विभिन्न खोल भित्रका गगन थापाहरू

विभिन्न खोल भित्रका गगन थापाहरू

ऋतु आशिक  |  साहित्य  |  बैशाख ९, २०८०

देशभक्त भीम मल्ल
उनकी अर्धाङ्गिनी
रगतको आहाल स्वोर्दै
मुटु भक्कानिएर
अलाप विलापको प्रतिमूर्ति
अथाह पति प्रतिको सामिप्यता
अथाह देशभक्तिको प्रदर्शन हुँदै थियो ।
मूला काटिए झैँ काटिएर ढालिएका थिए ।

जीवन सङ्‌गिनीको अथाह छटपटी मै
निस्सासिँदै रगतको अहाल निस्किदै थियो ।
भक्कानिएर सराप्दै थिइन् ।
देशको भलो चिताउनेको यस्तै नियति होस् ।
देशप्रति घात माथि घात
प्रचण्डरूपी विभीषणका
घृणित नाटक उद्‌घाटित हुँदैछन् ।
भयावह दृश्यहरू पुनरावृत हुँदैछन् ।
देश झन् – झन् स्वतन्त्रता गुमाउँदै
पराधिनताको सिक्रीमा कसिँदै छ ।
पलायनको तिक्तता ओढिरहेको छ ।
मेरो देश त्यसबेलादेखि अहिलेसम्म
आफूले आफ्नै टाउकोमा आगो सल्काएर
आत्महत्या गरिरहेको छ ।

विभिन्न खोल भित्रका गगन थापाहरू
चिच्याई-चिच्याइ सदनमा कुर्लिरहेका छन् ।
अमेरिकी सेना आएमा
चार पाटा मुडियोस्
चार भञ्ज्याङ कटाइयोस्
सत्यता छोप्न खप्पिस भाडाका खर्पनहरू
असंलग्नताको चन्दन, टीका ओढेर
मेरो देशलाई
राष्ट्रसंघको राम नामी ओढाएर
लिलामी गरिरहेका छन् ।

ती अतीतका महान् देशभक्त राजाहरू
पृथ्वीनारायण शाह छैनन् ।
महेन्द्र पनि छैनन्
वीरेन्द्र पनि छैनन्
मेरो देश मर्ने र बाँच्ने
दोसाँधमा बसेको छ ।
विभिन्न कलेवरको बर्को ओढेर
देशलाई सुपुर्दगीको लागि
तँ छाड म छाडको अग्रता चलिरहेको छ ।

मेरो देशको पत्रकारिता
नेपाल पत्रकार महासंघको कलेवरमा
लैनचौरको गीतमा आफूलाई अभ्यस्त पारिरहेको छ ।
कठै मेरो देश
जताततै ठक्कर नै ठक्कर खाएर
अझै ठिङ्ग उभिरहेको छ ।
देश त हाम्रो हो
हामीले नै यसलाई सम्हाल्नु पर्छ ।
देश घातका घाउहरूमा मलहम लाउँदै
आउ देशलाई उठाउ
चराइरहेका घाउमा
मलहम लगाउ ।
हामी आफ्‍नो जिम्मेवारी निर्वाह गरौँ ।

तरहरा, इटहरी
२०७० वैशाख २ शनिबार