लाेकसंवादमा १० अङ्कसम्म लेख्ने सोचमा थालिएको लेखनी धारावाहिक रुपमा १८१औँ अङ्कमा !

फर्कलान् र ती दिनहरु

लाेकसंवादमा १० अङ्कसम्म लेख्ने सोचमा थालिएको लेखनी धारावाहिक रुपमा  १८१औँ अङ्कमा !

हरिविनोद अधिकारी  |  साहित्य  |  आश्विन २०, २०८०

निरन्तर रुपमा यो स्तम्भ लेखेको पनि १८१औँ अङ्क पुगिसकेछ । वास्तवमा त्यस्तै १० अङ्कसम्म लेख्ने विचारले लेखेको हुँ । कुन्ती सम्बन्धी अनुसन्धानात्मक तर महाभारतमा आधारित धारा बाहिक कथा लेख्दा लेख्दै ३३ अङ्क लेखेपछि त्यसलाई पुस्तकाकार गर्ने सल्लाह वरिष्ठ पत्रकार तथा युवा राजनीतिज्ञ भाइ तारानाथ दाहालले दिए र त्यसलाई पुस्तकाकारमा ल्याउने सबै प्रक्रिया पूरा भएर पनि त्यसले बजारमा आउने साइत जुरेको छैन ।

अर्थात् कोभिडको मारमा छापिन जानै लागेको पनि रोकियो र आजसम्म त्यसले सार्वजनिकरुपमा बाहिर आउन पाएको छैन । सायद कुन्तीको जीवनमा आधारित आत्मालापलाई पुस्तकमा उतार्ने भएकाले मलाई यस्तो स्मरणीय कुराहरु लेख्न मन लागेको हो । यसका लागि भाइ घनेन्द्र ओझा र यसै अनलाइन (लोकसंवादक डटकम) का सम्पादक भाइ भूपराज खड्काले प्रेरित गरे र आजसम्म यो कसरी कसरी १८१औँ अङ्कसम्म आइपुगेको छ । मैले यो धारावाहिकमा पुरातन तरिकाको जीवनी भन्दा आफ्ना व्यक्तिगत चिन्तनलाई पनि यसमा संगठित गरिरहेको छु । 

एउटा सामान्य तर विकट गाउँ सिन्धुलीको ग्वाल्टार गाउँबाट आएको, गाउँमा प्राथमिक विद्यालय समाप्त गरेर पढ्ने सुरमा कहिले रामेछाप, कहिले सिन्धुली, कहिले जनकपुर र त्यसपछि काठमाडौँ पसेपछि यतै हराएको सामान्य नागरिकको कथामा के पो हुन्छ र नयाँ कुरा ? तर होइन रहेछ, प्रत्येक व्यक्तिका आफ्ना आफ्ना कथा हुने रहेछन् । विचार हुने रहेछन् । भोगाइ फरक फरक हुने रहेछन् । र त नजानिँदो पाराले यतिका अङ्कसम्म तानिएको छ ।

कहिले लाग्छ, यो मैले लेखेको किन ? अनि मेरो जीवनका भोगाइ पढेर पाठकलाई के फाइदा, सम्पादकलाई यी मेरा धारणाहरू प्रकाशन गरेर के फाइदा ? तर लाग्छ, त्यसो होइन होला, मेरा विचार मैसँग मात्र हुन्छन् किनभने प्रत्येक व्यक्ति फरक फरक सोचाइ राख्छ । मैले लेखेको कुराले मलाई मात्र प्रतिनिधित्व गर्दैनन्, समसामयिक इतिहासलाई पनि प्रतिनिधित्व गर्छन् भन्ने ठानेर लेख्ने जमर्को गरेको हुँ । जे मैले भोगेँ, त्यस्तै कमैले भोगेका होलान् ।

मानिस दुईवटा मनोविज्ञानमा बाँचेको हुने रहेछ, एउटा सामाजिक रुपमा भोगिने व्यवहार, अर्को त्यसलाई व्यक्तिले गर्ने अनुभूति । सामाजिक रुपमा भोगिने त उस्तै उस्तै हुने होला तर व्यक्तिगतरुपमा त्यही भोगाइ पनि कतिले सन्तुष्टि दिने होलान् कसैलाई । जीवन त अदालतमा परेको मुद्दाजस्तै हुने होला नि, जित्ने खुसी हुने हार्ने चित्त दुखाएर आवश्यक परे पुनरावेदनसम्म जाँदै सर्वाेच्च अदालतसम्म जाने । 

जब कुनै कविता, कथा, निबन्ध या अन्य आख्यान या गैर आख्यान लेखिन्छ, समसामयिक रचना गरिन्छ, ती सबै समयको इतिहास हो रहेछ । मैले एउटा घटनापछि आफ्नो लेखाइको नाम अश्रु सिन्धुलीय राख्न थालेँ । सिन्धुलीय राख्नुको अर्थ त स्पष्ट नै भयो, म सिन्धुलीको बासिन्दा हुँ । अश्रुचाहिँ उपनाम राखेँ र मेरो पेन नाम भयो अश्रु सिन्धुलीय ।

वसन्त भाइले लगे जहाँ भरत भुर्तेल भाइ थिए । कुरै कुरामा मैले मेरो पेन नाम अश्रु सिन्धुलीय हो भनेपछि वसन्तले छक्क मानेर सोधे, दाजु तपाईँसँग मेरो यति लामो चिनापर्चीमा पनि तपाईँले आफ्नो यो नामको कुरै गर्नुभएन त ? अनि मेरो झोलामा कथा या कविता केही छ कि भनेर सोधे र २वटा लघुकथा र २ ओटा कविता लिएर गए मेरो हस्ताक्षरका ।

त्यो घटना थियो, बीपी कोइरालाको नाममा तत्कालीन मण्डलेहरूले खिसी गर्नका लागि विरामी बीपीका नाममा पत्रिका मार्फत् बीपीका लागि चन्दा माग्न थाले र कसैले १  रुपयाँ दिएको, कसैले २५पैसा दिएको , कसैले १५पैसा दिएको सार्वजनिक गर्न थाले जव कि बीपी त्यो बेलामा अमेरिकामा हुनुहुन्थ्यो पेरोलमा छुटेर ओखती गर्नका लागि सरकारले दिएको सहयोगमा, कारण थियो बीपी जेलमा नै हुनुहुन्थ्यो र जेलबाट सिधै राजाले अमेरिका पठाएका थिए डाक्टर मृगेन्द्रराज पाण्डेको सिफारिसमा ।

अनि मैले आफूले लेख्ने पत्रिका राष्ट्रपुकार साप्ताहिकमा त्यसरी बीपीका नाममा चन्दा उठाउने अधिकार या त कोइराला परिवारलाई,त्यो पनि सुशीला आमालाई हुनुपर्ने हो, या त उहाँको दल प्रतिबन्धित नै भए पनि कावा सभापति कृष्णप्रसाद भट्टराईलाई मात्र हुने हो , किन कसले दिएको अनुमतिले बीपीका नाममा चन्दा उठाएको हो ? मैले त्यो चिठी अश्रु सिन्धुलीयको नाममा लेखेको थिएँ, त्यसले एउटा तर्क उब्जाएको थियो र ती अनुमति नलिई बीपीको नाममा चन्दा उठाउनेहरूलाई किसुनजीले झपार्नु भएछ र त्यस्तो चन्दा उठाउन छोडेका थिए ।

तर पछि मैले धेरै लेख, कविता, कथाहरु त्यही नाममा लेख्न थालेँ । पञ्चायतकालीन समयमा हाम्रा लेख सामान्यतया गोरखापत्रमा आउँदैन थिए, त्यसैले मैले जेजति लेख्न थालेँ, राष्ट्रपुकार मार्फत् लेखेँ, विद्यालयहरूका मुखपत्रहरूमा या विद्यार्थीहरुका समसामयिक पत्रिकामा लेखेँ । पछि बहुदल आएपछि मात्र हो, मेरा लेख, कविता, कथाहरु मधुपर्क, गोरखापत्रमा छापिन थालेका हुन् । त्यसमा पनि एउटा अचम्मको संयोग रह्यो बसन्तप्रकाश  उपाध्यायसँगको चिनापर्चीको आधारमा । 

हामी नेपाल प्रेस युनियनमा पनि सक्रिय भएकाले एकदिन बागबजारमा रहेको प्रेस युनियनको जिल्ला काठमाडौँको कार्यालयमा मलाई वसन्त भाइले लगे जहाँ भरत भुर्तेल भाइ थिए । कुरै कुरामा मैले मेरो पेन नाम अश्रु सिन्धुलीय हो भनेपछि वसन्तले छक्क मानेर सोधे, दाजु तपाईँसँग मेरो यति लामो चिनापर्चीमा पनि तपाईँले आफ्नो यो नामको कुरै गर्नुभएन त ? अनि मेरो झोलामा कथा या कविता केही छ कि भनेर सोधे र २वटा लघुकथा र २ ओटा कविता लिएर गए मेरो हस्ताक्षरका । अनि पो मेरो नाममा मधुपर्कमा र गोरखापत्रमा कविता र कथा आउन थालेका हुन् । त्यो बेलामा वसन्त भाइ सायद मधुपर्कमा उपसम्पादक थिए क्यार ! 

वसन्तले जहिले पनि मलाई प्रेरणा नै दिए लेख्नका लागि । उनी गोरखापत्रको बोर्ड सचिव हुँदा हप्तामा एउटा लेख माग्थे र छपाएर समाजमा सम्प्रेषण गराउँथे । पछि मधुपर्कमा पनि छापे ।युवा मञ्चमा या मुनामा लेख्न जहिले पनि मलाई उचाल्थे, मेरो सानो छोरोलाई पनि भेट्दा केही लेखेर ल्याउन भन्थे र उसले पनि लेख्ने गरेको थियो सानामा मुनामा , गोरखापत्रमा ।
सायद यो लघुकथा पनि मधुपर्कका छापिएको जस्तो लाग्छ 

बितेका ती दिन
अश्रु सिन्धुलीय

१. प्लेनको एउटै सिटमा बसेकोले नजिकको साथी प्रति ध्यानाकर्षण भयो । नजानिँदो पाराले हेर्दा अपरिचित सुहाउँदो रुप, उमेर झन्डै २५ वर्ष, चन्चले स्वभाव र अध्ययनशील जस्तै लाग्यो । तर आफ्नो उमेरका कारणले उत्तेजित भएर बोल्न पनि सकिँदैनथ्यो र बोलाए पनि कुनै द्विविधा उत्पन्न हुँदैनथ्यो ।

२.  १० मिनेट जत्ति पत्रिका, सूचना पत्र तथा सुरक्षा सूचना पढी सके पछि उनको चञ्चलतालाई मैेले महसुस गरेँ र म आँखा चिम्लिएको तर अत्यन्त सजग अवस्थामा आफूलाई राखेँ, मानौं उनले दोहोर्‍याएर बोलाए पछि तन्द्राबाट ब्यूँझने छु र परिचयका लागि प्रस्तुत गर्नेछु । वास्ता नगरे अझै आधा घण्टासम्म पर्खिने छु । तर विश्वास थियो, त्यो केटीको  यो पहिलो यात्रा हुनुपर्छ र यो प्लेनमा उसले चिने जानेका मानिस नहुनुपर्छ ।

३.  करिब २ मिनेट पछि मैले एउटा ओड्ने ओढिएको आभास पाएँ र त्यो पनि सँगैको साथीले ओढाएको झैं लाग्यो । सजगताले आँखा खुल्यो र उनले मुस्कानसहित भनिन्—कृपया मलाई झ्यालमा बस्न दिनुस्न ,म बाहिरको प्रकृतिलाई नियाल्छु । यो बोल्ने र नजिकिने बहाना थियो जसलाई मैले सहर्ष स्वीकार गरें ।
४.  अब बाहिरका प्रत्येक दृश्यहरू उनले प्रत्यक्ष विवरणसहित जानकारी र मेरो समर्थन खोज्न थालिन् । मैले विस्तारै उनको भावना पढ्न थालें र हो मा हो मिलाउन थालेँ ।
५.  एकै चोटि उनले आगामी सहरमा कहाँ बस्ने भनेर सोधिन् र मैले उनकै इच्छामा छोडेंँ ।
६.  वास्तवमा हाम्रो सवै रुट मिलेको रहेछ र आगामी सहरमा ५ दिन बसेर अर्को सहरमा १० दिन बस्दै फर्कने विवरण मिलेको रहेछ । कार्यक्रम फरक थियो र लक्ष्य पनि फरक थियो ।
७.  करिब आधा घण्टामा हाम्रो बसाइ एउटै होटेलमा र एउटै कोठामा हुने कुरा पक्का भयो । पैसाको किफायत र असल साथी हुने हाम्रो धारणा मिल्यो । 
८.  फर्कंदा हामी धेरै निकट मात्र भएका थिएनौं कि परिचित सहरमा कसरी अपरिचित जस्तै भएर बाँच्ने त्यति मात्र हाम्रो समस्या थियो । 
९.  अहिले हाम्रो सहरमा हामी यसरी हराएका छौँ कि परिचित पनि अपरिचित झैँ बाँचिरहेका छौं भने उनको र मेरो फेरि फोन सम्पर्कसमेत भएको छैन, भेटघाट त भएकै छैन ।
१०.  मलाई ती बिताएका १५ दिन सम्झँदा लाग्छ- म सायद भ्रमणमा गएकै थिइँन ।
२०६१।०८।१६ दिउँसो ४:०५-४:२१
 

वसन्तको बानी जहिले पनि नयाँ नयाँ लेखकलाई समाजमा चिनाउने थियो । ऊ मधुपर्कमा सम्पादक हुँदा धेरै जना नयाँ पालुवाहरुलाई समाजका चिनाएको थियो । उसको सह सम्पादक तुलसी हरि कोइरालामा पनि त्यो गुण देखिन्छ । वसन्त र तुलसी आफैँमा पनि साहित्यकार हुन् स्थापित रुपमा तर उनीहरुले कहिले पनि अरुलाई अपमानित गरेनन्, गर्दैनन् किनभने तुलसी भाइ अहिले पनि गोरखापत्रमा नै कार्यरत छन् । लघुकथाको नयाँ आयामका लागि उनी लागिपरेका छन् । क्रमशः