ज्ञानको सदुपयोग भन्दा मानिस किन दुरुपयोगमा बढी लालायित ?

फर्कलान् र ती दिनहरु

ज्ञानको सदुपयोग भन्दा मानिस किन  दुरुपयोगमा बढी  लालायित ?

हरिविनोद अधिकारी  |  शिक्षा  |  असार २, २०८०

शिक्षा आफैँमा केही पनि होइन तर ज्ञानको सूचना सम्प्रेषित गर्ने तरिका हो भनिन्छ । या भनौँ ज्ञानको सैद्धान्तिक तथा व्यावहारिक जानकारी नै शिक्षा हो रे पनि भन्न थालिएको छ । समानान्तर सबैको परिभाषा बदलिन्छ र कामको पनि परिधि विस्तारित या संकुचित हुन जाँदो रहेछ । कसरी ज्ञान प्रभावकारी हुन्छ ? कसरी ज्ञानले जनहितमा, व्यक्ति हितमा काम गर्छ भन्ने अनुभवका आधारमा मात्र भन्न सकिन्छ किनभने त्यही ज्ञानले कसैलाई फाइदा पुग्छ भने कसैलाई त्यही ज्ञानको दुरुपयोग गर्दा सखाप भएको पनि पाइन्छ । 
के हो त ज्ञानको सदुपयोग र दुरुपयोग ? ज्ञान त संग्रहित धन हो त ? महाभारतमा परशुरामले कर्णलाई शिक्षा दान दिइसके पनि जब थाहा पाए कि कर्ण ब्राह्मण पुत्र होइन रहेछ, अनि श्राप दिएका रहेछन्,  मैले दिएको ज्ञान संग्रहित त होला तिम्रो स्मृतिमा तर जब मेरो यो दुरूह शिक्षाको उपयोग गर्ने बेला आउने छ,त्यो बेलामा तिमीमा विस्मृतिले छोपोस् र यो शिक्षाको उपयोग हुन नसकोस् । अर्थात् शिक्षा प्राप्तिमात्र लक्ष्य हुन सक्दैन, त्यसको प्रयोगको समय र उपयोगितामा भर पर्ने रहेछ । डाइनामाइटको आविष्कार हुँदा संसार खुसी त भयो तर आज त्यसबाटै संसार नष्ट हुने सूत्रको काम गरेको देखिन्छ । 

शिक्षाको किन आवश्यकता पर्‍यो भनेर आज बहस चलेको छ र शिक्षा केलाई मान्ने भन्नेमा पनि बहस सुरु भएको छ । मेरो विचारमा शिक्षा ज्ञान सञ्चार गराउने एउटा असल माध्यम हो जसबाट मानिस मार्फत् कुनै प्राणीको हितमा त्यसलाई उपयोग गर्न सकिन्छ । अनेक आविष्कार भएका छन् तर ती सबै आविष्कार न त मानव जीवन प्रयोग नै गर्न सकिन्छ, न त प्रयोग नगरिकनै त्यसको दुरुपयोग नै गर्न सकिन्छ । 

ब्रह्माण्डको भेउ पाउन सकिएको छैन र त्यसको अनुसन्धान जारी छ । एउटा अनुसन्धानले कहिले अर्को अनुसन्धानलाई बल पुर्‍याउँछ भने कहिले अवरोध पनि पुर्‍याएको  पाइन्छ । राष्ट्रियताको कुराले कहिले विकासलाई मद्दत पुग्छ भने कहिले त्यसैले मानव जातिमा विकराल घृणा फैलाउँदै आपसमा युद्धको आगो फुकेको पनि पाइन्छ । 

मनुले भनेका छन्- गुरु विनाको शिक्षा पाप कर्म हो किनभने त्यसको उपयोगिता र दुरुपयोगको बारेमा गुरुले मात्र विवेचनात्मक ज्ञान दिन सक्छन् किनभने त्यसको जानकारी भएको व्यक्तिमात्र गुरु हुनसक्छ । यहाँ मनुको कुरा किन प्रसङ्गमा ल्याएको हो भने पहिलो शासकले कति मिहिन तरिकाले शिक्षालाई बुझेका रहेछन् जसको आजसम्म संशोधन हुनै सकेन । 

जीवनको प्रारम्भिक कालमा दिइने या लिइने ज्ञान नै जीवनलाई डोर्‍याउने शिक्षा हो । मैले एउटा लोककथा पढेको थिएँ या सुनेको थिएँ । सायद आमाले भन्नु भएको जस्तो लाग्छ सानामा । त्यो संस्कारी हुनका लागि , राम्रो संस्कारका बारेमा सिकाएकोले होला, अहिले पनि मनमा गढेर रहेको छ । 

त्यसो त पौरस्त्य ज्ञानले धेरै कुराको खुलस्त गरेको भए पनि आजको अनुसन्धानबाट प्राप्त कुराहरुको सायद अनुमान पनि पहिले गर्न सकिएको थिएन । हाम्रो बानी के परेको छ भने आजको नयाँ नयाँ अनुसन्धानलाई पनि हिजोको कुनै विषयमा जोडेर आजका अनुसन्धाताले नयाँ अनुसन्धान गर्नुभन्दा हाम्रै चोरेको या पहिले नै भएको कुरालाई आजको भाषामा भनिएको भन्ने चलन छ । यस कुराले नयाँ नयाँ आविष्कारलाई पनि जनाउँछ जसले मानव हितमा ज्ञानलाई अझ कसरी सदुपयोग गर्ने भन्ने जनाउँछ । 

शिक्षा आफैँमा प्रयोग पनि हो जीवनको प्रयोगशालामा । एकातिर संसार अनित्य छ भन्ने दर्शनमा संसार छ , अर्कोतिर आज गरेका कामहरूले नै भोलिको जीवनलाई अझ सहज बनाउने छ भन्ने मान्यता छ । 

शिक्षाले या जीवनले जगतसँग साक्षात्कार गर्न लगानीको आवश्यकता महसुस गरेको हुन्छ । त्यो लगानी धनको पनि हुनसक्छ, श्रमको पनि हुनसक्छ, समयको पनि हुनसक्छ र धैर्यताको पनि हुनसक्छ । प्राप्त अनुभवको खुलासाले नै अरुलाई जानकारी दिने हो तर प्रत्येक अनुभव सबैका लागि उत्तिकै महत्वपूर्ण हुनेछन् भन्न सकिँदैन । 

जीवनको प्रारम्भिक कालमा दिइने या लिइने ज्ञान नै जीवनलाई डोर्‍याउने शिक्षा हो । मैले एउटा लोककथा पढेको थिएँ या सुनेको थिएँ । सायद आमाले भन्नु भएको जस्तो लाग्छ सानामा । त्यो संस्कारी हुनका लागि , राम्रो संस्कारका बारेमा सिकाएकोले होला, अहिले पनि मनमा गढेर रहेको छ । 

एउटा साह्रै बदमास चोर रहेछ,गाउँमा ।  उसले धर्मको नाम नलिन, नैतिकताको कुरै नगर्न आफ्ना छोराहरुलाई सिकाएको रहेछ । उसका तीन भाइ छोरा , घरकी बुढी माउ र ऊ समेत पाँचजना घरघरमा राती जाने , चोर्ने, परे मानिसलाई मार्न पनि पछि नपर्ने गर्थे । अनि छोराहरुलाई कुनै विद्यालयमा जान पनि अनुमति थिएन, कतै पुराण लगाएको ठाउँमा जाने पनि अनुमति थिएन, कुनै गुरु या पण्डितसँग बोल्न पनि अनुमति थिएन । त्यो गाउँठाउँमा सबैलाई थाहा थियो, त्यही डाँकाको परिवारले चोर्छ, बस्तुभाउ फुकाएर बालीमा लाउँछ र अरुलाई दोष लगाएर कुटाउँछ, पिटाउँछ । उनीहरु सामान्यतया दिउँसो देखा पर्दैनथे । हिँड्दा पनि मुखमा नकाब लगाएर , हातमा हतियार लिएर हिँड्थे र राजाका पुलिसहरू छलिएर हिँड्थे । उनीहरु पक्राउ परिएला भनेर डराउँथे र आफूले गरेका अपराधहरूको कतै कुनै चिन्ह नरहोस् भन्ने कुरामा भने सतर्क थिए । 

गाउँका मानिसहरुले राजाका पुलिसहरूलाई, सुरक्षाका नायकहरूलाई उजुर बाजुर गरेछन् । अनि राजाका सेनापतिले एउटा बुद्धि अपनाउने खोजेछन् । एकजना माताको स्वरुपमा कुनै महिलालाई राज्यको हितका लागि केही समयसम्म काली माताको रुपमा रहन र अपराधी नाश गर्ने शत्रुनाशिनी देवीको रुपमा हातमा धनुष, खड्ग, तरबार, त्रिशूल लिएको डरलाग्दो रुपमा बस्न, मसान घाटमा बस्न अनुरोध गरेछन् र सुरक्षा दिने प्रहरीहरु लुकेर मसान घाटमा बसेछन् । यसको हल्ला फिँजाइयो कि साक्षात् महिषा मर्दिनी देवी हाम्रो गाउँको छेउमा रहेको नदीतटको मसान घाटमा प्रकट भएकी छिन् र तिनले हाम्रा ठाउँमा रहेका बदमासहरूको नष्ट गर्नेछिन् । 

यो हल्ला वास्तवमा तिनै चोरका सन्तानलाई तह लगाउन र पक्रनका लागि थियो । मसान घाटकी देवीले उनीहरुको हुलिया भन्ने छिन् र अलप हुनेछिन् अनि सुरक्षामा मानिसहरुले तिनीहरुलाई पक्रेर दण्ड दिने योजनामा त्यो नाटक गरिएको थियो । त्यो बिचमा त्यति चोरी पनि भएको थिएन । अनि एकदिन कान्छो छोरो कतै खसी काटेकोले मासु लिन गएको रहेछ । मासु लिएर आउँदा बाटोमा पुराण भनिएको रहेछ ।  दुवै हातले मासु बोकेर लाएको छोरोले पुराण देख्ने बित्तिकै पण्डितको उपदेश सुनिन्छ भनेर मासु थपक्क ढुंगा माथि राख्न खोज्दा एउटा कुरा सुनी हालेछ- भगवान, भगवती जब यो दुनियाँमा आउँछन्, उनीहरुको छाया हुँदैन, उनीहरुको चरण भुइँमा हुँदैन र उनीहरुले लगाएको माला कहिल्यै पनि ओइलाउँदैन । त्यो सुन्दा नसुन्दै उसले कानमा दुवै हातका औँलाले  ठेडी हाल्यो र पुराण  वाचन  हुन्जेल छेउमा उभियो ।

जब  पण्डितले उपदेश दिन छोडेको देख्यो र पण्डित व्यासासनबाट उठेर हिँडेको देख्यो, हतार हतार घर गयो तर बाबु , आमा , दाजुहरूलाई सुनेको पुराणका बारेमा बताएन किनभने यदि बताएको भए बाबुले पिट्ने थिए, आमाले खान दिने थिइनन् र दाजुहरूले चोर्न जाँदा सहयोग गर्ने थिएनन् । तर परिवारमा भने साक्षात् देवीबाट आफूहरु चिनिने र राजाका पुलिसबाट दण्डित हुने डरले उनीहरुले केही समयदेखि चोर्न जान पाएका थिएनन् जसले गर्दा उनीहरुको चोर्ने काममा अल्पविराम लागेको थियो एकातिर भने अर्कोतिर परिवार नै जेलमा जानु पर्ने या फाँसी नै हुने डरले कामिरहेका थिए । रातभर सुत्न पनि सकेको थिएनन् केही दिनदेखि । तर कान्छो छोरोलाई भने एउटा कुराले मनमा जुक्ति आउन थालेको थियो, के साँच्चिकै महिषासुर मर्दिनी देवी पार्वती नै हाम्रो गाउँमा बदमासहरूलाई दण्ड दिन नै आउनु भएको होला त ?

कान्छोले त्यसको परीक्षा लिने विचार गर्‍यो र अरुसँग देवीको दर्शन गर्न मसान घाटमा पुग्यो । देवीको रुपमा रहनु भएकी महिला ध्यानमा थिइन् किनभने अरुलाई विश्वास दिलाउन पनि उनले देवीको जस्तै नाटक गर्नु नै परेको थियो । कान्छो चोर त्यहाँ पुग्दा अरु कोही पनि रहेनछन् । उसले देवीको ध्यानको बेलामा बडो जिज्ञासाले हेर्न थाल्यो र त्यही कान थुन्नुभन्दा पहिले सुनेको पण्डित बाजेको उपदेश सम्झन थाल्यो -स्वर्गबाट आएका कुनै पनि देवी  देवताको माला ओइलाउँदैन, छाया पर्दैन, भुइँभन्दा माथि तैरिएका हुन्छन् र केही पनि खाँदैनन् । यसो माला छाम्यो, ओइलाएको देखेछ, ध्यानमा बसेको ठाउँ हेर्‍यो, भुइँमा नै बसेको  देखेछ । एकछिन पछि ध्यानबाट जोगिनी ब्यूँझिए पनि खुट्टामा ढोग्न गएछ, हाम्रै जस्तै खुट्टा देखेछ, भुइँमा नै टेकेको र छाया पनि परेको । ती  जोगिनीको रुपमा बसेकी देवीलाई त्यो नै चोर हो भन्ने थाहा थिएन तर उसले भने आशीर्वाद माग्दै नैवेद पनि मागेछ र उनको हातमा स्पर्श गरेर लिएछ । अनि घरमा आएर भनेछ बाबुलाई - अब बा हामी चोरी नगरौँ किनभने एकदिन त हामी पक्राउ पर्नेछौँ, हामीले धेरैको अकल्याण गरिसकेका छौँ । आज नभए पनि भोलि त पक्रन्छन् र हाम्रालागि यी देवी यो गाउँमा हामीलाई पत्ता लगाउन आएको जस्तो मलाई लाग्यो । यी देवी होइनन् र देवी देवताका कुनै पनि गुण यीनमा छैन । बाबुले छक्क परेर सोधेछ - अनि तैँले कहिले थाहा पाइस् र देवी देवताका गुणहरूका बारेमा ? अनि छोराले एकदिन झुक्किएर पुराण सुनेकोले नै आज पत्ता लगाउन सकेको हुँ । झुक्किएर सुनेको कुराले त आज मैले यत्ति पत्ता लगाएँ र हामीले पश्चाताप गर्ने मौका पाउने भयौँ भने अझ नैतिकताको ज्ञान लिएर, पुराण सुनेर र विद्यालय गएर ज्ञान प्राप्त गरे हाम्रो जीवन सुखी हुने थियो, यसरी लुकेर बाँच्नु पर्ने थिएन । सानो छोराको जिद्दीले परिवारले नै राजाको दरबारमा गएर आफ्ना अपराधहरूको खुलासा गरे र पश्चाताप गरे । राजाले पनि उनीहरुलाई माफी दिए अनि गुप्तचरको जिम्मा दिएका थिए । 

जीवन र  जगतका लागि चाहिने शिक्षाका आवश्यक तत्वहरु आफैँ सिकिनु पर्ने रहेछ भन्ने ज्ञान आजको स्वचेतनाका लागि जरुरी रहेछ । 
क्रमशः