हैदरावाद कोलकातासँग पराजित

हैदरावाद कोलकातासँग पराजित

एजेन्सी  |  खेलकुद  |  बैशाख २, २०८०

ओपनर ह्यारी ब्रुकले शतक प्रहार गरेपछि सनराइजर्स हैदरावादले कोलाकाता नाइट राइडर्सलाई पराजित गरेको छ । 

इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत गए राति भएको खेलमा हैदरावादले कोलकातालाई २३ रनले पराजित गरेको हो ।

जितका लागि २२९ रन लक्ष्य पाएको कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै २०५ रन मात्र बनाउन सक्यो ।

कोलकाताका लागि कप्तान नितिश रानाले सर्वाधिक ७५ रन बनाए । उनले ४१ बलमा ५ चौका र ६ छक्का प्रहार गरे । नारायण जगदीशनले २१ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३६ रनको योगदान गरे । 

अघिल्लो खेलको अन्तिम ओभरमा लगातार ५ छक्का प्रहार गरेका रिंकु सिंहले हैदरावादविरुद्ध अर्धशतकीय पारी खेल्दै नटआउट रहे । उनले ३१ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ५८ रनको योगदान गरे ।

बलिङमा हैदरावादका म्याक्रो जनसेन र मयन्क मारकण्डेले २/२ विकेट लिए भने भुवनेश्वर कुमार, नटराजन र उम्रन मलिकले १/१ विकेट लिए । 

कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ४ विकेट गुमाउँदै २२८ रनको फराकिलो योगफल तयार पारेको थियो ।

हैदरावादका लागि ह्यारी ब्रुकले शतक प्रहार गरे । यो जारी सिजनको पहिलो शतक हो ।

ओपनर ह्यारीले ५५ बलमा १२ चौका र ३ छक्का प्रहार गर्दै नटआउट १०० रन बनाए । 

त्यस्तै, कप्तान एडेन मार्क्रमले अर्धशतक बनाउन २६ बलमा २ चौका र ५ छक्का प्रहार गरे । 

अभिशेक शर्माले १७ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै  ३२ रनको योगदान गरे भने हेनरिच क्लासेन ६ बलमा २ चौका र १ छक्काबाट १६ रन बनाउँदै अविजित रहे ।

बलिङतर्फ कोलकाताका आन्द्रे रसेलले ३ विकेट लिँदा बरुण चक्रवर्तीले १ विकेट लिए । 

जितसँगै हैदरावाद अंक तालिकाको सातौँ स्थानमा छ । हारेको कोलकाता चौथो स्थानमा छ ।