राजनीति सेवा कि व्यवसाय ! नेताले राज्यद्रोह गर्दा युवा-विद्यार्थीको मौनता किन !?

राजनीति सेवा कि व्यवसाय ! नेताले राज्यद्रोह गर्दा युवा-विद्यार्थीको मौनता किन !?

पूर्ण ओली  |  दृष्टिकोण  |  जेठ ८, २०८०

पञ्चायती ब्यबस्था भइञ्जेल पञ्चहरूको नाममा मात्र राजनीति गर्न पाइन्थ्यो । त्यो बेलामा काँग्रेस र कम्युनिष्टहरुले युवा पङ्क्तिलाई अघि लगाएर क्याम्पसहरुमा राजनीति गर्ने गर्थे ।  युवाहरुलाई पनि नेतृत्वले काँग्रेस कम्युनिष्टको नाममा लडाएर फाइदा लिन्थे । यसको प्रत्यक्ष फाइदा पञ्चायत सरकारले लिरहन्थ्यो । पछि पञ्चायतको भण्डाफोर गर्न भनेर केहि बामपन्थी र प्रजातान्त्रिक भन्नेहरुले पनि निर्वाचनमा भाग लिएर सदनमा पुगे ।  पञ्चायतमा राजाको बिरोध नगरि राजनीति गर्न बन्देज थिएन ।

खुला राजनीतिमा नहुँदा  कम्युनिष्ट र काँग्रेसका नेतालाई बाहेक अरुलाई खासै फरक पर्ने थिएन । सरकारले आफ्नो क्षमताले भ्याएसम्म बिभिन्न उद्योग तथा कृषिमा राम्रो सहयोग पुर्‍याएको थियो । कृषकका उत्पादन बिक्री नहुने पीर थिएन । खाद्य संस्थानले उचित मुल्यमा धान चामल खरिद गर्ने गर्थ्यो । खाद्यान्न बिदेश निर्यात हुन्थ्यो । उखु किसानलाई अग्रीम रकम भुक्तान गरिन्थ्यो । यसरी सुगर फ्याक्ट्रीमा उखु समयमा उपलब्ध हुने निश्चित हुन्थ्यो ।

अहिले जस्तो आफ्नो बिक्री भएको उखुको मुल्य लिन माइतीघरमा धर्ना दिनु पर्दैनथ्यो । मल बिउको कुनै अभाव हुँदैनथ्यो  । शिक्षा स्वास्थ्य केही हदसम्म समय अनुकुल गुणस्तरीय थियो । राजादेखि जनता सम्मलाई सरकारी अस्पतालमा पर्याप्त औषधि उपचार हुने गर्दथ्यो । त्यतिखेर अहिले जस्ता ठुला भ्रष्टाचारका कुरा सुनिँदैन थियो । सरकारको बिरोध गर्ने ठोस कारण हुंदैन थिए । त्यहि भएर खालि निरंकुश एक दलीय पञ्चायती ब्यबस्था भन्दै बिरोध गरिन्थ्यो । 

बहुदलीय ब्यबस्था ल्याउनका लागि पञ्चायत बिरोधी नेताले बिद्यार्थी र कर्मचारीलाई अघि सारिने गरेको थियो ।  अहिले लोकतन्त्रको नाममा आएको भाँड तन्त्र आएपछि त झन बिद्यार्थी र कर्मचारी बिना राजनीति गर्न नसक्ने अवस्थामा नै  नेताहरु पुगे । अहिले केही अपवाद  बिद्यार्थी बाहेक अधिकांशलाई पार्टीका झोले  भन्दा माथि उठ्न नसकेको अवस्था छ ।

 नेतालाई युवाहरुको भविष्य भन्दा सत्तामा चुड्ने भर्‍याङका रुपमा अहिलेका विद्यार्थीको दुरुपयोग भइरहेको छ । त्यहि भएर हुने खानेले आफ्ना छोराछोरीलाई महंगा नीजि स्कुलमा पढाएर बिदेश पठाउने परम्परा सुरु गरेका छन् । किनकि नीजि बिद्यालयमा सरकारी बिद्यालयमा जस्तो राजनीति गरेर विद्यार्थीको भविष्य बिगार्न पाइदैन । अहिले मध्यम र गरिब परिवारहरु पढ्दा पढ्दै खाडी र मलेसिया जान बाध्य छन् । देशमा गुणस्तरीय शिक्षा र रोजगार नहुँदा राम्रो बिषय लिएर कमाउँदै पढ्न चाहने युवाहरुलाई स्वदेशमा बसेर पढ्ने बातावरण छैन् ।

नेताहरुले पाएसम्म बिद्यार्थीलाई दलका झोले बनाएर आफ्ना दास मात्र बनाउने गरेका छन् । शिक्षामा पनि शीप सिकाउने ज्ञान दिने तर्फ नेताहरुको भाषणमा मात्र सिमित हुने गरेको छ । बिद्यार्थीलाई राम्रो शीप सिकाउने हो भने उनीहरुले आफै रोजगार बन्न सक्छन् । अहिले धेरै नेपाली युवाहरुमा सीपको ज्ञान नहुँदा उनीहरुले बिदेशमा पनि राम्रो आय आर्जन गर्न सकेका छैनन् । यता स्वदेशमा पनि बिभिन्न पेशामा  सिप सिकेका भारतीयहरुले प्राय सबै ठाउँ कब्जा गरिसकेका छन् । 

त्यसैले नेताहरुलाई युवाहरुको शोषणमात्र गरि रहेकाे आरोप खप्न बाध्य छन् ।  बिकसित देशहरुमा बिद्यालय पास गर्ने विद्यार्थीहरुलाई स्कुल तह पाससँगै समाजमा आबश्यक पर्ने सबैजसो सिप सिकेका हुन्छन् । यसले गर्दा युवाहरुलाई रोजगार प्राप्त गर्न कुनै कठिनाइ हुंदैन । युवाहरु स्कुल पास गरिसके पछि आफ्नै खुट्टामा उभिन सक्ने हुनाले आमाबाबुको बोझ हुन चाहँदैनन् । अनि उनीहरु पनि आफै कमाउँदै छुट्टै बस्न रुचाउँछन् ।

बहुदलीय ब्यबस्था आउनासाथ तात्कालिन सरकारले देशका उद्योग कौडीको मुल्यमा लिलाम गरेर श्रमिकको रोजगार हरियो र युवाहरुलाई बेरोजगार बनाइयो । युवाहरुको भविष्यलाई पुर्ण रुपमा बेवास्ता गरियो । नेताहरु पैसाको लागि भ्रष्टाचार मात्र गर्ने होइन नेपालीलाई शरणार्थी बनाएर बिदेश पठाउने राज्यद्राेह सम्मको  गर्न थालेको  प्रमाणित एकपछि अर्काे तथ्यहरु सार्वजनिक भइरहेका छन्  । युवालाई सँधै बेरोजगार राखेर झोले मात्र बनाउन यिनीहरुले युवाहरुलाई सिप सिक्ने अवसर दिएनन् । कार्यकर्तालाई श्रम गरेर खानको सट्टा चन्दा उठाएर  नभए लुटेर खाने गरी प्रशिक्षित गरिएको छ । किसानको बारीमा पसिना बगाउनुको सट्टा रेमिट्यान्सको लागि  विदेशीको फ्याक्ट्रीमा गएर पसिना बगाउन बाध्य पारिएको छ ।

 इमान्दारिताको ब्यवसाय गर्नु भन्दा दलाली गरेर पैसा कमाउन सिकाइयो । देश र जनताको भविष्य भन्दा आफ्नो सत्ता टिकाउन मात्र युवाको दुरुपयोग गर्न लगाउने नेतालाई  अब युवा तथा विद्यार्थीले चिन्न नसक्नु अर्को दुर्भाग्य हो  मातृभूमिको इज्जत गर्न छोडेर विदेशीको दास बन्न सिकाउने गलत शिक्षा नीति र शीप बिनाको ज्ञानको कुनै अर्थ नहुने शिक्षालाई तिरस्कार गर्न पनि अहिलेका नेतृत्वको बिस्थापित गर्नैपर्छ ।  

नेतृत्व तहले युवाको महत्व बुझेर उनीहरुलाई स्वदेशमै रोकेर राख्ने ठोस योजना र कार्यक्रम ल्याएर अनि कार्यन्वयन तर्फ लैजाने संभावना देखिदैन । त्यसैले जसरी हुन्छ नेतृत्व तहमा रहका यी भ्रष्ट, स्वार्थी अनि यी विदेशीका दासहरूलाई पन्छाउनै पर्छ । कमसेकम युवाहरु दलका झोले होइन आफ्नै खुट्टामा उभिने गरि स्वाभिमानी राष्ट्रको होनहार युवा बन्ने हो कि ?

गुणस्तरीय शिक्षा र स्वास्थ्य जनताका आधारभुत आवश्यकता हुन् । यी दुबै महत्वपूर्ण बिषय सरकारका दायित्व भित्र पर्छन् । यसका उदाहरण बिकसित देशहरुमा देख्न पाइन्छ । तर नेपालमा शिक्षा र स्वास्थ्यलाई पुरा व्यापारीकरण गरिएको छ । हरेक क्षेत्रमा बिना पैसा कुनै काम हुँदैन । अब त  सबै तहका जनप्रतिनिधिलाई पनि जागिरे जस्तो बनाएर तलब भत्ता खाने व्यवस्था गरिएको छ । सबैलाई पैसामा आसक्ति हुने बनाइयो । आफै स्वरोजगार बन्न सक्ने न युवा बनाइयो न किसान । उता किसानका जग्गाहरु बाँझा छन् । सरकारले गर्नुपर्ने सिचाईं बिउ मल उपलब्ध छैनन् । किसानका उत्पादनलाई बजारसम्म पनि पुर्‍याउने कार्यक्रम छैनन् । 

यदि दलका कार्यकर्तालाई मात्र उत्पादनसँग जोडिने हो भने युवाहरु आफ्नो श्रम बेच्न किसानका खेतबारीमा पुग्ने थिए । आफुले सिप सिकेको भए आफ्ना गाउँ शहरमा आबश्यक भएको ठाउंमा आफ्नो सिपको प्रयोग गरेर रोजगार बन्ने थिए । अहिले अत्यन्त सिमित युवाहरु जसले राम्रो सिप सिकेर आफ्नो गाउँ शहरमा बसेर राम्रो कमाइ गरिराखेका पनि छन् । उनीहरुलाई दलका नेताको झोले र ढोके बन्नु पर्दैन । 

कृषकले आफैले उत्पादन गर्न सक्ने खाद्यान्न आज अरबौं रुपियामा बिदेशबाट आयत गर्नुपर्ने हाम्रो जस्तो गरिब देशले कति दिन धान्न सक्छ ? उद्योगलाई आबश्यक पर्ने कच्चा पदार्थमा भंसार बढाइन्छ अनि तयारी सामानमा भंसार घटाएर दलाल पुँजीपतिलाई प्रोत्साहन गरिन्छ । युवाहरुलाई स्वदेशमा रोजगार गराउने अवसर दिनुभन्दा बिदेश रोजगारमा जाने बातावरण बनाइन्छ अनि कसरी देश बिकास हुन्छ ?

हाम्रा युवाहरुको रगत पसिना आज बिदेशमा बगिरहेको छ । हाम्रा गाउँ घर खालि हुँदै गएका छन् । खेतबारी बाँझै छन् । भएका केहि युवा पनि उनै भ्रष्ट अनि राष्ट्रघाती नेताका ढोके र झोले मा मात्र सिमित हुने ?   कमसेकम युवाहरुले बिकसित देशमा जस्तै राजनीतिलाई आम्दानीको पेसा बनाउने कार्य बन्द गर्नुपर्छ ।  बिकसित देशका नेताहरु सबैको आफ्नो छुट्टै पेसा हुन्छ जसबाट उनीहरुको आफ्नो जिविका चल्छ । राजनीतिलाई  'पार्ट टायम'  काममा सिमित गर्नु पर्दछ । 

त्यसैले नयाँ जोशिला युवा शक्तिहरुले राजनीतिलाई पेशा नबनाउ । कुनै दललाई मत हाल्न सकिन्छ तर भरसक त्यस भित्र समाहित नहोउन् । युवा अबस्थाको  अमूल्य समय खेर नफालि जिविकाको लागि कुनै राम्रो पेसा अपनाउँदै राजनीतिलाई सेवाको बाटोमा लैजाऔं । अहिलेका भ्रष्ट राष्ट्रद्राेही, सत्ताधारीले युवाहरुको दुरुपयोग रोक्न नछोडेमा युवाहरु बिद्रोह गरेर भएपनि सत्ताको  साँचो आफै लिन अघि बढ्नु पर्छ ।

नेतृत्व तहले युवाको महत्व बुझेर उनीहरुलाई स्वदेशमै रोकेर राख्ने ठोस योजना र कार्यक्रम ल्याएर अनि कार्यन्वयन तर्फ लैजाने संभावना देखिदैन । त्यसैले जसरी हुन्छ नेतृत्व तहमा रहका यी भ्रष्ट, स्वार्थी अनि यी विदेशीका दासहरूलाई पन्छाउनै पर्छ । कमसेकम युवाहरु दलका झोले होइन आफ्नै खुट्टामा उभिने गरि स्वाभिमानी राष्ट्रको होनहार युवा बन्ने हो कि ?
 

भेगास हाउजिङ
बालकुमारी
२०८० जेठ ८