निजी शिक्षण संस्थालाई भरण पोषण गरी अरबपति बनाउने आफै विवाद झिक्ने पनि 'आफैँ' !

फर्कलान् र ती दिनहरु

निजी शिक्षण संस्थालाई भरण पोषण गरी अरबपति बनाउने आफै विवाद झिक्ने पनि 'आफैँ' !

हरिविनोद अधिकारी  |  शिक्षा  |  श्रावण २०, २०८०

सेमेस्टर प्रणालीको कुरा गर्दा वास्तवमा यो ६ महिने कार्यक्रम हो । तर अहिले सञ्चालित अहिले सेमेस्टर प्रणालीमा  किन ८ या ९ महिना लाग्छ ? यसको कारण हो विना तयारी । न कक्षाको तयारी । न शिक्षकको तयारी । न प्रश्नको तयारी । न उत्तर पुस्तिकाको व्यवस्थापनको तयारी । 

उच्च शिक्षा व्यवस्थापनलाई गाली गर्ने मात्र होइन,  चित्त बुझाउने ठाउँ पनि देखिन्छ । जस्तो कि प्राविधिक विषयहरुमा विभिन्न विषयहरूका परिषदहरू छन् र तिनले क्षमताको परीक्षण गर्छन् । कतिपय नाम चलेका विश्वविद्यालयहरूबाट अध्ययन समाप्त गरेर आएकाहरु ती क्षमता परीक्षणमा असफल हुन्छन् र आफ्नो विषयमा अभ्यास गर्नबाट वञ्चित भएका छन् तर नेपालमा चिकित्सा शिक्षा अध्ययन गरेका, इन्जिनियरिङ पढेका र अन्य प्राविधिक विषयका अध्येताहरूले भने नेपालमा लिइने परिषदको परीक्षणमा सफलता हासिल गरेका छन् ।

अझ एउटा बेला थियो, सूचना र प्रविधिको क्षेत्रमा हामी आफ्ना उत्पादन विश्व बजारमा बेच्ने क्षमता राख्न थालेका थियौँ र दक्षिण एसियामा नै नेपालमा दूर सञ्चारको व्यवस्थापन यति भरपर्दो थियो कि भारतबाट हाम्रो बजारमा करोडौँ रुपैयाँको आम्दानी सुरु भएको थियो । आज पनि नेपालको दूर सञ्चार विश्वका धेरै देशहरुमा भन्दा भरपर्दो र सस्तो छ । तर हाम्रो क्रय शक्तिका कारणले हामीलाई महङ्गो भएको हो । सबै विषयमा यसैगरी सबैले भरपर्दो किसिमले व्यवस्थापन गर्ने हो भने सबै क्षेत्रमा समान स्तरमा विश्वास आर्जन गर्न सकिन्छ र हाम्रो जनशक्ति पढाइका लागि मात्र बाहिरिने सम्भावना कम हुनेछ । 

शिक्षा कस्तो हुनुपर्छ भन्ने विषयमा राष्ट्रव्यापी बहस हुन्छ तर पानीको फोका जस्तै केही समयमा बिलाएर जान्छ । त्यसो हुनुमा सरकारको मात्र होइन, हामी सरोकारवालाहरुको पनि लापरबाही देखिन्छ । मैले शिक्षक साथीहरुलाई विभिन्न समयमा र विषयहरुमा सोध्दा उनीहरु आफूले पढाएको विद्यालयमा आफ्ना सन्तान किन पढाइँदैनन् भन्ने प्रश्नमा चित्तबुझ्दो जबाफ पाइँदैन । 

हुन त यो प्रश्न मानव अधिकार र बाल अधिकारको सन्दर्भमा उपयुक्त होइन तर हामी आफैंले पढाउने विद्यालयमा नै किन नपढाएर अरु त्यो पनि निजी स्तरमा खुलेका विद्यालयहरुमा पढ्न पठाउछौं ? भन्ने प्रश्न उठे कै छ । फेरि अर्को प्रश्न पनि उस्तै जीवित छ , यदि निजी स्तरमा विद्यालयहरु नखुलेका भए हाम्रो सरकारी या सार्वजनिकरुपमा व्यवस्थापन गरेका विद्यालयहरुले विद्यार्थीहरुको भार खप्न सक्दो हो ? सक्दैन । अरुले लगानी गरेर सुरु गरेको विद्यालयहरुलाई भरणपोषण गर्न र करोडपति या अर्बपति बनाउने पनि हामी नै हौँ र त्यसको वारेमा विवाद झिक्ने पनि हामी नै हौँ । 

विद्यालय जसले जसरी खोले पनि, जसले जस्तो व्यवस्थापन गरे पनि त्यसको काम भनेको कलिलो मष्तिष्कलाई परिपक्व बनाउने नै हो । व्यक्तिका लागि आवश्यक ज्ञान र सिप, परिवारका लागि आवश्यक ज्ञान र सिप, समाजका लागि आवश्यक ज्ञान र सिप अनि देशका लागि सँगै विश्वका लागि असल नागरिक बनाउने नै हो । नैतिक वान नागरिक बनाउने हो । नैतिकताका विभिन्न मानकहरू होलान्, आफ्ना आफ्ना परिवेश र सँस्कृतिका मान्यता  होलान्, ती  सबै कुरामा पोख्त भएको , स्वावलम्बी नागरिक बनाउने लक्ष्यका साथ शिक्षाको व्यवस्थापन गर्ने हो । सायद त्यसैलाई भन्छन् शिक्षाको राष्ट्रिय लक्ष्य । व्यक्तिका, परिवारका र समाजका आवश्यकता पूरा गर्नका लागि अपनाइने रणनीतिक योजनाको तयारीका विशिष्ट उद्देश्यहरूको आवश्यकता पर्नेछ । आजको आधुनिक युगमा पनि मानिसहरुका बिचमा रहनु पर्ने सौहार्दपूर्ण सम्बन्धको पुर्न परिभाषित गर्नु जरुरी छ किनभने पहिलेभन्दा मानिस गतिशील भएको छ । 

विभिन्न प्रकारका विश्वविद्यालयहरुको आवश्यकता त छ तर अस्वस्थ प्रतिस्पर्धाको रुपमा होइन, बरु समग्रमा विषय केन्द्रित शिक्षालयको आवश्यकता छ । कुरा धेरै गर्‍यौँ तर आवश्यकता अनुसारको जनशक्तिको जोहो गर्न सकिरहेका छैनौँ , जो बने ती पनि नेपालमा भविष्य छैन भन्दै पलायन हुन थाले । यी सबै कुरामा ध्यान दिन ढिलो भएन र ? त्यसैले समय सापेक्ष रुपमा शैक्षिक नीतिको तर्जुमा आवश्यक परेको हो कि ?  

एउटा जातक कथा जहिले पनि मेरो मनमा आउँछ । एउटा हरिण थियो बुझकी, आफ्नो परिवारमा सबैको समान व्यवस्थापन गर्ने र शिक्षा प्रदान गर्ने । उसकी बहिनीले सावकको जन्म दिएपछि उसले आफ्नो छोरो दाजुको जिम्मामा लगाई र भनी, दाजु मेरो छोरो स्वावलम्बी होस्, आफ्नो व्यवस्थापन आफैँ गर्न सकोस् र हाम्रो कुल दीपक बनोस् । हरिण दाजुले पनि स्वीकार गरी भान्जोलाई सिकाउन थाल्यो । सानो भानिजलाई उसले भनेको थियो, धेरै टाढा टाढा जंगलभित्र नजानू किनभने त्यहाँ व्याधाले पासो थापेका हुन्छन् , बाघहरू पनि हुन्छन् ।

एकदिन साना साना हरिणहरु खेल्दै खेल्दै जंगलको घना क्षेत्रमा पुगे । सायद उनीहरुलाई आफू गएको बाटोसमेत जानकारी नहुने अवस्था थियो क्यारे । अनि नभन्दै भानिज बच्चो व्याधाको पासोमा परेछ । सँगै गएका अरु सानासाना हरिण बच्चाहरुले उसकी आमालाई जानकारी दिएछन्, तिम्रो छोरो त व्याधाको पासोमा परेर तड्पिरहेको छ । हामी त भागेर आयौँ । कसरी बचाउने हो, कोसिस गर । अनि त्यो बहिनी हरिण रुँदै रुँदै दाजुको समीप आई र भन्न थाली - दाजु, यही हो तिम्रो हेरचाह, यही हो तिम्रो शिक्षा ? दाजुले त्यति वास्ता गरेन र चरिरहेको थियो । फेरि बहिनी डाँको छोडेर रुन थाली र भनी -दाजु , लौ न मेरो छोरालाई कसरी बचाउने हो ? उसलाई व्याधाले अब मार्नेछ र उसको मासु खानेछ । अनि त्यही बेलामा सानो हरिण हस्याङफस्याङ गर्दै आइपुगेछ । त्यहाँ सबै खुसी भए तर एउटा कुरामा भने सबै अचम्म परे ,त्यो के भने त्यसरी पासोमा परेको बच्चा कसरी आउन सक्यो ? 

भान्जो हरिणले भन्यो, मामाले मलाई त्यसरी पासोमा पर्दा कसरी बाँच्ने भन्ने सिकाउनु भएको थियो ।  अनि उसकी आमाले  सोधी , त्यसोभए तँ कसरी बाँचिस् त ? बच्चाले भन्यो, जब सिकारी आयो, म मरे जस्तै लमतन्न परेर सुते र एकछिन सास पनि बन्द गरेर भुँडी फुलाएर राखेँ । उसले सम्झ्यो, यो मरेछ अनि दाउरा खोज्न गयो मलाई पोलेर खान र मासु सुकाएर घरमा लैजान । ऊ मलाई खोलेर जलाउने बिचारमा जब दाउरा खोज्न अलि परतिर गयो, मैले थाहा पाएँ ऊ नजिक पनि छैन  र मलाई उसको झटारोले भेट्दा पनि भेट्दैन । अनि म टाप ठोके र हस्याङफस्याङ गर्दै आइपुगेको हुँ । 

यसले के सन्देश दिन्छ भने शिक्षा भनेको आपतकालीन समयमा पनि धैर्यताका साथ आफ्नो जीवन बचाउन र अरुको सहयोग गर्न सक्षम हुनुपर्छ । 

हिजोको अवस्था पक्कै पनि आज छैन तर जीवन झन दुरूह भएको छ, त्यससँग कसरी मुकाबिला गर्ने, सबैको सम्मान कसरी गर्ने ? आफ्ना आवश्यकता पूरा कसरी गर्ने ? आजको खास समस्या के हो र त्यसको समाधानका लागि व्यक्तिको रुपमा, समूहको सदस्यका रुपमा र देशको नागरिकका रुपमा कसरी आफ्नो भूमिका निर्वाह गर्ने भन्ने कुरामा जानकारी गराउनु नै आजको शिक्षाको उद्देश्य हुनुपर्छ भन्ने मलाई लाग्छ । 

शिक्षाका लगानी गर्ने भनेको शिक्षकको तयारी र सिकारु को आवश्यकता पूरा गर्ने नै हो ।  समयको परिवेश जटिल बन्दै गएको छ , समाज तीब्र रुपान्तरणको चरणमा छ र दिनैपिच्छे नयाँ नयाँ आविष्कार हुँदैछन् एकातिर भने नयाँ नयाँ विश्व समस्याहरुको जालो पनि बन्दैछ ।  

शिक्षाको अवस्थालाई हामी नेपालमा अन्यत्र विषयमा अल्मलिएको अवस्थामा छौँ तर खास समाजको परिवेशलाई आवश्यक पर्ने जनशक्तिको निर्माणभन्दा हल्ला बढी गरिरहेका छौँ । 

सार्थक जीवन र भविष्यका बारेमा सोच्ने जनशक्ति कसरी तयार गर्ने भन्नेमा  सबै सरोकारवालाहरुको चिन्तन आवश्यक परेको बेला छ । सबैले कसरी भावी समयलाई सुखद बनाउने भन्नेमा केन्द्रित हुनुपर्ने बेला छ । जीवनको रहस्यलाई सरलताका साथ सम्झाएर कसरी आशाजनक अवस्थामा जीवन बाँच्ने भन्ने बारेमा सोच्ने जनशक्ति आवश्यक छ ।

विभिन्न प्रकारका विश्वविद्यालयहरुको आवश्यकता त छ तर अस्वस्थ प्रतिस्पर्धाको रुपमा होइन, बरु समग्रमा विषय केन्द्रित शिक्षालयको आवश्यकता छ । कुरा धेरै गर्‍यौँ तर आवश्यकता अनुसारको जनशक्तिको जोहो गर्न सकिरहेका छैनौँ , जो बने ती पनि नेपालमा भविष्य छैन भन्दै पलायन हुन थाले । यी सबै कुरामा ध्यान दिन ढिलो भएन र ? त्यसैले समय सापेक्ष रुपमा शैक्षिक नीतिको तर्जुमा आवश्यक परेको हो कि ?  क्रमशः