‘आदिवासी विद्रोहको इतिहास’ : वैकल्पिक इतिहासको पेटारो फुकाउने प्रयत्न

‘आदिवासी विद्रोहको इतिहास’ : वैकल्पिक इतिहासको पेटारो फुकाउने प्रयत्न

यमबहादुर दुरा  |  साहित्य  |  श्रावण १३, २०८०

अन्य लेखनको तुलनामा इतिहास लेखन सधैँ जसो शुष्क विधा रहिआएको छ । वर्तमानमा उपलब्ध अभिलेख तथा प्रमाणहरूका आधारमा विगतको पुनःनिर्माण गर्नुपर्ने भएकाले इतिहास लेखन चुनौतीपूर्ण कार्य हो । दृश्यबाट हटिसकेका प्रसङ्गको यथार्थ विवरण पस्कनुपर्ने भएकाले इतिहास लेख्ने व्यक्तिका अगाडि सधैँ चुनौतीको पहाड नै खडा हुन्छ । 

त्यसमा पनि मूलधारको इतिहास लेखनलाई चुनौती दिने गरी वैकल्पिक इतिहास लेख्ने कार्य त झनै चुनौतीपूर्ण कार्य हो । स्थापित भाष्य र ‘न्यारेटिभ’ भन्दा पृथक ऐतिहासिक तथ्य पस्कन तम्सनु कम साहसिक र चुनौतीपूर्ण कार्य होइन । लेखक तथा अनुसन्धाता राजकुमार दिक्पालले यही चुनौतीलाई शिरोधार्य गरेका छन् । 

दिक्पालले आफ्नो कृति ‘आदिवासी विद्रोहको इतिहास’ मार्फत वैकल्पिक इतिहासको पेटारो फुकाउने प्रयत्न गरेका छन् । उनले मूलधारको इतिहासका अगाडि वैकल्पिक इतिहास पस्केका छन् । यस क्रममा उनले वैकल्पिक ऐतिहासिक तथ्यलाई स्थापित गर्न व्यापक शोध तथा परिशीलित गरेका छन् । 

२०७६ सालमा पहिलो संस्करण प्रकाशन भएको यो कृतिको तीन वर्षपछि दोस्रो संस्करण प्रकाशित भएको छ । दोस्रो संस्करण प्रकाशनमा आउनुलाई कृतिको सफलता मान्न सकिन्छ ।

जग जाहेर नै छ, नेपालको इतिहास शासनसत्ताद्वारा स्थापित भाष्यलाई परि पुष्टि गर्ने गरी लेखिँदै आएको छ । शासक वर्गको यश र कृतिलाई मात्र केन्द्रमा राखेर इतिहास लेख्दा त्यो अपूर्ण मात्र होइन, एकाङ्की हुन पुग्छ । वैकल्पिक इतिहासले यस्ता अपूर्ण र एकाङ्की ऐतिहासिक तथ्यलाई परिपूरण गर्न सहयोग गर्छ ।

यद्यपि, यस्ता वैकल्पिक ऐतिहासिक तथ्यलाई हाम्रो समाजले खुला मनले ग्रहण गर्दैन । अझ युद्धबारे लेखिएका अधिकांश इतिहास विजेताको यशोगानमै केन्द्रित पाइन्छन् ।

तर, सत्ता प्राप्तिका क्रममा उनीहरूले अपनाएका अनुमाषिक क्रियाकलापको यथोचित लेखाजोखा गरिएको पाइँदैन, जुन कार्य सच्चा इतिहास लेखनमा हुनुपर्थ्यो ।

वर्णाश्रम व्यवस्थामा आधारित हिन्दू समाज आफैँमा श्रेणी कृत समाज हो । सामाजिक श्रेणीमा तल्लो स्थानमा रहेका समुदायले अनेकन् भेदभाव र बहिष्करण भोग्नुपर्‍यो, जुन अहिले पनि जारी छ । उनीहरूको आवाज हत्तपत्त सुनिँदैन  पनि । राजकुमार दिक्पालले देशका जनजाति समुदाय (वर्णाश्रम व्यवस्था अनुसार मासिन्या जाति) ले स्थापित सत्ता विरुद्ध गरेको विद्रोह र राज्य प्राप्तिका क्रममा सत्ताले रचेका अनुमाषिक क्रियाकलापको नालीबेली केलाउने प्रयास गरेका छन् ।

हाम्रो समाज मुखै मुख सर्दै आएको मौखिक इतिहासलाई लेखकले पनि लिपिबद्ध गर्नु पर्थ्यो । पुस्तक पढ्दा उनले यो सुन्दर मौकालाई धेरै हदसम्म चुकाएको प्रतीत हुन्छ । केही यी र यस्ता कमजोरी देखिए पनि वैकल्पिक इतिहास आउनु इतिहास–चिन्तनमा नयाँ आयाम थपिनु हो । 

दिक्पालले आफ्नो पुस्तकमा नेवार, लिम्बू, तामाङ, माझ किरात, भोटे, मगर, गुरुङ र आठपहरिया राईले विभिन्न समयमा गरेको विद्रोहको फेहरिस्त अघि सारेका छन् । नेपाली इतिहासकारले कतैकतै एकाध चर्चा गरेका यस्ता प्रसङ्गलाई उनले सविस्तार चर्चा गरेका छन्  । लेखनलाई विश्वसनीय बनाउन अनेकन् सन्दर्भ सामग्रीहरू उद्धरण गरिएका छन् ।

पुस्तकमा मुलत: दुई वटा शासन सत्ता विरुद्ध भएका विद्रोहको नालीबेली पाइन्छन् :

१.पृथ्वीनारायण शाहले गोरखा राज्यको विस्तार गर्ने क्रममा जनजाति समुदायले गरेका अवज्ञा तथा विद्रोह ।
२, पृथ्वीनारायण शाहपछि भएका विद्रोह ।

पृथ्वीनारायण शाहले उपत्यकाका सम्पूर्ण राज्य जित्ने आफ्नो अभियानअनुसार कान्तिपुर र ललितपुर कब्जा गरिसकेपछि वि.सं. १८२६ मा भक्तपुर कब्जा गरेका थिए । दुई हजारभन्दा बढि भक्तपुरेको ज्यान गएको थियो । पृथ्वीनारायण शाहका मीत बुवा भक्तपुरका अपदस्थ राजा रणजित मल्ल काशी बास गएका थिए । रणजित मल्लका छोरा अवभूतसिंह पनि आफ्ना बुबासँग काशी गएका थिए । त्यसको एक वर्षपछि अवभूतसिंहको योजनामा भक्तपुरका नेवारहरुले नगरकोटी सेनाको सहयोगमा पृथ्वीनारायण शाहको हत्या गरी भक्तपुर पुनः फिर्ता लिने गरी गरेको विद्रोहलाई लेखकले नेवार विद्रोहका रुपमा इतिहासमा अङ्कित गरेका छन् ।

पुस्तकमा पृथ्वीनारायण शाह र लिम्बुवानबीच वि.सं. १८३१ मा सम्पन्न सम्झौताको विरुद्धमा रहेका लिम्बू सुब्बाहरूले गरेको श्रृङ्खलावद्ध विद्रोहको चर्चा गरिएको छ । १८४८ सालमा लिम्बूहरूले संखुवासभाको चैनपुरमा सिक्किम र लेप्चाहरूको साथ लिएर गोरखालीसँग गरेको विद्रोहको नालीबेली पनि यसमा समाविष्ट छ । 

त्यसैगरी, वि.सं. १८५० मा रणबहादुर शाहले तामाङको विद्रोह माथि गरेको दमनको सन्दर्भ पनि पुस्तकमा समावेश छ । तत्कालीन सत्ताले तामाङ समुदायलाई ‘तामाङ’ लेख्न समेत नदिएको अवस्थामा विद्रोह गरेको कुरा अघि सारिएको छ  । विद्रोहमा रणबहादुर शाहका सेनाले एक हजार तामाङको हत्या गरेको तथ्याङ्क छ ।

पुस्तकमा नेपालका प्रथम शहीद मानिएका लखन थापाले जङ्गबहादुर राणाको स्वेच्छाचारिता र निरंकुशता विरुद्ध गरेको विद्रोहको सविस्तार चर्चा गरिएको छ । जङ्गबहादुर राणा विरुद्ध धावा बोलेकै कारण वि.सं. १९३३ मा लखन थापासहित सात जनालाई झुन्ड्याएर हत्या गरिएको इतिहास छ । 

उनीभन्दा पहिले पनि १८९७ सालतिरै तुले रोहनीले पनि  विद्रोह गरेका थिए, जसको इतिहास चर्चामा थिएन । पुस्तकले त्यो ऐतिहासिक तथ्यलाई पनि जनसमक्ष राखिदिएको छ । यसैगरी, जङ्गबहादुर राणाको शासनकालमा १९०७ सालमा अठार सय खोला क्षेत्रमा भोटेको स्वायत्त क्षेत्रमा भएको विद्रोहलाई पनि समावेश गरिएको छ । 

पुस्तकमा शासन–सत्ताले गरेको सांस्कृतिक हिंसाको पनि चर्चा गरिएको छ । अनिवार्य रूपमा दशैँ मान्नै पर्ने जङ्गबहादुर राणाको उर्दी विरुद्ध विद्रोह गर्ने धनकुटाका राम लिहाङ र रिदामा आठपहरिया राईको विद्रोह ले पनि पुस्तकमा स्थान पाएको छ ।  

लेखकले सांस्कृतिक रूपमै गोमांश ग्रहण गर्ने कतिपय आदिवासी जनजाति समुदायलाई गाईको मासु खान प्रतिबन्ध लगाइँदा उनीहरूको सांस्कृतिक कर्मकाण्डमा परेको असरबारे पनि चर्चा गरेका छन् । मुन्धुममा आधारित लिम्बू अनुष्ठानमा गाई वा गोरुको भोग अनिवार्य मानिन्छ । 

लिम्बू समुदायमा विवाह गरी जाने महिलाले घरबाट जाँदा मेफ्रमा वा देवाता लिएर जाने चलन छ । यस अनुष्ठानमा पनि गाईगो?को मासु अनिवार्य मानिन्छ । रणबहादुर शाहले गोवधमा प्रतिबन्ध लगाए । त्यसपछि वि.सं. १८६६ मा गोवध गर्नेलाई ज्यान सजायको व्यवस्था गरियो । 

मूलधारको इतिहासमा हत्तपत्त नभेटिने यस्ता फेहरिस्त ले हामी पढिरहेको इतिहास कतै एकाङ्की त छैन भन्ने जिज्ञासा पाठकको मनमा उठ्न सक्छ । ‘भविष्यलाई परिभाषित गर्न चाहन्छौ भने विगतको अध्ययन गर ।’ भन्ने चिनियाँ दार्शनिक कन्फ्युसियसको भनाइ यहाँनेर सान्दर्भिक हुन आउँछ । कन्फ्युसियसको भनाइसँग एउटा कुरा जोड्न सकिन्छ । त्यो हो, आलोचनात्मक चेतका साथ विगतको अध्ययन हुनुपर्छ । यसले विगतको पुनरावलोकन गरेर अघि बढ्न सघाउँछ ।

आलोचनात्मक चेतका साथ राजकुमार दिक्पालले कृति ‘आदिवासी विद्रोहको इतिहास’ पढ्दा पाठकको मनमा केही जिज्ञासा उठ्न सक्छन् । आदिवासी विद्रोह किन भएका थिए ? केहीको प्रष्ट कारण देखिए पनि कतिको कारण खोतलिएका छैनन् । पुस्तकमा विद्रोहको ऐतिहासिक आवश्यकता र औचित्यबारे कम चर्चा भएका छन् । यसबाट विद्रोहका उपादेयता बारे प्रश्न उठ्छ ।

अर्को कुरा, लेखाइलाई बढी विश्वसनीय बनाउन नै होला, लेखक बढी मात्रामा लिखित स्रोतमा भर परेका छन् । लिखित दस्तावेजलाई मात्र इतिहासको आधार बनाउँदा इतिहास लेखनको दायरा सीमित हुन पुग्छ । हाम्रो इतिहास लेखनको एउटा कमजोरी यो पनि हो । लेख्य परम्परा समृद्ध नभएको त्यो समयमा इतिहासका धेरै अध्यायहरू मौखिक परम्परामा बाँचेका हुन सक्छन् । 

हाम्रो समाज मुखै मुख सर्दै आएको मौखिक इतिहासलाई लेखकले पनि लिपिबद्ध गर्नु पर्थ्यो । पुस्तक पढ्दा उनले यो सुन्दर मौकालाई धेरै हदसम्म चुकाएको प्रतीत हुन्छ । केही यी र यस्ता कमजोरी देखिए पनि वैकल्पिक इतिहास आउनु इतिहास–चिन्तनमा नयाँ आयाम थपिनु हो । 

यो पुस्तकले बौद्धिक वर्गमा वादविवाद पैदा गर्न सक्छ । यस प्रकारका वाद प्रतिवादले इतिहासबारे हाम्रा चिन्तन, मनन र परिशीलतको दायरालाई थप फराकिलो बनाउँदै लैजाने अपेक्षा गर्न सकिन्छ । अन्ततः यसले हाम्रो इतिहास–विमर्शमा योगदान दिन्छ । यस दृष्टिले इतिहासको अध्ययन, समीक्षा र पुनरावलोकन गर्ने दिशामा महत्त्वपूर्ण ‘आदिवासी विद्रोहको इतिहास’ एउटा महत्त्वपूर्ण खुराक हो भन्न सकिन्छ । 

पुस्तक: आदिवासी विद्रोहको इतिहास
प्रकाशक: मञ्जरी पब्लिकेशन
प्रकाशन वर्ष : २०७९
मूल्य: रू ३९९/-