शिक्षाले साक्षर र अभ्यासले विवेकी बनाउँछ: मानिसको जीवनमा नैतिकताको प्रतिविम्ब कसरी ?

फर्कलान् र ती दिनहरु

शिक्षाले साक्षर र अभ्यासले विवेकी बनाउँछ: मानिसको जीवनमा नैतिकताको प्रतिविम्ब कसरी ?

हरिविनोद अधिकारी  |  शिक्षा  |  साउन १३, २०८०

शिक्षाको प्रसङ्गसँगै- शिक्षकको प्रसङ्ग, पाठ्यक्रमको प्रसङ्ग, विद्यालयको प्रसङ्ग, दाताको प्रसङ्ग । पाठ्यक्रमको रुपमा जनमानसले आत्मसात् गरेको पाठ्यपुस्तकको प्रसङ्ग । सबैभन्दा त बढी जसका लागि शिक्षाको आधारभूत आवश्यकता चाहिएको हो, सिकारुको प्रसङ्ग ।

त्यसो त प्रकृतिमात्र असल गुरु हो, जीवन दायिनी पनि हो, जीवन भरण पोषण गर्ने पनि हो र संहार कर्ता पनि हो । प्रकृति बोल्दैन तर सबै कुरा भनिरहेको छ । हामीले ब्रह्माण्डको बारेमा नाङ्गा आँखाले देखेको यही पृथ्वी हो तर यही पृथ्वीमा रहेका तर जीवनका लागि अत्यावश्यक पदार्थहरूलाई देख्दैनौँ । नदेखेर के भयो त ? त्यो नभई प्राणीमात्र बाँच्ने कल्पनासमेत गर्न सक्दैनौँ , प्राणवायु नभएर । अहिलेसम्म अन्तरिक्षमा समेत त्यही प्राणवायु भारीमा बोकेर लगिएकै छ र अन्तरिक्ष यात्रीहरु बाँचेका छन्  । यही पृथ्वीका  अनन्त प्राण विहीन कणको अप्राणी सम्मिश्रणबाट पैदा हुने मिश्रणबाट प्राणीको उत्पत्ति हुन्छ र त्यसैले संसारका सबै प्रकारका उत्पत्तिको बारेमा अनुसन्धान गर्छ र भन्छ, म हिजो कहाँ थिएँ तर थाहा पाउन सकेको छैन ।  

शिक्षाले सिप मात्र सिकाउने होइन, सीपका सिक्नका लागि जाँगर र प्राप्त सीपको सदुपयोग गर्न सिकाउँछ । सदुपयोगको एउटा मानक तयार गरिन्छ जसले मानव मात्रको, अझ अगाडि बढेर भन्दा ब्रह्माण्डको हित गर्नेछ । के हित हो, के अहित हो भन्ने कुराको विवरण मानिसले नै तयार गरेको हो ।  विवेकले जे भन्छ, त्यही गर्ने हो तर विवेकको मानक के हो ? 

मलाई मेरो प्रथम गुरु आमाले जहिले पनि नैतिकताका कुरा गर्नुहुन्थ्यो । उहाँले पुराणका विभिन्न आख्यानसहितका उदाहरण दिएर भन्नु हुन्थ्यो -यो संसार भन्दा पनि अर्को संसार छ परलोक । यो त मर्त्यलोक भयो, देवलोक, पितृलोक, यक्षलोक,  नागलोक कति छन् कति । परलोकमा कहाँ बास हुने भन्ने यही लोकमा गरेको कामका आधारमा निर्धारण गरिने हुन्छ रे  !

मानिसका लागि तयार गरिएको आचरणलाई नैतिकता भनिन्छ बाबु । नैतिक वान हुनु जरुरी छ । यो कुरा आमाले  मैले भर्खरै होस सम्हाल्दाको बेलादेखि उहाँको इहलीला समाप्त नहुन्जेल र उहाँका आशीर्वाद माग्दास मेत भन्ने कुरा थियो । त्यसो त समय अनुसारका नैतिकता फरक फरक  हुँदा हून् आमाको आशीर्वादमा पनि तर आफ्नो सन्तानको भविष्य जहिले पनि चिन्ता, जिज्ञासा र अपेक्षाको हुने रहेछ ।

आज म आफैँ पिता, पितामह, गुरु अनि समयानुकूल सम्बन्धको दायित्व पूरा गर्दा सधैँ आउने कुरा हो शिक्षाको आवश्यकता जसले व्यक्तिलाई, परिवारलाई, समाजलाई, राज्यलाई रुपान्तरणको लागि आवश्यक छ भनिएको छ । शिक्षाले साक्षर बनाउँछ, आवश्यक जानकारी गराउँछ, सूचनाको संग्रह उपलब्ध गराउँछ तर विवेकका बारेमा त अभ्यासले सिकाउने रहेछ ।  जस्तो कि बाटोका केरा किनेर खाने एउटा व्यक्तिले केराको बोक्रा कहाँ फाल्ने भन्ने कुराको अभ्याससँगै विवेकमा भर पर्ने रहेछ । जे सिकाइन्छ, त्यही जान्ने हुन् र जे अभ्यास गरिने हो, त्यसैको प्रतिविम्ब जीवनमा पर्ने हो । 

सानो हुँदा सम्झन्थेँ, धर्मप्रति आस्था हुनु नै नैतिक वान हुनु हो किनभने आमा धार्मिक प्रवृत्तिको हुनुहुन्थ्यो र बा पनि धार्मिक प्रवृत्तिको हुनुहुन्थ्यो ।  हाम्रो बाले नै हाम्रो तत्कालीन पूर्व २ नम्बर रामेछाप र सिन्धुलीको केही क्षेत्रभित्रको ठाउँमा स्मृतिका रुपमा प्रख्यात १८ पुराण लगाउनु भएको थियो । त्यो पुराण नियमितरुपमा सुन्नेमा बा, आमा, हजुरआमा, बाँकी माहिली फुपू जसलाई हामी पनि माहिली दिदी भन्थ्यौँ । आमाले सुनेका सबै पुराणहरूका आख्यानका पात्रहरुको नामसहित कथा भन्नुहुन्थ्यो र नैतिकताका बारेमा हामी सन्तानलाई जानकारी मात्र दिनु हुन्थेन, नैतिक वान हुनका लागि कडा आदेश पनि दिनुहुन्थ्यो ।

आत्मश्लाघा( आत्मप्रशंसा) नगरौँ, सन्तको दर्शन मात्रले पनि विपत्ति आफैँ भाग्छ, गुरुलाई प्रणाम गरेमा सबैको आशीर्वाद प्राप्त हुन्छ , पति र पत्नी एकअर्काका अनुकूल हुनुपर्छ , सद् गुणले महानता प्राप्त हुन्छ धनले होइन, साना भाइबहिनीको पालना जरुरी छ , कपट पूर्ण व्यवहार नगरौँ , सदाचारीको अपमान नगरौँ, सदा सत्य बोल्नु पर्छ, दाजुभाइ बराबर मित्र कोही हुँदैन, अधर्ममा मन लगाउनु हुँदैन ।

 

आज आएर म सम्झन्छु, त्यसो गर्नु हाम्रो सुदूर भविष्यमा आउन सक्ने सबै अनिष्टलाई उहाँले आध्यात्मिक तरिकाले सम्झाउनु भएको रहेछ । अनि म मेरो सामान्य अक्षरमात्र बिस्तारै भन्ने आमालाई एक जिज्ञासुका हैसियतमा पछिसम्म सोध्थेँ - आमा, नैतिकता भनेको के हो ? नैतिक वानले जहिले पनि किन दुःख पाउँछ ? उहाँको सहज उत्तर थियो, नैतिकता बन्धन हो , आत्म बन्धन हो, आत्म संयमता हो र त्यसले सन्तुष्टि प्रदान गर्छ । 

 

नैतिकता सिकाउने कुरा पनि हो रहेछ, अभ्यास गर्ने कुरा पनि हो रहेछ तर जीवनमा तयार गरिएको आत्मानुशासनको एउटा परिधि रहेछ । खानपिन, रहनसहन, चालचलन, संस्कृति र परम्परा सबै समाजका अलग अलग हुने रहेछन् । तर मानवीय स्वभाव जन्मले नै एउटै हुन्छ । महाभारतको वन पर्वमा एउटा प्रसङ्ग रहेछ, सर्प योनिमा जानका लागि श्रापित स्वर्गका कार्यवाहक इन्द्रसमेत भइसकेका राजा नहुषले वन बासी युधिष्‍ठिरसँग केही प्रश्न गर्छन् आफ्नो चपेटामा परेका भीमलाई छुटाउने बारेमा । सर्पले सोध्छ, हे राजा वर्णको निर्णय कसरी गरिन्छ र ब्राह्मण र शूद्र फरक देखाउन ? अनि राजा युधिष्‍ठिरले भन्छन् - मानिसहरु सबै एकै हुन्, उनीहरुको केही साझा स्वरूपले मानिस एकै भएका छन्, उनीहरुका काम र अभ्यासका आधारमा को ब्राह्मण हो भन्ने छुट्टिनेछ ।

जसमा रिस, अनावश्यकरुपमा अरु प्रति प्रतिशोधको भावना छैन, सबै प्राणीहरूलाई खासगरी मानव योनिका प्राणीहरूलाई दया, माया, अतक्रतरता देखाउँछ । अझ जसले आफूलाई नहोस् तर अरुका लागि सहयोग गर्छ , त्यो नै नैतिक वान हो भन्ने रहेछ । 

त्यसो त महाभारत काल, जसलाई आजको गणनामा कलीको सुरुवातको समय थियो, जसलाई  उत्तर वैदिक कालको रुपमा गणना गरियो ।  वैदिक कालको उन्नत समय थियो र मानव मात्रको कल्मषताले, पारिवारिक झगडाले विश्वयुद्धको रुप लियो र एउटा सभ्यताको विकास नष्ट भएको देखिन्छ । तर वैदिक कालको सुरुवातमा नै जब समाजको उत्पत्ति भयो, मानिसहरु आफूलाई अरु प्राणीभन्दा सचेत र सक्रिय विवेकशील भएको आफैँलाई आविष्कार गरे, त्यही बेलादेखि नै नैतिक बन्धनको रेखा कोरेका रहेछन् जसलाई सामान्य अरु प्राणीभन्दा आफूलाई फरक र रुपान्तरित प्राणीको रुपमा सम्झिएको पाइन्छ । 

आज संसारमा विकासको कुरा शिक्षाको देन हो तर विनाशको लागि को जिम्मेवार नि? आज कुनै पनि बेला परमाणु बमको त्रासले, अन्तरिक्षबाट अन्तरिक्षमा युद्ध गरिने सम्भावनाको दोष कसको ? अनुसन्धान गरेर मानव मात्रको हितमा आविष्कारलाई प्रयोग गर्ने कुरामा सम्म शिक्षाको योगदान होला तर त्यो अनुसन्धानले आजसम्मको मानव सभ्यता आमूल रुपमा ध्वस्त हुने खतरालाई नैतिकता मान्ने कि नमान्ने ? नमान्ने । 

शिक्षाले दिने विवेक हो । डाइनामाइटको आविष्कार गर्ने अल्फ्रेड नोवेलको आविष्कारले विकासका लागि विश्वलाई नयाँ बाटो देखाउँदा देखाउँदै पनि त्यसबाट जुन क्षति सुरु भएको छ मानव  सभ्यताका लागि हिंसात्मक प्रवृत्तिका लागि । त्यो कुरा नोवेलले त्यही बेलामा बुझे तर पछि उनको नाममा शान्ति पुरस्कार स्थापना भयो किनभने उनको आविष्कारले आज पनि विश्वभर हिंसाले जरा गाडे कै छ । त्यस्तै परमाणु बमका पिता मानिने ओपेनहाइमरले पनि जब उनको आविष्कार परीक्षण गर्न लागिएको थियो, उनले पनि सम्भावित विश्व विनाशको परिकल्पना गरे र अत्यन्त डराएर पश्चातापको भाषामा बोले गीताको त्यो श्लोक जुन श्रीमद्भगतगीताको ११ अध्यायको ३२ औँ श्‍लोकमा श्रीकृष्णले अर्जुनलाई आफ्नो विश्व रुपमो परिचय दिँदै भनेका रहेछन् 
कालोकस्मि लोक-कृत-प्रबृद्धो
लोकान् समाहर्तु-मिह प्रवृत्तः ।
ऋतेकपि त्वाम् न भविष्यन्ति सर्वे
येकवस्थिताः प्रत्यनीकेषु योधाः ।।३२।।

अर्थ- म लोकको नाश गर्न बढेको महाकाल हुँ । यतिबेला यी लोकहरूलाई नष्ट गर्नका लागि प्रवृत्त भएको छु । जो प्रतिपक्षीलाई सेनामा स्थित योद्धाहरू छन्, ती तिमी बिना पनि रहँदैनन्, अर्थात् तिमीले युद्ध नगरे पनि यी सबै नाश हुनेछन् ।

प्रसङ्ग थियो, दोस्रो विश्वयुद्धको जहाँ जापान, जर्मनी , बेलायत र रुसको फरक फरक आधिपत्यले विश्व आक्रान्त थियो र त्यसको अन्तका लागि भनौँ या सहयात्रीहरूका तर्फबाट  परमाणु बम आविष्कार गरेर युद्ध रोक्नु थियो । अनि आफ्नो नेतृत्वमा तयार भएको परमाणु बमको क्षमता कति हुने भन्ने कुरामा 'ओपेन हाइमर'   विश्वस्त कति थिए भन्ने कुराको अनुमान यो श्‍लोकले स्पष्ट पारेको छ । उनको महा कालको स्वरुपमा परमाणु बमलाई लिने निर्णयले आज पनि संसार कुनै पनि बेला ध्वस्त हुने अवस्थामा छ, जसले पड्काओस्, ध्वस्त हुने त मानव जाति नै हो जसरी हिरोसिमा र नागासाकी ध्वस्त भएको थियो, लाखौँ निरपराध, निःशस्त्र मानिसहरु मारिएका थिए ।

अमेरिकाले तयार गरेको परमाणु बम अब उसको मात्र रहेन , जसले बनाउँछ उसैले नैतिक बन्धन कसरी तयार गर्छ भन्ने हो । आखिर परमाणु बम बनाउनु भनेको पाउरोटी बनाएर भोकालाई  खुवाउने जस्तो होइन, यो त ध्वस्त पार्नका लागि नै हो । 

कुरो परमाणु बमको भए पनि त्यसको प्रयोग नगर्ने विवेक त मानिसमा हुनु पर्छ । त्यसैलाई हामीले मानवीय नैतिकताको कुरा गरेका हौँ ।  ऋग्वेदीय परम्परामा नै नैतिकताको केही मानक तयार गरेको पाइन्छ साधारण जीवनमा पनि जसलाई सचेतनाका रुपमा गुरुहरुले प्रचार गर्दै हिँड्थे । ती हुन् -अर्काको निन्दा नगरौँ, उत्तर खाद्यपदार्थ एक्लै खानु हुँदैन बाँडी चुँडी सबैले खानुपर्छ, मातापिता सदैव वन्दनीय हुन्छन्, सम्माननीय हुन्छन्, राम्रो नराम्रो कामको आफैँले फल भोग्नुपर्छ, मगन्ते चलन राम्रो होइन यसले लघुताभाष उत्पन्न गराउँछ , बुद्धिमानहरूले अरुको भलो गर्नुपर्छ, समाजमा निषिद्ध भनिएको काम कहिले पनि नगरौँ,राम्रो काममा ढिलो नगरौँ गरी  हालौँ , अर्कालाई घोचपेच हुने शब्द प्रयोग नगरौँ, अर्काको ऋण चुक्ता गरौँ, गृह हुनका लागि सद् गृहिणीको आवश्यकता पर्छ, महान व्यक्तिहरुको अनुशरण गरौँ, आत्मश्लाघा( आत्मप्रशंसा) नगरौँ, सन्तको दर्शन मात्रले पनि विपत्ति आफैँ भाग्छ, गुरुलाई प्रणाम गरेमा सबैको आशीर्वाद प्राप्त हुन्छ , पति र पत्नी एकअर्काका अनुकूल हुनुपर्छ , सद् गुणले महानता प्राप्त हुन्छ धनले होइन, साना भाइबहिनीको पालना जरुरी छ , कपट पूर्ण व्यवहार नगरौँ , सदाचारीको अपमान नगरौँ, सदा सत्य बोल्नु पर्छ, दाजुभाइ बराबर मित्र कोही हुँदैन, अधर्ममा मन लगाउनु हुँदैन, प्रत्येक दिन उस्तै हो जुन दिन राम्रो काम गर्न पाइन्छ गरिन्छ, त्यो दिन नै शुभ हो । 

शिक्षामा यी कुराहरु भएनन् भने शिक्षा पलासको फूलजस्तै हुनेछ भनिएको छ बास्ना विहीन फूल । क्रमशः