गन्तव्य विहीन राजनीतिको प्रतिबिम्बित: दिग्भ्रमित शिक्षा र विश्वविद्यालयको  समाधान कसरी ?

फर्कलान् र ती दिनहरु

गन्तव्य विहीन राजनीतिको प्रतिबिम्बित: दिग्भ्रमित शिक्षा र विश्वविद्यालयको  समाधान कसरी ?

हरिविनोद अधिकारी  |  शिक्षा  |  असार ९, २०८०

हामी कता जाँदैछौँ ? हाम्रो गन्तव्य के हो ? हाम्रो समाजले कुन बाटो समाएको छ ? त्यसको खाका कसरी थाहा पाउने हो ? खाका तयार गर्ने र त्यसका लागि उत्तरदायित्व कसको हो ? कसको प्रयासले समाज या देशले सही बाटो समाउने छ ? आजको समयलाई कसरी परिभाषित गर्ने हो ? समय आफैँमा कुनै परिवर्तन ल्याउने माध्यम हो कि त्यसको नेतृत्व मानिसले गर्ने हो ? या समयले अचानक उत्पादन गरेको परिवेशको अधीनमा हुने हो ? या परिवेशले समयको निर्धारण गर्ने हो ? अनि सही समयको छनोट कसरी गर्ने हो ?

त्यसो त तीनवटा प्रश्नहरु भन्ने कथामा दार्शनिक लेखक लिओ तोल्स्तोयले भने-सही समय भनेको नै वर्तमान समय हो  जहाँ अहिले बाँचिएको छ र बाँच्नका लागि जेजे गर्ने हो , त्यो यही बेलामा गर्नु जरुरी छ । तर  हाम्रो पौरस्त्य संस्कृतिमा भूतका आधारमा आजको समय निर्धारण गरिएको हुन्छ र अहिलेको समय भनेको भोलिको तयारी गर्ने हो र भोलि भनेको अर्को जन्म पनि हो र आफू विसर्जन भएपछि आफूले देखाएको बाटोमा अरु हिँडेर जीवनलाई सहज र सरल बनाऊन् भन्ने हो । 

आजभन्दा दुई तीन सय वर्ष अघिको एउटा समयको सृजना यस्तो भएको थियो युरोपमा कि मानिसहरु नयाँ चेतनाको तयारीमा थिए जसलाई उनीहरुले मानवतावादको नाम दिए जबकि हाम्रो पौरस्त्य दर्शनमा मनुष्यत्वको वयान मानिसको रुपमा पहिचान दिएर सुरु हुन्थ्यो । मानिसहरुलाई कर्मका आधारमा र उसको बानी व्यवहारको आधारमा उसलाई कुन प्रकारको मानिस हो, त्यही प्रकारको मानवताको जिम्मेवारी दिइएको थियो ।  पछि त्यसको विकृत रुपमा जातको रुपमा, वर्णको रुपमा स्थायी गराइएको हो । 

मलाई कहिले त लाग्छ, सबै चेतनाको जगमा संस्कार छ, संस्कारको जगमा शिक्षा छ र शिक्षाको जगमा समाजको भावी खाकाको स्पष्ट चित्र आवश्यक छ । त्यसलाई म शिक्षाको , त्यसमा पनि पाठ्यक्रम विषयको विद्यार्थी भएकाले शिक्षाले नै नागरिकको जीवनलाई बाटो देखाउँछ र त्यो शिक्षाको खाका भनेको गर्भ देखिको आवश्यकता र हेरचाहबाट सुरु हुन्छ । नागरिकको हेरचाह गर्ने शिक्षाको खाका तयार गरिनु पर्छ । हामी त अझै शिक्षाको आफ्नो कस्तो स्वरुप हुनुपर्छ भन्नेमा पनि अझै द्विविधामा छौँ । खोइ हामीसँग समयलाई परिवर्तन गर्ने या परिवर्तित समयको लागि तयारी ?

मुलुक गन्तव्य विहीन रुपमा गएको कुरा जताततै प्रतिबिम्बित हुन्छ, संसदमा, विद्यालयमा, विश्वविद्यालयमा, हस्पिटलमा, बसमा, प्लेनमा, कर्मचारीतन्त्रमा, जताततै । जे सिकाएको हुन्छ, त्यही परिणाम प्राप्त हुन्छ । जे परिणाम आउँछ, त्यही नै समाजमा छ्याप्छ्याप्ती हुन्छ र समाजलाई गाँजेको हुन्छ । जब समाजलाई गन्तव्य विहीनता तर्फ मोडिएको छ , त्यो बेलामा कसरी समाजका मानिसहरुले बाटो भेट्टाउँछन् र ? 

विद्वानहरुले शिक्षाको तयारीलाई सरकारले तयार गर्ने बजेटसँग दाँज्ने गर्छन् , किन रे भने बजेट अनुमान गर्दाको समय र वर्षभरिको समयमा ठ्याक्क मिल्न सक्छ भन्ने छैन । योजना विद्हरुले योजना तयार गर्दा एउटा समयको , परिवेशको या चलेको समयको हेक्का राखेको हुन्छ तर त्यही समयमा आउने प्राकृतिक या आध्यात्मिक  परिवर्तनको लेखाजोखा सुरुमा गर्न सक्ने अवस्था हुँदैन । 

समयको र नियतिको कुरा गर्दा एउटा पुरानो कहानी दोहोर्‍याउने गरिन्छ-अलेक्जेन्डर महान(सिकन्दर महान) आफ्नो विजय यात्राको निरन्तरताका क्रममा पूर्वीय क्षेत्रमा प्रवेश गर्ने बेलामा एउटा समस्या आएछ रे । कसैले भनेछ, यहाँ एउटा डोरीहरूले जेलिएको तर फुकाउन सक्नुपर्ने गाँठो छ । जसले त्यो जेलिएको गाँठो सहज तरिकाले फुकाउन सक्छ, उसले जीवनमा पर्ने समस्याहरुको जालो पनि सहज तरिकाले फुकाल्ने छ । जीवनको तीस बर्ष नपुग्दैको बेलामा अपराजित सम्राटको रुपमा विजयको उन्मादमा अघि बढिरहेको सिकन्दरका लागि त्यो गाँठो जसरी पनि फुकाउनु थियो किनभने त्यो गाँठो फुकाउन सक्दा ज्योतिषिले भनेजस्तै विजयको निरन्तरता अरु स्थायीरुपमा पूर्वीय देशमा फिँजिने थियो ।

सिकन्दरका  सेना यति क्रूर थिए कि शत्रुको दमनमात्र उनीहरुको ध्येय हुन्थ्यो र कसैलाई पनि उनीहरु जिउँदो छोड्दैनथे । उसलाई लाग्यो, यो गाँठो मैले फुकाउनै पर्छ तर त्यो गाँठो फुकिरहेको थिएन । उसको अहम्मा त्यसले चोट पर्ने थियो , त्यसैले उसले  कम्मरबाट तरबार निकाल्यो र त्यो गाँठो काटेर फुकायो ।  गाँठो त फुक्यो तर बुद्धिले , डोरीका केस्रा केस्रा केलाएर फुकाएको होइन, हातले एक एक वटा डोरी फुकालेर होइन, जेलिएको डोरीलाई बलजफ्ती तरबारले काटेर फुकाएको थियो । कसैले भन्छन् , कोही ज्योतिषिले बाटो नै छेकेर उसको भविष्यको निर्धारण कसरी हुन्छ भनेर हेर्न खोजेको थियो, तर भाग्यको बारेमा भन्दा कर्मको बारेमा सिकन्दरको विश्वास थियो ।

अनि ऊ भारतमा प्रवेश गर्‍यो तुफान जस्तै गरी । उसले आजको भारतमा तर हिजोको छिन्न भिन्न राज्यहरूको अनेकतालाई र आपसमा रहेको झगडालाई प्रयोग गरी यसरी तहस नहस पार्‍यो कि मगध राज्यले आफूलाई कसरी जोगाउने भन्ने धौधौमा परेको थियो । भन्छन् त्यो बेलाको विश्वासका आधारमा कि उसले बलजफ्ती गरेर गाँठो काटेकाले सिकन्दर महानको अन्त्य औलोको कारणले भयो । त्यो बेलामा आजको भारतको पश्चिमी भाग र मध्यभागमा गर्मी त थियो नै, लामखुट्टेले टोकेर ज्वरो आउने कुरा युरोप या पश्चिमी एसियामा जाडोका, हिउँ पर्ने ठाउँमा मानिसहरु, योद्धाहरूलाई थाहा थिएन रे ।

अनि औँलाका ज्वरोले सिकन्दर मरेका थिए रे । अर्थात् संस्कारको कारणले र विश्वासका कारणले जेजे हुन्छ, त्यसको  अर्थ लगाइन्छ । त्यो बेलामा युद्धमा जित्नु र आफ्ना अधीनमा राज्यहरू जसरी पनि राख्नु नै पुरुषार्थ थियो राजाहरुको । पछि सिकन्दर महानको मृत्युपछि जब उसका सेनापतिले राज्य चलाउन थाले, उसले पनि मगधसमेतलाई फेरि आफ्नो कब्जामा पार्ने नियतले युद्धको बाजा बजाएका थिए र उनकी छोरीसँग विवाह गरेर सन्धि भएको थियो र पूर्वको साम्राज्य चन्द्रगुप्तले जोगाएका थिए गुरु चाणक्यको सल्लाहमा । 

आखिर मौर्यको राज्य स्थापनामा त्यसबेलाको शिक्षाको महत्व थियो । आज हामी केही गर्दैछौँ तर के गर्दैछौँ भन्ने थाहा पाउन मुस्किल भएको छ । विद्यालय शिक्षा अलमलमा छ । अझैसम्म शिक्षाको एकीकृत ऐन छैन, जत्तिबेर जे समस्या आयो, त्यसैको समाधान तत्काल गर्ने बानी छ । उच्च शिक्षाको बेहाल छ । यति धेरै विश्वविद्यालयहरू खुलेका छन् कि कसैको पनि संरचनाले मुलुकको शिक्षालाई जनमुखी बनाउन सकेको छैन । 

जहिले पुरानो विश्वविद्यालय, जुन विश्वविद्यालय विक्रम संवत् २०१६सालमा खुलेको हो, त्रिभुवन विश्वविद्यालय । नेपालका भुइँ मान्छेदेखि सबैले शिक्षा लिएको ठाउँ त्यही विश्वविद्यालयमा हो । सम्पत्ति कति छ भन्ने कुराको सायद विश्वविद्यालयसँग नै कुनै आँकडा छैन होला । किन त्यहाँ स्थिति बसेन भन्ने कुरा आउँछ, त्यसको समस्याको चुरो सबैलाई थाहा छ र पनि त्यसको समाधानमा किन कोही पनि लाग्दैन ? उच्च शिक्षाको महत्व पक्कै छ तर जीवनदायिनी र जीवनलाई बुझेर बाँच्ने उपायको शिक्षा आवश्यक छ कि छैन ?

हामीले शिक्षालाई, सिकाइलाई आवश्यकता परेर सिक्न आएकाहरुलाई के सिकायौँ भन्ने कुरा परीक्षा नियन्त्रण कार्यालयको परिणामले मात्र  देखाउने होइन, समाजमा देखिएको परिणामले पो स्वतः प्रदर्शन गर्नुपर्ने होइन र ? विश्वविद्यालयले अरुलाई बाटो देखाउने हो नि त, आफैं विश्वविद्यालय नै दिग्भ्रमित हुँदा त्यसमा सबार विद्यार्थी, शिक्षक तथा अभिभावकको के अवस्था होला ? धेरै विद्यार्थीहरु र धेरै शिक्षकहरुको थलोमा, पुरानो विश्वविद्यालयले बाटो देखाएर लैजानु पर्नेमा भर्खर खुलेका विश्वविद्यालयहरुले के गन्तव्य निर्धारण गरेका होलान् भन्ने प्रश्न स्वतः उठेका छन् ।

गन्तव्य त देशको हुन्छ, समाजको हुन्छ , त्यो पनि योजना विद्हरुले चौतर्फी अनुसन्धान गरेर तयार गरेको । मुलुक गन्तव्य विहीन रुपमा गएको कुरा जताततै प्रतिबिम्बित हुन्छ, संसदमा, विद्यालयमा, विश्वविद्यालयमा, हस्पिटलमा, बसमा, प्लेनमा, कर्मचारीतन्त्रमा, जताततै । जे सिकाएको हुन्छ, त्यही परिणाम प्राप्त हुन्छ । जे परिणाम आउँछ, त्यही नै समाजमा छ्याप्छ्याप्ती हुन्छ र समाजलाई गाँजेको हुन्छ । जब समाजलाई गन्तव्य विहीनता तर्फ मोडिएको छ , त्यो बेलामा कसरी समाजका मानिसहरुले बाटो भेट्टाउँछन् र ? 

शिक्षाले दिने हो गन्तव्य, राजनीतिले दिने हो शिक्षाको गन्तव्य र शिक्षाको उपलब्धिले दिने हो समाजलाई बाटो । जब शिक्षा नै गन्तव्य विहीन छ, जब राजनीति नै गन्तव्य विहीन छ अनि मुलुकको गन्तव्य निर्धारण हुन नसक्नुमा कसको दोष ? क्रमशः