गैरआवासीय नेपाली संघ पोल्याण्डमा नरेश सापकोटा

गैरआवासीय नेपाली संघ पोल्याण्डमा नरेश सापकोटा

शेरबहादुर परियार  |  समाचार  |  श्रावण १४, २०८०

युरोप ।गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद पोल्याण्डको २०२३( २५ कार्यकालका लागि अध्यक्षमा नरेश सापकोटासहित सबै कार्यसमिति निर्विरोध चयन भएको छ।२०१९( २१ मा समेत एनआरएनए पोल्याण्डको अध्यक्ष रहिसकेका सापकोटा पोल्याण्डका सफल व्यवसायी समेत हुन् ।

यसैगरी वरिष्ठ उपाध्यक्ष अनिल थापा, उपाध्यक्ष कुल बहादुर श्रेष्ठ, महासचिव पवन खड्का, सचिव उदयराज गिरी, कोषाध्यक्ष आनन्द घिमिरे, युवा संयोजक विवशहाङ्ग राई, महिला संयोजक गंगा पौड्याल निर्विरोध भएका छन्।

त्यस्तै सदस्यहरूमा जीवन लुइँटेल, नविन राई, र प्रज्वल रेग्मी निर्विरोध चयन भएको निर्वाचन समितिका संयोजक बिनोद आचार्यले जानकारी गराए।

नवनिर्वाचित अध्यक्ष सापकोटाले आफूलाई निर्विरोध निर्वाचित गरेकोमा पोल्याण्डमा रहेका सबै नेपालीहरुलाई धन्यवाद व्यक्त गरे। सापकोटाले पोल्याण्डमा रहेका सबै संघ संस्थासँग सहकार्य गर्दे नेपालीहरुको हकहितमा काम गर्ने बताए।

आज जुलाई ३० तारिखका दिन एनआरएनए पोल्याण्डको सातौं राष्ट्रिय महाधिवेशन हुँदैछ।नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार ग्रहण कार्यक्रम आज नै गरिने बताइएको छ। एनआरएनए पोल्याण्डको २०२३ (२५  कार्यकालका लागि ५८४ जना पञ्जिका सदस्य बनेका छन्। 

आइसीसी सदस्यको उम्मेदवार खारेज 

एनआरएनए पोल्याण्डका लागि आईसीसी सदस्यमा उम्मेदवार दिएका लक्ष्मण घिमिरेको उम्मेदवारी निर्वाचन समितिले खारेज गरेको छ।

आइसीसी सदस्यमा उम्मेदवारी दिएका घिमिरेको योग्यता उपर प्रश्न गर्दे दाबी विरोध परे पछि निर्वाचन समितिले छानबिन पश्चात घिमिरेको उम्मेदवारी खारेज गरेको हो।

आइसीसी सदस्य सम्बन्धि परेको उम्मेदवारी निर्वाचन नियमावलीको बुँदा ७ को खण्ड ग अन्तर्गत हुनुपर्ने योग्यता नपुगेको वा योग्यता पुष्टि गर्ने कागजात समय सिमा भित्र नआएको ठहर गर्दे घिमिरेको उम्मेदवारी खारेज गरेको निर्वाचन समिति संयोजक बिनोद आचार्य, सदस्य सचिव राजेश कुँवर र सदस्य कमल ज्ञवालीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाएको छ।साथै आइसीसी सदस्यको मामिलामा नयाँ सूचना निर्वाचन समितिबाट आउने जानकारी गराइएको छ।