उपनिषद्को उद्धोधन

उपनिषद्को उद्धोधन

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  जेठ २१, २०७६

उपनिषद् आध्यात्मिक विधानको अगाध भण्डार हो । यसमा प्रतिपादित जुन दर्शन छ, त्यो मानव जीवनको मूल आधार हो । यसमा प्रवृत्ति र निवृत्ति दुवै मार्ग निर्दिष्ट छन् । 

यसमा व्यक्त आध्यात्मिक चिन्तन मानिसका लागि मार्ग द्रष्टा हुन् । उपनिषद्को पहिलो मन्त्रमा ‘ईशावासयमिद् सर्व’ भनेर ईश्वरको सर्वव्यापकतालाई स्पष्ट गरिएको छ । यसलाई कसैले पनि प्रतिकार गर्न सक्दैनन् । 
ईश्वरमय वस्तुमा तेरो र मेरो भन्ने भावना राख्नु भूल हो । तर, समाजमा रहेपछि सांसारिक वस्तुको उपभोग नगरी मानिस बाँच्न पनि सक्दैन । यसबारे उपनिषद्मा श्लोकमार्फत् यसरी व्यक्त गरिएको छ–तेन व्यक्तेन मुञ्जीका । 

मानिसमा ईष्र्या, लोभजस्ता भाव देखिन्छन्  । लोभ पापको मूल कारण हो । उपनिषद्मा ‘मा गृध’ भनेर लोभ नगर्न भनिएको छ । 

धनसम्पत्ति भनेका अनितय वस्तु हुन् । अध्यात्मप्रतिको मोहले नित्यप्रतिको मुक्ति भावलाई हानी पुर्‍याउँछ । उपनिषद्मा ‘कस्य श्वित् धनम्’ भनेर धनको अनित्यतालाई स्पष्ट गरिदिएको छ । 

मानिस निष्क्रिय बनेर रहन सक्दैन । उसले जिउनका लागि पनि केही न केही काम त अवश्य गर्नै पर्छ । उपनिषद्मा ‘कुर्वन्नेवेह कर्मणि जिजीविषेच्छतं समा निः’ भनेर मानिसलाई स्वार्थ भावले सत्कर्म गर्दै सय वर्ष बाँच्ने इच्छा राख्नुपर्छ भनिएको छ । 

मानिसलाई परमात्माले शक्ति दिएको छ, त्यसको सदुपयोग गर्नु उसको कर्तव्य हो । जसले आफ्नो शक्तिको दुरुपयोग गर्छ, त्यस्तालाई उषनिषद्मा ‘आत्महनो जनाः’ भनिएको छ । 

नाम र रूपको निर्वाहक आकाश हो, ती दुवै जसको अन्तर्गत छन्, त्यो ब्रह्म हो । प्रश्न उठ्छ– जहाँ केही छैन, त्यहाँ सर्वशक्ति सम्पन्न ब्रह्म कसरी विद्यमान छन् ? शून्यमा सबैभन्दा ठूलो शक्ति छ भन्ने कुराको पुष्टि अहिले आएर अनेकौं वैज्ञानिकले गर्न थालेका छन् । 

 

उपनिषद्मा श्लोक छ– यस्तु सर्वाणि भूतानि आत्मन्येवानु पश्यति । अर्थात्, जसले सम्पूर्ण प्राणीमा परमात्माको दर्शन गर्छ, त्यसैले कुनै पनि प्राणीलाई हानी पुर्याउँदैन । यसले अहिंसा परमो धर्मः भन्ने बुझाउँछ । 

पञ्चतत्वले बनेको यो मानवशरीर नाशवान् छ । भन्ने कुरालाई ‘भस्मान्त शरीर’ भनेर पुष्टि गरिएको छ । जब मानिसले परमात्मालाई सम्पूर्ण प्राणी तथा वस्तुमा दर्शन गर्छ, त्यसका लागि ‘तत्रको मोहः कः शोकः’ भनेर परमानन्द प्राप्त गर्न सक्छ भनिएको छ । परमानन्द प्राप्त गर्न के गर्नुपर्ला भन्दा यहाँ ‘ॐ स्मर’ भनेर ॐ कार स्वरूप परब्रह्मको स्मरण गर्न भनिएको छ । मानिसले आफू कर्मको फल भोग नगरी सुख पाउँदैन । कर्मको फल भोग गर्दा मार्गमा आइपर्ने अवरोधलाई हटाई सुमार्गद्वारा परमात्मासँग पुर्‍याइदिन यहाँ ‘अग्ने नय सुपथा राये’ भनेर ईश्वरसँग प्रार्थना गरिएको छ । अन्त्यमा परब्रह्मको रूप के हो भन्ने प्रश्नमा ‘ॐ खं ब्रह्म’ अर्थात् परब्रह्म परमेश्वर आकाशजस्तै सर्वव्यापक र अदृश्य छ भनिएको छ । खं भनेको आकाश हो, शून्य हो, त्यो अदृश्य छ परन्तु सर्वशक्ति सम्पन्न छ । 

अर्थात् नाम र रूपको निर्वाहक आकाश हो, ती दुवै जसको अन्तर्गत छन्, त्यो ब्रह्म हो । प्रश्न उठ्छ– जहाँ केही छैन, त्यहाँ सर्वशक्ति सम्पन्न ब्रह्म कसरी विद्यमान छन् ? शून्यमा सबैभन्दा ठूलो शक्ति छ भन्ने कुराको पुष्टि अहिले आएर अनेकौं वैज्ञानिकले गर्न थालेका छन् । 

माइकल टेलबाटले आफ्नो पुस्तक ‘होजो ग्राफिक युनिभर्स’मा लेखेका छन् । शून्य आकाशको प्रत्येक घनसेन्टिमिटरमा पूरा ब्रह्माण्डको कूल ऊर्जाभन्दा पनि अधिक ऊर्जा हुन्छ । ‘एन हार्ट कजेज’का भौतिकशास्त्री अर्थ र जे जोंकले आफ्नो पुस्तक ‘क्याचिङ द लाइट’मा लेखेका छन् । 

कुनै स्थानबाट जब सारा पदार्थ र प्रकाश निकालिन्छ र शून्य बाँकी रहन्छ, त्यहाँ अत्यन्त धेरै ऊर्जा लुकिरहेको हुन्छ । ‘साइमन एण्ड शुस्टरके क्वान्टम थ्योरी’को अध्ययनका क्रममा लेखेका छन् । जसलाई वैज्ञानिकले शून्य सम्झेका थिए, त्यो त अवास्तविक गुणहरूले भरिएको हुँदो रहेछ । ‘फिर जाँफ’ले आफ्नो पुस्तक ‘द टाओ अफ फिजिक्स’मा लेखेका छन् र फेरि शून्य भनेको हुँदैन । शून्यमा जुन छ, त्यही परमशक्ति सम्पन्न परब्रह्म हो । त्यस चैतन्य रूप परमात्माको दर्शनका लागि मानिसले पुरुषार्थ गर्नुपर्छ । यही पुरुषार्थ सिद्धिका लागि मानिसलाई यस उपनिषद्ले उद्धोधन दिइरहेको छ ।