मनुको सांस्कृतिक महत्व: मिलेर बस्ने, मिलेर खाने र सबैको भलो गर्ने संस्कारलाई खेदो किन ?

फर्कलान् र ती दिनहरु

मनुको सांस्कृतिक महत्व: मिलेर बस्ने, मिलेर खाने र सबैको भलो गर्ने संस्कारलाई  खेदो किन ?

हरिविनोद अधिकारी  |  साहित्य  |  जेठ २८, २०८०

शिक्षाको प्रसङ्ग किन पनि आवश्यक छ भने जीवन र जगतसँग बेलाभन्दा पहिले नै साक्षात्कार गराएर भविष्यका लागि तयारी गराउँछ । शिक्षालाई ज्ञानको रुपमा, शिक्षालाई सूचनाको रुपमा लिने चलन पहिलेदेखि नै पाइन्छ । पौरस्त्य सँस्कृतिमा क्षमताका आधार, कर्मका आधारमा र भविष्य द्रष्टाले बालकमा रहेको लुकेको क्षमता पहिचान गरी कसले के सिक्ने र कसले के सिकाउने भन्ने समेतको श्रेणी तर तह विभाजन गरिएको पाइन्छ ।

त्यसको वस्तुगत रुपमा मूल्याङ्कन गर्न नसक्दा र मूल्याङ्कन गर्ने परिपाटी पनि समूहगत र पारिवारिक रुपमा हुन थालेपछि त्यसले जातिगत स्वरुप लिन थालेको देखिन्छ । हामी मनु महाराजलाई आजका युवा तथा पहिचान वादीहरू मनु वादी सँस्कार भनेर गाली गर्न थालेका छौँ तर मानवीय इतिहासमा मनुले नै मान्छेले गर्नुपर्ने काम र गर्न नहुने कामको विवरण कानुनको रुपमा विकसित गरे र शिक्षाको स्वरुपको पहिचान समेत गरेका रहेछन् ।

मनु स्मृतिलाई हामीले त्यो बेलाको , इतिहासले समेत स्पष्ट रेखा कोर्न नसक्ने बेलाको कानुनलाई आज हामी मनु वादी सोच भनेर जातिगत रुपमा गाली गर्दैछौँ । आज पनि बनेका संविधान र कानुनहरु निर्विवाद हुन सकेका छैनन् र तिनको संशोधन या आमूल परिवर्तनका माग उठेकै छन् । मनुको धारणाले तयार भएको मनु स्मृतिको अहिले कसले पो मानेको छ र? मनु एउटा शासक थिए, उनले मानव जातिलाई शासन गर्नका लागि सामाजिक सीमा तयार गरेका हुन् । त्यो बेलामा प्रचलित तर व्यवस्थित नभएका कुराहरुलाई संविधान, कानुन , नियम  तथा विनियम हरुले सीमा बनाएर समाजमा अनुशासन कायम गरेका हुन्छन् ।

आज पनि हामीले जान्दा पनि पञ्चायती व्यवस्था थियो र त्यस बेलामा सक्रिय शासकका रुपमा देखिएका महाराजाले  नेपालको संविधान २०१९ तयार गरेर निर्दलीय पञ्चायती व्यवस्था लागू गरेको पाइन्छ । त्यसपछि राजाको शासनलाई संवैधानिक बनाउनका लागि बहुदलीय व्यवस्था कायम गरी नेपाल अधिराज्यको संविधान, २०४७ तयार गरिएको थियो । त्यो संविधानलाई निष्क्रिय पारेर अन्तरिम संविधान, २०६३ मार्फत् संविधान सभाको निर्वाचन गरियो अनि दोस्रो संविधान सभाबाट निर्वाचित सभासदहरुलाई २०७२सालमा नेपालको संविधान घोषणा गरियो र अहिले त्यसैको आधारमा तीन तहका सरकार बनेका छन् र सरकारहरु बन्दै भत्कँदै गरेका छन् । फेरि पनि संविधानमा संशोधनका माग छँदैछ र नयाँ नयाँ मागहरु संसद्मा उठेका छन् । समयक्रममा सबै कुरामा परिवर्तन हुनेछन् जसरी कि सृष्टि कालदेखि आजसम्म हुँदै आएको पाइन्छ । 

मनुले तयार गरेको सीमाभित्र अहिले कुनै पनि शासनपद्धति संसारमा छैनन् । मनुको सिद्धान्त मान्ने भनेका पौरस्त्य संस्कृति र सँस्कारभित्रका जनताले हो, शासकले हो ।  भारत, नेपाल जस्ता देशहरुमा अहिले मनुको सिद्धान्तलाई आधार बनाएर शासन चलेकै छैन र पनि जात विशेषलाई मनु वादीहरु भनेर गाली गरिँदै छ । साँच्चै भन्ने हो भने जसलाई मनु वादी भनेर  जातीय लेपन लगाएर गाली गरिन्छ, सायद तिनले जातिगत राजनीति गरेकै छैनन् , जातिगत र साम्प्रदायिक नीतिका आधारमा राज्यको शासन हुनुपर्छ भनेर पुराना कबिलाको नियमलाई पालना गर्नका लगि दबाब दिएकै छैनन् । सायद भर्खरै स्थापना भएको गणतन्त्रले बाटो बिराउने हो कि भनेर पहिचानको मनुवादी संस्कृतिलाई भने मान्न ती बाध्य भएका थिए जसले मनुवादी भनेर गाली खाँदै थिए । 

पौरस्त्य वा पूर्वीय संस्कृतिमा महिलाप्रति भेदभाव गरिएका कुराहरुले पनि मनुको नाम बदनाम गरिएको रहेछ । मनुको शासनमा ब्राह्मण हुन अहिलेजस्तो बाहुनको छोराछोरी बाहुन हुन पाउँदैन थिए , क्षत्रीको छोराछोरी क्षत्री हुन पाउने थिएनन् र वैश्यको सन्तानमात्र वैश्य हुन कहाँ पाउनु र ? अनि शूद्र कसलाई भन्ने त कठोर सिद्धान्त थियो । समाजका कति स्थिति नमान्नेलाई कसरी शूद्र बनाउने भन्ने नीतिलाई सायद मनु महाराजले कडाइका साथ पालना गराएका थिए ।

 आजभन्दा हजारौँ वर्ष अघिको समाजको कल्पना गरौँ अनि आज पनि कतिपय देशमा छोरीहरुलाई विद्यालयमा जान रोक लगाउने, सार्वजनिक ठाउँमा काम गर्न अनुमति नदिने, हवाइजहाजमा एयरहोस्टेस हुन वा नर्स हुन अनुमति नदिने समाज पनि विश्वका धनी देशहरुमा देखिन्छन् । आजका सीमाका विरुद्ध लड्ने महिलाहरुलाई हाम्रो भेगमा त त्यस्तो प्रतिबन्ध देखिएको छैन तर हिजोको हजारौँ वर्षको प्रभाव बाँकी छैन भन्ने होइन तर त्यो बेलाको मनु स्मृतिको सिद्धान्तको विवेचना गर्दा नेपालको पहिलो ऐनभन्दा , आजको हाम्रा कतिपय सामाजिक सिद्धान्तभन्दा त्यो बेलामा सोचिएका ती सिद्धान्तहरू धेरै प्रगतिशील थिए होलान् किनभने त्यो बेलामा केही चलन नै थिएन र जे थिए, मानवीय चेतनाका आधारमा एकअर्काप्रति गरिने संवेदनशीलताका आधार आउने भावनाले मात्र समाज चलेको थियो समूहगत या व्यक्तिगतरुपमा । म मानव शास्त्री पनि होइन, समाजशास्त्री पनि होइन र राजनीतिशास्त्री पनि होइन जसले यी कुराहरुमा गहन अध्ययन गरेको होस् ।

संसारमा नपाइने बालअधिकारको कार्यान्वयन छ, विद्यार्थीहरुको सम्पूर्ण खर्च नर्सरीदेखि विद्यावारिधि, महा विद्यावारिधिसम्मको सरकारले बेहोर्छ । वास्तवमा हो त रहेछ तर पूर्वीय सिद्धान्तको मिलेर बस्ने, मिलेर खाने र एकअर्कालाई सहयोग गर्ने भन्ने संस्कृतिको नितान्त कमी रहेछ भन्ने पनि उहाँबाटै बुझेँ । अब बल्ल नर्वे सरकारले मिलेर खाने, मिलेर बस्ने संस्कृतिका लागि पाठ्यक्रम निर्माण गर्न खोजेको रहेछ विभिन्न विद्यालयहरुमा ।

मनु वादी सिद्धान्तहरूको प्रतिपादन अहिले कसैले पनि गरेको छैन तर त्यसका प्रभाव संसारभर यत्रतत्र सर्वत्र देखिन्छन् । वास्तवमा मनु सरकारका प्रतिनिधि पात्र रहेछन् । समाजको विकासक्रममा धेरै कुराहरु, धेरै रीतिहरू र संस्कारहरु उत्पन्न भएछन् र समयक्रम बिलाएर गएछन् । किनभे कोरिएका सीमाहरू, मान्छे मान्छेका बिचमा कोरिएका सीमाहरू, ती सीमाहरू समयले भत्काए, यो भूगोलमा धेरै शासकहरुले शासन गरे र सबैले आफूलाई आवश्यक सीमा तयार गर्ने काम गरेकै छन् ।

फरक यत्ति हो कि कोही मानवता वादी शासक आए र मानवका बारेमा अलि बढी विचार पुर्‍याए होलान् । अनि मानवताको पनि परिभाषा फरक फरक रहेछ । मानवताको परिभाषा र व्याख्या एउटै हुनुपर्ने होइन र ? तर राजनीति व्यवस्थाका नाममा सत्तामा भएको मान्छेले, सत्ता कब्जा गरेर बसेको मान्छेले अरु सत्तामा पुर्‍याउनेहरूलाई गरेको व्यवहारका किन संसारभर फरक फरक भए होलान् ? त्यसो त एउटै विश्व, एउटै ब्रह्माण्ड अनि खगोलका करोडौँ हाम्रो पहुँचमा नरहेका नक्षत्र , तारा , ग्रह के के हुन् केके, त्यहाँको चालचलन कस्तो होला ? जबकि प्रकृतिको एउटै स्वरुप छ तर हामीले प्रकृतिको दोहन गरेर प्रकृतिले आफ्नो स्वरुपमा परिवर्तन गराएका रहेछौँ । अचेल हामीले भन्ने पर्यावरणीय ह्रास या जलवायु परिवर्तनका कुरा प्रकृतिका नियममा हुन थालेका परिवर्तनहरु  हुन् ।  

हामी मानवता वादी भनाउँदाहरुका बिचमा पनि मानिसको एउटै परिभाषा किन हुन सकेन ? के अहिले मानिसहरुका बिचमा विभेद छैन र ? मानिसहरुलाई सकेसम्म विभिन्न जात, सम्प्रदाय, रङ्ग, धनी ? गरिब तथा विकसित, अविकसितका रुपमा देखिने गरी विभाजन गरिएको छैन र ? सामाजिक न्यायका कुरा गर्दछौँ तर समाजमा रहेका विभेद खोइ हट्न सकेका ? अनि आज पनि पूर्वीस सभ्यताको प्रातकालीन संविधान वा भनौँ नियमलाई गाली गरेर आजको परिवर्तित समयको माग पूरा हुन सक्दैन । 

जसले बढी भन्दाबढी मानवताको कुरा गर्छ, जसले जनताका पक्षधर हौँ भनेर सिद्धान्तको कुरा गर्छ, उसैको शासनमा आफैँले बनाएका परिभाषालाई मिच्ने काम भएको छ । सायद विश्व अहिले त्यसैका कारणले आक्रान्त भएको छ । 

शिक्षा मार्फत् नै दिइने हो ,यी सबै चेतना तर शिक्षा स्वयं दिइने ओखती जस्तै हो । चिकित्सकले यो रोगका लागि भनेर दिने ओखतीको रुपमा शिक्षा दिइन्छ । मैले  नर्वे जाँदा एकजना नेपाली शिक्षाविद्सँग भेट भयो । उहाँ विद्यालयस्तरीय गणित र विज्ञानको शिक्षक तथा केही विद्यालयहरुको विद्यालय निरीक्षक हुनु हुँदो रहेछ । मैले एउटा विद्यालय शिक्षकलाई किन शिक्षाविद् भनेँ भने एउटा विद्यालय शिक्षकले जत्ति शिक्षा मनोविज्ञान र विद्यार्थीहरु र समाजका बारेमा जानकारी स्वयं घोषित शिक्षाविद्‌मा हुँदैन ।

अनि मैले नर्वेको शिक्षाका बारेमा सुनेको हुँ , संसारमा नपाइने बालअधिकारको कार्यान्वयन छ, विद्यार्थीहरुको सम्पूर्ण खर्च नर्सरीदेखि विद्यावारिधि, महा विद्यावारिधिसम्मको सरकारले बेहोर्छ । वास्तवमा हो त रहेछ तर पूर्वीय सिद्धान्तको मिलेर बस्ने, मिलेर खाने र एकअर्कालाई सहयोग गर्ने भन्ने संस्कृतिको नितान्त कमी रहेछ भन्ने पनि उहाँबाटै बुझेँ । अब बल्ल नर्वे सरकारले मिलेर खाने, मिलेर बस्ने संस्कृतिका लागि पाठ्यक्रम निर्माण गर्न खोजेको रहेछ विभिन्न विद्यालयहरुमा । यसको कारण रहेछ नर्वेको ओस्लोमा अहिले भारतीय, पाकिस्तानी , बाङ्लादेशी तथा अन्य एसियाली देशहरुबाट आप्रवासी या कामका लागि , पढ्नका लागि आउनेहरुको ठुलो संख्या रहेछ जसलाई नर्वेमा सुलभ शिक्षा पाउने मानव अधिकार हुँदो रहेछ ।

ती शिक्षक साथीले भन्नुभयो- पाकिस्तानी, भारतीय र नेपाली शिक्षकहरु आपसमा आफ्ना आफ्ना चाडका खानेकुरा विद्यालयमा ल्याएर बाँडेर खान्छौ । हामीले कहिले तिहारका रोटी, होलीमा मिठाइ, ईदका सबै र अन्य पदार्थ अनि कहिलेकाँही समोसा, पकौडा, घरेलु मिठाइ  पनि बाँडेर खान्छौं । यस्तो देख्दा नर्वेजियनहरु छक्क पर्छन् र हामीले खान दिँदा कति क्रोन दिनुपर्छ भनेर सोध्छन् । अनि हामी भन्छौँ, यो त हाम्रो संस्कार हो, पैसा दिनु या लिनु हुँदैन । 

बल्ल कुरा आउने रहेछ, त्यति विकसित , त्यो पनि शिक्षाका लागि सामाजिक न्यायका कुरा गर्दा बारम्बार उदाहरण दिइने, सामाजिक प्रजातन्त्रको असली देश भनेर उदाहरण दिइने देश नर्वेमा सँगै खाऔँ, सँगै बसैाँ र सँग गुरु चेलाको जीवन चलाऔँ र गुरुले दिएको असल ज्ञानले संसारको, समाजको, परिवारको र आफ्नो भलो गर्ने शपथ खाएर मात्र गुरुकुल छोड्ने परम्परा अनि गुरुदेवो भवः, मातृदेवो भवः पितृदेवो भवः अतिथिदेवा भवः भन्ने मनुको संस्कृतिको अझै कति धेरै महत्व बाँकी रहेछ त ? क्रमशः