इसाई धर्मको प्रचारमा अग्रणी देश नर्वेमा: हरे राम, राम हरे हरे ! हरे कृष्ण, कृष्ण हरे हरे !!

फर्कलान् र ती दिनहरु

इसाई धर्मको प्रचारमा अग्रणी देश नर्वेमा: हरे राम, राम हरे हरे  ! हरे कृष्ण, कृष्ण हरे हरे !!

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  भदौ २, २०८०

आस्था , अनास्था, विश्वास र  अविश्वास । धर्म , संस्कृति र रहन सहन । भौतिकता र आध्यात्मिकता । पुरातन पन्थ, अत्याधुनिकता र प्रायोगिकता । तिनको सम्बन्ध व्यक्तिको सम्पन्नता र विपन्नताका कारणले फरक पार्छ कि पार्दैन ? राज्यको सम्पन्नताले व्यक्तिको सम्पन्नतालाई हस्तक्षेप गर्छ कि गर्दैन?  या राज्यको सम्पन्नताले नै व्यक्तिको सम्पन्नताको मापन हुन्छ ? या व्यक्तिको सम्पन्नताले राज्यको अवस्थालाई इंगित गर्छ ? अहिले उठ्ने यी मनका जिज्ञासाहरूको उत्तर त्यति सजिलो म त देख्दिन । 

आस्थाको कुरा गर्दा हाम्रा पुर्खाले भनेका छन्-मन्त्र, तीर्थ,द्विज, देवता, ज्योतिषी, चिकित्सक, गुरु, यिनीहरु प्रति विश्वास गरेमात्र यिनको उपादेयता पूर्ण हुन्छ । यदि विश्वास छैन भने मन्त्रले पनि काम गरेजस्तो लाग्दैन, जुन तीर्थमा गए पनि त्यहाँको मन्दिरमा रहेका देवताको आशीर्वाद लाग्छ भन्ने कुरामा विश्वास छैन भने त्यो ढोँग जस्तै लाग्छ, श्राद्ध या पूजा आजामा यजमानका आउने ब्राह्मण प्रति विश्वास रहेन भने देवकार्य, पितृकार्य महत्वको हुँदैन, देवताबाट आशीर्वाद पाइन्छ भनेर ध्यान गर्ने हो, प्रार्थना गर्ने हो तर देवताप्रति नै विश्वास छैन भने त्यहाँ मागेको वरले काम गर्दैन किनभने वर माग्नु पनि ढोँग हुनेछ , भविष्य र ग्रहको बारेमा ज्योतिषीसँग सोध्ने हो तर ज्योतिषको विद्याप्रति नै  अनास्था छ भने भनिने कुराहरुको विश्वास हुँदैन, डाक्टर वा कविराजका बारेमा पनि त्यस्तै हो अनि सिकाउने गुरुप्रति नै  अनास्था छ भने गुरुले दिएको शिक्षाले बेलामा काम गर्दैन । 

यसबारेमा महाभारतमा एउटा कथा छ कर्णका बारेमा । जब कर्ण ब्रह्मास्त्रका सिद्धान्त, प्रयोग र त्यसको फिर्ता गर्ने शिक्षाका बारेमा सिक्न भगवान परशुरामका समीपमा महेन्द्र पर्वतमा गए , त्यहाँ एउटै प्रश्न सोधिन्थ्यो, तिमी ब्राह्मण कुलका हौ कि होइनौ ? कर्णले ब्रह्मास्त्र सिकेर दुर्योधनका पक्षमा भोलि हुने युद्धमा जित्नका लागि जसरी पनि सिक्नु थियो , उसले भनेछन्, म भृगु ऋषिको सन्तान ब्राह्मण हुँ ।

ब्रह्मास्त्रको विद्या सिकाए पछि साँझमा एकदिन परशुराम उसको काखमा सुतेर आराम गरेको बेलामा कर्णलाई खजुराले टोक्यो, कर्णले बरु सहे तर गुरुको आरामको समयमा बाधा दिन चाहेनन् । तर उसको ढाडमा चिसो चिसो आयो उनी उठेर भन्न थाले , पानी परेको रहेछ कि ? तर परशुरामले देखे रगतले पो चिसो भएको रहेछ । खजुराले टोकेको थियो कर्णलाई तर उनले गुरुको निद्रा भंग हुने डरले नउठाएका रहेछन् र त्यो खजुराले त्यसरी टोक्दा पनि उनले सहेर बसेका रहेछन् । जब परशुरामले त्यस्तो देखे , खजुरा अघाएर हिँडेको पनि देखे र कर्णलाई सोधे , तँ पक्कै नै ब्राह्मण होइनस् , क्षत्री हुनुपर्छ किनभने ब्राह्मण मा यसरी सहने धैर्यता हुँदैन , लु भन् तँ को होस् ? कर्णले आफ्नो सबै कुरा भनेर माफी माग्दै हात जोडेर बसी रहे । अनि परशुराम रिसाएर श्राप दिए, तैँले गुरुको अपमान गरिस् किनभने म ब्राह्मणलाई मात्र सिकाउँछु भनेर तैँले ढाँटिस् कि म ब्राह्मण नै हुँ । त्यसैले तैँले झुठ बोलेकोले मैले सिकाएको विद्याले तँलाई अन्त्यमा काम नगरोस् र तैँले मैले सिकाएको विद्या बिर्सनेछस् चाहिने बेला । नभन्दै त्यस्तै भयो अन्त्यमा कर्णले ब्रह्मास्त्र चलाउने कुरामा भ्रम भयो र अर्जुनको वाणका कारणले उनी मरे । उनलाई पृथ्वीले पनि अन्त्यमा साथ दिइनन् र रथलाई आफूमा धसाइन् । 

पालैपालो डाउन टाउनमा यसरी नै हरेराम हरेराम राम राम हरे हरे  ! कृष्ण हरे कृष्ण कृष्ण कृष्ण कृष्ण हरे हरे !! मन्त्र जप्दै बसेका हुन्छन् । पानी परोस् या घाम लागोस् तर श्रीकृष्णका नाममा भजन भन्ने र पुस्तक विक्री गर्ने काम गर्छन् ।कति त नाङ्गै चरणमा हुन्छन् या खडाउ लाएका हुन्छन् । पुरुषहरुले जनै लाएका , धोती लाएका, मादल बजाउँदै , हार्मोनियम बजाउँदै , खैँजडी बजाउँदै बाटा बाटामा नाचेर हिँडेका हुन्छन् तुलसीका माला लगाएर र गौखुर बराबरको टुप्पी पालेर !  

मैले नेपालमा धर्म निरपेक्षताको अभ्यास भएको देखेको छु । हाम्रो देशमा अहिले न पहिले, आपसमा धार्मिक विवाद गरेको देखिएको छैन । संसारमा इसाई धर्मको प्रचारका लागि अग्रणी मानिने देश नर्वेमा अहिले धर्म निरपेक्षताको अभ्यास भएको देखिन्छ । त्यतिमात्र होइन, नर्वेको राजधानी ओस्लोको मुटु ,जहाँ संसद भवन छ, जहाँ नोबेल पुरस्कारको अत्यन्त महत्वपूर्ण शान्ति पुरस्कार दिइने भवन नजिकै हिन्दु धर्मको अभ्यास गरिएको पाइन्छ । हरेराम हरे कृष्ण भजन गाउँदै कृष्ण चरणामृत जस्ता पुस्तकहरु विक्री गरेको पाइन्छ अंग्रेजीमा, नर्वेली भाषामा र अन्य युरोपेली भाषामा !    

यसलाई मैले आस्थाको रुपमा लिएको छु । नर्वेकी विद्यालय शिक्षिका हुन् सनातनी । उनमा के त्यस्तो आकर्षण आयो हिन्दू धर्ममा कि उनी प्रत्येक आइतवार ओस्लोमा रहेका विभिन्न देशका हिन्दूहरू जो कृष्णप्रति, हिन्दू धर्मप्रति आस्थावान् छन् तिनलाई जम्मा गरेर भजन भन्ने, गीताका बारेमा छलफल गर्ने र सबैलाई प्रसाद ग्रहण गर्नका लागि अनुरोध गर्ने गर्छिन् ।

अनि फुर्सदका बेलामा पालैपालो डाउन टाउनमा यसरी नै हरेराम हरेराम राम राम हरे हरे  ! कृष्ण हरे कृष्ण कृष्ण कृष्ण कृष्ण हरे हरे !! मन्त्र जप्दै बसेका हुन्छन् । पानी परोस् या घाम लागोस् तर श्रीकृष्णका नाममा भजन भन्ने र पुस्तक विक्री गर्ने काम गर्छन् ।कति त नाङ्गै चरणमा हुन्छन् या खडाउ लाएका हुन्छन् । पुरुषहरुले जनै लाएका , धोती लाएका, मादल बजाउँदै , हार्मोनियम बजाउँदै , खैँजडी बजाउँदै बाटा बाटामा नाचेर हिँडेका हुन्छन् तुलसीका माला लगाएर र गौखुर बराबरको टुप्पी पालेर !  अनि महिलाहरु सारीमा या कुर्था सुरुवालमा हुन्छन् ।

उनीहरुको नाम संस्कृतको, अझ भागवतमा भएका नामहरु राखिएका हुन्छन् । नर्वे सरकारले २०१४ पछि सबै धर्मका अनुयायी हरुलाई धार्मिक कार्यका लागि प्रतिव्यक्ति रकम दिएको हुने रहेछ । त्यसको मतलब रहेछ रकमका कारणले कुनै पनि धर्मको काम नरोकियोस् । स्मरणीय छ ,संसारमा धेरै धनी देशहरु मध्येको नर्वेमा क्रिस्चियनहरुको अत्यधिक बाहुल्यता छ, राजपरिवारको आफ्नै चर्च छ तर अहिले धर्म निरपेक्षताको अभ्यास गरिँदै रहेछ ।

अचेल त्यहाँ आयुर्वेद अन्तर्गतको योगको पनि प्रचार रहेछ । 


 अरु नर्वेका केही महत्वपूर्ण पक्षका बारेमा अर्को पटक ।  क्रमशः