आईपीएलमा हैदरावादको पहिलो जित

आईपीएलमा हैदरावादको पहिलो जित

एजेन्सी  |  खेलकुद  |  चैत्र २७, २०७९

इन्डियन प्रिमियर लिग (आईपीएल)को जारी सिजनमा सनराइजर्स हैदरावादले पहिलो जित निकालेको छ । 

गएराती पञ्जाब किंग्सलाई ८ विकेटले  हराउँदै हैदरावादले विजयी यात्रा आरम्भ गरेको हो । यसअघिका २ खेलमा हैदरावाद लगातार पराजित भएको थियो । 

हैदरावादको घरेलु मैदान राजिव गान्धी इन्टरनेसनल स्टेडियममा पञ्जाबले दिएको १४४ रनको लक्ष्य हैदरावादले १७.१ ओभरमा २ विकेट गुमाएर भेटेको थियो ।

हैदरावादको सानदार जितमा राहुल त्रिपाठीले विस्फोटक ब्याटिङ गरे । त्रिपाठीले  ४८ बलमा  १० चौका र ३ छक्का प्रहार गर्दै अविजित ७४ रन बनाए । 

त्यस्तै, कप्तान एडेन मारक्रमले २१ बलमा ६ चौका प्रहार गर्दै अविजित ३७ रन बनाए । 

ओपनरद्वय मयंक अग्रवाल र ह्यारी ब्रुकले क्रमश: २१ र १३ रन बनाए ।

पञ्जाबका लागि अर्शदीप सिंह र राहुल चाहरले समान १/१ विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १४३ रन बनाएको थियो ।

पञ्जाबका कप्तान शिखर धवनले अविजित ९९ रन बनाए । ६६ बल खेलेका उनले १२ चौका र ५ छक्का प्रहार गरे । त्यसका बाबजुद पनि टोलीको हार टर्न सकेन । 

शाम कुरानले २२ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यान सस्तोमै आउट भएपछि पञ्जाब जारी लिगमा पहिलो पटक पराजित भएको हो ।

बलिङतर्फ हैदरावादका मयंक मार्कण्डेले सर्वाधिक ४ विकेट लिए । त्यस्तै, मार्को जन्सेन र उम्रन मलिकले २/२ विकेट लिँदा भुवनेश्वर कुमारले १ विकेट लिए।

जितसँगै पञ्जाब अंक तालिकाको छैटौँ नम्बरमा झरेको छ भने हैदरावाद आफ्नो स्थिति सुधार गर्दै आठौँ स्थानमा उक्लिएको छ ।