प्रिय ! तानाशाह महेन्द्र

प्रिय ! तानाशाह महेन्द्र

ऋतु आशिक  |  साहित्य  |  भदौ १६, २०८०

प्रिय ! तानाशाह महेन्द्र 
प्रिय देशभक्त महेन्द्र । 
मैले तिम्रो विरुद्ध कलम चलाएको पश्चाताप भोग्दैछु । 
तिमी बिना यो देश यसबेला, 
साम्राज्यवादी, विस्तार वादी धुन्धुकारि छिमेकीको 
रण क्षेत्र मैदान भएको छ । 
अमेरिका यसबेला एम.सी.सी. को बहानामा
युरेनियमको डकैतीमा
मेरो सरकारका देशद्रोही को आडमा
खुल्लम खुल्ला डकैती गरिरहेको छ । 

मेरो देशका देशद्रोही चण्डालहरु 
कहिले शेरबहादुरको भेषमा, 
कहिले ओलीको भेषमा, 
कहिले प्रचण्डको भेषमा
जो जो जे जे भए पनि,  
कहिले काँग्रेसको बर्को ओढेर 
कहिले एमालेका राम नामी च्यादर ओढेर 
विभीषणको बर्को ओढेर प्रचण्ड हाजिर भएको छ । 
हो ! यसबेला विभीषणको बर्को ओढेर प्रचण्ड हाजिर भएको छ । 
प्रचण्ड यसबेला 
दक्षिणी छिमेकीको आशीर्वादमा 
संसारमा कतै नभएको शासन प्रणाली 
यता लाद्दै छन् । 
प्रत्येक जिल्ला–जिल्लामा दुई किलोमिटरको लाइनमा
भारतीय हरुलाई नेपालीमा परिवर्तित गरिरहेका छन् । 
उनीहरु मेरो देशलाई सिक्किममा रुपान्तरण गरिरहेका छन् । 
हो ! उनीहरु मेरो देशलाई सिक्किममा रुपान्तरण गरिरहेका छन् । 
डलर र भारुको चास्नीमा 
एमाले र काँग्रेस त्यतै लुट पुटिएका छन् । 
उनीहरुलाई मेरो देश गन्हाउन थालेको छ । 
पार्टीका नेताहरु 
यसबेला दासमा रुपान्तरण भएका छन् । 
सबै पार्टीहरुलाई देश पटक्कै दुख्दैन । 
मैले सुनेको छु –
दासहरूको देश हुँदैन । 
दासहरूको चेतना हुँदैन । 
मालिकको तावेदारीमा रमाउँदै हुर्किएका हुन्छन् । 
उनीहरुलाई देश पटक्कै दुख्दैन । 

प्रिय तानाशाह महेन्द्र !
म माक्र्सवादी भएर नै 
तिम्रो विरुद्ध कलम चोवेको थिएँ । 
हो ! म अझै माक्र्सवाद माथि विश्वास गर्छु । 
माक्र्सवाद अजेय किल्ला हो 
माक्र्सवाद एउटा अजय अस्त्र हो । 
सत्ताको चकाचौधमा पसेर 
माक्र्सवाद कै विरुद्ध खनिन्छन् धन्धुकारीहरु 
यो युद्ध हो 
युद्धमा घृणित नीतिले तलमाथि गरिरहन्छ 
हामी उज्यालोको पक्षधर हौं 
हामी आशान्वित हौ 
सूर्य त उदाउँछ, उदाउँछ 
चिरेर सबै अन्धकारलाई 
यो अघि बढ्छ । 
हो ! यो अघि बढ्छ । 
म अटलताको साथ भन्छु 
मार्क्सवादको प्रारुप नै सूर्य हो । 
हो ! मार्क्सवादको प्रारुप नै सूर्य हो । 

प्रिय तानाशाह महेन्द्र 
पूर्व पश्चिम राजमार्ग निर्माणमा लागि परेका थियौ 
देशलाई सबैतिरबाट जोड्दै थियौ । 
तत्कालीन परिवेशमा 
सयकडौं कलकारखानाहरू 
देशका सबै भूभागमा 
युद्धस्तरमा स्थापित गराउँदै थियौ । 
तिम्रो त्यो देशभक्तिलाई नबुझेर 
त्यसबेलाका हामी जस्ता ढेट्ना माक्र्सवादीहरु 
तिम्रो विरोधमा उत्रिएर 
जुलुस निकालेका थियौ
आमसभामा तिम्रो सत्तो सराप गरेका थियौ । 

तिम्रो देशभक्ति !
नेपाली काँग्रेस
नेकपा एमालेमा पटक्कै होइन
माओवादी त तानाशाही भारतीय सरकारको 
अवैध गर्भ थियो 
महाकाली सन्धिमा ओलीका चुरी फुरी बढेको थियो । 
उसको धुर्त्याइँ महाकाली पास भयो । 
घात माथि घात हुँदै 
मेरो देश उठ्न नसकिने गरेर लडाइएको छ । 
सयकडौँ कलकारखाना 
उजाड–उजाड भएका छन् । 
लाखौँका तादातमा नेपालीहरु पलायन भएर 
तातो घामको सेकाइ जीवनवृत्त भएका छन् । 
लाखौँ भारतीयहरु 
नेपालीमा परिणत गराइँदैछ । 
ओली, प्रचण्ड, शेरबहादुर 
देश नेपाल विहीन बनाउने 
देशद्रोही खेलमा लागि परेका छन् । 

काम र मामको लागि 
विदेशीएकाहरु हो ! फर्क । 
तिमीहरु नफर्किएसम्म देश फर्किँदैन । 
देश सिक्किमीकरण हुँदैछ । 
देश बचाउन फर्क 
तिम्रो आगमन सँगै 
देशले आँधी बेहरीसँग जुझ्नु पर्नेछ । 
तिमी नफर्किएर सम्म 
देशले मुक्ति पाउने छैन । 
तिमी फर्किए देशले मुक्ति लेला 
सिक्किममा पुनरावृत्त हुनु अघि देश फर्क 
हो ! सिक्किममा पुनरावृत्ति हुनु अघि नै देश फर्क । 

इटहरी, तरहरा, आँपगाछी 
२०८० भाद्र ८ शुक्रबार