । त्यसैले यी ग्रन्थहरूमाथि आँखा दौडिरहेको बेला मेरा जोर नजरमा भने ३१/३२ वर्षअघिको प्रतिविम्ब नृत्य मग्न भइरहेको छ ।

साहित्य रचना गर्ने र प्रकाशन गर्ने बेजोडको ब्यालेडले हामीलाई यसरी अँठ्याएको थियो कि त्यसलाई मेट्न हामी भित्ते पत्रिका निकालेर धनकुटा बहुमुखी क्याम्पसको भित्तामा टाँसिदिन्थ्यौँ । म चाहिँ रहरले यसो चित्र कोरि टोपल्थेँ । कसैले मसम्म  सरोजजीलाई प्रस्तुत गर्दै ‘लौ अब तपाईँहरु मिलेर काम गर्न थाल्नुस्’ भनि दिएपछि सरोजजीसँग एकअर्कामा छुट्टिनै नसक्ने गरी मित्रता कायम हुन पुगेको थियो मेरो । 

अन्तिममा भूगोलविद् प्रा. रामकुमार पाँडेको भनाई सापटी लिएर भन्न चाहन्छु, ‘भूगोल नजान्नेले देश चिन्दैन, संस्कृति नबुझ्नेले सभ्यता जान्दैन र इतिहास नपढ्नेले देश हाँक्दैन ।’

मेरो काम हुन्थ्यो, संरचनाहरु सङ्कलन गर्ने र त्यसलाई सकेसम्म राम्रो अक्षरमा कार्डबोर्ड कागजमा लेख्ने । सुनमा सुगन्ध भर्ने काम हुन्थ्यो सरोजजीबाट । उहाँको चित्रकला पनि कति बेजोडको थियो भने भित्ते पत्रिका पढ्ने भन्दा हेर्नेको भीड लाग्थ्यो । लेख रचनामा सुन्दर भाव चित्रहरु समेट्थ्यौँ । एउटा कार्डबोर्ड कागजले नपुगेर दुई वटामा हामी भित्ते पत्रिका निकाल्थ्यौँ । हाम्रो भित्ते पत्रिकाको अर्को विशेषता थियो, लेखकको तस्बिर राख्ने । तस्बिर पनि मुहार चित्र कोरेर । सरोजजीको शिल्पी हातमा परेपछि यस्ता सजीव मुहार चित्र तयार हुन्थ्यो । उहाँ कतिसम्म शिल्पी भने सिसा कलमले मात्रै होइन डटपेनले नै कसैको अनुहार दुरुस्तै उतार्नसक्ने । 

भित्ते पत्रिकाको प्रकाशनसँगै त्यसबेला सरोजजी र मेरो लोकप्रियता कलेजमा आकासिएको थियो । हाम्रा खुट्टा भुइँमा थिएनन् ।

त्यसैबेला अर्का मित्र उमेशचन्द्र अधिकारी हामीसँग थपिनुभयो । उहाँको चित्रकला पनि उस्तै बेजोडको । उमेशजी मभन्दा एक ब्याच सिनियर सरोजजी चाहिँ मभन्दा एक ब्याच जुनियर । इन्द्रधनुषी सपना देख्ने उमेर थियो त्यो । हामीले त्यो सपनालाई वास्तविकतामा पुरा गर्ने अठोट गरेका थियौँ । फलतः उमेशजी अहिले प्राध्यापन र चित्रकलामा अब्बल बनेर छाइरहनुभएको छ । उहाँ राष्ट्रिय स्तरको सञ्चारमाध्यममा ब्यङ्ग्य चित्रकारका रुपमा लोकप्रिय हुनुहुन्छ ।

पत्रकारितापछि म अहिले इतिहास अध्ययन र लेखनतिर केही गर्न खोजिरहेको छु । तर एउटै अफसोसको कुरा छ, हामीसँग हाम्रा प्रिय मित्र सरोजजी भौतिक रुपमा हुनुहुन्न । उहाँ हाम्रो सम्झनाहरूमा सिमित बन्न पुग्नुभएको पनि धेरै भइसक्यो ।

सरोजजी हामीभन्दा अघि नै काठमाडौं पुग्नुभएको थियो । पछि उहाँलाई पछ्याउँदै उमेशजी र म पुग्यौँ । उहाँ चित्रकलालाई नै आफ्नो पेशा बनाउन दत्तचित्त भइरहनुभएको थियो । ग्राफिक्स डिजाइनको कार्यालय खोलेर आफूलाई ब्यस्त बनाइ रहनुभएको थियो । तर निष्ठुर समयले उहाँलाई असमयमै हामीबाट खोसेर लाग्यो । 

म पनि त्यतिखेर त्यतै जिविका चलाउन भनेर काठमाडौं पुगिसकेको थिएँ । ललितपुर स्टाफ कलेजमा एउटा कार्यक्रममा सहभागी हुन पुगेको थिएँ । कार्यक्रम सकिएपछि केही साथीहरुसँग भलाकुसारी गर्दै थिएँ । कसैले प्रकाशोन्मुख स्मारिकाको बारेमा कुरा उठाए । जवाफमा कुनै एक साथीले भने,‘जसलाई कभर डिजाइनको जिम्मा दिइएको थियो, उनको पार्थिव शरीर आजै आर्यघाटमा भष्म भइसक्यो ।’

म झसङ्ग भएँ । त्यो पार्थिव शरीर त सरोजजीको पो रहेछ । सरोजजीको असामयिक विदाई भएछ । उहाँलाई अन्तिम श्रद्धाञ्जली दिन पनि पाइनँ मैले । अहिले पनि थकथक लागिरहेछ । अब हाम्रा प्रिय मित्र सरोजजी हाम्रो सम्झनामा सिमित हुनुभएको छ । उमेशजी र म बेला बेलामा उहाँको कुरा गरि रहन्छौं, यदि कतै अर्को लोक छ र त्यहाँ उहाँ विचरण गरिरहनुभएको छ भने हामीले सम्झँदा उहाँलाई पक्कै पनि बाडुली लागिरहेको हुनुपर्छ !

संयोग पनि कस्तो भने सरोजजीका जेष्ठ भ्राता निरोजको पनि कल्कलाउँदो उमेरमा ब्रेन ट्युमरबाट धेरै अघि परलोक बास भइसकेको उसबेलै सुनेको थिएँ ।
...

दुई दुई जवान पुत्ररत्नको भौतिक स्वरुप असयमै अन्त्य हुँदा कुन अभिभावक सञ्चोले बस्न सक्ला ? बुबा गोपाल भण्डारी र परिवारजनको समयको उपहारको रुपमा प्रदान गरेको असह्य पीडा उहाँहरुलाई लेगुवाको घरैमा पुगेर समवेदना दिई फर्केका सहृदयीहरुबाट मैले सुन्ने अवसर पाएँ । उहाँहरुसँग भौतिक रुपमा भेट नगरिकनै म आफू पनि प्रशस्तै रोएँ, सरोजजीसँगको त्यो असामयिक वियोगमा ।

समयक्रममा मनमा लागेको घाउमा खाटा नबसाइ पनि सुख छैन । सकेसम्म सिर्जनाको माध्यमबाट यस्तो घाउमा मलम लगाउन सक्नुले दुई वटा महत्व पूर्ण भूमिका खेल्छ भन्ने मलाई लाग्छ । सिर्जनाले पीडा भुलाउँदै जान्छ र समाजलाई केही योगदान पनि मिल्छ । यी दुई भूमिकाले दिवङ्गत आत्माप्रति सच्चा श्रद्धा सुमन पनि प्रकट हुन्छ । सायद गोपाल भण्डारी आफ्नो लेखकीय धर्मबाट अरु अमर सन्तान जन्माइरहनुभएको छ । यिनै अमर सन्तानहरुले लेखकलाई पनि अमरत्व प्रदान गर्नेमा कुनै शङ्का छैन । सेवानिवृत्त जीवनमा गोपाल भण्डारीज्यूले अपनाउनु भएको सिर्जनशील ब्यस्तता वास्तवमै अभिनन्दनीय छ । त्यसमा पनि कान्छा छोरा मनोजको बौद्धिक साथ सहयोगले प्रौढको होश र युवाको जोशको समिश्रण हामीजस्तो सर्वसाधारण पाठकका लागि फलदायी हुन पुगेको छ ।

मैले गोपाल भण्डारीज्यूलाई एउटा अभिभावक, एउटा शिक्षक तथा एउटा सामुदायिक बन अभियन्ताको रुपमा पाएको थिएँ । पछिल्लो समय उहाँलाई एक इतिहासकारको रुपमा देख्न पाउँदा यो इतिहास प्रेमीको मनमा अर्को हर्षोल्लास छाउन पुगेको छ । 
...
आफ्नो जन्मभूमी धनकुटाको इतिहासलाई अलि संवेदनशील भएर अध्ययन गरिरहेको छु, म यतिखेर । मैले लेगुवा क्षेत्रको प्राचीनताका बारेमा केही सुन्दै र पढ्दै आइरहेको छु । वि.संं. १६१३ को धनुषाधाममा राखिएको लोहाङ सेनको अभिलेख भेटिएको तथा उनी र उनका उत्तराधिकारीहरूले लेगुवा, अर्खौले क्षेत्रमा गुठीहरू स्थापना गरिदिएको भन्ने पढ्न पाएपछि यस क्षेत्रको प्राचीनताबारे केही ज्ञानहरू हासिल हुन पुगेको थियो । यसैगरी हतुवागढीका शासक अटल रायको वि.सं. १८२५ को मोहरमा पनि लेगुवा खेत पर्न गएको छ ।

गोरखालीहरुको आक्रमणपछि उनी आफ्नो शासन क्षेत्र छाडेर भाग्नुपर्दा लेगुवाकै बाटो भएर भागेको भन्ने गीत गाइन्छ । भण्डारीकृत ‘श्रीनागेश्वर गुठीको सङ्क्षिप्त चिनारी’ (२०७९) पढ्न पाएपछि त लेगुवाको ऐतिहासिकताका बारेमा कुनै शङ्का बाँकी रहेन । अत्यन्तै महङ्खवपूर्ण ऐतिहासिक पत्रहरुलाई परिशिष्टमा समेटेर इतिहास अध्ययनका लागि थप सामग्रीहरु जुटाइदिनु हुने भण्डारीज्यूका सशक्त कलमी पाइलाको यात्राले थप तिब्रता लिएको प्रमाण हो, यतिखेर पाठक वर्गको हातमा रहेको ‘नेपाल, चीन, भारतको सङ्क्षिप्त इतिहास’ । 


प्रकृतिको नियमअनुसार जीवनको उत्तरार्द्धमा आइपुग्दा प्राणी जगत विश्रामतिर उन्मुख हुन्छ । तर भण्डारीज्यूमा कुनै थकान देखिदैन । इतिहास कुनै कल्पनाको उडानमा लेखिने विधा होइन । अलिकति तथ्य तलमाथि मात्र भयो भने त्यो लेखन भ्रष्ट भइदिन्छ र समाज अन्योल ग्रस्त हुन पुग्छ । इतिहासको सबैभन्दा भरपर्दो स्रोत भनेको पुराना लिखत हुन् । सबै प्रत्यक्षदर्शीहरु उपलब्ध नहुन सक्छन्, समय र भौतिक दूरीका कारण । त्यसैले फेला परेका तथ्यहरूलाई असाध्यै मसिनो ढङ्गले निफन्नुपर्ने हुन्छ । त्यस्तो मिहीन कामको जिम्मेवारीलाई आफ्नो काँधमा सहर्ष बोक्ने आँटलाई भण्डारीज्यूको ज्ञानको ब्याकुलता युक्त अदम्य साहस मान्नुपर्छ । 

आजभोलि इतिहासप्रति ठूलो वितृष्णा छ, युवापुस्तामा । विश्वविद्यालयमा इतिहासका प्राध्यापकहरु बेरोजगार हुन पुगेका छन्, इतिहास पढ्ने विद्यार्थीहरुको अभावमा । इतिहासलाई राजा महाराजाका बखान मात्रै हो भन्ने हल्ला फिँजाउने काम पनि भएको छ । तर इतिहासको महत्व  सानो छैन । इतिहास बिर्सनु भनेको आफ्नै बाबु आमा नचिन्नु सरह हो । इतिहास बिर्से, भविष्य सम्हाल्न सकिन्छ भन्ने कुनै ग्यारेन्टी छैन । भोल्तेयरले भनेका छन्, ‘विगतका कुराहरुलाई बटुलेर रोचक पाराले प्रस्तुत गर्नु मात्रै इतिहास होइन, इतिहास त भविष्य देख्ने आँखा हो ।’ त्यसैले वर्तमान र भविष्यको लागि पनि इतिहास अध्ययनले ठूलो महत्व राख्छ ।

यसअघि ‘वशिष्ठ गोत्रीय (सिजापति) भण्डारी वंशावली’ (२०७१), ‘लाटोको बाटो’ (कविता सङ्ग्रह २०७५) तथा ‘एक सय एक मुस्कान’ (चुट्किला सङ्ग्रह २०७९) जस्ता ग्रन्थहरूबाट नेपाली साहित्यका भण्डार भरि सक्नुभएका भण्डारीज्यूले आफ्नो इतिहास अध्ययन तथा साधनाले परिपूर्ण ‘नेपाल, भारत र चीनको सङ्क्षिप्त इतिहास सङ्ग्रह’ले विशिष्ट स्थान राख्ने यो लेखकको अपेक्षा रहेको छ ।

यसअर्थमा एउटा अत्यन्तै जोखिमपूर्ण र उत्तिकै महत्व पूर्ण कार्यका लागि मेरा पितातुल्य इतिहासकार गोपाल भण्डारीज्यूप्रति शाब्दिक अभिनन्दन चढाउन चाहन्छु ।

अन्तिममा भूगोलविद् प्रा. रामकुमार पाँडेको भनाई सापटी लिएर भन्न चाहन्छु, ‘भूगोल नजान्नेले देश चिन्दैन, संस्कृति नबुझ्नेले सभ्यता जान्दैन र इतिहास नपढ्नेले देश हाँक्दैन ।’

धनकुटा–४,देब्रेवास (हालः पोर्चुगल)