आरके शर्माले एनआरएनए अध्यक्षको उम्मेदवारीको घोषणा काठमाडौंबाट गर्ने

आरके शर्माले एनआरएनए अध्यक्षको उम्मेदवारीको घोषणा काठमाडौंबाट गर्ने

शेरबहादुर परियार  |  समाचार  |  भदौ ३०, २०८०

 यूरोप। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न ११औं विश्व सम्मेलनमा वर्तमान उपाध्यक्ष कतारका राजेन्द्रकुमार (आरके) शर्माले केन्द्रीय अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।कतारमा क्रियाशिल ५७ वटा संस्थालाई साक्षी राखेर शर्माले  आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

नेपाली महिला समाज कतार र एनआरएनए एनसीसी कतार महिला विभागको समन्वयमा कतारमा स्थापित संघ संस्थाले गरेको रमाइलो तीज तथा विविध सांस्कृतिक कार्यक्रममा मैले आगामी २०२३-२५ कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छु, शर्माले भने।

१० दिनभित्रमा काठमाडौंमा औपचारिक कार्यक्रम गरेर  एजेन्डासहित आफ्नो उम्मेदवारी औपचारिक घोषणा हुने छ- उनले भने।आफ्नो उम्मेदवारीले मध्यपूर्व मात्र होइन विश्वमा रहेका नेपालीहरु उत्साहित भएको बताए। एनआरएनएका संस्थापक उपाध्यक्ष डा. देवकाजी डंगोल, कतारका अग्रज अभियन्ता तथा पूर्व उपाध्यक्ष सागर नेपाल सहितको सपना साकार पार्नका लागि आफू  अध्यक्षमा उठ्न लागेको बताए ।

शर्माले आफूले कतारमा श्रमिक हुँदै व्यवसाय गरेर सामाजिक अभियानमा जोडिएको भन्दै आफ्नो केन्द्रीय अध्यक्षको उम्मेदवारी सम्बृद्ध नेपाल बनाउनको लागि र विदेशमा बस्ने सबै नेपालीलाई जोड्नको लागि भएको बताए। नेतृत्वमा लैजानको लागि पूर्वाग्रह राख्ने काम अहिलेसम्म भएको छ,यो पटक त्यो तोडिने छ  उनले भने।

उनले गैरआवासीय अभियानमा आफूले विदेशमा बस्ने नेपालीका मुद्दाहरू नागरिकता देखि लिएर श्रमिक तथा दोस्रो पुस्ताका मुद्दाहरू बोकेको जानकारी दिए । शर्माले अमेरिकाको क्षेत्रको भ्रमणपछि काठमाडौंमा औपचारिक कार्यक्रम गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन्।