खोइ निष्पक्ष मीमांसा ? भावी पुस्ताका नयाँ जीवनका लागि सोच्ने काम ढिला भएन र ?

फर्कलान् र ती दिनहरु

खोइ निष्पक्ष मीमांसा ? भावी पुस्ताका नयाँ जीवनका लागि सोच्ने काम ढिला भएन र ?

हरिविनोद अधिकारी  |  शिक्षा  |  चैत्र १८, २०७९


भन्न त भन्छन्, यौवन कालमा नै कल्पना शील भएर काम गर्नुपर्छ, अन्यथा पछि समय नै हुँदैन काम सुरु गर्न,कामलाई पार लगाउन र गरेका कामको सकारात्मक या नकारात्मक परिणाम हेर्न । यौवन काललाई उर्जा भएको समयको रुपमा लिइन्छ ।

बालकमा बाबुआमाको लाड/प्यारमा बित्ने, युवा अवस्थामा विपरीत लिङ्गी प्रतिको आसक्तिले बित्ने, विवाह हुने, बालबच्चा हुने र माकुराको जालो जस्तै जीवनचक्रमा फस्ने अनि त्यही जालोभित्र नै जिन्दगी घुमिरहने !

न त निस्कने ठाउँ छ, तर बाहिरी दुनियाँ भने सबै जालो भित्रबाट देखिन्छ । आफैँले मिहिनेत साथ बच्चाहरुको सुरक्षाका लागि र आफ्नो पनि सुरक्षाका लागि बनाएको जाल नै पछि निसासिएर मर्ने ठाउँ हुने रहेछ किनभने सबै युवा माकुराहरू जालोभन्दा बाहिर हुन्छन् । सके तिनले भेट्नै सक्दैनन् या त्यही जालोभित्र थुनिएर बसेका रहेछन् भने ठुला माकुराको शिकार गर्नेछन् भनिन्छ । वास्तवमा माकुराको जालोको उदाहरण यस्तै घटना र दुर्घटनाका लागि दिइन्छ । 

लामो जीवन बाँचेपछि पक्कै नै पछिल्तिर फर्केर हेर्दा शून्यमात्र देखिन्छ, कुनै पद चिन्ह देखिन सकेन भने त्यो जीवन निरर्थक मानिँदो रहेछ । यसो हेर्दा हामी निम्न मध्यमवर्गीय परिवारले गर्ने कल्पना भनेको हातमुख जोर्ने, लाला बाला पढाउने, सकेसम्म स्वरोजगार हुन् भन्ने, नभए डोका र ढोकामा बिक्न सकून् भन्ने कामना गर्ने । हाम्रो पुस्ता कतिपय कुरामा पहिलो पुस्ता बनेको छ ।

जस्तो कि मेरो परिवारमा, हजुरबा चन्द्रकान्त अधिकारीको छोरा पट्टिको परिवारमा एस एल सी उत्तीर्ण हुने पहिलो व्यक्ति म नै हुँ । २०२६ सालमा कमला हाइस्कुलबाट एस एल सी दिएको हो । २०२७सालको वैशाखमा रिजल्ट हुँदा म महाभारतको भाकाढुङ्गाको बाटो ग्वाल्टारतिर आउँदै थिएँ बेसारे फाँटको बाटो ।

सायद कृष्ण घिमिरे भान दाइको रेडियो थियो सानो उहाँसँग । उहाँ पनि ग्वाल्टारतिरै आउनु भएको थियो । हामी सायद तीन जना थियौँ, भैरवबहादुर बस्नेत( भैरु दाइ) दाजु । लाग्छ हामी झार्लाङ्टारबाट आउँदै थियौँ बेसारेको बाटो । आउँदा बस्ने भनेको काहिँला भिनाजुको घरमा हुन्थ्यो । कृष्ण दाइ काहिँला भिनाजुका छोरा, भान दाजु हुनुहुन्थ्यो । टङ्सार बेसीमा या  बेसारेमा भन्नुपर्‍यो, भिनाजु र परिवारका अन्य सदस्यहरु बस्नु हुन्थ्यो , पहिलेको मूल घरमा चाहिँ रामेश्वर दाइ बस्नुहुन्थ्यो ।

हामी विहानै बेसीबाट हिँडेर गाउँमा खाना खायौँ र बिस्तारै उकालो चढ्दै थियौँ , भाकाढुङ्गामा यसो शीतल हावा खान भनेर लाँकुरीको चौतारीमा भलभल उम्रिएको पसिना सेकाउन भनेर बसेको बेला दिउँसोको अढाइ बजेको समाचार आयो र सायद कृष्णा ताम्राकारको आवाजमा हाम्रो एस एल सीको रिजल्ट भएको सुनियो । २०२६सालमा लिइएको नियमित एस एल सी परीक्षाको रिजल्ट गरिएको समाचार थियो । त्यो बेलामा प्राइभेट, पहिले फेल भएका तर जाँच दिएका एक्जेम्प्टेडहरुको नतिजा पछिमात्र गर्थयो जवकि परीक्षा हामीभन्दा पहिले नै भएको थियो ।

अहिले हामी कुन दर्शनमा शिक्षाको बाटो तय गरेका छौँ ? कुन पृष्ठभूमिका आधारमा भविष्यको कुन लक्ष्यका लागि कस्तो शिक्षाको खाका तयार गरेका छौँ ? मात्र पाठ्यपुस्तकका आधारमा कक्षामा घोकन्ती शिक्षाको स्तर वृद्धि गर्ने हो कि समयानुकूल जनशक्ति तयार गर्ने हो ? सरकारमा भएका मानिसहरुले मुख मुख लागेर भन्छन्, हाम्रो सदासयता र दुष्प्रयासको मूल्यांकन भएन तर त्यही मानिस  जब सरकारबाट बाहिरिनेछ, विरोध गर्न थाल्छ त्यही योजना र शिक्षाको नीतिको । 

 भाकाढुङ्गा महाभारतको रेन्जको माथिल्लो गाउँ भएकाले रेडियो नेपालको आवाज सुनिन्थ्यो सर्टवेभ ६० मिटर र ४१ मिटर ब्यान्डमा सायद । अब अर्को तनाब सुरु भयो के भइयो भन्ने । मात्र यति थाहा छ, गोर्खाको अमर ज्योति माविका बाबुराम भट्टराई बोर्ड फस्र्ट भएका थिए । पछि उहाँ नै नेपालको प्रधानमन्त्रीसमेत हुनुभयो । भनिन्थ्यो उहाँ कहिल्यै पनि आफ्नो कक्षामा दोस्रो हुनुभएन । नभन्दै नेपालको राजनीतिमा पनि संविधान सभाले संसदको काम गर्दासमेत उहाँ नेपालको सम्माननीय प्रधानमन्त्री हुनुभयो । यहाँ उहाँको राजनीतिक विवेचना गर्न चाहन्न किनभने हामी उमेरमा समकालीन हौँ र उहाँले गर्नु भएको शैक्षिक तथा राजनीतिक प्रगतिका लागि हामीले गर्व गर्नुपर्छ । 

हामी ११हजार विद्यार्थीमध्ये करिब ६ हजार मात्रै उत्तीर्ण भएका थियौँ । मेरा सिम्बल नम्बर ६०८७ सी थियो । परीक्षाको सिम्बल नम्बरमा पछिल्लो अक्षर कोड राख्दा अंग्रेजी २६ ले भाग गर्ने अनि आएको शेषलाई १ शेषलाई ए, २ शेषलाई बी, ३ शेषलाई सी जस्तै ० नै शेष आयो भने जेड गरिने रहेछ ।  

यसरी परीक्षाको नम्बरमा कोड जस्तै राखिन्थ्यो । त्यो बेलामा बोर्ड दसौँ सम्मको नाम पनि दिन्थ्यो सायद । हामी त्यस्तै साँझतिर या भनौं साँझको ६बजेतिर गाउँमा आइपुगेका थियौँ । मैले आफ्नो रिजल्ट भएको कुरा त्यही कृष्ण भान्दाइ र भैरुदाइलाई भनेँ । उहाँहरुको विचारमा म राम्रो पढ्ने  विद्यार्थी भएकाले  पास नहुने कुरै छैन भन्दै हुनुहुन्थ्यो तर मलाई आफ्ना समकक्षी भन्दा कम नम्बर पो आउने हो कि भन्नेचाहिँ लाग्यो तर पास त कसो नहोइएला भन्ने मनमा कौतूहल चाहिँ रह्यो ।

अघिल्लो वर्ष सिन्धुलीमा प्रथम श्रेणीमा उत्तीर्ण हुने भनेर अपेक्षा गरिएका तेस्रो श्रेणीमा, तेस्रो श्रेणीमा होला भनेका दोस्रो श्रेणीमा पास भएकाले यसै भन्न गाह्रो थियो । मेरा हस्तलिपी फोहोर भएकाले र छिटोछिटो लेख्ने भएकाले आफ्नै अक्षरसँग डर थियो लेखाइसँग होइन । तर भएछ पनि त्यही, मेरा समकक्षी साथीहरु धेरैले दोस्रो श्रेणीमा उत्तीर्ण हुँदा म कम नम्बरले दोस्रो श्रेणीमा नभएर तेस्रो श्रेणीमा उत्तीर्ण भएको रहेछु ।

मेरो संस्कृत र नेपालीमा कम नम्बर देखेर गुरु उमानाथ शास्त्रीले यो त हरिको नम्बर हुनै सक्दैन, रि टोटल गर्नुपर्छ भनेर हेड सरलाई भन्नुभयो तर मैले नै पास भई हालियो, काठमाडौँसम्म गएर रिटोटल गर्ने हिम्मत पनि आएन, मन पनि लागेन । यदि अनुत्तीर्ण भएको भए सायद रिटोटलको प्रक्रिया अपनाउनु जरुरी हुन्थ्यो होला तर विज्ञान पढ्ने धोको त थियो तर जनकपुरमा विज्ञान थिएन, काठमाडौँमा गएर पढ्न सक्ने अवस्था देखिएन ।

हुन त प्रायाशः सिन्धुलीका हामी विद्यार्थीहरुका लागि काठमाडौँ पायक पथ्र्यो र पनि जनकपुर नै रोजाइमा पर्न थालेको थियो । सबैभन्दा त जनकपुर सस्तो खानपिन र डेराको सहज व्यवस्था मानिन्थ्यो त्यो बेलामा । पानीका लागि कलबाट तानिन्थ्यो । गर्मी ठाउँ र भारतको खादी संस्कृतिले हामीलाई पनि आकर्षित गरेको थियो सिम्पल लिभिङ, हाइ थिङ्किङ्, सरल जीवन यापन, उच्चस्तरीय सोचाइ । 

यसरी जनकपुरका आइ कम, सानोठिमी भक्तपुरबाट डिप्लोमा इन बिजिनेस एजुकेसन, विस्तार केन्द्र पछि महेन्द्र रत्न क्याम्पस ताहाचलबाट एम एड गरेँ र शिक्षण पेसातर्फ आकषिर्त भएँ । त्यसो त एम एड भन्दा पहिले नै २०३५सालदेखि नै कहिले क्याम्पसमा त कहिले माध्यमिक विद्यालयमा पढाउन थालियो । शिक्षकहरुको भलाइका लागि संगठित हुनुपर्छ भन्ने आन्तरिक प्रेरणा र बीपी कोइरालाको प्रत्यक्ष निर्देशनमा शिक्षकहरुको सांगठनिक फाँटमा सक्रिय भइयो । पछिल्लो २०४७सालको वैशाख ३० गते नेपाल शिक्षक संघको स्थापना कर्ता मध्ये एकजना भएर काम गरियो ।

पहिले हामी स्वभावतः नेपाल राष्ट्रिय शिक्षक संगठनमा आबद्ध भएर शिक्षक हितमा काम गर्‍यौँ । सायद शिक्षामा केही गर्नुपर्छ भन्ने अठोट मनमा पलाउँथ्यो । विहान धेरैजसो सांगठनिक काममा व्यस्त भइन्थ्यो, दिउँसो विद्यालयको कक्षामा आफ्नो कर्तव्य पूरा गर्नु थियो भावी पुस्ताको ज्ञानका लागि, साँझ रेडियो नेपालमा घटना र विचारमा संलग्न भइएको थियो । समय मिलाएर कहिले क्याम्पसका कक्षा लिने, कहिले सांगठनिक काम गर्ने अनि कहिले पेसागतका कामहरु नियमितरुपमा गर्ने गरिन्थ्यो । त्यसले शिक्षाभित्रका विभिन्न पाटोको व्यावहारिक ज्ञान पाइएको हो । 

अनि लाग्यो , शिक्षामा सुधार भएकै छैन होइन, तर अपेक्षित सुधार हुन सकेको छैन । त्यसका लागि बेग्लै सकारात्मक सोचका साथ काम गर्नु जरुरी छ । मैले पटक पटक एउटा बेग्लै शिक्षासम्बन्धी स्वतन्त्र निकायको कल्पना गरेको हुँ । त्यसलाई आफ्ना  साथीहरु समक्ष प्रस्तुत समेत गरेको हुँ । अहिले नेपालमा विश्वविद्यालयको स्थापना फेसन भएको बेलामा बेग्लै शिक्षासम्बन्धी विश्वविद्यालयको कुरा गर्‍यो भने सायद स्वैर कल्पना मानिन्छ या हावादारी कल्पना मानिन्छ । जबसम्म एउटै शिक्षामा मात्र केन्द्रित भएर अनुसन्धान, प्रयोग, नीति निर्माण र त्यसको नतिजा विश्लेषण गरी तत्कालै शिक्षाका उद्देश्यहरूमा परिमार्जन गर्ने संयन्त्र बन्दैन, स्वतन्त्ररुपमा शिक्षक तथा विद्यार्थी मूल्याङ्कनको परिपाटी बसाल्न सकिँदैन र जबसम्म शिक्षालाई सरकारले , नागरिक समाजले र विश्वविद्यालयहरुले प्राथमिकताका राख्दैनन्, तबसम्म यो खिचडी तन्त्र चलिरहन्छ । 

धेरै पाटनहरुमा विश्लेषण जरुरत छ । मैले मेरा विद्यार्थीहरुलाई कक्षामा सोध्ने सामान्य प्रश्नहरूमा पनि चित्त बुझाउन सक्दिन भने अरुले कसरी चित्त बुझाउँदा हुन् ? शिक्षाको सुधार भनेको भावी सन्ततिको जीवनमा ल्याउने सकारात्मक सुधार हो । अहिले हामी कुन दर्शनमा शिक्षाको बाटो तय गरेका छौँ ? कुन पृष्ठभूमिका आधारमा भविष्यको कुन लक्ष्यका लागि कस्तो शिक्षाको खाका तयार गरेका छौँ ? मात्र पाठ्यपुस्तकका आधारमा कक्षामा घोकन्ती शिक्षाको स्तर वृद्धि गर्ने हो कि समयानुकूल जनशक्ति तयार गर्ने हो ? सरकारमा भएका मानिसहरुले मुख मुख लागेर भन्छन्, हाम्रो सदासयता र दुष्प्रयासको मूल्यांकन भएन तर त्यही मानिस  जब सरकारबाट बाहिरिनेछ, विरोध गर्न थाल्छ त्यही योजना र शिक्षाको नीतिको । 

नयाँ पुस्ताको बारेमा कसले सोच्ने ? कुन विद्यालयले नयाँ पुस्ताका लागि सहज तरिकाले सस्तोमा शिक्षा उपलब्ध गराएको छ ? नगण्य ? या कसरी शिक्षाको विकासक्रम अघि बढेको छ ? खोइ त निष्पक्ष मीमांसा ? सुरु गरौँ , ढिलो भयो भन्ने लाग्न थालेको छ । क्रमशः