एनआरएनए पोल्याण्डको पदाधिकारीद्वारा सपथ ग्रहण तथा पदभार ग्रहण

एनआरएनए पोल्याण्डको पदाधिकारीद्वारा सपथ ग्रहण तथा पदभार ग्रहण

शेरबहादुर परियार  |  समाचार  |  साउन १५, २०८०

युरोप ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद पोल्याण्डको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापन सम्पन्न भएको छ।

संघको सातौं महाधिवेशनको निर्वाचनले २०२३-२५ कार्यकालको लागि नयाँ नेतृत्व चयन गरेको हो।निर्वाचन समितिका संयोजक बिनोद आचार्यले नव निर्वाचित समितिलाई पद तथा गोपनीयताको सपथ र प्रमाण पत्र प्रदान गरेका थिए। 

संघको अध्यक्षमा नरेश सापकोटा, वरिष्ठ उपाध्यक्ष अनिल थापा, उपाध्यक्ष कुल बहादुर श्रेष्ठ, महासचिव पवन खड्का, सचिव उदयराज गिरी, कोषाध्यक्ष आनन्द घिमिरे, युवा संयोजक विवशहाङ्ग राई, महिला संयोजक गंगा पौड्याल, सदस्यहरूमा जीवन लुइँटेल, नविन राई, र प्रज्वल रेग्मीसहित सबै निर्विरोध चयन भएका हुन्।यसैगरी भविन्द्र गाहा मगर संयोजक तथा जीजीता खड्गी र विजय नायक सदस्य रहेको ३ सदस्यीय लेखा समिति पनि निर्विरोध चयन भएको हो।

सपथ ग्रहण तथा पदस्थापन कार्यक्रममा निवर्तमान अध्यक्ष जिवन केसीले नव निर्वाचित अध्यक्ष नरेश सापकोटालाई संघको माइन्युट लगायतका सम्पूर्ण कागजातहरु हस्तान्तरण गरे। आफ्नो कार्यकालमा विविध कारणले गर्दा गर्न नसकेका काम नयॉ कार्यसमितिले गरोस् भन्दै शुभकामना दिए। आफू संस्थाको औपचारिक पदमा नरहे पनि सधैं संस्थासंगै रहने उनले बताए।नवनिर्वाचित अध्यक्ष सापकोटाले आफूलाई निर्विरोध निर्वाचित गरेकोमा पोल्याण्डमा रहेका सबै नेपालीहरुलाई धन्यवाद व्यक्त गरे। सापकोटाले पोल्याण्डमा रहेका सबै संघ संस्थासँग सहकार्य गर्दे नेपालीहरुको हकहितमा काम गर्ने प्रतिवद्ध व्यक्त गरे।

एनआरएनए युरोप क्षेत्रीय उप संयोजक तथा एनआरएनए पोल्याण्डको निर्वाचन पर्यवेक्षक डा नवराज रोस्यारा, आइसीसी सदस्य गोपाल राई लगायत पोल्याण्डका विभिन्न संघ संस्थाका प्रतिनिधिले नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिए।निर्वाचन समितिका संयोजक बिनोद आचार्यको अध्यक्षतामा भएको सपथ ग्रहण कार्यक्रमको सञ्चालन सदस्य सचिव राजेश कुँवरले गरेका थिए।

आईसीसी सदस्यमा  भीम बहादुर खड्का निर्विरोध 

एनआरएनए पोल्याण्डका लागि आईसीसी सदस्यमा भीम खड्का निर्विरोध चयन भएका छन्।आइसीसी सदस्यमा एकल उम्मेदवार भएका लक्ष्मण घिमिरेको उम्मेदवारी निर्वाचन समितिले खारेज गरे पछि उक्त पदमा नय प्रकृया सुरु भएको थियो। नयाँ प्रकृयाअनुसार आइसीसी सदस्यमा मित्रलाल पार्दे र भीम बहादुर खड्काको उम्मेदवार परेकोमा पार्देले आफ्नो उम्मेदवारी फिर्ता लिए पछि खड्का निर्विरोध भए।