अलमल र तदर्थवादको बिगबिगी: शिक्षा प्रणाली रूपान्तरणका लागि न लगानी छ नीति नै

फर्कलान् र ती दिनहरु

अलमल र तदर्थवादको बिगबिगी:  शिक्षा प्रणाली रूपान्तरणका लागि न लगानी छ नीति नै

हरिविनोद अधिकारी  |  शिक्षा  |  श्रावण ६, २०८०

शिक्षा विहीन मानिस पशु समान हुन्छ भनेर हाम्रो संस्कारमा पहिलेदेखि भन्न थालिएको हो । शिक्षा प्रणालीको जिम्मा कसको हुन्छ ? सामान्यतया विद्यालयको ? विश्वविद्यालयको ? अभिभावकको ? विद्यार्थी स्वयंको चाहनामा आधारित ? शिक्षकको जिम्मामा ? शैक्षिक प्रशासकहरूको जिम्मामा ? समाजको ? राज्यको ? कसको ? उत्तर एउटै पक्षको लागि मात्र इंगित नहुने रहेछ । सबैको हुने रहेछ । यसमा सबैभन्दा सरोकारवाला त सिकारु नै हुन्छ र प्रत्यक्षतः  सिकारुसँग सम्बन्ध हुने सहजकर्ता या शिक्षक नै हुनुपर्छ । 

आखिर जुन तरिकाले भए पनि शिक्षा त दिइए कै छ, शिक्षा पाउनु पर्नेले पाएकै छन् तर त्यसको परिणामले भने अपेक्षित परिणाम नआएकाले प्रश्न उठेको मात्र हो । शिक्षा दिने लिने भनेको संस्कारको सूत्रपात गर्नु हो सिकार को जीवनमा । सिकारु ले सिक्ने भनेको औपचारिक तरिकाले ६० प्रतिशत मात्रामा र अनौपचारिक तरिकाले ४० प्रतिशत मात्रा हुनेगर्छ भन्ने मान्यता छ । त्यसो भए परिवार,समाज, सँस्कृति, चालचलन र परम्परागत सीपका आधारमा बाँच्ने तरिकाको पनि  त महत्व हुने रहेछ । 

शिक्षा नीति बनाउने भनेको व्यक्तिको आवश्यकतालाई विश्लेषण गरेर ,साझा अपेक्षाहरूको एक समूह बनाइन्छ । विशेष अपेक्षाहरूको एक समूह बनाइन्छ र त्यहीँ हो छान्ने । व्यक्तिको चाहना, व्यक्तिको क्षमता, व्यक्तिको आवश्यकता र उसको अपेक्षा र हाम्रो सामाजिक आवश्यकता समेतको तुलना गरिन्छ र लगानी गर्न थालिन्छ । शिक्षा सामान्यतः समाजको आवश्यकताका आधारमा राज्यको लगानीमा दिइने हो र ती जनशक्तिहरूको उपयोग राज्यले आफ्नो आवश्यकता र व्यक्तिको क्षमताअनुसार गर्ने हो । 

जनशक्तिको तयारी गर्ने भनेको आवश्यकताको आपूर्तिका लागि हो । भनिन्छ,मानवीय क्षमता अभिवृद्धि गर्दा अल्पकालीन,मध्यकालीन र दीर्घकालीन योजना बनाएर गर्नुपर्छ ।तत्कालको आवश्यकता पूरा गर्नका लागि अरु धेरै वर्ष पर्खन सकिँदैन । तर विकासको लामो गतिसँग योजनालाई तादात्म्यता राख्नका लागि योजना नै जरुरी छ र त्यसका लागि अनुमानित खर्चको जोहो गर्ने पनि राज्यले नै हो । सायद त्यसैका लागि योजना आयोगहरूको व्यवस्था गरिएको होला,स्थानीय तह देखि केन्द्रीय तहसम्मका लागि । एउटा सानो घर बनाउन त आवश्यक पर्ने सामानहरुको अनुमान गरिन्छ भने राज्यका लागि आवश्यक पर्ने जनशक्तिको योजना विना कसरी तयार गर्न सकिन्छ र ? तर हाम्रो देशमा विद्यालयलाई चाहिने शिक्षकहरुको , कर्मचारीहरुको र शैक्षिक कार्यक्रमका लागि चाहिने सामानहरुको, भवनहरुको, प्रयोगशालाहरूको अवस्था कस्तो छ ? यदि भौतिक साधनहरु छन् भने पनि तिनको प्रयोग गर्ने जनशक्तिहरूको आवश्यक दक्षता कस्तो छ ? अब १० वर्षपछिका लागि कुन विषयका लागि कति शिक्षक , कति प्राध्यापक, कति इन्जिनियर, कति चिकित्सक , कति नर्सहरु, कति सहायक कर्मचारी, कति कूटनीतिज्ञ, कति व्यवस्थापक चाहिएला ? कति वैज्ञानिक चाहिएला कुन क्षेत्रका लागि ? कति दूरसञ्चार विद्हरुको आवश्यकता पर्ला ? या यस्तै यस्तै । 

मानिसहरुमा जता हेर्‍यो उतै ठगी र बेइमानी बढेको छ । शिक्षाले दिने भनेको जीवनको संस्कार पनि हो । नैतिक वान नागरिकको उत्पादन पनि हो । न त हामी खेलकुदमा अन्तराष्ट्रिय स्तरका हुनसक्यौँ, न त हामी त्यस्ता वैज्ञानिक तयार गर्न सक्यौँ, न त त्यस्ता नागरिक तयार गर्न सक्यौँ जसले दर्शन, शिक्षा, व्यापार आदिमा अन्तराष्ट्रिय रुपमा प्रतिस्पर्धा गर्न सक्ने भयौँ ?

अहिले कुरा गरिएको छ शिक्षा क्षेत्रकै । शिक्षा कसरी पाइन्छ भन्दा औपचारिक, अनौपचारिक र अचानक सिकिने तरिकाले । औपचारिक तरिकाले लिने भनेको , राज्यले बनाएको या शिक्षा प्रदान गर्ने संस्था या उत्तरदायी व्यक्तिले गर्ने योजना अनुसारको अपेक्षालाई समय बद्ध शिक्षा उपलब्ध गराउने र आवश्यक ठाउँमा त्यसको प्रयोग गर्ने । अनौपचारिक तरिकाले शिक्षा लिने भनेको परम्परागत या अन्य बाट योजनाबद्ध तरिकाले भन्दा आवश्यकताका आधारमा जसरी पनि दक्षता हासिल गरेर जीविकोपार्जन गर्ने हो । औपचारिक शिक्षामा विद्यालय वा विश्वविद्यालयका परम्परागत कक्षाहरु वा तरिकाहरूको प्रयोग गर्ने हो । अनौपचारिक शिक्षामा त्यसरी औपचारिक संस्थाहरुको समय बद्ध तरिकाले भन्दा परिणाममुखी आवश्यकताका लागि गरिने दक्षताको आवश्यक प्रबन्ध हो । 

तर आजको नयाँ सूचना प्रविधिको सहयोगमा सिकिने तरिकामा परिवर्तन आएको छ, समाजको आवश्यकताले पनि नयाँ बाटो समाएको छ र आवश्यकता पूरा गर्नका लागि अन्य धेरै उपायहरुको प्रबन्ध गर्न थालिएको छ । अब सहजीकरणका लागि कक्षामा तालिम प्राप्त शिक्षकहरुको या सहजकर्ताको नेतृत्वमात्र जरुरी छैन, प्रविधिले आवश्यकता पूरा गर्नका लागि विकल्पहरु दिएको छ । त्यसैले अब औपचारिक र अनौपचारिक शिक्षाको सीमालाई पानीमा कोरिएको रेखाजस्तै बनाएको छ । कोरोना महामारीका बेलामा संसारभर वैकल्पिक माध्यमको भरपुर प्रयोग गरियो र त्यसलाई समाजले पनि मान्यता दियो र आफ्नो आवश्यकता पूरा गरेको थियो । 

परिवर्तन, रूपान्तरण र फरकपन भनेको आफूमा आउनैपर्ने भावनाको नाम हो । त्यतिमात्र होइन, समाजको आवश्यकता भनौँ या परिवारको आवश्यकता भनौँ या व्यक्तिले आफू बाँच्ने समाजमा सम्मिलित भएर बाँच्नका लागि पनि जस्तो जरुरत छ, त्यस्तै हुनु जरुरी पर्ने हुन्छ । 

अहिले हाम्रो विद्यालय, विश्वविद्यालयहरुमा त्यही समय सापेक्षताको आवश्यकता पूरा गर्नका लागि तदारुकता नदेखिएकाले समाजमा हलचल देखिएको छ । कति विद्यार्थीहरु आफ्नो सुरक्षित भविष्यको लागि भनेर लाखौँको संख्यामा बाहिरिन थालेका छन् । आफ्ना लाला बालाको सुरक्षित भविष्यका लागि भनेर अभिभावकहरुले पनि करोडौँ रुपैया खर्च गर्दै बाहिर जानका लागि सहयोग गरिरहेका छन् ।

यसको लागि अहिलेसम्मको हाम्रो शिक्षा प्रणालीलाई येनकेन घिसार्दै लगेर होला त ? न उच्च शिक्षामा भर्नाको टुङ्गो छ, न त कक्षाको नियमितताको भरोसा छ, न त बेलामा मूल्याङ्कन गरेर परिणाम निकाल्ने चलन छ , न कक्षाको नियमितता छ, न प्रणालीको कुनै स्थिरता छ ? अनि प्रजातन्त्र आएको पनि ७३ वर्ष भयो, प्रजातन्त्र पुनर्स्थापना गरेर बहु विश्वविद्यालयको चलन सुरु गरेको पनि तीन दशक भयो, हातमा गन्दा विश्वविद्यालयहरुको संख्या धेरै भए तर आखिर मुलुकको एउटामात्रै विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले भार थाम्नु परेको छ , त्यो पनि आधुनिकतालाई आफूमा आन्तरिकरुपमा आत्मसात् गर्न पनि नसक्ने अनि परिवर्तनको पनि बाहकका रुपमा । 

पहिले कम्तीमा पनि कक्षा १०को परीक्षाका लागि देखि विश्वविद्यालयका साधारण धारमा अनौपचारिक शिक्षाको व्यवस्था थियो । कम्तीमा पनि आवश्यक योग्यता पुर्‍याउनका लागि वैकल्पिक व्यवस्था थियो । तर अहिले परिवर्तनका नाममा त्यस्ता जरुरत पर्नेहरूका लागि शिक्षाको त्यो विकल्पमा ताल्चा लगाइएको छ । 

त्यसो त आजभन्दा चार दशक या पाँच दशक पहिलेको भन्दा परिस्थिति बदलिएको हुनुपर्ने हो । समाज परिवर्तन भएको छ , विकासको मोडेल परिवर्तन भएको छ , जनसंख्या परिवर्तन भएको छ । बाटा घाटा, सञ्चारको व्यवस्थामा धेरै विकास भएको छ । स्वास्थ्य सेवामा परिवर्तन त भएको छ तर आवश्यक पर्ने आधारभूत स्वास्थ्यसेवा यति महङ्गो भएको छ कि मानिसहरुले विरामी हुनु भनेको ओखतीका लागि सहज तरिकाले व्यवस्था हुनुभन्दा मृत्यु सहज मान्ने बेला आएको छ। सरकारले भन्न त भनेको छ तर त्यो व्यवस्था कसका लागि हो भन्ने कुरामा सधैँ समस्या देखिन्छ ।

मानिसहरुमा जता हेर्‍यो उतै ठगी र बेइमानी बढेको छ । शिक्षाले दिने भनेको जीवनको संस्कार पनि हो । नैतिक वान नागरिकको उत्पादन पनि हो । न त हामी खेलकुदमा अन्तराष्ट्रिय स्तरका हुनसक्यौँ, न त हामी त्यस्ता वैज्ञानिक तयार गर्न सक्यौँ, न त त्यस्ता नागरिक तयार गर्न सक्यौँ जसले दर्शन, शिक्षा, व्यापार आदिमा अन्तराष्ट्रिय रुपमा प्रतिस्पर्धा गर्न सक्ने भयौँ ? अहिले केही देखिएका छन् तर दुर्भाग्यवश ती विदेशमा नै बस्ने भनेर उतै का नागरिक बनेर रहेका छन्। देश छोडेर गएकाहरुलाई हामीले किन आकर्षण गर्न सकेनौँ ? उनीहरुको नेपाली राष्ट्रियताको भावनाको पक्षलाई हामीले किन नगदी करण गर्न सकेनौँ ? 

सायद हामी कतै त चुकेका छौँ नीति बनाउन -  शिक्षा प्रणालीमा रूपान्तरण गर्न - शिक्षामा लगानी गर्न । योजना बनाउनका लागि सरोकारवालाहरुको भावना समेट्न नसक्दा पनि परिवर्तनमा समय लाग्ने गरेको हो । त्यसो त अहिलेको समय कस्तो छ भने योजनाका तयारी गर्दा सम्ममा पनि समयले अर्को परिवर्तनको बाटो समाइसकेको हुन्छ । तत्काल निर्णय गर्न सक्ने क्षमतावान जनशक्तिको आवश्यकता परेको छ तर हाम्रो शैक्षिक प्रणालीमा देखिएको हिजो देखिको कमजोरीको परिणाम आजको अलमल र तदर्थवाद  बिगबिगी हो । क्रमशः