एनआरएनए  केन्द्रीय उपाध्यक्षमा रामशरण सिंमखडाद्वारा 'मेरो उम्मेदवारी किन ?' सार्वजनिक

एनआरएनए  केन्द्रीय उपाध्यक्षमा रामशरण सिंमखडाद्वारा 'मेरो उम्मेदवारी किन ?' सार्वजनिक

शेरबहादुर परियार  |  समाचार  |  भदौ २९, २०८०

युरोप ।गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न ११औं महाधिवेशनमा वर्तमान उपमहासचिव बेलायतका रामशरण सिंमखडाले केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन्।

संस्थागत विकास, दर्बिलो एकता : साझा एनआरएनए हाम्रो प्रतिबद्धता भन्दै सिंमखडाले सामाजिक सञ्जालमार्फत  उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।

उनलाई संघको आसन्न महाधिवेशनमा महासचिवको दाबेदारको रुपमा हेरिएको थियो।आफ्नो रुचि महासचिवमा भए पनि एनआरएनएको महान अभियानमा सबैलाई समेट्दै सँग सँगै लिएर हिड्ने विशाल हृदय हुन जरुरी रहेको उनको भनाइ छ।उम्मेदवारी घोषणा गरे सँगै सि‌ंमखडाले सामाजिक सञ्जालमार्फत केन्द्रीय उपाध्यक्षमा आफ्नो उम्मेदवारी किन हो भनेर सार्वजनिक गरेका छन्।उनको भनाइ जस्ताको तस्तै  प्रस्तुत गरिएकाे छ 

एन आर एन केन्द्रीय उपाध्यक्षमा मेरो उम्मेदवारी: किन ?

करिब १ बर्ष अघि चार जना नौजवान युवा टर्कीको समुद्री मार्ग हुंदै यूरोपकै अर्को मुलुक ग्रिस जाँदै थिए । समुन्द्रको बिचमा ढुङ्गा दुर्घटना भयो र चारै जना नेपालीले दुखद मृत्युवरण गर्न पुगे । ढुङ्गा संगै परिवारको सपना, आफ्ना अनेकन मनोकांक्षा सबै सपनाहरू समुद्रैमा बिलाए । यूरोप र राम्रो कमाईको श्रम गन्तब्य सम्झि २०औ लाख ऋण काडी आएका ति युवाहरुको परिवारले आफ्ना श्रीमान्, छोरा वा बुवा त गुमाए नै चर्को ब्याजको ऋणमा समेत परे । अझै दुखद पक्ष त के भने  ४ जना मध्ये २ जनाले सरकारबाट श्रम स्वीकृत लिई आउनु भएका रहेछन् त २ जनाको रहेनछ । श्रम स्वीकृत भएका को लास सरकारले उठायो भने नभएकाको लास बिदेशमा बेवारिसे बन्यो । मरण पछि अनुहार भए पनि हेर्न पाउँ भन्ने परिवारको रोदन पश्चात एन आर एन टर्की *अध्यक्ष उज्जल घिसिङज्यू) र उहाँको टीमले जेन तेन लास नेपाल पठाई परिवारलाई जिम्मा लगायो ।

वैदेशिक रोजगारी विभागले आफ्नो वेबसाइट मा २०७९-२०८० को २५ पाना लामो श्रम स्वीकृति विवरण राखेको छ, पारदर्शी ढंगमा प्रस्तुत उक्त विवरणमा आर्थिक वर्ष ७९(८० मा कुन देशमा कतिजना महिला र पुरुषहरु श्रम स्वीकृति लिएर कुन कुन जिल्लाबाट वैदेशिक रोजगारीको लागि विदेश गए भन्ने प्रष्ट देखिन्छ। झन्डै ७ लाख ७१ हजार ३२७ जनाले श्रम स्वीकृति लिएका छन्, यी त सरकारी तथ्यांक भयो तर गैर कानुनी बाटोबाट, श्रम स्वीकृति नलिई, बाध्यता बस, विद्यार्थी भिसा लिएर, डिभी परेर वर्षेनी कति नौजवान युवायुवती लगायत अन्य उमेर समुह विदेशिन्छन, यसको आँकडा निकाल्न त् हरेक दिन त्रिभुवन विमानस्थलको भिडलाई निहाल्नु पर्छ। त्रिभुवन विमानस्थलमा हातमा हरियो पासपोर्ट, निधारमा रातो टिका र गलामा खादा लगाएका हरेकको सपना सुन्दर भविष्य र सहज जीवन नै हो। विदेशको जीवन सहज हुन्छ भनेर सोच्नु केहि हद सम्म सपना राम्रै हो – हामी पनि सोच्थ्यौ। नेपालको माटो छोडेर आकाश चुमे पछि सामना गर्नु पर्ने सबै गाह्रो र अप्ठयारो बाटोहरूलाई केहि सहज र व्यवस्थित बनाउन २० बर्ष देखि निरन्तर संघर्ष गर्दैछ-गैर आवासीय नेपली संघ ! संघका उद्देश्यहरु हामीले सोचे जस्तो गतिमा पुरा भएका छैनन्। म किसानको छोरो, बा ले भन्नु हुन्थ्यो पहिलो भल खेतमा ‘हुल्यो’ भने ‘मल’ हुन्छ बाबू, त्यसमा राम्रा पनि बगि आउँछन नराम्रा पनि – त्यसलाई छान्ने काम किसानको हो । हामी बिचमा बाडी राम्रै थियो – छ पनि ! यसमा सुद्धि करणको आवश्यकता छ ।  हाम्रा उद्देश्यहरु पुरा गर्न कसले रोकेको छ ? फटाफट किन काम हुँदैन भन्ने मलाई पनि नलागेको होइन तर टिमवर्कका आफनै राम्रा र नराम्रा पक्षहरु छन्, २१(२३ को उपमहासचिव पदमा रहेर अन्तराष्ट्रिय कार्यकारी सचिबालय  (IES) लाई नजिकबाट नियाल्ने मौका मिल्यो। दुइ वर्षको यो कार्यकालमा शुरु गरेका केहि काम अधुरा पनि रहे, त्यसैले पुरा हुन नसकेका कामहरु टुङ्ग्याउन र नयाँ कामहरुको शुरुवात गर्न २०२३-२५ को कार्यकालमा उपाध्यक्षको लागि उम्मेदवारी दिने निर्णय गरेको छु।  सम्पूर्ण डेलिगेट्स मित्रहरु, पत्रकार साथीहरु, अग्रज अभियन्ताहरु, इष्टमित्र, साथीभाइहरु र शुभचिन्तक हरुको सल्लाह र सुझावको अपेक्षा गर्दछु। यहाँहरुको सबै खाले सुझाब मेरो लागी मार्ग दर्शन बन्नेछन्  ।

रामशरण सिमखडा
उपाध्यक्ष उम्मेदवार २०२३-२५ 
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद