पोर्चुगल जाने नेपालीहरुमा वैधानिक तथा अवैधानिक लहर: माल्टा विमानस्थलबाट ९ जना पक्राउ

पोर्चुगल जाने नेपालीहरुमा वैधानिक तथा अवैधानिक लहर: माल्टा विमानस्थलबाट ९ जना पक्राउ

शेरबहादुर परियार  |  समाचार  |  आश्विन १२, २०८०

यूरोप । यूरोपेली मुलुक माल्टामा ९ जना नेपाली त्यहाँको विमानस्थलमा पक्राउ हिजो  परेका छन् ।

माल्टाबाट पोर्चुगल जान लागेका उनीहरू माल्टा विमानस्थलमा अध्यागमन विभागको नियन्त्रणमा परेका हुन्।

पक्राउ पर्नेमा ५ जना पुरुष र ४ जना महिला रहेको र उनीहरूलाई हाल माल्टाको हालसाफि डिटेन्सन सेल्टरमा राखिएको बताइएको छ।

विमानस्थलमा सुरक्षा जाँचका क्रममा भिसा लगायतका आवश्यक कागजातको अभावका कारणले उनीहरू पक्राउ परेको एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल रेम्सले जानकारी दिए।पक्राउ परेका नेपालीहरुलाई छुटाउन एनआरएनए माल्टाको तर्फबाट सहजीकरणको प्रयास भैरहेको उनले बताए।

पछिल्लो समय कामदार तथा अध्ययन भिसामा आउन  आकर्षक गन्तव्यको रुपमा रहेको यूरोपेली मुलुक माल्टा आउने नेपालीको संख्या बढ्दै गएको छ।तर रोजगारीका लागि माल्टा आउने तर यहाँ काम नगरि अन्य मुलुकतर्फ जाने नेपालीको संख्या बढ्दै गएको माल्टाबाट पत्रकार असीम लोप्चन तामाङले बताए।जसको कारण यहाँको प्रहरी प्रशासनले विमानस्थल लगायतका स्थानमा कडा निगरानी गर्दै पक्राउ गर्ने अभियान नै चलाएको छ।उनले भिसा, अस्थायी बसोबास अनुमतिपत्र(टिआरसी) लगायतका आवश्यक कागजपत्रहरू बिना अन्य मुलुकतर्फ यात्रा नगर्न माल्टामा रहेका नेपालीलाई आग्रह गरे।

यूरोपेली मुलुकहरु विशेषत: माल्टा, पोल्याण्ड तथा क्रोएसिया लगायतका देशहरूमा कामदार वा अध्ययन भिसामा आउने नेपालीको ठूलो संख्या पोर्चुगल जाने गरेका छन्।अन्य मुलुकको तुलनामा आफ्नो परिवारका सदस्यलाई बोलाउन, स्थायी बसोबास अनुमतिपत्र (पिआर) तथा पासपोर्ट लिनका लागि त्यहाँ सहज हुने भन्दै पोर्चुगल जान नेपालीहरुमा वैधानिक तथा अवैधानिक लहर नै चलेको छ।