फ्रेन्च लिग वान : पीएसजी उपाधितर्फ

फ्रेन्च लिग वान : पीएसजी उपाधितर्फ

एजेन्सी  |  खेलकुद  |  बैशाख ९, २०८०

किलिएन एमबाप्पेले २ गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा एन्गर्सलाई २-१ ले पराजित गरेको छ ।

शुक्रबार रातिको यस जितपछि लिग लिडर पीएसजीले उपाधि होडलाई बलियो बनाउँदै लगेको छ । एन्गर्सको मैदानमा एमबाप्पेले खेलको नवौँ र २६औँ मिनेटमा गोल गरेका थिए । सबै खाले प्रतियोगितामा गरी एमबाप्पेले यस सिजन ३४ गोल गरिसकेका छन् ।

एन्गर्सका लागि सादा थिउबले ८७औँ मिनेटमा सान्त्वना गोल फर्काए ।

जितपछि पीएसजीले ३२ खेलबाट ७५ अंक जोडेको छ र दोस्रो स्थानको मार्सेमाथि ११ अंक अग्रता बनाएको छ । मरासले १ खेल कम खेलेको छ ।

३२ खेलबाट १४ अंक मात्र रहेको एन्गर्स अंक तालिकामा पुछारमा छ ।