भाषाको लोभलाग्दो साम्राज्य: देशदेशावरमा नेपाली भाषाप्रतिको सम्मान र सजीव राख्ने आयाम

फर्कलान् र ती दिनहरु

भाषाको लोभलाग्दो साम्राज्य: देशदेशावरमा नेपाली भाषाप्रतिको सम्मान र सजीव राख्ने आयाम

हरिविनोद अधिकारी  |  साहित्य  |  असार १७, २०८०

जीवन सहमति र सम्झौताको संगम हो । मैले पढेका केही सीमित नेपाली तथा विदेशी साहित्यहरू मध्ये भगवती चरण वाजपेयीको चित्रलेखाले जहिले पनि जीवनका बारेमा नयाँ सन्देश दिएको पाउँछु । चित्रलेखा मार्फत् आजभन्दा ६  दशक पहिले सायद, उनले गुप्त कालको अवस्था र इतिहास केलाउने क्रममा नै भोग र योगको फरक र यथार्थको जानकारी दिएका हुन् ।

त्यस्ता कालजयी साहित्य कति छन् कति, जसले पाठकको जीवनमा नयाँ बाटो देखाउँछ र प्रेरणा दिन्छ नयाँ जीवन बाँच्नका लागि । त्यसो त प्रत्येक पुस्तकबाट नयाँ सन्देश आउँछ जुन कुरा स्वयं रचनाकारलाई थाहा हुँदैन किनभने रचना एउटा कल्पनाका आधारमा हुन्छ तर समाजको जटिल तम बनावटका कारणले ताकेको उद्देश्य भन्दा पनि त्यसले पस्कने नयाँ दृष्टिकोणले अर्कै अर्थ दिन्छ । सायद त्यसैले होला, चित्रकारहरूले मूर्त कला र अमूर्त कला भनेर भन्ने गर्छन् क्या रे ! 

अहिलेको समाजमा नयाँ संस्कृतिको उदय भएको देखिन्छ जसलाई वर्णशंकर संस्कृतिको नाम पनि दिन सकिन्छ । वर्णशंकर यस कारणले भनिने हो कि धेरै चालचलनको त्यसमा सुगन्ध आउँछ । समयले कल्पनाभन्दा पनि चाँडो परिवर्तनको सन्देश दिने रहेछ । आखिर कल्पना गर्ने मानिस पनि त यही समाजमा जन्मिएको हो र यहीँको परिवेशमा आफूलाई हुर्काएर नयाँ नयाँ ज्ञानको धारणा बोकेर बसेको हुन्छ । उसलाई लाग्छ, यस्तो भए कति राम्रो हुन्थ्यो ? यस्तो पनि हुनसक्छ कि ?

आजको समाज विश्वव्यापी करणले होला, पहिचानको विषयले एकातिर महत्व पाउँदै छ भने अर्कोतिर एउटा देशमा बसेर अर्को देशको मात्र चिन्तन गर्ने परिपाटी आउन थालेको छ । खासगरी कामका सिलसिलामा, पढाइको सिलसिलामा या अन्य आवश्यकता पूरा गर्ने सिलसिलामा नेपालीहरु अन्य देशमा र अन्य देशका, अन्य संस्कृतिका, अन्य भाषाभाषीहरू नेपालमा ओहोरदोहोर भएकै छ, त्यसलाई अब रोक्न पनि सकिँदैन र  रोक्नु पनि हुँदैन । जब एउटा भूगोल, भाषा, साहित्य र सँस्कृतिबाट अर्को ठाउँमा पुगिन्छ, पक्कै नै त्यहाँको भाषा, सँस्कृति र रहनसहनसँग तादात्म्यता राख्नु नै पर्दछ, अनि स्वतः जीवन प्रभावित हुनेगर्छ र एउटा सँस्कृतिसँग अर्को सँस्कृतिको अन्तरघुलन हुने गर्छ । अहिले नेपाली सँस्कृतिमा त्यसको प्रभाव प्रशस्त परेको देखिन्छ । 

हिजो हाम्रो समाजको एउटा नैतिकताको बन्धनले बाँधिएको थियो , हाम्रा परिवार संयुक्तरुपमा हुन्थे र हामी सामाजिक रुपमा एउटा परिवेशको बन्धनका बाँधिएर रहेका हुन्थ्यौ । त्यो ठिक थियो कि थिएन भन्ने प्रश्न अहिले गर्नु हुँदैन तर त्यो बेलामा त्यही नैतिक बन्धन थियो र ज्येष्ठ नागरिकहरुको अवस्था उनीहरुका सन्ततिले पाल्नुपर्ने गरी बन्धन बाँधिएको थियो । संसारका अन्य देशका नागरिकहरु जस्तै नेपालीहरु पनि आर्थिक तथा सामाजिक कारणले चलायमान भए । अहिले १०० देशभन्दा बढी ठाउँमा नेपाली मूलका मानिसहरु छन् भन्ने अनौपचारिक मान्यता छ । त्यसो त नेपालबाट विदेशमा गएर बस्नेहरुको संगठन पनि विश्वव्यापीरुपमा फिँजिएको छ र पनि त्यसले दिने तथ्याङ्क भनेको सदस्यता लिनेहरु मध्येबाट मात्र हो, अन्य आफ्ना आवश्यकता पूरा गर्न र लुकी लुकी बस्नेहरुको गणना हुन सकेको छैन । 

बेलायत, अमेरिका, अस्ट्रेलियामा नेपाली मूलका मानिसहरुको पहुँच राजनीतिक नेतृत्वमा समेत हुनुले र एउटा नेपालीले अर्को नेपाली भेट्दा नेपाली भाषामा नै बोल्नु ले नेपाली भाषाको प्रसार हुँदै गएको पाइन्छ तर त्यो भाषाको स्वरुप नेपालमा बोलिने जस्तो रहन्छ कि रहँदैन ? त्यहाँको स्थानीयता को प्रभावले भेट्छ कि भेट्दैन ? सायद यसको अनुसन्धान गर्नेहरु पनि होलान्, गर्दै पनि होलान् तर नेपालका बारेमा नेपाली सरकारले बढी ध्यान दिएर तथ्याङ्कहरु राख्ने काम गर्नु पर्ने हो ।

तर आज मैले उठाउन खोजेको प्रसङ्ग हो, बहु सँस्कृति र नेपाल बाहेकको सँस्कृति अनि परिवेशमा नेपाली सँस्कृतिको अनन्य अङ्ग नेपाली भाषाको अवस्था के छ ? त्यसो त त्यो भाषा धेरै धनी र सहिष्णु मानिन्छ, जुन भाषाले अरु भाषाका शब्दहरूलाई तद्भव (हुबहु त्यस्तै उच्चारण) या तत्सम या विकृत रुपमा भने पनि अपनाउने गरेको पाइन्छ , या समाहित गरेको पाइन्छ । नेपालीमा त्यस्ता धेरै शब्दहरु छन् जसको मूल आधार संस्कृत हो र पनि अरबी, उर्दू, फारसी, हिन्दी, या अन्य अंग्रेजी फ्रेन्च, या अन्य हामीले पत्ता लगाउन नसकेको भाषाबाट चलतीमा आएका होलान् । अनि नेपालभित्रका सयभन्दा बढी भाषाका शब्दहरुको पनि कति प्रभाव परेको होला भन्ने लेखाजोखा हुँदै गर्दा  नेपाली भाषाले नेपाल बाहिर कस्तो रुपमा प्रयोग हुँदै गरेको होला ? 

अहिले संसारमा गएका नेपालीहरु कविता पनि लेख्छन्, कथा पनि लेख्छन्, निबन्ध पनि लेख्छन् र उपन्यासहरू त त्यहाँको परिवेशलाई पर्गेलेर लेख्ने चलनले व्यापकता पाएको छ । कति नेपालीहरु, नेपाली मूलका मानिसहरु पहिलो विश्वयुद्ध, दोस्रो विश्वयुद्ध र त्यसपछि पनि अनेकानेक बहानामा नेपाल बाहिर गए र बसे । जुनसुकै भाषीले पनि आफ्नो पहिचान गोर्खाली या नेपाली नै बताएको हुनुपर्छ ।

गोरखा एउटा प्रतीकको रुपमा पहिचानको ठोस आधार बन्यो, जसको कारणले नेपाली भाषीले भारतको पश्चिम बङ्गालको दार्जीलिङ क्षेत्रमा गोर्खाल्यान्डको लागि संघर्ष गरे र आज पनि त्यसको गुञ्जन पाइन्छ । गोर्खा भाषा, गोर्खाली पहिरन पहिचानको रुपमा मानिन्छन् । भारतका धेरै प्रदेशमा छरिएर बसेका नेपालीहरूसहित भारतमा त गोर्खाली सेनाको बेग्लै रेजिमेन्टसम्म पनि छ जहाँ नेपालीहरुले समेत विना भेदभाव भर्ना पाउँछन् जबकि हामी नेपालमा अन्य देशका राष्ट्रियता भएकालाई सेनामा भर्ना लिँदैनौँ ।

भुटानमा नेपाली भाषीको कुनै बेला राज्यको माथिल्लो तहमा, नीतिगत तहमा समेत पहुँच र सम्मान थियो । भारतमा पश्चिम बङ्गाल, उत्तराखण्ड, उत्तरप्रदेश तथा विहार जस्ता प्रदेशमा नेपालीहरुको राजनीतिक पहुँच देखिन्छ । खासगरी पश्चिम बङ्गालका कारणले होला, भारतीय संघीय संसदमा र प्रादेशिक संसदमा नेपालीहरुको उपस्थिति देखिन्छ । कतिपयले ढाकाको टोपी लाएर आफ्नो उपस्थिति देखाएका पाइन्छन् ।

झन नेपाल बाहिरका नेपाली मूलका व्यक्तिहरुको नेपाली भाषा प्रतिको सम्मान यति धेरै पाइन्छ कि नेपालमा भानुभक्तको सालिक, बीपीको सालिक भत्काइन्छ तर त्यहाँ बनाइन्छ, भानु जयन्ती त झन समारोहका रुपमा मनाइन्छ । भारतका नेपाली मूलका व्यक्तिहरुको आवाजको कदर गर्दै भारतीय संविधानमा नेपाली भाषालाई मान्यता दिइएको छ । अर्थात् भाषालाई मान्यता दिनु भनेको त्यहाँका त्यो भाषा बोल्नेहरूको सम्मान हो भन्ने मान्नुपर्छ ।

अब त्यो समावेशिता अमेरिका, बेलायत, अस्ट्रेलिया र विश्वका अन्य देशहरुमा पनि फैलिएको छ । बेलायत, अमेरिका, अस्ट्रेलियामा नेपाली मूलका मानिसहरुको पहुँच राजनीतिक नेतृत्वमा समेत हुनुले र एउटा नेपालीले अर्को नेपाली भेट्दा नेपाली भाषामा नै बोल्नु ले नेपाली भाषाको प्रसार हुँदै गएको पाइन्छ तर त्यो भाषाको स्वरुप नेपालमा बोलिने जस्तो रहन्छ कि रहँदैन ? त्यहाँको स्थानीयता को प्रभावले भेट्छ कि भेट्दैन ? सायद यसको अनुसन्धान गर्नेहरु पनि होलान्, गर्दै पनि होलान् तर नेपालका बारेमा नेपाली सरकारले बढी ध्यान दिएर तथ्याङ्कहरु राख्ने काम गर्नु पर्ने हो ।

फेरि कुरो आउँछ , सबै काम सरकारले मात्र गर्ने हो र ? त्यसो भन्नुको कारण हो, सरकारले आफ्ना मूलका मानिसहरुको बारेमा जानकारी राख्नुपर्छ जस्तो कि भुटानले दुःख दिएर निर्मम यातना दिँदा नेपाली मूलका दाजु-भाइ-दिदी-बहिनीहरू सरासर नेपाल आए र कम्तीमा बस्ने शिविर त पाए । नेपालको प्रयासले तेस्रो देशको प्रवासी हुने मौका पाए । यदि हाम्रो कूटनीति प्रभावकारी हुन्थ्यो भने र दबाब दिने खालको हुन्थ्यो भने पक्कै ती भुटानीहरु भुटान नै जान पाउँथे होलान् !

 तर भुटानमा, आसाममा, देहरादूनमा, दिल्लीमा, दार्जिलिङमा, सिक्किममा नेपाली भाषाको राम्रो प्रभाव छ, नेपाली साहित्यको आफ्नै तरिकाले श्री विकास भएको छ र त्यसलाई पनि हामीले हाम्रो भाषाको विश्वव्यापी विस्तारको रुपमा मान्नुपर्छ । अहिले त युरोपका कतिपय मुलुकमा नेपालीहरुको साहित्यले पनि स्थान पाएको देखिन्छ किनभने प्रत्येक नेपाली मूलका व्यक्तिले आफूलाई नेपालको नागरिकभन्दा पनि बढी नेपाली महसुस गरेको हुन्छ , भलै उसको नागरिकता र पासपोर्ट विदेशको होस् । 

डायस्पोरिक परिवेशका बारेमा साहित्यकार तथा उत्तर आधुनिकताको नेपाली व्याख्याता प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईले अनुसन्धान गर्दै रहनु भएको मैले थाहा पाएको छु । उहाँ कुनै बेलामा भुटानमा पनि हुनु हुँदो रहेछ बाल्यकालमा जस्तो । नेपाली भाषी जहाँ छन्, तिनको खोजी तलासीमा उहाँको बढी नै समय खर्चिएको मैले पाएको छु ।

उहाँले नेपाली भाषाको देशदेशावरको बोली र संरचनामा पनि अनुसन्धान गरिरहनु भएको जस्तो लाग्छ । यही क्रममा, एकदिन उहाँको निवासमा उहाँले नै बोलाएर आसामका साहित्यकारहरूसँग चिनापर्ची गराउनु भयो । त्यहाँ आउनु भएका साहित्यकारहरूमध्ये वसुन्धरा शर्माको सद्य प्रकाशित कृति ममताको लकडाउन भन्ने कथा संग्रह उहाँबाट  प्राप्त गरेँ जसमा २०ओटा कथाहरु संग्रहित छन् । उहाँहरुले कुनै नेपाली साहित्यको अध्ययन गर्ने भनेर गरेजस्तो पनि लागेन किनभने आसामको परिवेशमा त्यहाँको नै परिस्थितिमा नेपाल छोडेर गएका परिवारहरूले बाँच्नु पर्ने हुन्छ जुनसुकै पेसा व्यवसाय अपनाएर भए पनि ।

साहित्य एक प्रकारले शोखको विषय बनेको हुन्छ अर्काको देशमा, अर्काको भाषाको बोलबाला भएको ठाउँमा तर त्यसले दिने भने परिणाम के हो भने नेपाली भाषाको त्यहाँको अहिलेको परिस्थिति, त्यहाँ उहाँहरु बाँचेको परिवेश र त्यहाँ बसेका नेपाली मूलका मानिसहरुको सकारात्मक तथा नकारात्मक जीवन शैलीका बारेमा कथाहरु बोल्छन् ।

वास्तवमा साहित्यले समाजको परिवेशमा ऐनाको काम गर्छ, समाज चियाउने आँखीझ्यालको काम गर्छ । वसुन्धराजीका सबै कथाहरु सामाजिक परिवेशलाई झल्काउने छन् र सर्यौँ वर्ष पहिले नेपालबाट गएका नेपाली मूलका भारतीयहरुको जीवन शैली मात्रको काया कैरन गर्दैनन् कथाहरूले, नेपाली शब्दकोशमा भर्न मिल्ने नयाँ नयाँ शब्दहरुको पनि संरचना भएको पाएँ मैले । वृद्धाश्रमको बारेमा धेरैवटा उदाहरण र परिवेशको जुन अवस्था देखाइएको छ, त्यसले संयुक्त परिवारबाट एकल परिवारमा गएपछि पारिवारिक संवेदनशीलता कम हुन थालेको , बच्चाहरुले आफ्ना आमाबाबु प्रतिको कर्तव्य भुल्न थालेको अवस्थालाई प्रकाशित गर्नुभएको छ ।

त्यतिमात्र होइन, उहाँले प्रयोग गर्नु भएका नेपाली शब्दहरूले आसामी भाषासँग बढी नै तादात्म्यता देखाएको पाएँ । त्यसले के देखायो भने नेपाली भाषाको स्वरुप अब हामी नेपालीहरुले नेपालमा बोल्ने, लेख्ने भाषासँग मात्र सीमित हुनेवाला छैन, संसारभरका नेपाली मूलका नेपाली भाषीको सम्पर्क भाषाको रुप लिन ती स्थानीय करण गरिएका शब्दहरुको पनि जानकारी नेपाली भाषी नेपालीहरुले, या सम्पूर्ण नेपालीहरुले राख्नुपर्छ । वसुन्धराजीले प्रयोग गर्नुभएका केही मिठा र आञ्जलिक भाषासँगका सम्मिलित शब्दहरु केलाउने जमर्को गरौँला तर त्यसले नेपालीहरुको परिवेशमा जति परिवर्तन भएको भए पनि , मनमा नेपालीपन छ है भन्ने मजबुन निकाल्न सकिन्छ । क्रमशः