देशद्रोहीहरूका नाममा

देशद्रोहीहरूका नाममा

ऋतु आशिक  |  साहित्य  |  चैत्र २६, २०७९

राजा महेन्द्रको विरुद्धमा 
पञ्चायती व्यवस्थाको विरुद्धमा
मैले पनि कलम चलाएको छु । 
तत्कालीन व्यवस्थाका विरुद्ध
देशका विभिन्न भूभागमा
धेरैपल्ट जुलुसमा सामेल भएको छु । 
व्यवस्थाका विरुद्धका लेखनमा जेल गएको छु । 
पञ्चायती व्यवस्था मुर्दावादका प्लेकार्ड बोकेर 
सडक तताउँदै जुलुसमा हिँडेको हिजै त हो 
हो ! पञ्चायती व्यवस्थाका विरुद्ध
राति-राति भित्ता-भित्तामा पर्चा टाँसेको थियौं । 

यसबेला मेरो चेत फर्किएको छ । 
त्यसबेला अज्ञानताको मष्तिष्कले गरेको रहेछ । 
देशद्रोहीहरूको पक्षमा लागेको रहेछु । 
दे घातीहरूको पक्षमा लागेको रहेछु । 

राष्ट्र निर्माता !
राष्ट्र एकीकरणका प्रवर्तक ! 
महान् देशभक्त पृथ्वीनारायण शाह !
भुरे टाकुरे राज्यहरू एकीकरण गरेर 
नेपाल राष्ट्रको निर्माण गरे 
यसैले हामी आफूलाई 
नेपाल र नेपाली भनेर गौरव गर्छौ । 
आउ हामी सबै एक भएर 
पृथ्वीनारायण शाहको देशभक्तिमा 
उनको एकीकरणको अभियानमा 
हामी नतमस्तक भएर 
आउ श्रद्धा सुमनका बिउहरू छरौँ । 
देशभक्तका गाबो रोपौँ । 

देश यसबेला लथालिङ्ग भएको छ । 
मर्ने र बाँच्ने दोसाँधमा उभिएको छ । 
च्याउ झैँ उम्रिएका पार्टीहरूमा
छिमेकीका घृणित धुर्त्याइँ ओढेर 
कतै एमालेमा 
भारतीय धुन्धुकारि ओलीको भेषमा
सिङ्गो मेरो महाकालीमा 
भारतीय दान पानीले सजाइएका 
शेरबहादुर, प्रचण्डहरू 
कतै कम्युनिष्टको खोल ओढेर 
कतै काँग्रेसको लवेदा र सुरुवाल लाएर 
कतै माओवादीको खोल ओढेर 
यी सबै छिमेकीको आदेशमा
स्वार्थको लालीपप चुसाइमा 
देशप्रति झन्-झन् घातमाथि घात गरिरहेका छन् । 
देशको अस्तित्वलाई 
झन्-झन् कमजोर शिथिल बनाउँदै छन् । 
जता-ततै मार माथि मार हान्दै 
एकीकृत नेपाली एकतालाई
देशद्रोही विभीषणको बर्को ओढेर 
झन्-झन् कमजोर बनाइरहेका छन् । 
देशको सिमाना झन्-झन् खुम्च्याउँदा छन् । 

लाज र घिन शरम हारा 
राष्ट्रपतिको बर्को ओढेर 
नेपाली बोली बिर्सिएर 
हिन्दीमै लोली मिलाएर 
बुद्धलाई भारतकै हुन् भनेर 
भारतीय सरकारको तेल मालिस खाइरहेका छन् । 
भारतीय प्रभुहरूको ताते भजन गाइरहेका छन् । 
लिम्पियाधुरा, लिपुलेक, कालापनी माथि 
भारतीय वर्चश्व झन्-झन् बढाइ रहेका छन् । 

पूर्व सेनापति !
म तिमीसँग देशभक्त नागरिकको हैसियतले 
जवाफ खोजिरहेको छु । 
राजपरिवारको हत्याको आरोपमा 
तिमी माथि न्यायको डण्डा चलाइनु पर्छ । 
ती मारिएकाहरू प्रति न्यायको माग गर्छु । 
सुन्छु यसबेला –
कुम्लो कुटुरो लिएर विदेश पलायन भएका छौ रे –
तिमीलाई अड्डा सार गरे जस्तै गरेर 
नेपाल सार गर्ने वेला आएको छ । 

नेपाल सरकार !
नेपालको भूमिमाथि 
भारतले युद्धस्तरमा सडक निर्माण गरिरहेको छ । 
तिम्रो मौनता बुझि नसक्नु भएको छ । 
हाम्रो भूमि माथि –
भारतीय सरकारको दादागिरी चलिरहँदा 
देशभक्त नेपालीलाई 
सूचना प्रवाहको मौनता किन रु 
हामीलाई तिमी माथि शङ्का  माथि शङ्का बढिरहेको छ । 
लिम्पियाधुरा, लिपुलेक, कालापानी माथि 
भारतीय हैकम बढिरहँदा 
तिम्रै बगलमै छ त 
संयुक्त राष्ट्रसंघको कार्यालय 
सूचना प्रवाह किन गर्दैनौ ? 
तिम्रो संलग्नतामा यी सबै भइरहेका छन् । 
म तिमी माथि देशद्रोहको आरोप लगाउँछु । 

इटहरी, तरहरा 
२०७९ चैत्र १९ गते आइतवार