सरुवा

लघुकथा

सरुवा

राधा कणेल  |  साहित्य  |  बैशाख ९, २०८०

समय : बिहान १० बजे
स्थान : हाकिमको कक्ष

दृश्य १ 
बुद्धिबहादुर हत्केला मुसार्दै हाकिमको कोठाभित्र छिर्‍यो । बडो चिप्लो घस्दै हाकिमको प्रशंसा गर्‍यो । कार्यालयमा हाजिर भएदेखि प्रायस् हाकिमले चाहेका शब्द मात्र निकालेर कुरा गर्नु उसको नियमित दैनिकी हो ।

दृश्य २
केही ट्रेड युनियनका  प्रतिनिधि पनि छिरे हाकिमको कोठामा । एक जना नेताले गोजीबाट कसैको नाम निकाले र हाकिमलाई दिए । हाकिमलाई सोहीअनुसार नै सरुवा हुनुपर्ने दबाब दिँदै भने, 'सरकार हाम्रै हो भन्ने सरलाई त थाहा नै होला ।'

एकछिन यस्तै केके भनेर हिँडे । जाने बेलामा समेत सम्झाए हाकिमलाई, 'काम यही सूचीबाट होस् है हाकिमसाहेब'  !'

दृश्य ३
केही छिन पछि अर्को ट्रेड युनियनका प्रतिनिधि छिरे । त्यसका नेताले पनि गोजीबाट केही कागज निकाले र हाकिमलाई दिए । सोही कागजमा लेखिएअनुसार नै काम हुनुपर्ने, अब सत्ता समीकरण परिवर्तन हुने र सरकार आफ्नै पार्टीको हुने कुरा हाकिमलाई सम्झाए ।

दृश्य ४

एक जना महिला कर्मचारी बच्चा च्याप्दै भित्र छिरिन् । तिनले आफ्नै घर नजिकैको अड्डामा बच्चा हेर्ने आफ्नै आमा भएको, घरको हेरचाह तथा गाईको दूध पनि खान पाउने, हाल रहेको स्थान आफूलाई असहज  र अति गाह्रो भएको थियो  आफ्नो सरुवा हुने समयसमेत भएको कुरा अनुरोध गरिन् । 

दृश्य ५

एक हुल जनप्रतिनिधि छिरे हाकिमको कोठामा । ' मेरो क्षेत्रमा महिला चाहिँ पार्दै नपार्न' है ! आइमाईलाई सम्झाउनै गाह्रो हुन्छु, मेयरले कडै शब्दमा खबरदारी गरे ।
 
दृश्य ६

एक जना छिरे नमस्कार गर्दै । ' हजुर, म त धेरै वर्ष भयो दुर्गमको दुर्गम । अहिले मेडम बिरामी छन् । जागिरको उत्तरार्द्ध पनि भयो हजुर ! मेरो सरुवा सिमलटारमा गरि दिनुपर्‍यो',  आँखाभरी आँसु पार्दै हात जोडेको जोड्यै ऊ निस्किए । 

दृश्य ७
सुवर्ण छिर्‍यो -हाकिमले दिएको काम सकेर फाइनल देखाउन । दिएको काम केही नभनी सरासर सक्ने सुवर्ण हाकिमलाई मनपर्ने कर्मचारी हो । माथिल्लो पदसम्म पुग्ने सम्भावना बोकेको सुवर्णलाई पनि बुबाआमाको रेखदेखका लागि सिमलटारमा नै सरुवा चाहिएको थियो ।

दृश्य ८
२ जना मानिसहरू आए । त्यसमध्ये एक जना व्यापारी र अर्को कर्मचारी । व्यापारीले ब्रिफकेश बोकेको थियो । उसले गोप्य कोठामा हाकिमलाई लगेर कुरा गर्‍यो । एकछिनमा दुवै निस्किए गोप्यबाट । बाहिर निस्किएपछि कर्मचारीलाई लिएर व्यापारी हिँड्यो ।

खासमा सिमलटार अड्डाको कर्मचारी भर्खरै सरुवा भएर अर्कै कार्यालयमा गएकाले त्यहाँ एउटा कर्मचारी पठाउनुपर्नेछ । सिमलटार अड्डा प्राकृतिक र आर्थिक हिसाबले पनि राम्रोमा गनिन्छ । त्यही अड्डामा सरुवा हुन रस्साकस्सी छ आज दिनभर अफिसमा । हाकिमका पसिना छुट्नेगरी भेटघाट जारी छ ।

स्थान: हाकिमको सचिवालय
समय : अपराह्न ४ बजे

'बुद्धिबहादुरले सिमलटार ताकेको छ, पाउँछ होला', एक सहायक कर्मचारीले खुस खुस कुरा गरे ।

'हैन, सरले सुवर्णलाई सरुवा गर्ने रे त्यहाँ', अर्को बोले  । 

'हैन, पार्टीको फोन आएको रे त त्यहाँ त ।'
 
यस्तै यस्तै अनेक अड्कल काटिए ।

टिप्पणीका लागि फाइल तयार हुने बेला भयो ।  हाकिमले सरासर ड्राफ्ट तयार गरेर कम्प्युटर अपरेटरलाई टाइप गर्ने जिम्मा दिए ।

सबैको ध्यान र चासो कसलाई सरुवा दिए सिमलटारका लागि हाकिमले भन्ने थियो ।

टिप्पणी प्रिन्ट गरेर अपरेटर हाकिम कहाँ के पुगेको थियो, हाकिमलाई फोन आयो मन्त्रालयबाट ।

अमिलो मुख  पार्दै हाकिमले फोन राखे । एकछिन घोरिए र भने,  'फालि दिनुस् यो टिप्पणी डस्टबिनमा ।'

'किन र सर ?'

' मेरो हिजै सरुवा भएछ, भोलि पत्र आइ पुग्छु, हाकिमले भने ।