सेमेस्टर प्रणालीका अनुत्तरीत प्रश्न: पुराना गल्तीको सुधार र समिक्षा बेगर किन लागू गरियो ?

फर्कलान् र ती दिनहरु

सेमेस्टर प्रणालीका अनुत्तरीत प्रश्न: पुराना गल्तीको सुधार र समिक्षा बेगर किन लागू गरियो ?

हरिविनोद अधिकारी  |  शिक्षा  |  असार ३०, २०८०

विद्यालयको शिक्षामा सुधारको कुरा गर्दैगर्दा सम्पूर्ण शिक्षा प्रणालीको कुरा बिर्सनु हुँदैन । उच्च शिक्षाका लागि दायित्व लिएका विश्वविद्यालयहरुको कार्य प्रणालीको पनि समीक्षा जरुरी छ । उच्च शिक्षाको जगत विद्यालय शिक्षा नै हो । विद्यालय शिक्षाको जग आधारभूत शिक्षा नै हो र आधारभूत शिक्षाको आधार भनेको राज्यको आवश्यकता र अन्तर्राष्ट्रिय आवश्यकता हो ।

शिक्षाको जरुरत त व्यक्तिलाई आवश्यक हो किनभने शिक्षालाई हामी 'तमसोमा ज्योतिर्गमय'  भनेर मान्छौँ । अर्थात् अन्धकारमा उज्यालोको प्रवेश भनेको शिक्षा मार्फत् प्राप्त चेतना हो । विद्यालयले सामान्यतः व्यक्तिको आवश्यकता पूरा गर्ने, व्यक्ति मार्फत् परिवारको आवश्यकता पूरा गर्ने, परिवार मार्फत् समाज र समुदायको आवश्यकता पूरा गर्ने अनि समुदाय मार्फत् राज्य र राज्यको अन्तरनिर्भरताका आधारमा अन्तर्देशीय आवश्यकता समेत पूरा गर्ने दायित्व त्यही अमूर्त शिक्षा प्रणालीमा हुन्छ जसले गर्भदेखि चिहानसम्मको आवश्यकता पूरा गर्नका लागि अन्धकारमा उज्यालोको काम गर्ने गर्छ । 

विद्यालय शिक्षाको जतिसुकै गल्ती देखाउँदा पनि एउटा लयमा चलेको देखिन्छ । त्यो लयले कति सकारात्मकता देखाउन सकेको छ भन्ने विवाद पनि होला तर पनि अमूर्त भए पनि योजना बमोजिम लयमा देखिन्छ । लयले परिवर्तन चाहेको हुन्छ तर त्यो परिवर्तनको लयले भने आफ्नो लय समाउन सकेको होइन होला तर उच्च शिक्षाको भद्रगोलले भने अराजकताको सीमा नाघेको पाइन्छ भन्ने शिक्षाविद्हरुकै धारणा पाइन्छ ।

अझ आजको अराजकताका सूत्र धारहरू नै आजको अराजकतालाई अरुको कारणले भएको भनेर अनुसन्धान रत पाइन्छन् र फेरि उनीहरुको उपचारको सिफारिसले पनि कुनै उपचारको सकारात्मक संकेत दिन सकेको छैन । यसको उदाहरणका लागि त्रिभुवन विश्वविद्यालयका प्राविधिक धार बाहेकका कार्यक्रमहरुको  अराजक अवस्थाले देखाएको छ । त्यसो त एउटा पुरानो विश्वविद्यालयलाई समेत यत्रो ठुलो शैक्षिक संरचनाले आफ्नो उद्देश्य अनुसारको बाटो दिन सकेको छैन भने विश्वविद्यालयहरुको बाढीले झन कुनचाहिँ लय समाउला ? भन्ने प्रश्न देखिन्छ । 

पाठ्यक्रमविद्हरुको एउटा मान्यता हुँदो रहेछ- एउटा कल्पना गरिन्छ , त्यो कल्पनाका लागि अमूर्तता हुन्छ र त्यसलाई कसरी मूर्तरूपमा संरचना तयार गर्ने भनेर नै फेरि अर्को कल्पना गरिन्छ भावी व्यवहारको तयारीका लागि । अनि त्यसका लागि आवश्यक सामग्री कसरी तयार गर्ने जसले कल्पनालाई साकार पार्नेछ , अनि त्यो कल्पनाको अवस्थालाई कसरी मापन गर्ने कि पहिले गरिएको कल्पना ठिक थियो, कल्पनाको सकारात्मक पक्षले परिणाम दिन सक्यो र त्यसको काल्पनिक परिणामले दिएको मूर्त परिणाम अब कार्यान्वयनका समय आएको हो।

अझ पहिलो कल्पना र परिणाम प्राप्तिको समयमा पनि नयाँ नयाँ अवस्था सृजना हुनसक्छ, त्यसैले प्रत्येक कल्पनामा मूर्त समीक्षाको जरुरत पर्ने हुन्छ जसरी कि सदनमा प्रस्तुत बजेटको अनेक कार्यान्वयन तहमा समीक्षा र मूल्याङ्कन जरुरी हुन्छ र अन्तमा महालेखापरीक्षकबाट लेखापरीक्षण गरिन्छ । प्रत्येक शैक्षिक कार्यक्रमको मूल्याङ्कन गर्ने भनेको नै गरिएको कल्पना र कल्पनाको मूर्त रुपको धारणासँग परिणामको तादात्म्यता मिल्यो कि मिलेन ?

के हो सेमेस्टर प्रणाली भनेको ? यो किन लागू गरिएको होला ? एउटा कल्पना गरौँ , योजना गर्नेहरुको धारणामा आयो होला, वार्षिक परीक्षा प्रणालीको लयले आवश्यकता पूरा भएन होला ? त्यसको मूल्याङ्कन प्रणाली पनि वस्तुगत भएन, दुई वर्षको समय चक्रले झन्डै चार वर्ष लाग्न थाल्यो भन्ने र बेलैमा उच्च शिक्षाको मुख्य तह पार हुनेगरी पुरानो प्रणालीलाई नयाँ तरिकाले प्रयोग गर्न चाहेको देखिन्छ । पहिले किन सेमेस्टर प्रणाली  असफल भयो भने वार्षिक प्रणाली ल्याइएको होला ?

समीक्षा जरुरी हुन्छ जस्तो कि लेखापरीक्षण गरिएको हुन्छ लेखा पालनमा । सायद ! त्यसैको लागि सोसल अडिट भन्ने शब्दको प्रयोग हुन थालेको हो शिक्षा क्षेत्रमा पनि । सामाजिक परीक्षणले परिणामको समीक्षा समुदायका तर्फबाट गर्ने गरेको पाइन्छ भने शिक्षा प्राप्त गर्नेहरुको सामाजिक सेवा र उसले दिने समाज प्रतिको दायित्व कति पूरा गरिरहेको छ भन्ने पनि हेरिन्छ । 

विद्यालय शिक्षाका लागि आवश्यक मानवीय श्रोत पाइने भनेको उच्च शिक्षा मार्फत् नै हो । अहिले नेपालको उच्च शिक्षामा देखिने भद्रगोलको कुरा दिनैपिच्छे सत्य समाचारका रुपमा समाजमा आएकै छ । तर काग कराउँदै छ, पिना सुक्दैछ भनेजस्तै भएको छ । कुरो शिक्षाशास्त्र संकाय बाटै सुरु गरौँ । उच्च शिक्षाको अन्तिम तह विद्यावारिधि उपाधिका लागि मानिन्छ तर औपचारिकरुपमा नियमित कक्षा मार्फत् , विभिन्न विषयमा परीक्षित भएर उपाधि प्राप्त गर्ने भनेको स्नातकोत्तर तह नै हो । त्यसपछि दर्शनाचार्य र विद्यावारिधि भनेको आवश्यकता र शोखका आधारमा जरुरी मानिएको होला तर जसलाई हामीले एम एड भनेर चिनेका छौँ , त्यो विषय आजभोलि सेमेस्टर प्रणाली अन्तर्गत चलेको मानिन्छ । 

के हो सेमेस्टर प्रणाली भनेको ? यो किन लागू गरिएको होला ? एउटा कल्पना गरौँ , योजना गर्नेहरुको धारणामा आयो होला, वार्षिक परीक्षा प्रणालीको लयले आवश्यकता पूरा भएन होला ? त्यसको मूल्याङ्कन प्रणाली पनि वस्तुगत भएन, दुई वर्षको समय चक्रले झन्डै चार वर्ष लाग्न थाल्यो भन्ने र बेलैमा उच्च शिक्षाको मुख्य तह पार हुनेगरी पुरानो प्रणालीलाई नयाँ तरिकाले प्रयोग गर्न चाहेको देखिन्छ । पहिले किन सेमेस्टर प्रणाली  असफल भयो भने वार्षिक प्रणाली ल्याइएको होला ? अनि दुई दशक पहिलेको कमी कमजोरीमा केके सुधार गरेर अहिले सेमेस्टर प्रणाली लागू गरिएको होला ? भन्न चाहिँ दुई वर्षको कार्यक्रम अनि लाग्छ कति त ?

सेमेस्टरको आन्तरिक मूल्याङ्कनका अङ्कहरू कसरी दिइन्छ ? हाजिरी कसरी लिइन्छ ? किन भर्ना संख्या अत्यन्त न्यून हुन थालेको होला? दुई वर्षको कार्यक्रमले किन झन्डै तीन वर्षभन्दा बढी लाग्न थालेको होला ? भर्नाको समय, पढाइको समय,परीक्षाको समय र परिणामको समय कहिले कल्पना गरिएको हो ? कल्पना अनुसारको समयले परिणाम दिएको छ त ?  विद्यालयमा राखिएको पाठ्यक्रमको तादात्म्यता उच्च शिक्षाको शिक्षा शिक्षणमा छ कि छैन ? 

विना तयारीले सुरु गरिएको र पुराना गल्तीहरूको सुधार नभई फेरि लागू गरिएको सेमेस्टर प्रणालीमा समीक्षाको बेला भएन र ? शिक्षा शास्त्रको काम भनेको मात्र बी एड, एम एड , एम फिल र विद्यावारिधिको औपचारिक कार्यक्रममात्र सञ्चालन गर्ने हो कि हाम्रा उत्पादनको सकारात्मक उपादेयता कस्तो छ भनेर समीक्षा र मूल्याङ्कन पनि गर्ने हो ? कुन योजनाअनुसार शैक्षिक कार्यक्रम चलाइएको हो ? ती उत्पादनबाट पुनरुत्पादन भएका कस्ता जनशक्ति छन् र तिनले आफ्नो जीवनयापन कसरी गरेका छन् , परिवार कसरी चलाएका छन् अनि समाज प्रतिको दायित्व कसरी पूरा गरेका छन् ? यससम्बन्धमा कसले मूल्याङ्कन गर्ने हो ? 

कोरोना कहरले बाटो देखाएको छ , साक्षात्कारले मात्र अध्ययन र अध्यापन सञ्चालन गर्न नसक्दा पनि हुने रहेछ । 

अब सबै विश्वविद्यालयहरुमा रहेका शिक्षा शास्त्रका विभागहरूलाई स्वतन्त्र संकायका रुपमा विकसित गर्ने र व्यवहारवादी शिक्षण प्रशिक्षणमा परिणत गर्ने काम गर्न ढिला गर्नु हुँदैन । हुन त शिक्षा शास्त्रको मात्र प्रशिक्षण दिने बेग्लै  विश्वविद्यालय आवश्यक पर्ने हो तर त्यसले केही व्यक्तिहरुलाई पदको मात्र चाहना पूरा गर्न मद्दत गर्नेछ ।  त्यसैले यी सबै विश्वविद्यालयहरुले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर, राष्ट्रिय—प्रदेश—स्थानीय आवश्यकता पूरा गर्न र आवश्यकताका आधारमा जनशक्ति तयार गर्ने कुरामा ती सबै विभागहरूले एउटै लक्ष्य र परिणामका लागि अनुसन्धान मार्फत् काम अघि बढाउनु जरुरी छ । कार्यक्रम लागू गरेर तयारी गर्ने होइन, बरु तयारी गर्ने अनि तयारीले आवश्यक भनेको जनशक्ति मार्फत् भावी लक्ष्य अनुसारका जनशक्ति तयार गर्नका लागि कम्तीमा पनि पाँच वर्षको तयारी गर्ने काम गर्नुपर्छ । भर्ना, कक्षा सञ्चालन, निरन्तर मूल्याङ्कनको वैध प्रक्रिया र त्यसको सम्भावित परिणामका बारेमा कल्पना गरेर , अमूर्तबाट मूर्त तर्फ परिणामलाई अनुवाद गर्नेगरी शिक्षक प्रशिक्षण तयारी गर्नुपर्छ भन्ने धारणा सिफारिश गर्न सकिन्छ । 

शिक्षाले लगानी खोज्छ, समय खोज्छ, तयारी खोज्छ र सुरुमा त योजनाबद्ध जनशक्तिको आवश्यकताको संख्याको तर्क पूर्ण तथ्याङ्क खोज्छ । पहिले शैक्षिक जनशक्ति तालिम केन्द्रका ती पूर्वाधारहरु थिए, तिनको हस्तान्तरण गरेर विश्वविद्यालयहरू, योजना आयोगहरु , संघीय सरकारको शिक्षा मन्त्रालय र प्रदेश तथा स्थानीय सरकारका शिक्षा विभागहरुको समन्वय आवश्यक छ जसले भावी शैक्षिक जनशक्तिको कल्पना गरेको हुन्छ तथ्यको आधारमा । आखिर विद्यालय , महाविद्यालय सबैका हुन् जसले शैक्षिक जनशक्ति तयार गर्ने भनेर कार्यक्रम राखेका हुन्छन् । 

हामी अझै शिक्षा र स्वास्थ्यलाई खुला छोड्ने अवस्थामा पुगेका छैनौँ किनभने यो मानवीय आवश्यकता हो र सामाजिक न्यायको पहिलो खुड्किलो भनेको नै शिक्षाको प्राप्ति हो , शिक्षा प्राप्ति गराउने जनशक्ति भनेको प्रशिक्षित जन शक्ति मात्रै हो । अझ एक कदम अघि बढेर भन्न मन लागेको छ, सबै खाले अध्ययन अध्यापनका लागि आवश्यक जनशक्ति सबैले शिक्षण कलाको ज्ञान पाएको हुनुपर्छ । त्यसका लागि आवश्यक भाषा र कल्पनाको आधारमा शिक्षण प्रशिक्षणको तयारी जरुरत पर्नेछ । योजनाबद्ध शिक्षा शास्त्रको तयारीले मात्र भावी पुुस्ताको आवश्यकता र भावी नेपालको आवश्यकता पूरा गर्न सकिने छ । क्रमश......