नेपाली अर्केस्ट्रा 'ह्याप्पी भिलेज'का संस्थापक युरोपेली गायक इगोर भन्छन्-'वाह, क्या छ नेपाल' !

नेपाली अर्केस्ट्रा 'ह्याप्पी भिलेज'का संस्थापक युरोपेली गायक इगोर भन्छन्-'वाह, क्या छ नेपाल' !

शेरबहादुर परियार  |  लोकरञ्जन  |  श्रावण ३०, २०८०

 इगोर स्पोल्स्की ! मध्य युरोपको देश पोल्याण्डको परिचित लोक दोरोस्लीका ब्यान्डका चर्चित गायक । इगोर एशियाको लोक संगीत बुझ्ने  युरोपेली गायकका रुपमा समेत परिचरित छन् । उनी र उनको समूह आफ्नो संगीतको कलामार्फत पश्चिम नेपालका ग्रामीण गाउँमा साना नानीहरूका लागि काम गरिरहेको छ । 

हामीले  उनको समूहले आफ्नो संगीतको कलामार्फत पश्चिम नेपालका ग्रामीण गाउँमा साना नानीहरूका लागि काम गरिरहेको सुने पछि उनीसँग भेट्न आतुर थियौँ  । इगोरसँग सम्पर्क गरेर भेट्नको लागि समय माग्यौँ र समय निर्धारण पनि भयो । निर्धारित समयमा पुग्न लगभग ७ घण्टाको मेट्रो रेलको यात्रा पछि पोल्याण्डको राजधानी वार्सा स्थित नेपाली रेस्टुरेन्ट  एभरेष्ट नेपाल  उनीसँग भेटघाटको चाँजोपाँजो मिलाइएको थियो ।

पोल्याण्ड र नेपालको दुवै तर्फको साङ्गीतिक समूहमा रहेकी महिला कलाकार इजा लामिकलाई साथ लिएर इगोर निर्धारित समयमा नै इगोर रेस्टुरेन्टमा छिरेका थिए । हाम्रो कुराकानी सुरु भयो औपचारिक परिचयबाट ।  मैले उनीहरूको इच्छाअनुसार कफी तथा केहि खानेकुराको अर्डर पश्चात हामी कुराकानीका लागि तयार भएका थियौँ । मैले मसँग भए साउण्ड रेकर्डर तयार पार्न साथ  इगोरले आफ्नो कुरालाई  यसरी सम्झिए । 

इगोरको नेपाल यात्रादेखि नेपालै रहने निर्णयसम्म 

यो लामो कथा छ। सन् २०१० मा उनको युरोप बाहिरको पहिलो भ्रमण थियो । उनी इण्डिया जाने उद्देश्यले पोल्याण्डबाट हिडेका थिए । तर संयोगले नेपाल पुगे । नेपाल पुगे पछि उनलाई नेपालबाट अन्यत्र कतै जाने इच्छा लागेन छ । नेपालको कुटुम्ब ब्यान्डका बाँसुरी वादक रुविन कुमार श्रेष्ठमार्फत पोखराको चर्चित ब्यान्ड लक्ष्यको सम्पर्कमा पुगेछन् ।लक्ष्य ब्यान्डले नेपालका पुराना बाजाको संरक्षण तथा संग्रह गर्ने काम गरिरहेको रहेछ । इगोरको ब्यान्डको धिरज गुरुङ सहितको समूहसँग संगीत मार्फत घनिष्ट सम्बन्ध  रहन  पुगेछ । यसै क्रममा उनले धेरै नेपाली लोक संगीत सुन्ने अवसर पाएछन् । नेपाली लोक संगीत सुन्दा उनलाई अफ्रिकन लोक संगीत झैं लागेछ । पोल्याण्डमा पनि आफू लोक संगीतको सर्जक भएको कारणले गर्दा होला उनलाई यो संगीत यस्तो बेजोडले तानेछ कि  नेपाली लोक संगीतसँग  इगोर कहिले छुटिन नसक्ने गरी घुलमिल भएछन् । उनी लोक संगीतलाई धुन, ताल, लय र सद्भावको सम्मिश्रितका रुपमा लिँदा रहेछन् । 

नेपालका ती लोक भाका, गाउँले जीवनको माया र सद्‌भावले नै नेपाललाई दोस्रो घर बनाएको भन्न सम्म भ्याए  इगोर स्पोल्स्कीले । अन्नपूर्ण क्षेत्रमा आफू नजन्मिएको मात्र हो तर त्यहाँको गाउँघरको जीवनको असहज र अप्ठ्यारो जे छ त्यो स्वयंले महसुस गरेको छु उनी भन्छन्। भूक्षय लगायत अनेकौं प्राकृतिक प्रकोपमा परेर कलिला नानीहरूसँग संगै रोएका अनुभवहरू पनि छन् उनीसँग। प्राकृतिक प्रकोपसँग जुध्न त सकिँदैन तर यसबारे मानिसमा जनचेतना जगाउन सकिन्छ भन्ने सोच पलाएछ उनमा  ।त्यो बुझ्न र बुझाउनका लागि म यहीं रहनुपर्छ भन्ने उनले निर्णय गरेछन् । साथै मसँग केहि समय र स्रोत पनि छ यसलाई मैले नेपाली ग्रामीण समुदायका लागि प्रयोग गर्नु पर्छ भन्ने निष्कर्षमा पुगेको  समेत उनले सुनाए । नेपाली लोक संगीत अध्ययनको माध्यमबाट सिङ्गो नेपाल कस्तो छ भनेर बुझ्न सकिन्छ भन्ने मेरो निष्कर्ष रह्यो उनी भन्छन् ।

उनी नेपाल सन् २०१० देखि २०१३ सम्म लगातार गए तर त्यस पछिका २ वर्ष सम्म जान सकेनन्। किनकि उनले नेपालको जस्तै कार्यक्रम थाइल्याण्ड, लाओस, कम्बोडिया तथा फिलिपिन्स पनि सुरु गरे रे ! उनले हाँस्दै भने तर मेरो मुटु चाहिँ सधैं नेपालमा नै हुन्छ है। (हामी दुबै हाँस्यौँ)

पोल्याण्ड र नेपालको सन्तुलनमा कठिन 

जब उनी साङ्गीतिक समूहमार्फत नेपालसँग जोडिने भन्ने निर्णयमा पुगे तर त्यो सजिलो काम भने पक्कै थिएन। पोल्याण्डमा उनको व्यावसायिक ब्याण्ड दोरोस्ली र नेपालको साङ्गीतिक समूहलाई सन्तुलन कसरी गर्ने भनेर उनमा समस्या थियो । एक अर्थमा भन्ने हो भने म मेरो जीवनलाई विभाजित गर्न गइरहेको थिए उनी भन्छन् ।उनले थपे, तर मानसिक रुपले दृढ  मैले ६ महिना पोल्याण्ड र ६ महिना नेपाल रहने योजना बनाए ।यो समय छनौट भित्र उनको तथ्यसहितको कारण थियो । गर्मीको समयमा पोल्याण्डमा आफ्नो ब्याण्डको कार्यक्रम गर्ने र जाडोको समयमा नेपालमा । किनकी जाडो मौसममा अत्यधिक चिसो हुने हुँदा जाडोमा पोल्याण्डमा कन्सर्ट नहुने गर्छ।उनको व्यक्तिगत परिवार नभएकोले गर्दा पनि उनलाई यो सबै गर्न सम्भव भएको ठान्छन् उनी ।

मानिसको जीवनसँगै उसको सामाजिक मान प्रतिष्ठालाई पनि मूल्याङ्कन गरिन्छ तर उनी त्यसलाई मान्न तयार छैनन् ।सायद, समाजले घर, गाडी, गहना, काम,भोग विलास नै जीवनको मुख्य कुरा ठान् ला तर उनका लागी यो कहिले पनि प्रथामिकतामा परेन ।

ह्याप्पी भिलेज अर्केष्ट्राको स्थापना
 
लक्ष्य ब्यान्डसँग ३/४ वर्षको लामो छलफल र सहकार्य पछि ह्याप्पी भिलेज अर्केस्ट्राको स्थापना भएको हो । अहिले सम्झँदा त्यो पागलपन थियो होला भन्ने लाग्छ उनलाई । उनले त्यो समयलाई स्मरण गर्दे भने, म नेपालमा संगीत सम्बन्धि फरक काम गर्दे छु भनेर बिभिन्न देशका संगीत कर्मी साथीहरूलाई नेपाल बोलाए । मैले उनीहरूलाई यो पनि विश्वास दिलाए कि तिमीहरूको सबै जिम्मा म लिनेछु भनेर ।त्यसपछि केहि साथीहरु नेपाल आए र २ हप्ताको अभ्यास पछि पहिलो कन्सर्ट हामीले धौलागिरि र बेनीका बिभिन्न स्थानमा गर्यौं।

म १ सय देशमा जान सम्भव छैन तर ती सय देशका भाषा, धर्म, कला, संगीत, जातीय विविधता एउटै देश नेपालमै पाएको महसुस हुन्छ रे ! उनलाई। उनी भन्छन् 'वाह क्या छ नेपाल' !

नेपाल बिभिन्न भाषा,संस्कार र संस्कृतिको धनी देश हो। समुदायका आफ्नै भाषा तथा संगीत छन् तथापि सबै मानिस मिलेर बसेका छन् यसले म र हामीलाई अति प्रभावित गरेको छ भन्छन् उनी । म १ सय देशमा जान सम्भव छैन तर ती सय देशका भाषा, धर्म, कला, संगीत, जातीय विविधता एउटै देश नेपालमै पाएको महसुस हुन्छ रे उनलाई।उनी भन्छन् -'वाह क्या छ नेपाल !'

यो क्रम सन् २०१९ सम्म निरन्तर रह्यो।तर हाम्रो ह्याप्पी भिलेज अर्केस्ट्राको स्वरूपमा केहि परिवर्तन भयो। किन भने पोल्याण्ड लगायत अन्य देशबाट बोलाएर संगीतकर्मीलाई स्वयंसेवक मात्र गराउन गाह्रो थियो।किन भने उनीहरूको सामान्य आवश्यक्ता पनि हामी पूर्ति गर्न सक्ने अबस्थामा थिएनौं।हामीले नेपालमै अन्य ब्याण्डमा काम गरिरहेका संगीतकर्मीलाई हाम्रो समुहमा जोड्यौं ।त्यसबेलाका साथीहरु जो अहिले हाम्रो समुहमा छैनन् ।तर उनीहरू हामीसँग नजोडिएको भए सायद हाम्रो समुह अगाडि बढ्न सक्दैन थियो होला भन्दै उनले सम्झे  रञ्जन गायक, उमेश थापा, सन्देश गायक, अविनाश गायक, नेशन पुन लगायतको नाम उनले प्रेम पूर्वक लिए। इजाले  समेत  केही नाम सम्झिन्।

उनी नेपालका ग्रामीण गाउँघरका लागि च्यारिटी साङ्गीतिक कार्यक्रममा गरिबको चमेली बोलिदिने कोही छैन, आमैले भन्छिन् धाराको पानी, रेशम फिरि रि लगायत कालजायी लोक भाकाका गीतहरू गाउँछन् ।यसले गाउँलेमा खुसी देख्छु त्यो देख्दा मलाई आनन्द लाग्छ मानौं म नै संसारकै खुसी मान्छे हो, इगोर भावुक हुँदै भन्छन्।यो मैले अरुका लागि गरेको भनिए पनि यो सबै वास्तवमा मेरो लागि नै गरेको हो भन्छन् उनी किनकी यसबाट म अथाह खुसी हुन्छु। लोक संगीत, प्रकृति तथा पर्यावरणसँग उनको बडो लगाव छ, उनी भन्छन् त्यो बिना जीवनको कल्पना पनि गर्न सक्दैनन् रे उनी।उनको पहिलो प्राथमिकता संगीत बनाउने नै हो।

गाउँघर, मेलापातमा वा चाडपर्वमा गाइने प्रत्यक्ष लोक दोहोरी इगोरलाई ज्यादै मनपर्छ ।यसरी गाइने प्रत्यक्ष लोक दोहोरीमा तत्काल गीत रचना गरेर गाउन सक्ने अद्भुत क्षमता सायद नेपालीमा मात्र होला, उनले एक श्वासमा भने।संगीतको कुनै भाषा हुँदैन झन् नेपालीको बोली नै संगीत जस्तो लाग्छ रे उनलाई । नेपाल बिभिन्न भाषा,संस्कार र संस्कृतिको धनी देश हो। समुदायका आफ्नै भाषा तथा संगीत छन् तथापि सबै मानिस मिलेर बसेका छन् यसले म र हामीलाई अति प्रभावित गरेको छ भन्छन् उनी । म १ सय देशमा जान सम्भव छैन तर ती सय देशका भाषा, धर्म, कला, संगीत, जातीय विविधता एउटै देश नेपालमै पाएको महसुस हुन्छ रे ! उनलाई।उनी भन्छन् -'वाह क्या छ नेपाल !'

जब संसारलाई उथलपुथल गराउने गरी कोभिड १९ आयो त्यस पछि हामी एउटा कोठामा सीमित भयौं।जब कोभिड पछि समय सामान्य अबस्थामा आयो हामी नेपाल गयौं।अहिले पोल्याण्डबाट म, इजा, डोमिनेक, हेला पोखरा बटुले चौरका गन्धर्व समुदाय सारङ्गी वादक, कन्दरा ब्यान्डमा काम गरेका मादल बादक, लक्ष्य ब्यान्डसहितको समुह ह्याप्पी भिलेज अर्केस्ट्रामा छौं।उनले हाल समुहमा रहेका सदस्यको नाम भटाभट भने विवेक गायक, सुदिप गायक, फिलिप तामाङ,मिलन गुरुङ, प्रज्वल शाक्य र कार्यक्रमको संयोजन धीरेन गुरुङ तथा निर्णीत तण्डुकारले गर्छन् उनले भने।

संगीतको पुल बन्ने कोसिस 

नेपालमा गरिएका कार्यक्रमहरु हामी सामाजिक सञ्जाल तथा युट्युब मार्फत संसारलाई देखाइरहेका छौं। यसको आधारमा म भन्न सक्छु, संगीतको माध्यमबाट हामी नेपाललाई संसारसँग जोडिरहेका छौं।

इगोर आफूहरुले संगीतको पुल बन्ने कोसिस गरिरहेको बताउँछन्। नेपाल बाहिरका संगीतकर्मी जो नेपालमै छन् तिनीहरूलाई पनि ह्याप्पी भिलेज मा जोड्छन्। गत वर्ष इजरायलका ड्रमर र इरानका भायोलिन वादक समुहमा आबद्ध भएका थिए।आगामी कार्यक्रममा पोल्याण्डको संगीत विश्वविद्यालयका भायोलिनको विद्यार्थी सुका उनीहरू संगै नेपाल जाँदै छिन्। नेपालमा गरिएका कार्यक्रमहरु हामी सामाजिक सञ्जाल तथा ट्युब मार्फत संसारलाई देखाइरहेका छौं। यसको आधारमा म भन्न सक्छु, संगीतको माध्यमबाट हामी नेपाललाई संसारसँग जोडिरहेका छौं।यसले नेपाल र नेपालीको बारे संसारले थाहा पाउने छ जसले नेपालको पर्यटन प्रवर्द्धन पनि हुन सक्छ भन्ने उनको बुझाइ छ। यसमा स्थानीय सरकार तथा पर्यटन विकासमा काम गर्ने संघसंस्थासँग मिलेर काम गर्न चाहन्छन् उनी।पोल्याण्डमा पनि नेपाली गीत संगीत सुनाउन चाहन्छन् उनी त्यसको लागि  सारङ्गी र मादल बजाउने नेपाली खोज्दै छन् उनी ।

 ह्याप्पी भिलेज अर्केस्ट्रा नामको संयोग 

ह्याप्पी भिलेज अर्केस्ट्रा नाम कसरी रह्यो ? भन्ने प्रश्नमा इगोर र इजाको संयुक्त जवाफ आयो।यसको गज्जबको संयोग रहेछ।पहिले हाम्रो साङ्गीतिक समुहको नाम नै थिएन।त्यो समयमा हामी पोखराको लेकसाइड  सानो गाउँ कपौडीमा थियौं । हामी इजरायली ड्रमरसहितको समुह संगीत अभ्यासमा जुटेका थियौं।त्यही क्रममा हिँड्दा एकदिन एउटा गाउँमा वेलकम इन ह्याप्पी भिलेज लेखेको एउटा साइनबोर्ड देख्यौं। यो ह्याप्पी भिलेज भनेको के हो भनेर हामीले गाउँलेलाई सोध्यौँ ।ह्याप्पी भिलेज भनेको त्यो गाउँको नाम रहेछ ।हामी अत्यन्त खुसी भयौं किन भने हाम्रो साङ्गीतिक समुहको मुख्य उद्देश्य वा काम नै गाउँघरका मानिसलाई खुसी बनाउनु थियो। हामीले त सिङ्गै गाउँको नाम नै ह्याप्पी भिलेज भेट्यौं अनि हाम्रो साङ्गीतिक समुहको नाम 'ह्याप्पी भिलेज अर्केस्ट्रा' रह्यो।

गितार बजाउँदा औँला रक्ताम्य

नेपालका ग्रामीण क्षेत्रमा हामी सांस्कृतिक कार्यक्रममार्फत स्कुल टु स्कुल परियोजना गर्छौं।हामीसँग व्यवसायीक साउण्ड सिस्टम थिएन र अहिले पनि खासमा छैन ।तर एक पटक ३ सय बढि विद्यार्थी भएको एउटा सायद प्लस टु मा कार्यक्रम गर्न गयौं।दर्शक संख्या बढी भएको कारणले गर्दा ठूलो आवाज आउने गरी गितार, मादल लगायत वाद्यवादन बजाउनु पर्दा हातका औँलाहरू रक्ताम्य  भएको तीतो अनुभव पनि उनले बताउँदा मन अमिलो भएर आयो।यो सुनिरहेका अध्यापक सरोज अर्याल र मित्र विवेक पौड्याललाई पनि नमज्जा लागेको मैले  सजिलै अनुमान मैले लगाए।

ह्याप्पी भिलेजले अहिले बोर्डिङ स्कुल, प्लस टु तथा कलेजहरू जहाँ मध्यम तथा उच्च आर्थिक अबस्थाका विद्यार्थी अध्ययन गर्छन् त्यहाँ पनि साङ्गीतिक कार्यक्रम गर्छ। त्यहाँका विद्यार्थीले इच्छाले केहि रकम तथा शैक्षिक सामग्री दिने गर्छन् जुन यो समुहले दुर्गम क्षेत्रका विद्यार्थीलाई प्रदान गर्छ ।त्यसका लागि उनी नेपाल तथा विदेशमा रहेका संघसंस्थासँग सहकार्य गर्न चाहन्छन् ।यस्तो भएमा ग्रामीण क्षेत्रका नानीहरूका लागि ठूलो मात्रामा शिक्षामा काम गर्न सकिन्छ भन्ने लाग्छ उनलाई । अहिले सम्म कसैसँग तिम्रो सहकार्य भएको छ ? मैले तत्काल प्रश्न गरें।अब यो तिम्रो लेखले अवश्य त्यो ढोका खोल्नेछ, उनले आफ्नो खैरो दारी मुसार्दै उनले  भने ! । मिस्टर इगोर ! मेरो तर्फबाट त्यस्तो सहकार्यका लागि भूमिका रहने प्रतिबद्धता जनाउन नपाउँदै  उनले हतारोमा भने  धन्यवाद !  

लगभग  ४० मिनेटको कुरा पछि हामी फेरि भेट्ने बाचासहित  छुटियौं। हामीले खाएको मम तथा कफीको बिल तिर्न म रेष्टुरेन्टको काउण्टरमा गए। इगोर र इजा मेरो पछि पछि युरोपको चलन अनुसार आफूले खाएको खानेकुराको बिल तिर्न आए। तिमीहरू मेरो पाहुना हौ मैले रकम तिरिसके मैले भने। इगोरले अङ्कमाल गर्दे हाँस्दै भन्यो, त्यही भएर मलाई नेपाल र नेपाली मनपर्छ.....। 

अब नेपालका सबै क्षेत्रमा साङ्गीतिक कार्यक्रम

धिरज गुरुङ ह्याप्पी भिलेज  अर्केस्ट्राका ब्याण्ड मेनेजर  हुन् । उनी पोखराको चर्चित ब्याण्ड लक्ष्य लगायतको ब्याण्ड मेनेजर हुन्।उनलाई गण्डकी क्षेत्रमा विभिन्न ब्याण्डको साङ्गीतिक कार्यक्रमको आयोजना गर्न अब्बल मानिन्छन्।सुरुवात बाट नै उनी ह्याप्पी भिलेजसँग निरन्तर जोडिएका छन् । ह्याप्पी भिलेज अर्केस्ट्राको सुरुवात पोखराको लेकसाइडमा भएको हो। इगोर स्पोल्स्की जो पोल्याण्डका चर्चित लोक संगीत सर्जक हुन् यसको जन्म दाता उनी हुन् ।

संसारका विभिन्न भागहरूबाट नेपाल आएका संगीतकर्मीको खुला समुह नै ह्याप्पी भिलेज अर्केस्ट्रा हो, मेनेजर गुरुङले भने।स्कुल टु स्कुल परियोजना नै हाम्रो प्रमुख कार्यक्रम हो।नेपालका विकट गाउँ जहाँ आर्थिक अभावको कारणले संगीत सुन्न पाउँदैनन् उनीहरूलाई संगीत सुनाएर खुसी बनाउँदै मानव, प्रकृति र पर्यावरणको संरक्षणमा जनचेतना जगाउन नै नै यसको मुख्य उद्देश्य भएको मेनेजर गुरुङले बताए। त्यो मान्छे बडो बेजोड अचम्मको मान्छे हो, हामी स्थानीयलाई भन्दा उसलाई यो गण्डक क्षेत्र, यहाँका ठाउँहरू, मान्छे, संस्कृति, परम्परागत बाजाहरूको बारेमा थाहा इगोरलाई चिनाउँदै उनले भने।

यस अघि विशेष गरी ह्याप्पी भिलेजले नेपालको पश्चिम क्षेत्रमा मात्र कार्यक्रम गर्ने गरेकोमा आगामी नोभेम्बर १७ तारिखबाट नेपाल टुर्सको कार्यक्रम रहेको छ।

ह्याप्पी भिलेज अर्केस्ट्राको सबै कार्यक्रमहरु इगोरकै योजनामा हुन्छ।नेपाल भन्दा अन्य देश र धेरै भाषाबाट आएका संगीतकर्मीले नेपाली भाषाको गीत गाउने पहिलो साङ्गीतिक समुह नै यही भएको उनी बताउँछन्।सायद दक्षिण एसियाकै पहिलो नै पो हो की उनी हाँस्दै भन्छन्।

यस अघि विशेष गरी ह्याप्पी भिलेजले नेपालको पश्चिम क्षेत्रमा मात्र कार्यक्रम गर्ने गरेकोमा आगामी नोभेम्बर १७ तारिखबाट नेपाल टुर्सको कार्यक्रम रहेको छ।तसर्थ हाम्रो यो नेपाल टुर्सको साङ्गीतिक यात्रामा सबै नेपालीहरुलाई जोडिन गुरुङ अनुरोध गर्छन्।

नेपाल र पश्चिमी मुलुकलाई जोड्न कडी 

पोल्याण्ड कुनै बाह्य प्रभाव बिना स्वतन्त्र रुपमा नेपालसँग यति धेरै लगाव हुनु र नेपालको ग्रामीण परिवेशमा खुसी बाँड्ने जमर्को गर्नु आफैंमा सह्रानीय  काम भएकाे बताउँछन  वारसा विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध (पिएचडी शोधकर्ता) तथा अध्यापक सरोज अर्याल । 

नेपालको ग्रामीण विकास तथा पर्यटन सम्वर्द्धन गर्ने निकायले ह्याप्पी भिलेज अर्केस्ट्रा जस्ता साङ्गीतिक समूहहरूसँग सहकार्य गर्न जरुरी छ। यस्ता समूहसँगको सहकार्यमा नेपालको पर्यटक प्रवर्द्धन तथा ग्रामीण अभिमुखीकरणमा कामहरु अघि बढ्न सक्छन्।साथै यो साङ्गीतिक समूहको मुख्य नेतृत्व इगोर स्पोल्स्की एसियाको लोक संगीत बारे जानकार भनेर युरोपमा परिचित छन्। तसर्थ यसले नेपाल र पश्चिमी मुलुक बीचको सम्बन्धको पुलको काम गर्ने हुँदा यिनीहरुले गरिरहेको कामलाई केवल शोखको रुपमा नबुझि यसमार्फत के कति  फाइदा लिन सकिन्छ भनेर नेपाली र नपालले नै सोच्न जरुरी भएकाे देख्छन् । 
 
सहकार्यका लागि तयार  रहेकाे  एनआरएनए पोल्याण्डका  अध्यक्ष नरेश सापकोटा भन्छन् -ह्याप्पी भिलेज अर्केस्ट्राले नेपालका ग्रामीण क्षेत्रमा शिक्षा र खुसी परियोजनाको कार्यक्रम गरिरहेको कुरा औपचारिक रुपमा आएको छ। पोल्याण्डकै कलाकारको नेतृत्वमा नेपालमा यस्तो परोपकारको काम भइ रहेकोमा एनआरएनए पोल्याण्ड आभार ब्यक्त गर्दछ। एनआरएनए पोल्याण्डको पनि सबैका लागि शिक्षा भन्ने वार्षिक परियोजना सञ्चालनमा छ।हामी उक्त संस्थासँग सहकार्य गर्न तयार छौं ।सहकार्यको मोडेल कस्तो हुने विषय संस्थागत निर्णयबाट अगाडि बढ्छौँ ।