नेपाली राजदूतावास जर्मनीले पोल्याण्डमा ३ दिने घुम्ती सेवा गर्ने

नेपाली राजदूतावास जर्मनीले पोल्याण्डमा ३ दिने घुम्ती सेवा गर्ने

शेरबहादुर परियार  |  समाचार  |  भदौ २५, २०८०

 यूरोप/पोल्याण्ड कार्यक्षेत्र समेत रहेको नेपाली राजदूतावास जर्मनीले पोल्याण्डको राजधानी वार्सामा त्यहाँ बसोबास रत नेपालीका लागि ३ दिने कन्सुलर घुम्ती सेवा शिविर सञ्चालन गर्ने भएको छ।

६ देखि ८ अक्टोबर बिहान ९ बजे देखि साँझ ५ बजे सम्म घुम्ती शिविरमार्फत कन्सुलर सेवा दिने नेपाली दूतावास जर्मनीले सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ।

म्याद समाप्त भएका राहदानी नविकरण तथा नयाँ विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्नका लागि घुम्ती सेवा संचालन हुन लागेको हो। घुम्ती शिविरका लागि प्रेम भण्डारीलाई दूतावासको तर्फबाट जिम्मेवारी दिइएको नेपाली दूतावास जर्मनीले जानकारी दिएको छ।

शिविरमार्फत कन्सुलर सेवा प्राप्त गर्नका लागि अनलाइन आवेदन भरी आफ्नो समय लिनु पर्ने छ। र त्यसका लागि वार्सा घुम्ती शिविरको प्रयोजनका लागि मात्र सेप्टेम्बर १०, १७  र २४ मा समय लिन पाउने दूतावासको तर्फबाट  व्यवस्था गरिएको छ।भरिएका आवेदन ३० सेप्टेम्बर सम्म प्रमाणीकरणका लागि दूतावासमा अनिवार्य पठाउनु पर्ने एनआरएनए पोल्याण्डका अध्यक्ष नरेश सापकोटाले बताए। पासपोर्टका लागि अनलाइन फारम भर्न तथा बायो मेट्रिकको समय लिन वा अन्य कुनै समस्या भए एनआरएनए पोल्याण्डमा सम्पर्क गर्न सापकोटाले अनुरोध गरेका छन्।

जर्मनी स्थित नेपाली राजदूतावासको जर्मनी लगायत पोल्याण्ड, चेक गणतन्त्र, स्लोभाक गणतन्त्र, हङ्गेरी, रोमानिया, बुल्गेरिया, युक्रेन र भ्याटिकन सिटि (होलीसी)समेत देशहरूमा सेवा तथा कुटनीतिक क्षेत्र पर्छ।