पूर्वीय संस्कृतिकाे गुरु शिष्य परम्परा: माता, पिता र गुरुहरु प्रति नतमस्तक हुने अकाट्य प्रबन्ध

फर्कलान् र ती दिनहरु

पूर्वीय संस्कृतिकाे गुरु शिष्य परम्परा: माता, पिता र गुरुहरु प्रति नतमस्तक हुने अकाट्य प्रबन्ध

हरिविनोद अधिकारी  |  समाचार  |  जेठ २०, २०८०

गुरुहरूप्रतिको सम्मान गर्ने परम्परा पूर्वीय संस्कृतिको सुरुवात मनु महाराजबाट नै भएको देखिन्छ तर अहिले त्यसको परिवेश परिवर्तन भए पनि गुरु शिष्य परम्परा आज पनि यथावत् नै छ....

हुन त हामी सात दशक पुगेका या ७०को दशक सुरु भएका, जीवनका उत्तरार्द्धमा प्रवेश गरेकाहरुले अझै आफ्ना गुरुहरुलाई भेट्दै छौँ भने हामी साँच्चै भाग्यमानी नै हौँ । हामी धेरै साथीहरुका माता पिताहरू हुनुहुन्न, कति साथीहरुमा पिता हुनुहोला, कति साथीहरुका माता हुनुहोला तर कति साथीहरुका माता पिता हुनुहुन्छ । वास्तवमा ७०को दशका लाग्दा पनि माता पिता जीवित हुनु भनेको जीवित भगवान, देवीको सदैव दर्शन पाउने सौभाग्य हो । मेरा मित्र , मितज्यू डाक्टर रेवतीमान श्रेष्ठजीका माता पिता , मेरा मित बा, मित आमा अझै हामीलाई आशीर्वाद दिँदै हुनुहुन्छ, हाम्रा लागि उहाँहरु जीवित भगवान नै हुनुहुन्छ । 

अझै पनि आफूलाई शिक्षा दिने गुरुहरूको दर्शन पाउनु पनि उत्तिकै सौभाग्य हो । मलाई कखरा पढाउने गुरु दैवज्ञ पं.टीकाहरि काफ्ले हुँदा म बारम्बार उहाँलाई भेट्न उहाँको निवासमा जान्थेँ । गुरुको माया , वात्सल्यता कति थियो भने उहाँ बेला मौकामा मेरो घरमा नै आशीर्वाद दिन आउनु हुन्थ्यो । गुरु पुत्र भाइ वरिष्ठ पत्रकार तथा समाजसेवी कपिल काफ्ले आफैँ पिताजीलाई लिएर आउँथे किनभने दाजु भन्थेँ म गुरुलाई , उहाँले भन्नु हुँदो रहेछ, कपिल तँ जन्मनु भन्दा पहिले नै मैले हरिलाई शिक्षा दिएको हुँ । उहाँले कपिल र ममा कुनै भेद गरेको मैले थाहा पाइन । 

त्यस्तै गुरुका रुपमा मावली बा धर्मराज बराल हुनुहुन्थ्यो । उहाँ त मैले आधिकारिक रुपमा विद्यालय पढ्न सुरु गर्दाको गुरु, शिक्षक तथा हेडमास्टर साहेब पनि २०१७साल पुस १गतेदेखि । गुरुहरू धेरैले शिक्षा दिनु भयो र त एकीकृत व्यक्तित्व नै समष्टिमा व्यक्ति हो । त्यस्तै गुरु हुनुहुन्थ्यो पं साम्बभक्त सुवेदी , मलाई संस्कृतका श्लोकहरु मात्र सिकाउनु भएन, निस्पृह जीवन र पठन संस्कृतिका बारेमा उहाँको सिकाइले आजसम्म पनि मलाई साहित्यतर्फको रुचि रहेकै छ । जीवनलाई सहज र सरल तरिकाले लिने, संग्रह भन्दा जीवन सञ्चालनको तरिकामा मात्र आफूलाई समर्पण गर्ने उहाँको गृहस्थी सन्यासी तरिकाले र उहाँको अद्भूत स्मरण शक्ति र भविष्य प्रतिको निष्काम कर्मले सधैँ बाटो देखाइरहेको भान हुन्छ । कलेजमा थुप्रै गुरुहरू हुनुभयो, तर डाक्टर राजेन्द्रकुमार रोंगोंगबाट शिक्षाप्रतिका धारणामा नयाँ गोरेटा देखेजस्तो लाग्यो । 

तर बढी सम्झना र प्रभाव विद्यालय स्तरमा दीक्षा दिने गुरुहरूको हुने रहेछ । सायद पहिलो मानवीय कानुन बनाउने मनु महाराजले आफ्नो मनुस्मृतिमा गुरु, उपाध्याय, आचार्यको श्रेणी विभाजन गरेका थिए र पनि सबै शिक्षा दिनेलाई , विद्या दान दिनेलाई गुरुको दर्जामा राखेका थिए । त्यतिमात्र होइन, गुरुसँग गर्ने व्यवहार, गुरु आमासँग गर्ने व्यवहार, गुरु पुत्रसँग गर्ने व्यवहार र गुरुका सन्तानसँग गर्ने व्यवहारलाई समेत लिपिबद्ध गरेर कानुनको रुपमा समाजमा विस्तारित गरेका थिए । 

त्यसदिन हामीलाई पूर्वीय संस्कृतिको कुरा गर्नेमा सुमन सर र साह सर हुनुहुन्थ्यो । सुमन सरले भन्नुभयो-  गुरु धेरै पाइएला, तर सत्गुरुको चाहना गर, सत्सँग गर र जीवनलाई सही बाटोमा हिँडाऊ। साह सरले अहिंसा र सत्कर्मका बारेमा उदाहरणसहित उपदेश दिनुभयो र आफूलाई जीवनभर हिंसाबाट टाढा राख्न आदेश पनि दिनुभयो ।  हिंसा भनेको काटमार मात्र होइन, झुठ, रिस ईबी, द्वेष पनि हिंसा हो भन्नुभयो ।

हाम्रा पूर्वजहरुले गुरु, उपाध्याय र आचार्य भनेर भने पनि गुरु शब्दले नै हामीलाई अन्धकारबाट उज्यालोतर्फ लैजाने भन्ने अर्थ दिएको हुन्छ । 

ॐ सह नाववतु । सह नौ भुनक्तु ।  सह वीर्यं करवावहै । तेजस्वि नावधीतमस्तु । मा विद्विषावहै । 
ॐ शान्तिः! शान्तिः !! शान्तिः!!!

कठोपषिद्को पहिलो शान्ति पाठमा नै भनिएको छ- परामात्मा हामी दुई गुरु शिष्यलाई सँगसँगै विद्यालयको स्वरुप प्रदान गरून्, सँगसँगै विद्यालको फल प्रकाश गरेर पालन गरून् । हामी दुवै साथै विद्यासम्बन्धी सामथ्र्य प्राप्त गरौँ । हामी दुईको पढेको विषय तेजिलो होस् । हामी परस्पर द्वेष नगरौँ । 

विभिन्न प्रकारका तीन ताप- आध्यात्मिक, आधिदैविक तथा आदि भौतिक- बाट शान्ति प्राप्त होस् । 

त्यसैगरी मुण्डकोपनिषद्ले पनि आफ्नो शान्ति पाठमा भनेको छ- 

ॐ भद्रं कर्णेभिः शृणुयाम देवा भद्रं पश्येमाक्षभिर्यजत्राः । स्थिरैरङ्गैस्तुष्टुवाँ सस्तनुभिव्यशेम देवहितं यदायुः ।। स्वस्ति न इन्द्रो वृद्धश्रवाः स्वस्ति न पूषा विश्वदेवाः । स्वस्ति नस्ताक्ष्र्यो अरिष्टनेमिः स्वस्ति नो  बृहस्पतिर्दधातु ।।  
ॐ शान्तिः! शान्तिः !! शान्तिः!!!

हे देवता हो, यज्ञ गर्ने हामीहरूका कानले कल्याणमय वचन सुनौँ,आँखाले कल्याण देखौँ, मजबुत अङ्गले स्तुति गर्ने हामी जस्तो आयु देवताहरुको हित गर्ने हुन्छ, त्यस्तै आयु भोग गरौँ । बडा कीर्तिमान इन्द्र, परम ज्ञान वान पूषा, आपत्ति हटाउन चक्र समान गरुड र बृहस्पति हाम्रो कल्याण गरून् । 

आध्यात्मिक, आधिदैविक तथा आदि भौतिक तीन ओटै ताप शान्त होऊन् ।  

अहिले पहिलेको परिभाषामा केही परिवर्तन पक्कै आएको छ तर विद्यालयमा , खासगरी माध्यमिक तहमा पढाउने गुरुहरूको सम्झना आउँछ । अझ जहाँबाट विद्यालय तह सम्पन्न गरियो, त्यहाँ हामीलाई गुरुहरूको प्रभाव सबैको परेको भए पनि उमानाथ शास्त्री  सिन्धुलीयको बढी नै प्रभाव परेको हो । उहाँ साहित्यकार हुनुहुन्थ्यो, त्यसकारणले मात्र होइन, विद्यार्थीहरु प्रतिको उहाँको उपनिषद्मा भनेजस्तै सहभाव थियो, समदर्शिता थियो र दूर दृष्टि राखेर हामीलाई जीवन र जगतका बारेमा अनेक उदाहरण दिएर  समाजसँग कसरी भिज्ने , कसरी समाजसँग मिलेर बस्ने र समाजलाई कसरी नेतृत्व दिने भन्ने उहाँको चासो सधैँ हुन्थ्यो ।

त्यसो त हेडसर जगदीश्वर महतोमा संयमता, सहजता र कसरी सबैसँग नम्रता पूर्वक व्यवहार गर्ने भन्ने गुणले हामीलाई प्रभावित गरेको थियो । त्यसो त सबै गुरुहरूको समष्टिगत व्यक्तित्वको एकीकृत स्वरुप हामी हौँ । कसैका व्यक्तित्वलाई पनि न त हामी  छुट्याउन सक्छौँ, न आफूभन्दा बाहिर पार्न सक्छौँ । जन्मँदै ल्याएका केही गुण, परिवारबाट सिकेका केही बानी, आमा बा बाट सिकेका केही आफूबाट अलग गर्नै नसकिने बानी अहिले पनि हामीमा विद्यमान छन् । 

साँच्चै भनौँ भने हामीले आफ्ना अतीतलाई चियाउनै पाएनौँ वैशाख ३० गते । हतार हतारमा सिन्धुली पुगियो, गुरुहरू लक्ष्मीप्रसाद सुमन, सूर्यदेव साह, चन्द्रप्रसाद गजुरेल र शंकरनाथ शर्माको उमेरका कारणले पनि हामीले छिटै कार्यक्रम समापन गर्नु जरुरी थियो । हामीले आफूलाई समीक्षा पनि गर्न पाएनौँ र भावी दिनमा हाम्रा दिनहरु कसरी बिताउन चाहन्छौँ भनेर साथीहरुसँग विचार विनिमय गर्न पनि पाएनौँ । 

कार्यक्रममा सभापतित्व गर्नका  लागि कमला माध्यमिक विद्यालयका प्रधानाध्यापक कमलेश चौधरीजीलाई अनुरोध गरेका थियौँ जसलाई उहाँले स्वीकार गर्नुभयो र आउनु भयो । कार्यक्रम अवधिभर बस्नुभयो र भावी दिनमा विद्यालयप्रति चासो राख्न अनुरोध गर्नुभयो ।

त्यसदिन हामीलाई पूर्वीय संस्कृतिको कुरा गर्नेमा सुमन सर र साह सर हुनुहुन्थ्यो । सुमन सरले भन्नुभयो-  गुरु धेरै पाइएला, तर सत्गुरुको चाहना गर, सत्सँग गर र जीवनलाई सही बाटोमा हिँडाऊ। साह सरले अहिंसा र सत्कर्मका बारेमा उदाहरणसहित उपदेश दिनुभयो र आफूलाई जीवनभर हिंसाबाट टाढा राख्न आदेश पनि दिनुभयो ।  हिंसा भनेको काटमार मात्र होइन, झुठ, रिस ईबी, द्वेष पनि हिंसा हो भन्नुभयो ।  गजुरेल सरले जीवनमा समाज सेवाको भावलाई व्याख्या गर्नुभयो र भन्नुभयो- तिमीहरुको जीवन सुखमय होस् । 

हामीले गुरुहरुलाई दिएको सम्मान पत्रमा भनेका थियौँ 
गुरुरेकः शिव साक्षात् गुरुः सर्वार्थ साधकः।
गुरुरेव परं तत्त्वं सर्वं गुरुमयं जगत् ।।

 

समादरणीय गुरुहरूमा समर्पित सम्मानपत्र २०८०


श्रीयुत .........
 गुरुज्यू
आफ्ना बाल्यावस्था र किशोरावस्थाको सम्झनामा जहिले स्मृतिमा आउने व्यक्तित्वहरु हुुनुहुन्छ- माता, पिता तथा गुरुहरू, अनि बाल्यावस्थाका सहपाठी र साथीहरु । हामीलाई अन्धकारबाट उज्यालोतर्फ लैजानका लागि परिवारले, समाजले र राज्यले दिएको गुरुत्तर जिम्मेवारी पूरा गर्दै हामीलाई समाजमा बाँच्न र बस्न लायक बनाउने कामको जिम्मा भने गुरुहरु कै थियो र गुरुहरुले त्यो  गुरुत्तम अभिभारा पूरा गर्नुभएको थियो हाम्रो जीवनको त्यो कालखण्डमा । आजसम्म पनि हामी त्यही ज्ञानको उज्यालोको भरमा आफूलाई समाजमा उभ्याउने कोसिसमा छौँ र माता, पिता र गुरुहरु प्रति नतमस्तक छौँ । मैनबत्तीझैँ आफू पग्लेर पनि हामीलाई ज्योति दिनुहुने समादरणीय गुरुहरुको सम्झना मात्रले पनि मन त्यसै त्यसै पुलकित भएको पाउँछौँ । आज हामी आत्मालाई साक्षी राखेर भन्छौँ, हामीले पाएका ज्ञानको जीवनपर्यन्त सदुपयोग गरिरहने छौँ र हामीमा त्यो क्षमता रहिरहोस् भन्ने आशीर्वाद पाई रहौँ । यही अभिलाषाका साथ हामी २०२६ सालका माध्यमिक विद्यालय परीक्षा दिएका विद्यार्थीहरु( एस एल सी समूह २०२६ सम्माननीय गुरुहरुप्रति हामी हार्दिक अभिनन्दन अर्पण गर्दछौ ।

२०२६ सालका माध्यमिक विद्यालय परीक्षा दिएका विद्यार्थीहरु( एसएलसी समूह २०२६)
श्री कमला हाइस्कुल, ढुङ्ग्रेबास, सिन्धुलीमाडी । 
इति सम्बत् २०८० साल बैसाख ३० गते शनिवार । 

क्रमशः