जब मेरो नाम सुन्थे : तब सरकारी हाकिम लुत्रुक्क !

जब मेरो नाम सुन्थे : तब सरकारी हाकिम लुत्रुक्क !

राजकुमार दिक्पाल  |  साहित्य  |  असार १६, २०८०

परीक्षा चलिरहेको थियो । त्यो लिखित परीक्षा थियो,  लोक सेवा आयोगको । त्यो परीक्षामा म आफू पनि सहभागी थिएँ, मुखिया पदका लागि ।  एउटा वस्तुगत प्रश्न सोधिएको थियो,  'हिटलर र यहुदी पुस्तकका लेखक को हुन् ?' 

परीक्षा केन्द्र थियो, धनकुटा बहुमुखी क्याम्पस । हामी सम्मिलित परीक्षा हलमा क्याम्पसकै एक कर्मचारी म्याडम गाड थिइन् । उनले मेरो छेउमा आएर प्रश्नको उत्तरमा विश्वेश्वरप्रसाद कोइरालाको नाममा औँलाले सङ्केत गरिन्, सुटुक्क । त्यो प्रश्नको उत्तर म आफैलाई पनि आउँथ्यो । तर ती परिचित म्याडममा म आफू प्रतिको सद्भावका कारण त्यस्तो सहयोग गर्ने चाहना आयो होला भन्ठानेँ । 

मेरो लागि लोकसेवा आयोगको त्यो परीक्षा मार्फत् निजामति कर्मचारी हुने प्रयास पहिलो र अन्तिम बन्यो । मैले परीक्षाको नतिजा हेर्ने उत्सुकता पनि राखिँन । परीक्षाको पूर्ण तयारी र आशा राखेर परीक्षामा सामेल भएको भए पो नतिजा हेर्ने उत्सुकता हुन्थ्यो त !  यो प्रसङ्ग हो, आजभन्दा तीन दशक अघिको  ।

मैले त्यो समयमा एसएलसी पास गरेको समय मध्यम वर्गीय अभिभावकहरुको धारणा हुन्थ्यो, अब सन्तानले आफ्नो खट्टा आफैले टेक्ने भयो अर्थात् जागिर खाने भयो । अझ म त निम्न मध्यम परिवारको मानिस । मलाई पनि त्यो समय जागिर खानै पर्ने बाध्यता थियो । त्यहीँ बेला धर्मराज पौड्याल हाम्रो जिल्लाको जिविस सभापति निर्वाचित भएका थिए । मेरा समवयी मित्र युवराज दाहाल (पाथिभरा हेलिकोप्टर दूर्घटनामा दिवंगत नेपाल सरकारका तत्कालिन उपसचिव)को जोड र सभापतिज्यूको सद्‌भावले म करिव तीन महिना जिल्ला विकास समिति धनकुटाको मुखिया पदमा करारमा जागिरे भएँ । त्यहीँ समय कान्तिपुर दैनिकको प्रकाशन सुरु भएको थियो । फाट्टफुट्ट समाचारहरु पनि पठाउँदै छाप्दै थिएँ । 'तपाईँ कान्तिपुरको समाचारदाता भएकोले' भन्दै काठमाडौंमा समाचारदाताहरूको भेलामा निम्ता आउनासाथ मैले जिविसको मुखिया पदको जागिर खाइरहन पर्ने आवश्यकता ठानिँन र करार अवधि थप्न जोड पनि गरिनँ । 

मलाई जिविसमा जागिरको अवसर प्रदान गर्ने तत्कालिन जिविस सभापति पौड्याल अमेरिका भ्रमणमा थिए, त्यतिबेला । उनलाई एकै वचन नसोधी जागिर छोडियो । उनले नै हो, मलाई पत्रकारिता क्षेत्रमा प्रवेशका लागि उत्प्रेरित गरेको पनि । उनी अमेरिकाबाट फर्केपछि सबै यथार्थ सुनाएँ, बेखुस भएनन् ।

संयोग पनि कस्तो भने त्यसबेला मलाई पत्रकारिताका लागि सिफारिस गर्ने तत्कालिन सञ्चारकर्मी तथा विद्यार्थी नेता लक्ष्मी निरौला चाहिँ पत्रकारिता र राजनीतिलाई उसबेला नै परित्याग गरेर राष्ट्र सेवामा होमिए । उनी अहिले नेपाल सरकारको सहसचिव छन् ।

मलाई पत्रकारिताले नै तान्यो । पछि पत्रकारिताकै दौरानमा जिविसले नै चलाएको एउटा विकासे रेडियो कार्यक्रमको  कार्यक्रम उत्पादकको रुपमा फेरि डेढ वर्ष करारमा बिताएँ । जिविसमा बिताएको मेरो यी केही छोटा अवधि निजामति कर्मचारीको रुपमा थिएन । थियो त केवल जिविसले नियुक्त गरेको विकासे करार कर्मचारीको रुपमा ।

यसरी मेरो अल्प अवधिको कर्मचारी जिन्दगी समाप्त हुन पुग्यो ।

'मनसुनले पानी पर्ने र भन सुनले काम हुने' यो देशमा निजामति कर्मचारी हुने सपना फेरि फेरि मैले सङाल्न सकिनँ । नेपाली कर्मचारीतन्त्रमा फिट हुने स्वभावको मान्छे पनि होइन म ।

तर एउटा नेपाली नागरिकको हैसियतले नेपाली कर्मचारीतन्त्रसँग म जोडिने नै भएँ । मसँग नेपाली कर्मचारीहरुसँग जोडिएका केही तीता मीठा प्रसङ्गहरू छन् । त्यहीँ पोख्न मन लाग्यो, मलाई यो लेख मार्फत् ।

नागरिकताका लागि पाँच रुपैयाँ घुस

भर्खरै सुरु भएको थियो, मेरो कलेज जीवन । कलेजले छात्रवृत्तिका लागि आवेदन आह्वान गर्‍यो । आवेदनका साथ नागरिकता प्रमाणपत्रको प्रतिलिपी अनिवार्य भनिएको थियो । त्यसपछि नागरिकताको सिफारिसका लागि तत्कालिन धनकुटा नगर पञ्चायतका प्रधानपञ्च राजेन्द्र प्रधान समक्ष पुगेँ । ती भलाद्मी प्रधानपञ्चले मेरो बारेमा सामान्य जानकारी लिए । एउटा सानो लफडा थियो नागरिकतामा । हाम्रा बुवा पुस्तादेखि उता काले थर लिम्बु लेखे, हामी सन्तान पुस्ताले चाहिँ आफ्नो थरमा सुब्बा लेख्न थाल्यौँ । विद्यालयमा पनि सोहीअनुसार नाम लेखियो । फेरि मेरो रजिस्ट्रेसन फर्म भर्दा जन्म मितिमा थोरै तलमाथि भएको रहेछ, अस्थायी नागरिकताको पीठको टिपनभन्दा । यस समस्या पनि सच्याउनु थियो । त्यहीँ अनुसार तत्कालिन प्रधानपञ्चले सिफारिस गरिदिएका थिए ।

'कति पढ् या छौ ?' मेरो निवेदन पढि सकेपछि धनकुटाका प्रजिअ पुरुषोत्तम भट्टराईले सोधे ।

'आईए पढ्दैछु सर ।'

'ल तल जाऊ नागरिकता फाँटमा' , सिडिओ सावले रुखो ब्यवहार देखाएनन् ।

'तपाईँको समस्या के होला ?' जिल्ला प्रशासन कार्यालयसँगै रहेको एउटा कार्यालयको हाकिमले खाजा छुट्टीमा निस्कदा दिदीलाई सोधेछन् । दिदीले आफ्नो समस्यासँगै माइतीको नाम थर, वतन बताएपछि मेरो नाम लिइछन् । त्यसपछि ती हाकिमले प्रशासन कार्यालयको फाँट वालालाई हप्काएर 'प्रक्रियाअनुसार काम गर्न' भनेछन् । त्यसपछि फाँटवाला लुत्रुक्क !

नागरिकता फाँटमा मेरो कागज पुग्यो । केही घण्टाको प्रतिक्षा पछि एक नायव सुब्बाले मलाई बोलाए र भने, 'ल लेऊ ।'

अब म नेपाली नागरिक भएको थिएँ । तर ती सुब्बा साहेबले मेरो हातमा नागरिकता प्रमाणपत्र थमाउनासाथ भने,'पाँच रुपैयाँ देऊ ।'

मैले खल्तीबाट खाजा खान बोकेको पाँच रुपैयाँको नोट निकाले । पैसाको लागि न मैले रसिद मागेँ, न कारण सोधेँ । अविस्मरणीय छ, मेरो लागि मेरै छिमेकीको घरमा डेरा गरी बस्ने ती सुब्बा साहेबलाई मैले 'नेपाली नागरिकताको प्रमाणपत्र' प्राप्त गर्दा पाँच रुपैयाँ घुस खुवाउनु परेको घटना ।

परराष्ट्र मन्त्रालयको त्यो झ्याल

हङकङमा क्रियाशील समाजसेवी, सञ्चारकर्मी तथा अभियन्ता किसन राईको फोन आयो,'ल है दिक्पालजी, वैरागी काँइला का साथ तपाईँ हङकङ आउन पर्‍यो ।'

वाह, मेरो विदेश यात्रा ! ओके नभन्ने कुरै भएन । सन्दर्भ थियो, उहाँद्वारा प्रकाशित तथा सम्पादित 'एभरेष्ट साप्ताहिक' को दशौं वार्षिकोत्सव । त्यस उत्सवलाई भब्य बनाउन उनले नेपाल प्रज्ञा प्रतिष्ठानका तत्कालिन कुलपति वैरागी काइँला लाई प्रमुख अतिथी बनाएका थिए भने म एउटा अतिथी ।

पासपोर्ट बनाउनु पर्ने भयो । म आफू कार्यरत सञ्चार गृहमा साथीहरुले सम्झाए,'किन तपाईँ जस्तो मान्छेले लाइनमा बसेर पासपोर्ट बनाउने ?'

'किन र ?' साथीहरुलाई मेरो प्रतिप्रश्न ।

साथीहरुले सुझाए,'एकपटक माथि सम्पर्क गर्ने नि, परराष्ट्र विट हेर्ने साथीले सहयोग गरिहाल्नुहुन्छ । फेरि तपाईंको आफ्नै प्रोफाइल पनि दह्राे छँदैछ ।'

त्यसबेला म एक राष्ट्रिय दैनिकको वरिष्ठ संवाददाता थिएँ । एउटा कलेजमा पढाउँथेँ । कलेजले मलाई असिस्टेन्ट लेक्चरर पद दिएको थियो । त्यहीँ बेला नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य थिएँ, अनि त्यहीँ सम्बन्धबाट अन्तराष्ट्रिय पत्रकार महासंघ(आईएफजे)को पनि सदस्यता प्राप्त गरेको थिएँ । 

तर मैले साथीहरुको सुझाव अनुसारको बाटो रोजिँन । बरु रोजे, एउटा सर्वसाधारणले हिड्ने बाटो ।

नारायणहिटी पुगेँ, र राहदानीका लागि कागजको मुठो झ्यालबाट छिराए । आवेदन रद्द भयो । कारण थियो, मेरो नागरिकताको प्रतिलिपी । मेरो नागरिकता हराएका कारण मैले प्रतिलिपी लिएको थिएँ । कर्मचारीलाई लागेछ, यसले दोस्रो पटक पासपोर्ट निकाल्दैछ । उसैले सुझाए अनुसार, मैले जिल्ला प्रशासन कार्यालयबाट पासपोर्ट लिए, नलिएको सिफारिस ल्याउनुपर्ने भयो । मैले ती सबै प्रक्रिया पुरा गरेँ ।

फेरि पट्यार लाग्दो लाइन पार गरेर नारायणहिटीको उही झ्यालमा पुगेँ । मेरो कागजको मुठो बुझ्ने उनै नवयुवक शाखा अधिकृत रहेछन्, जसले पहिले मलाई जिल्ला प्रशासन कार्यालयको सिफारिस लिएर आउन भनेका थिए ।

'यदि मैले चाहे भने तिमीलाई पासपोर्टका लागि सिधै धनकुटा पठाउन सक्छु, बुझ्यौ', ती राष्ट्रसेवकले मलाई 'तिमी' शब्द पो प्रयोग गरे ।

तर सम्वोधनलाई मैले रमाइलो सँग ग्रहण गरेँ, र विनम्रता पूर्वक जिज्ञासा राखेँ,'सर, किन मलाई धनकुटा पठाउने हजुर ?'

'ए...', सबै कागज हेरिसकेपछि तिनको शब्दबाट यति मात्र फुत्कियो । अनि प्रक्रिया प्रारम्भ भयो ।

साथीहरुले सुझाएको सोर्स फोर्सको बाटोबाट पासपोर्ट लिनुभन्दा सर्वसाधारणले हिड्ने बाटो नै हिँडेर पासपोर्ट बनाउने मेरो चाहनाबाट मैले नेपाली कर्मचारीहरुको सर्वसाधारण नेपाली नागरिकलाई कुन शब्दले सम्बोधन गर्दारहेछन् भन्ने अनुभव त सङाल्न पाएँ । आज त्यहीँ अनुभव पाठकहरूसँग बाँडिरहेछु ।

हामीलाई थाहा छ, पासपोर्ट बनाउन लाइनमा बस्ने अधिकाँश नेपाली नागरिक वैदेशिक रोजगारीमा जान चाहन्छन् । रेमिट्यान्सले धानिएको मुलुकमा पासपोर्ट बनाउन जाने कति नेपालीहरुले कर्मचारीबाट 'तिमी'शब्दबाट सम्वोधित हुने अवसर प्राप्त गरेका होलान्, यसको तथ्याङ्क त म कसरी दिन सकौँला ? तर त्यो अवसर पाउने 'सौभाग्य शाली' चाहिँ म आफू पनि एक हुँ ।

नामले गर्‍यो काम 

माथिल्लो अनुभवबाट स्पष्टै छ, आफ्नो नाम र हैसियतको दुरुपयोग गर्न चाहन्न म । तर पनि रमाइलो हुँदा रहेछन्, कहिले काहिँ केही संयोगहरु !

मेरी एक जना महिला मित्रको प्रसङ्ग । तिनलाई विदेश नगई नहुने । उनले सहयोग मागिन् । उनको आग्रहअनुसार मैले एक जना राजपत्राङ्कित कर्मचारी खोज्नुपर्ने भो, पासपोर्टको आवेदनमा सिफारिसका लागि हस्ताक्षर गरिदिने । त्यसबेला त्यसप्रकारको नियम थियो ।

त्यो बेला म धरानमा बसेर पत्रकारिता गरिरहेको थिएँ । एक राष्ट्रिय दैनिकको समाचारदाता थिएँ, अनि एक स्थानीय साप्ताहिकको कार्यकारी सम्पादक ।

म ती महिला मित्रको सहयोग याचनालाई पुरा गर्न इलाका प्रशासन कार्यालय, धरान  पुगेँ । त्यसबेला हङकङ आईडीको ठूलो लहर थियो, अनि कारोबार उत्कर्षमा पुगेको थियो ।
इलाका प्रशासन कार्यालय प्रमुखलाई हस्ताक्षर गरिदिन अनुरोध गरेँ, मान्दै मान्दैनन् । धेरै पटक बिन्ती बिसाइसकेको थिएँ ।

त्यहाँ एक जना समाजसेवी अनि मेरा हितैषी कृष्ण राई भेटिए । उनले आफ्नो काम सकिसकेका रहेछन् । विदाईको हात हल्लाउँदै भने,' दिक्पाल जी, तपाइँ किन यता ?”
मैले 'मेरो सानो काम छ' भनी नसिद्याउँदै ती हाकिम साहेबले 'खोई, यता ल्याउनुस् त !'  भन्दै हस्ताक्षर गरिहाले ।

मैले त्यो बेला इलाका प्रशासन कार्यालयमा हुने घुसखोरीको समाचार लेखेको थिएँ । तर त्यो लेख्ने पत्रकारलाई घुस खाने हाकिमले स-शरीर चिन्दैनथ्यो । तर नामले चाहिँ चिनिहालेछन्, अनि हस्ताक्षर गरिहाले थपक्क । 

एक दिन मेरा अन्तरे भिना भीमबहादुर लिम्बुले सुनाए,'होइन हौ कान्छा, तिम्रो नामले त राम्रो पो काम गर्‍यो है ।'
'कसरी ?'

भिनाले सुनाएको कुरा सुनाए ।  कुरा के परेछ भने मेरी दिदी विमला  नाता सम्बन्धबाट नागरिकता लिन ताप्लेजुङको सदरमुकाम पुगिछन् । कर्मचारीले झुलाएको झुलाएकै । प्रमाण सबै पुगिसक्यो, नागरिकता हातमा पर्दैन । एक दुई दिन यसरी नै बित्यो ।

'तपाईँको समस्या के होला ?' जिल्ला प्रशासन कार्यालयसँगै रहेको एउटा कार्यालयको हाकिमले खाजा छुट्टीमा निस्कदा दिदीलाई सोधेछन् । दिदीले आफ्नो समस्यासँगै माइतीको नाम थर, वतन बताएपछि मेरो नाम लिइछन् । त्यसपछि ती हाकिमले प्रशासन कार्यालयको फाँट वालालाई हप्काएर 'प्रक्रियाअनुसार काम गर्न' भनेछन् । त्यसपछि फाँटवाला लुत्रुक्क !

को रहेछन् ती हाकिम भनेर पत्ता लगाउँदा धिताल थरका मेरै वडाबासी र म आईए पढ्दा ती बी ए पढ्ने मेरा अग्रज शुभचिन्तक रहेछन्, तीर्थ धिताल । 

यस्तै अर्को एक प्रसङ्ग पनि यहाँ उल्लेख गरौँ है ।

मेरी कान्छी बहिनी इन्दुले जग्गा किन्ने इच्छा राखिन् । उनी भने हङकङमा । मैले नै किनेर मेरै नाममा पास गर्नुपर्ने भयो । पछि उनकै नाममा त्यो जग्गा फिर्ता दिनु छँदैछ । उनी नेपाल आएको बेला उनको नाममा बकसपत्र गर्न पुगियो, मालपोत कार्यालय, ललितपुर । 

कागजमा फाँटवाला शाखा अधिकृतले रातो मसी चलाउन मान्दै मानेनन् । 

कुरा के भने बहिनीको नागरिकतामा बुवाको थर लिम्बु लेखिएको, र मेरोमा बुवाको थर सुब्बा । मैले लिम्बु र सुब्बा एउटै हो भनेँ । तर उनी मानेनन् । रोविलो स्वरमा भने,'नगरपालिकाको सिफारिस चाहिन्छ । के सम्झनुभएको ? म पनि धनकुटाको मान्छे हुँ ।'

अब पर्‍यो फसाद । बहिनी उड्ने समय आइसक्यो, कताबाट ल्याउनु तत्कालै नगरपालिकाको सिफारिस ?
'तपाईँ धनकुटा कहाँको ?' 

उनले भने,'म धनकुटा राम्ररी बुझ्छु । म खोटाङको ।'

तपाईँको नाम ?

'...भट्टराई ।'

मैले उनीसँग हात मिलाउँदै हल्का मुस्कुराहट साथ भनेँ,'म राजकुमार दिक्पाल क्या !' 

'हत्तेरी तपाईँको भनेपछि त आँखा चिम्लेर हान्दिहाल्छु नि !'  यति भनि नसक्दै ती अधिकृतले रातो मसीले आफ्नो हस्ताक्षर दौडाइसकेका थिए ।

ती थिए खोटाङका मिन भट्टराई,  उनी मभन्दा जुनियर धनकुटा क्याम्पसका अखिल कार्यकर्ता । उनी स्ववियू सचिव हुँदा एक दुई पटक भेटेको थिएँ । हामीले अखिलको पाइला चालेको परिसरमा ती पनि हिडेको थिए । लामो समय भेट नभएकोले हामीले एकापसमा अनुहारले चिनेनौँ । तर नामले बन्यो काम ।

'मनसुनले पानी पर्ने र भन सुन' ले काम हुने देशमा मेरो नामको सदुपयोग भयो कि  दुरुपयोग भयो ? थाहा छैन । तर मेरो सोझो मनले भन्छ, आफ्नो नाम कतै विक्री गर्न नपरोस् । तर के गर्नु नेपालमा कि 'किनेको काम लाग्छ, कि चिनेको !'