माटोसँग गाँसिएको पिरती : पहिलो अक्षरदेखि मानव जिउने आधारसम्म

माटोसँग गाँसिएको पिरती : पहिलो अक्षरदेखि मानव जिउने आधारसम्म

डा. सदानन्द कडेल  |  साहित्य  |  श्रावण १०, २०८०

'ठुल्भाइ, गाउँमा आएर धम्मरधुस गरेर बाँझो खेत भत्काउन पो थाल्यौ नि त, तिम्रो जागिर गयो कि क्या हो ?' 

ठ्याक्कै तीन वर्ष अघि गाउँकी एउटी दिदीले सोध्नु भएको यो प्रश्न अहिले पनि मेरो दिल दिमागमा तरंगित भइरहन्छ । त्यतिबेला ४ वर्ष देखि बाझिएको खेतमा फेरि धान झुलाउने संकल्प सहित खेत बिराउने सिलसिलामा डोजर चालकलाई निर्देशन दिइरहेको थिएँ म । खासमा दिदीले त्यस्तो सोच्नु स्वाभाविक थियो किनकि पढेर गाउँ बाहिर जागिर खाएकाहरू गाउँमा खेती गर्न फर्किएका थिएनन् । म आफै पनि ३३ वर्षसम्म आफ्नो खेतमा रोपाइँ गर्न जान असमर्थ भएको थिएँ ।  

डोजरको प्रयोग मेरो रहर थिएन । बाध्यताको परिणाम थियो । ‘गरा र कान्लाको संख्यालाई उल्लेख्य रूपमा कटौती गरेमा मात्र खेती गर्न सकिने’ कुरा गाउँका एक भाइले भने । त्यो पूर्व सर्तका सामु म नतमस्तक थिएँ । २०७७ साल असार–साउनमा डोजरको सहायताले २६ ओटा स–साना गरालाई ६ ओटा ठुला गरामा परिणत गरियो । पाचौं दिनमा रोपाइँ मैझारो गर्दा असाध्यै मज्जा आयो ।   

छैटौँ दिन बिहानै काठमाडौँ तिर हुइँकिए । पानी परिरहेको थियो । फुर्के खोला, घाट बेसी र जरे खेतमा पहिरो झरेकोले गाडी पार गराउन निकै नै मुश्किल पर्यो । बल्लबल्ल नागढुङ्गा पुगियो  । कोरोना कहर भएकोले आवत जावत सजिलो थिएन । मैले खेत रोप्न गएको व्यहोरा सहितको नागार्जुन नगरपालिका वडा नं. १० र गजुरी गाउँपालिका वडा नं. २ को सिफारिश बोकेको थिएँ । प्रहरी पोस्टमा सेवामा खटिएका प्रहरीलाई सिफारिश देखाएँ । ‘सिडियो कार्यालयको पास बिना काठमाडौँ छिर्न नपाइने’ भन्दै उनले मलाई नागढुंगाको पार्किङ लटमा पठाइदिए । दिउँसोको बाह्र बजिसकेको थियो । ‘फर्केर धादिङ बेसी गएर जिल्ला प्रशासन कार्यालयबाट पास ल्याउनुपर्ने’ उनको आग्रह थियो ।   

गाडीको एफएममा समाचार आइरहेको थियो । ‘भिषण बर्षाको कारण मलेखु मझुवामा पहिरोले चेपेर एकजनाको मृत्यु भएको’ खबरले मेरो होस् उडायो । आफ्नै वडाका व्यक्तिको दुःखद निधनको पीडा एकातिर थियो भने अर्कातिर डोजरले थिलथिलो बनाएको खेतका गराहरू भत्किए होलान् भन्ने छटपट्‌याहट !  

गाउँमा फोन गरें । धन्न बचेछ खेत । खेतमात्र बचेन । मेरो आत्मविश्वासमा  घुन पुत्ला लाग्नबाट पनि बचेको महसुस भयो । पैसाको खती त हुन्थ्यो नै । ‘डोजर लगाउने बिग्रिएको मति’ भन्ने थिए धेरैले !  

काठमाडौँ प्रवेश गर्ने उपायको खोजी गरें । प्रहरीकै अलिक माथिल्लो दर्जाका साथीको मद्दतले बल्लबल्ल घर पुगेँ । प्रचण्ड गर्मीमा पाँच दिनको खटाइले असाध्यै थाकेकाले मिल्ने भए सिङ्गो शरीरलाई नै कुनै मेसिनमा हालेर सर्भिसिङ गर्नु जस्तो भएको थियो । जे होस् मिसन सफल भएकोमा फुरुङ्ग भएको थियो  मन !  

त्यसपछि झन्डै एक महिनासम्म जुन दिन भारी बर्षा हुन्थ्यो, त्यो दिन नीद हराम हुन्थ्यो मेरो । कहिलेकाहीँ त सपनामा पनि खेतका कान्लाहरू भत्किएका देखेर झल्याँस्स व्युँझिन्थेँ । बर्खा याम सकिएपछि मात्र ढुक्क हुन सकेको थिएँ म ।     

मंसिरमा लहलह धानको बाला झुलेपछि एकजना भाइले फोटो खिचेर मेरो म्यासेन्जर राखिदिए । मलाई कतिबेला खेतमा पुगौँ जस्तो भयो । तत्काल जान सम्भव थिएन । बौद्धिक खेताला गिरीको मेलो भ्याइनभ्याइ थियो । डेडलाइन नकटाउने चटारो पनि । तीन दिनसम्म बिहान तीन बजे उठेर अनुसन्धान प्रतिवेदनको काममा कस्सिएँ । मेलो सकियो । इमेल गरेर हानिए गाउँतिर । त्यो भाइले पठाएको फोटो सहित ‘आजै खेततिर हिँड्न लागेको’ आशयको पोष्ट गरें मैले फेसबुकमा ।  

खेत माथिको सडकमा पुग्दा मनै रोमाञ्चित भयो । हरेक पटक बाँझो खेतलाई पृष्ठभूमि बनाएर सेल्फी खिच्ने मान्छे म । लहलह धान झुली रहेको खेत पछाडि देखिने गरी सेल्फी खिच्न थाल्दा पुलकित भएँ ।  

'यहीँ हो सरको खेत ? नमस्ते छ है !' एक सज्जनले मेरो अगाडि मोटरसाइकल रोकेर भन्नुभयो । उहाँ हुनुहुन्थ्यो दिव्य दर्शन टेलिभिजनका पत्रकार सीताराम अधिकारी । 'उहाँ हुनुहुन्छ मेरो स्कुले जीवनका गुरु' ठुलो क्यामेरा र क्यामेराको स्ट्याण्ड बोकेका उहाँको साथीसँग परिचय गराउनु भयो ।  

‘गुरु’ शब्दले मेरो ध्यान आकृष्ट गर्यो । मनमनै बिछट्टै रमाइलो पनि लाग्यो । हुन त जीवनमा साँढे सात वर्षमात्र शिक्षण गरियो । ४ ओटा स्कुलमा पाँच वर्ष र दुई ओटा क्याम्पसमा साँढे दुई वर्ष । यदाकदा आफ्ना चेला चेलीहरू भेटिन्छन् । धेरै विद्यार्थीले ‘मेरो गुरु’ भन्न रुचाउँछन् । कति त त्यसो भन्दा सानो होइन्छ कि जस्तो ठान्नेहरू पनि छन् । सबैको आ–आफ्नो सोचको कुरा न हो । म पनि मेरो गुरुहरूलाई असाध्यै श्रद्धा गर्छु । ‘गुरु–चेला’ को सम्बन्ध विशेष हो भन्ने लाग्छ मलाई ।

पहिलो, मेरा हजुरबुबाले यही खेतमा रोपाइँ गर्दा २५ हल गोरु नारिन्थ्यो रे !। झन्डै १०० जना रोपाहारहरूले धान रोप्थे रे ! गाउने बजाउने हालेर रोपाइँ गर्ने हुँदा हेर्ने मान्छेहरू पनि हुन्थे रे !  बाजा बजाउँदै हजुरबुबा तथा बुबाहरूलाई हिलोमै बोकेर नचाउने गरिन्थ्यो रे !  आमाहरू चाहिं रोप्न भन्दा पनि सबैलाई पुग्ने गरी दाल, भात, तरकारी पकाउन व्यस्त हुनुहुन्थ्यो रे ! । जिम्वाल हजुरबुबाको पालाको जस्तो न खेत छ अहिले, न त बेठी खेतालाको परम्परा नै !

केवल पढाइ–लेखाइको कुरामा मात्र सीमित छैन यो सम्बन्ध !  बाल्यावस्था र किशोरावस्थाका विद्यार्थीको सांस्कृतिक पुँजी (Cultural capital), बानी तथा व्यवहार निर्माणमा समेत शिक्षकको भूमिका महत्वपूर्ण हुन्छ । उच्च शिक्षा तथा विद्यावारिधिका थेसिस मा त अवधारणा तथा विचार मात्र नभई कतिपय शब्द र वाक्यहरू नै प्राध्यापकको परेको हुन्छ सच्याउने सिलसिलामा । ‘गुरु–चेला/चेली’को संयुक्त प्रयत्न बाट मात्र एउटा असल थेसिस जन्मिन्छ भन्ने लाग्छ मलाई !     

'लौ जाउँ खेतमा धान झुलेको ठाउँमा । तपाईंको अन्तर्वार्ता लिन आएको हो हामी ।' सामान्य भलाकुसारी पछि सीतारामजीले भन्नुभयो । म त छक्क परें । रोमाञ्चित पनि भएँ । धान झुलेको खेतलाई पृष्ठभूमिमा राखेर खेतमै उभिएर अन्तर्वार्ता दिँदा मलाई अत्यन्तै आनन्दानुभूतिको महसुस भयो । खासमा मेरो फेसबुक वालमा हेरेर नै उहाँ त्यहाँ जानु भएको रहेछ । गजुरी गाउँपालिका वडा नम्बर २ को तत्कालीन वडा कार्यालय नजिकै मेरो खेत छ भन्ने थाहा थियो उहाँलाई ।  

खेत बिराएको पहिलो साल भएकोले बाबुलाल भाइले ‘अधियाँमा खेती गर्छु’ भनेका थिए । निकै मेहनत गरे । हाम्रो भागमा आएको धान मिलवाला राजन कडेल भाइको गोदाममा लगेर राखियो । हरेक पटक गाउँ जाँदा धान कुटाएर दुई बोरा चामल डिकीमा हालेर ल्याउने गरियो । आफ्नो खेतको चामल अलि खस्रो तर खाँदा गुलियो हुने रहेछ । कोरोना कहरको बेला आफ्नो खेतमा धान फल्ने कुराले धेरै नै आत्मविश्वास बढाएको थियो । दोस्रो साल देखि ठेक्कामा गर्ने रुचि राखे बाबुलाल भाइले ।

उमेरको हिसाबले बीसको दशक मूलतः पढाइ सक्ने तिर नै केन्द्रीत रह्यो मेरो । तीसको दशकमा पेशागत बढोत्तरीको लागि मरिहत्ते गरियो । राजधानीमा घरजम तथा परिवारको लागि ओत लाग्ने मेलो पनि गरियो । चालीसको दशकमा विद्यावारिधिको हुटहुटीले गर्दा अध्ययन–अनुसन्धानमा जमियो । पचासको दशकमा फेरि पेशागत उचाइको सिलसिलामा रमियो ।  

अब साठीको दशकले नयाँ कुरा खोजेको महसुस गरेको छु । सोही अनुसार यो दशकको लागि बलियो जग बनाउँदैछु । मूल खामो (खाँबो) वा धुरी खामो हो आत्मसन्तुष्टि तथा खुसी ! धुरी खामोसँग जोडिएर चारकुना (सुर) मा चार खाँमाहरू रहनेछन् । पहिलो खामो– घुमघाम एवम् साहित्य सिर्जना । दोस्रो खाम–माटोको माया तथा कृषि पुर्नसवलीकरण । तेस्रो खामो– अनुसन्धान तथा अभिलेखन । चौथो खामो– सेवा तथा परोपकारिता ।

यसलाई व्यक्तिगत जीवनको चार खम्बे नीति भन्दा पनि अत्युक्ति हुनेछैन भन्ने लाग्छ । धेरै महत्वाकांक्षी भएको पनि होइन । यो त मनमा लागेको कुरा मात्र हो । सकेजति आकांक्षाकाशमा विचरण गर्दै जाने हो । बाधा अड्चन तथा आँधी बेहरी त आइनै रहन्छन् जीवन यात्रामा । सामना गर्दै अघि बढ्ने हो । 

गज्जबको छ यो सन्तुष्टि भन्ने कुरा पनि ! आफ्नो सन्तुष्टिको खातिर मेरा साथी डा. कमल फुयाल गाउँगाउँ चाहरिरहेका छन् । मकवानपुरको फाखेलमा जग्गा किनेर केही गर्दैछन् । काठमाडौँकै झुले तिर बेलाबेला झुल्किरहन्छन् । अध्ययन–अनुसन्धान र लेखनमा व्यस्त छन् । डा. उद्धव राई अहिले आफ्नो जन्मथलो भोजपुरमा घर बनाइरहेका छन् । किताब लेखिरहेका छन् । खुसीको लागि अर्का साथी डा. चण्डी चापागाई उनको जन्मस्थान धनकुटामा डोजर चलाएर जग्गा सम्याइरहेका छन् । खेतीपाती गरिरहेका छन् । पुस्तक लेखिरहे कै छन् ।  

मेरा सहपाठी दाइ रोजनाथ कडेलले आफ्नो जन्मस्थान बितलब डाँडोमा घर बनाएका छन् । सगोलको परिवारका सदस्यहरू तथा पितृहरूको फोटोले घरको भित्ता सजाएका छन् । ६० वर्ष अघि घडेरी नपाइने बितलब गाउँ अहिले बस्ती बिहीन भएको छ । आफ्नो जन्म स्थान प्रतिको अगाध मोहको बेजोड सन्देश दिएका छन् उनले ।    

आफ्नै अनुभवबाट मलाई एउटा गतिलो सिकाइ भएको छ । अलिक अगाडि नै त्यो सिकाइ भइदिएको भए हुन्थ्यो भन्ने लाग्छ । तर ढिलै भए पनि धेरै बिग्रिसकेको त छैन । अब सुधार गरेर लैजान सकेमा ।  व्यक्तिले बहुमुखी/ सर्वतोमुखी (Versatile) हुन हमेसा प्रयास गर्नु पर्ने रहेछ । समानान्तर ढंगले धेरै कुरालाई सँगसँगै अघि बढाउनु पर्ने रहेछ । म त जे काममा लाग्यो त्यसैमा मात्र पो गहिराईमा डुबेर लागे छु । अर्को क्षेत्रमा निरन्तरता दिनबाट भागे छु ।  

नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयबाट दर्शनाचार्य र विद्यावारिधि गरियो । इजरायल, फ्रान्स र अस्ट्रेलियाबाट छोटो कोर्स/तालिम लिने काममा अघि सरियो । १२ ओटा संस्था/कार्यालयमा २७ वर्ष पूर्णकालीन रूपमा शिक्षाकर्मीको हैसियतमा सेवा गरियो । यसमा मेरो कुनै गुनासो छैन । नमिठो अनुभूति हुनुपर्ने कुनै कारण पनि छैन ।

तथापि, यी दुई कुराले कृषि र साहित्य सिर्जनालाई सिमान्तकृत बनाइ दिएको मलाई पत्तै भएन छ । खोज मूलक लेखहरू त लेखि रहेकै थिएँ । तथापि, पहिलो साहित्यिक रचना छापिए पश्चात तीन दशक भन्दा बढी समय निदाए छु । ३३ वर्षसम्म आफ्नो खेतको रोपाइँमा सहभागी हुन सकेन छु । आखिर समानान्तर रूपमा यी दुई काम पनि त सँगसँगै गर्न सकिन्थ्यो नि ! तसर्थ सिमान्तकृत दुई विधालाई प्रमुख प्राथमिकता दिन कस्सिएको छु साठीको दशकको संघारमा टेकेर । 

हरेक सालको असार पन्ध्रमा केही न केही घटना भइ नै रहेका छन् । कुनै साल कृषि मन्त्रीले मर्यादा नाघेर रोपाहारलाई लज्जित बनाए । कुनै साल अर्का कृषि मन्त्रीले हल भित्रै गमलामा धान रोपे । स्थानीय तहका जनप्रतिनिधिहरूले धानको बिउका माला त कति लगाए कति ! रोपाहारलाई दबदबे हिलोमा पछारेपछि कुनै साल कलाकारले विवाद निम्त्याए  !  विद्यालय तथा बाल विकास केन्द्रहरूले समेत आफ्ना बालबालिकाहरूलाई रोपाइँ गरेको ठाउँमा लैजाने र धान रोप्न लगाउने कार्य पनि ह्वात्तै बढेर गएको छ अचेल ।     
मलाई पनि असार पन्ध्रले असाध्यै आकर्षण गर्छ । तर हाम्रो खेतमा एकातिर धान झुलिरहेको हुन्छ भने अर्कातिर मकै हुन्छ असार पन्ध्रमा । मसँग झन्डै दुई हप्ता प्रतीक्षा गर्नुको विकल्प हुँदैन ।  

यो वर्ष असार ३१ गते रोपाइँ हुने तयारी भएको खबर पाएपछि म दिउँसो खेतमा पुगेँ । तीन वर्षअघि खेत बिराएपछि हरेक वर्ष रोपाइँमा सहभागी हुँदै आएको छु । पोहोर साल त पारिवारिक दलबल सहित गएको थिएँ । यो पटक मिलेन । केही साहित्यिक व्यक्तित्वहरूले 'तपाईको खेतमा हुने रोपाइँमा लैजानुस्' भन्नु भएको त थियो तर अन्तिममा उहाँहरूको पनि मिलेन ।  

पहिलो कामको रूपमा खेतको चारै तिरको साँध–सिमाना अवलोकन गरें । ठुला कान्लामा रुख रोपेर सुरक्षित बनाउनु पर्ने विषयमा बाबुलाल भाइसँग छलफल गरेर म दबदबे हिलोमा बाउसे गर्न थालेँ । रोपाहारलाई अलिअलि हिलो छ्यापिने गरी धानको बिउको मुठा गरामा पाँज्न (फिँजाउन) बिछट्टै रमाइलो लाग्छ मलाई । यो नानीदेखि लागेको बानी   भनौँ ! 
रोपाहारले असारे गीत गाउँदै खले गरामा बिउको मुठाले भकारी बनाइदिनु भयो । मैले भकारीमा दक्षिणा चढाए । नेतृत्वदायी भूमिका खेल्ने रोपाहारले मलाई माटोको टीका लगाइदिनु भयो । अरू रोपाहारले हिलो र पानी छ्यापेर हिलाम्मे बनाइदिनु भयो । मलाई वालेट भित्रको लाइसेन्स, बैंकको भिसा कार्ड तथा पैसा जोगाउन हम्मेहम्मे पर्यो । केही रोपाहारहरू टिकटक बनाउँदै हिलोमा नाच्न थाल्नु भयो ।  

उखुमै रमाइलो वातावरणमा मैले दुई कुरा सम्झे । पहिलो, मेरा हजुरबुबाले यही खेतमा रोपाइँ गर्दा २५ हल गोरु नारिन्थ्यो रे !। झन्डै १०० जना रोपाहारहरूले धान रोप्थे रे ! गाउने बजाउने हालेर रोपाइँ गर्ने हुँदा हेर्ने मान्छेहरू पनि हुन्थे रे !  बाजा बजाउँदै हजुरबुबा तथा बुबाहरूलाई हिलोमै बोकेर नचाउने गरिन्थ्यो रे !  आमाहरू चाहिं रोप्न भन्दा पनि सबैलाई पुग्ने गरी दाल, भात, तरकारी पकाउन व्यस्त हुनुहुन्थ्यो रे ! । जिम्वाल हजुरबुबाको पालाको जस्तो न खेत छ अहिले, न त बेठी खेतालाको परम्परा नै !  दोस्रो, यसपाली मेरा साहित्यकार साथीहरू यहाँ आउन मिलेको भए कति रमाउनु हुन्थ्यो होला भन्ने मनमा लाग्यो मलाई ।       

२०८० सालको रोपाइँ, गजुरी २ धादिङ

खेतको गरामा अनावश्यक झार उम्रिन नदिन हिलोमा नै औषधी छर्किने चलन सुरु भएछ । मैले पनि एकछिन स्प्रे गर्ने काम गरें । त्यसको फाइदा झार उम्रिन नदिने भन्ने त थाहा भयो तर बेफाइदाको बारेमा बुझ्नै बाँकी रह्यो । फेसबुकमा पोष्ट गरेपछि कृषि विज्ञ यमुना घलेले 'तपाईंले के स्प्रे गर्नु भएको ?' भनेर सोध्नु भयो । अर्का कृषि विज्ञ मित्र डा. कृष्णप्रसाद पौडेलले 'विषादी पो हो कि ?' भनेर सोध्नु भयो । धादिङ बैरेनीका शिक्षक रामप्रसाद अधिकारीले भन्नु भयो, 'खेतमा के छरेको गुरु ? कतै हर्बिसाइड हो भने त माटोको उर्वरता घटाउँछ नि !'  उहाँहरू सबैको चासो र चिन्ताप्रति म आभारी छु । इमान्दारिता साथ भन्दा मैले जे भइरहेको छ, त्यसमा निरन्तरता मात्र दिएको हुँ राम्रोसँग नबुझिकन । बुझेर मात्र कदम चाल्नुपर्ने कुरामा सोह्रै आना सहमती छ मेरो ।   

जागिरबाट सेवा निवृत्त संखुवासभाका मेरा साथी चोला नाथ ढुंगाना भन्नुहुन्छ, 'माटोमा खेल्नाले प्राकृतिक आनन्द महसुस गर्न सकिन्छ । जय प्रकृति !' अर्घाखाँचीका मेरा पेशागत मित्र पदम भुसाल खेतिपातीमा ध्यान दिनु पर्ने कुरामा सही थाप्दै भन्नुहुन्छ, 'हुन त हो तर आफ्नो घर–खेत कसौँ टाढा पर्ने, क्यार्नु !'

विद्यार्थी जीवनका साथी तथा इलाममा चिया बगानका मालिक दाताराम खनाल फेसबुकमा कमेन्ट लेख्दै भन्नुहुन्छ, 'अर्को वर्ष आफ्नै बारीमा कोदो रोपेको र छिमेकीले फलाएको कोदो किनेर काठमाडौँ फर्कने क्रमको पोष्ट देख्ने मन छ । अब धान गहुँ हैन कोदो सेवन गरौँ ।'  

मेरा आदरणीय गुरुहरू प्रा.डा. जयराज अवस्थी, प्रा. डा. योगेन्द्र प्रसाद यादव र ठाकुरप्रसाद शर्मा तथा अन्य धेरै महानुभावहरूले हौसला सहितको प्रतिक्रिया फेसबुकमा दिनु भएकोमा उहाँहरूप्रति अत्यन्तै आभारी छु । प्रतिक्रियाकै क्रममा चितवनका ज्ञानेन्द्र पाण्डे लेख्नुहुन्छ, 'काठमाडौँमा बस्ने सबैले गाउँमा आएर खेतीपाती गरेमा शुद्ध चिजबिज खान पाउने थिए होला ।' यसैमा सही थप्दै गजुरीका पत्रकार नयाँघरे माइलो लेख्नुहुन्छ, 'गजुरीका सबै विद्वानहरूले आफ्नो जग्गामा यसरी काम गराए राम्रो हुन्थ्यो ।'   

सिरहाका मेरा साथी जगमोहन साह पनि पहिला खेतीपातीको काम धेरै नै गर्नु हुँदो रहेछ । उहाँले कृषि कर्म छोडेको ४० वर्ष भएछ । भर्खरै सेवा निवृत्त हुनु भएको छ । अब समय पनि यथेष्ट हुनेछ । उहाँ पनि घुमीफिरी फेरि रुम्जाटार जानु भयो भने झनै राम्रो हुनेछ भन्ने लाग्छ मलाई ।  

धादिङ सिम्लेका नवीनकुमार पौडेलको भनाइ पनि मलाई निकै घत लागेको छ । उहाँ भन्नुहुन्छ, 'आर्थिक तथा सामाजिक समृद्धिको पहिलो आधार हो उत्पादन । शैक्षिक ज्ञानले परिपूर्ण भए पनि उत्पादनमा नजोडिने अचेत मन र केराका थम्बा झैँ तिघ्रा लिएर सुकुटे मेहनती पाखुरालाई चोकमा बसी खिसी टिउरी गर्ने दरिद्र ज्यानहरूलाई मार्ग निर्देशन ।' यस्तै खिसी टिउरी मैले पनि भोगेको छु । 'तपाईको अरू काम केही छैन कि कसो ? खाली खेतबारी तिरको फोटो हाली रहेको देख्छु नि ?' यो प्रश्न सहित एकजना नेता फिस्स हाँस्नुभयो । पढे लेखेको मान्छेले खेतबारीको फोटो पोष्ट गर्न नसुहाउने जस्तो उहाँको आशय थियो ।

एकदिन त्रिभुवन विमानस्थलमा एकजना पत्रकारसँग भेट भयो । 'तपाई त अचेल धादिङ तिरै बस्नुहुन्छ  जस्तो छ नि खेतीपाती गरेर ।' कटाक्ष मिसिएको हाँसो सहित उहाँले भन्नुभयो । म त्यतिबेला एउटा शैक्षिक अनुसन्धानको लागि सुदूरपश्चिम प्रदेश जाँदै थिएँ । विद्यावारिधि गरेका क्याम्पसमा पढाउने एकजना ‘विद्वान’ले पनि एउटा भोजमा भेट हुँदा खिसी टिउरी कै भावभङ्गी देखाउनु भएको थियो खेतीपातीको कुरा गर्दा । नेता तथा पढे लेखेकाहरूको त यस्तो सोच छ भने अरूबाट के आशा गर्ने ? खासमा यसबारे अहिल्यै नलेखौँ भन्दाभन्दै पनि नवीनजीले उधिनेर बाहिर निकालिदिनु भयो ।  

मेरा फेसबुकका तमाम गुरुहरू तथा मित्रहरूका विचार नै यो संस्मरण लेखनको लागि अमूल्य सूचना भएका छन् । यसलाई बिट मार्ने बेलामा मलाई धादिङ गल्छी की शिक्षक भवानी खतिवडा रिमालको शब्दहरू सापटी लिन मन लागेको छ । उहाँ लेख्नुहुन्छ, 'समाजमा व्याप्त किसानलाई हेर्ने नजर नबदलि कन कृषिमा परिवर्तन आउँदैन । जसले जुनसुकै नजरले हेरे पनि सबैभन्दा माथिको पेसा कृषि नै हो भन्ने धारणा बोक्नु पर्छ । धरती र प्रकृतिको सम्मान गरी संसार चलाउन सक्ने क्षमतावान कृषकप्रति सबैको धारणा सकारात्मक हुनुपर्ने टड्कारो आवश्यकता छ ।'  आहा कति राम्रो विचार शिक्षक भवानीको ! यो भनाइ अमेरिकाका ३२ औँ राष्ट्रपति फ्य्रांकलिन रुजबेल्टसँग मेल खान्छ । उनले भनेका थिए, 'राष्ट्र, जसले यसको माटो नष्ट गर्छ, त्यसले आफैलाई नष्ट गर्छ ।' त्यसो त महात्मा गान्धीले पनि भनेका थिए, 'पृथ्वीलाई खन्न र माटोको रक्षा तथा हेरचाह गर्न बिर्सिनु भनेको आफैलाई बिर्सिनु बराबर हो ।'     

हरेक व्यक्तिको कृषि प्रतिको सोच र व्यवहारमा परिवर्तन ल्याउनु अपरिहार्य देखिन्छ । आफ्नो जमिनमा खेतीपाती गर्ने कुरामा केवल नाफा र नोक्सानको दृष्टिले मात्र हेर्नु हुँदैन । आफूलाई जन्म दिने आमाबुबाको हेरचाहमा नाफा–नोक्सानको कुरा गर्ने हो र ? आफूले जन्माएका सन्तान हुर्काउने, बढाउने र पढाउने कार्यमा नाफा–नोक्सान मात्र हेर्ने हो र ? जमिन हाम्रो अन्न उमार्ने थलो हैन र ? किसानहरू हाम्रा अन्नदाता हैनन् र ? अन्न, साग सब्जी, तरकारी, फलफूल, दही, दुध, माछा, मासु बिना हामी हुर्किएका हौँ र ? सबैले खेती गर्न छोड्ने हो भने यो दुनियाँमा अन्नको अभावमा हाहाकार हुँदैन र ?

त्यसैले राज्यले पनि अरू क्षेत्रमा कर बढाएर भने पनि कृषि पेसामा सम्बद्ध किसानलाई थप सुविधा दिनु पर्दछ । सहुलियत दरमा समयमै मल बिउ उपलब्ध गराइदिनु पर्दछ । असल कृषक हुन युवापुस्तालाई प्रेरित गर्नु पर्दछ । सेवा निवृत्तहरूलाई पनि जागिरको क्रमभंगता पश्चात कृषिको निरन्तरतामा ध्यानाकर्षण गर्ने योजना पस्किनु पर्दछ स्थानीय सरकारले । अरू पेसा गर्दागर्दै पनि मातृ पेसा कृषिमा ध्यान दिने मनोवृत्तिमा बढोत्तरी गर्नु पर्दछ । 

मैले खास केही गरे जस्तो त लाग्दैन । केवल माटोसँग पिरती गाँसेको मात्र हुँ । मैले पहिलो अक्षर पनि माटोमै लेखेको थिएँ । ठुलो काठको पिर्कामा रातो माटो फिँजाएर लेख्ने ठाउँ बनाइएको थियो । मैले काठको कलमले कपुरी क लेख्ने अभ्यास गरेको थिएँ–कपि र कलमको प्रयोगभन्दा पहिले । माटो मानवको जिउने आधार हो । अन्न पानीको शरीर बचाउने सूत्र धार हो । मुटुको स्पन्दन हो । चन्दन हो । माटोमा उभिएर माटो बिर्सिने छुट कसैलाई छैन । यसैबीच योगेश बैद्यले गाउनु भएको 'माटो भन्नु मुटु रहेछ मिठो जिन्दगानी'  बोलको कालजयी गीतको एक लाइन स्मरण गर्दछु – 'उठ्ने रैछ देश सधैँ, माटोसँग मन खेल्दा ।'