तिम्रो मलामी जान सक्तिनँ

तिम्रो मलामी जान सक्तिनँ

ऋतु आशिक  |  साहित्य  |  भदौ ३०, २०८०

बाँचुञ्जेल पार्टीका लठेत गुण्डाहरूको भीड बोकेर
तिम्रो मनोगत स्वार्थको चाका चुलीमा 
देश यसबेला अस्थिर र जर्जर
देश नै हराउने स्थितिबाट गुज्रिरहेको छ । 
देश माथि घात माथि घात गरेउ 
कम्युनिष्टको रामनामी बर्को ओढेर 
गठबन्धनको मधुमास मनायौं ।
कहिले काँग्रेससँगै 
कहिले माओवादीको खोल ओढेर 
छिमेकीको उक्साहटमा 
मेरो देश आर्थिक क्रान्तिको छलाङ मारिरहेको थियो ।
कलकारखाना कवाडीमा बेचिरहेका थियौं ।
देशमा लुटान मच्चाएर,
देशप्रति घात गरिरहेका थियौं । 
ती लुटान अझै जारी छ । 
तिम्रो लुटको मृत्यु विजयोत्सवमा
म तिम्रो मृत्युमा मलाम जान सक्दिनँ । 
मलाम भनेको सन्मान गर्नु हो । 
म तिमीलाई देशद्रोहीको रुपमा घृणा गर्छु । 
मेरो अन्तर आत्माले जान मान्दैन । 
देशलाई माया गर्ने लर्कोमा म एक्लै हुन सक्छु । 
हो ! यो तिम्रो विरोधमा एक्लै हुन सक्छु । 
जीवन भरि तिमीले र तिम्रो पार्टीले गरेको देश घात
तिमीलाई चोख्याउन मनले मान्दैन । 
तिमीलाई चोख्याउन मैले मलामी जानु हुँदैन । 
कतै अमेरिकी कलेवरमा
कतै भारतीय कलेवरमा
एम.सी.सी.मा डामिएका पार्टीहरू 
देश माथि सिक्किम थोपरिएका छन् । 
लेण्डुपेले सिक्किम सुध्याएर उत्तानो परेको थियो । 
एमाले, काँग्रेस माओवादी अन्य देशद्रोही पार्टीहरू 
सिक्किमको पुनरावृत्तिको नौटङ्की गरिरहेका छन् । 

महाकाली सन्धिदेखि
धेरै खोला नाला बेची खाएको 
तिम्रो ल्याप्चे अझै ताजा छ । 
देश तिमीहरूकै डकैतीका कारण
ठगिँदै – ठगिँदै सकिनु पर्ने 
तिमीहरूकै कारण देश तुहिनु पर्ने 
तिम्रो देश घातको श्रृङ्खलामा
पार्टी–पार्टी हुँदै 
देश सिक्किममा परिवर्तित हुँदै छ । 
बुझ्दा बुझ्दै पनि –
तिमी देशद्रोही, तिमी देशघातकी हुँदाहुँदै 
तिम्रो मृत्युमा –
मेरो देशको झण्डा ओढाउनु पर्ने । 
देश घातकीहरूको सन्मानमा 
हामीले सन्मान पस्किनु पर्ने । 
भयो – भयो – अति भयो 
तिम्रो देश घातका विरुद्ध घृणित कार्य खोतल्दै 
तिम्रो देशद्रोहीका विरुद्ध 
कालो झण्डा आकाशतिर उठाउँछु । 
आकाशतिर चर्किने आवाजमा भन्छु –
म देशद्रोहीको सम्मानमा मलाम जान सक्दिनँ । 

जीवनभरि देश घात गर्ने 
मरेपछि श्रद्धाञ्जली 
महानता खोज्ने 
मबाट यो दोहोरो चरित्र हुन सक्तैन ।
तिमी देशद्रोही हौं 
तिम्रो सन्मानमा मेरो शिर झुक्न जानेको छैन । 
देशप्रति तिमीले गरेको गद्दारीमा 
म तिमीलाई थुक्दै घृणा भावमा भन्छु 
म देशद्रोहीको मलामी जान सक्दिनँ । 
हो ! म तिमीलाई घृणा गर्छु
यसैले म तिम्रो मलामी जान सक्दिनँ । 

२६ भाद्र २०८०
आपगाछी, तरहरा, इटहरी