पर्खाइ

पर्खाइ

चिरन ‘चिदानन्द’  |  साहित्य  |  भदौ ३०, २०८०

जीवन पर्खाइमा बित्ने रहेछ 
केही आशावादी हुँदै
अनि केही निराशावादी रहँदै 
पर्खाइ बुझ्नेहरू
बुझेर पर्खँदै छन्
तर,यसकै खेतीमा तल्लीनहरु
यसरी पर्खिरहेछन् मानौँ
राजनीतिमा साम्यवाद आउने जस्तो ।।

यहाँ सदा बाँडिन्छन् पर्खाइका सपनाहरू 
माया, राजनीति अनि अध्यात्ममा पनि
प्रेम, पद अनि प्रभुको सपना बुन्दा बुन्दै
केवल पर्खाइकै पदचापमा जीवन जाँदो रहेछ ।।

ठूला नेताहरुको पदको पर्खाइले
धेरै भो
पार्टी टुटे फुटे
जोडिए
फेरि टाढिए ।।

अझै पनि पर्खाइमा बाँचेर
मालिकको आदेशको पर्खाइ छ कतै
लाश भै कति पर्खिरहे 
विदेशिएका छोराहरु आउने दिन गन्दै 
जीवन आखिर पर्खाइ मै बित्दो रहेछ 
केवल आशै आशमा
केवल पर्खाइमा ।।