भेन्टिलेटर खरिदमा फर्जी कागजात ! १० करोड नियम विपरीत भुक्तानीमा एक दर्जनको संलग्नता पुष्टि

भेन्टिलेटर खरिदमा फर्जी कागजात ! १० करोड नियम विपरीत भुक्तानीमा एक दर्जनको संलग्नता पुष्टि

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २९, २०८०

सुनसरी । वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुनसरीमा करिब १० करोड मूल्य बराबरको २० थान  भेन्टिलेटर खरिदमा उपकुलपति डा. ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक डा. जगत नारायण प्रसाद लगायतका आधा दर्जन व्यक्तिहरुको मिलोमतोमा व्यापक अनियमिता भएको ठहर प्रतिष्ठानद्वारा गठित एक छानविन समितिले गरेको छ । 

धरान उपहानगरपालिका र स्थानीय सर्वसाधरणले करोडौँ मूल्यका उपकरणहरु मेडिकल स्टोरमा थन्काएर राखेको भनी विरोध हुन थालेपछि वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले २०८० साउन २४ गते ७ दिन भित्र राय सुझाव सहित प्रतिवेदन दिन आन्तरिक रुपमा अप्थाल्मोलाेजी विभागका प्रा.डा. पुनम लाभाजुकाे संयोजकत्वमा गठित ७ सदस्यीय छानविन समितिले  व्यापक अनियमिता भएको ठहर गर्दै उक्त खरिद प्रकृया नै रद्द गर्न सिफरिस गरेको  हो । 

वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले २०८० साउन २४ गते गठित समितिका सदस्यहरुमा  प्रतिष्ठान एसोसिएट प्रोफेसर द्वय डा. प्रकाश पराजुली र डा. विष्णु पोखरेल, आर्थिक प्रशासन प्रमुख रुपा सिघाँची, एडिसनल प्रोफेसर वसन्त कर्ण, वायोमेडिकल  इन्जिनियर हरिराम दवाडी सदस्य  र जनरल स्टोर शाखा प्रमुख कमल लिम्बु सदस्य सचिव रहनु भएकाे छानविन समितिका एक सदस्यले लोकसंवाद डटकमलाई जानकारी दिनु भएकाे छ ।  

छानविन समितिका ती सदस्यका अनुसार वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमसीएच भवनको लागि खरिद गरेकाे २० थान नयाँ भेन्टिलेटर हालसम्म इन्स्टलेशन नगरी  मेडिकल  स्टोरमा रहेको र हालसम्म खरिद भएका सम्पूर्ण भेन्टिलेटरहरुको खरिद प्रकृया, बजार मूल्य, परल मूल्य, गुणस्तर जाँच प्रतिवेदन, भुक्तानी, वर्तमान अवस्था लगायत अन्य विवरणको  अध्यन गरी राय तथा सुझाव ७ दिनको कार्यदेश दिएकाे थियो ।  उक्त समितिले २०८० भदौ ३ गते नै  वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान राय तथा सुझाव सहितको प्रतिवेदन बुझाउँदै कानून बमोजिम ठेक्का रद्द तथा जमानत जफत गरी आवश्यक कारबाहीको प्रक्रिया अगाडी बढाउन सिफारिस गरेको प्रतिवेदनमा उल्लेख छ । आन्तरिक रुपमा तयार  पारेको छानविन समितिको प्रतिवेदन लोकसंवाद डटकम प्राप्त भएको छ । 

बजेटको प्रवन्ध र खरिद प्रकृयाको चटारो 

प्रतिष्ठान निर्माणाधिन एमसीएच भवनमा ICU setup को लागि high end ICU Venttilator खरिद तथा जडानको लागि नेपाल सरकारले  आर्थिक वर्ष २०७८/७९ को अन्त्यमा अर्थात् २०७९ असार २ गते सशर्त पुँजीगत अनुदान दिएको थियो । प्रतिष्ठानका अनुसार ०७९ असार २ गते ३११२२ मेसिनरी तथा औजार  शिर्षकमा प्रतिष्ठानको खातामा १० करोड रकम जम्मा भएको थियो । 

एमसीएच भवन  निर्माणाधिन रहेको सबै सरोकारवाला पदाधिकारीहरुलाई जानकारी रहँदा रहँदै करोडौँ  आर्थिक अनियमितता गर्ने नियतले हतार हतार खरिद गरेकाे छानविन समितिले निश्कर्ष निकालेको छ ।  करिब १० करोडका २०, २० वटा भेन्टिलेटरहरु खरिद गर्दा समेत खरिद पूर्व ती  ती  भेन्टिलेटर जडान गर्न तथा संचालनको लागि चाहिने न्यूनतम पूर्वाधारको सम्भाब्यता अध्ययन भएकाे कुनै कागजपत्र समेत छानविन समितिले प्राप्त गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ ।२०, २० वटा भेन्टिलेटर खरिद गरि सकेपछि मात्र सिभिल इन्जिनियरिङ शाखालाई जानकारी गराएको तथ्य  छानविन समितिले फेला परेको छ । प्रतिवेदनमा भनिएको छ- 'हतारमा बोलपत्रको   प्रकृया अगाडी बढाउन उपकुलपतिबाट ७ दिनको समय माग गरी PPMO लाई पत्राचार गरेको देखिन्छ ।'  प्रतिवेदनले अर्काे गम्भिर तथ्य के उल्लेख गरेको छ भने बोलपत्रदाताले पेश गरेकाे Authrorization letter नै सम्पादन गरेर किर्ते पेश गरेकाे उल्लेख  छ । 

एकै व्यक्तिका दुई कम्पनी बीच  प्रतिष्पर्धा!

प्रतिष्ठानद्वारा गठित छानविन समितिले  करिब १० करोडको  भेन्टिलेटर  बोलपत्र पेश गर्ने दुबै कम्पनी एकै व्यक्तिको रहेको तथ्य फेला पारेको छ । यसरी भेन्टिलेटर  बोलपत्र पेश गर्ने MB Meditech Pvt.Ltd  र MBM Surgrngical and Dental House Pvt.Ltd दुबै कम्पनीको डाइरेक्टर संदिप राउत रहेको र दुबै  बोलपत्र एकै व्यक्तिले पेश गरेको  किटान  गरेको छ । दुबै कम्पनीको  डाइरेक्टर मात्र होइन सम्पर्क नम्बर र ल्याण्डलाइन नम्बर समेत एउटै प्रयोग गरको विषयलाई आधार बनाइएको छ । छानविन समितिका एक सदस्यका अनुसार MB Meditech Pvt.Ltd  र MBM Surgrngical and Dental House Pvt.Ltd दुबै कम्पनीको बोलपत्रमा डाइरेक्टर संदिप राउत उल्लेख हुनुका साथै  सम्पर्क नम्बर ९८५१०४८६९७  र ल्याण्डलाइन नम्बर ०२५-५८९३६६ उल्लेख रहेको पाइएको छ । वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ऐन नियम र कानून र प्रचलनको समेत धज्जी उडाउँदै एकै व्यक्तिका दुई कम्पनी बीच  प्रतिष्पर्धा खरिद ठेक्का उपलब्ध गराएको  छानविन समितिको ठहर रहेको छ । 

खरिद ऐन विपरीत खरिद मिलोमतोमा भुक्तानीको  हतारो !

छानविन समितिको ठहर खण्ड भन्छ - सार्वजनिक खरिद ऐन २०६३ को परिच्छेद ३ को २६ (६) बमोजिम यस दफामा 'अन्यत्र जे सुकै कुरा लेखिएको भए पनि बोलपत्र दाताले मिलोमतो गरी दाखिला गरेको प्रमाणित भएमा यस्ता बोलपत्र रद्द हुनेछन्' भन्ने व्यवस्था टेण्डर त्यति बेला नै खारेज गर्नु पर्नेमा खरिद शाखा तथा मूल्यांकन समितिले वेवास्ता गरी  सार्वजनिक खरिद ऐनको पालना नगरेको देखिन्छ, गलत प्रक्रिया अपनाई छनोट भएको  MBM Surgrngical and Dental House Pvt.Ltd सँग सम्झौता गरी हतारमा लागत भुक्तानी गर्नको लागि  टिप्पणी उठाइएको  देखिन्छ ।

छानविन समितिका सदस्यका अनुसार  मेडिकल स्टोर प्रमुख संजिव कर्णको माग फारममा अनिवार्य हस्ताक्षर हुनुपर्नेमा अस्पताल निर्देशक  डा. जगत नारायण प्रसाद रहेको छ । यसरी अस्पताल निर्देशक  डा. जगत नारायण प्रसादको खरिद आदेश जरी गरेको तीन दिनमा नै मेडिकल स्टोरमा समान आपूर्ति भइ Goods Receive Note तयार गरी MBM Surgrngical and Dental House Pvt.Ltd उपलब्ध गराइएको छ ।   मेडिकल स्टोर प्रमुख संजिव कर्ण र तत्कालीन इलेक्ट्रोमेड  शाखाका प्रमुख द्वय राहुल मिश्र प्रदिप शाहको अपूर्ण रिपोर्टको आधारमा खरिद शाखा प्रमुख सागर ताम्रकारले  भुक्तानीको लागि सिफारिस गरेका थिए । यसरी गरेकाे सिफारिसको अध्ययन नै नगरी, त्यसको अपव्याख्या गरी भुक्तानी सम्बन्धमा आर्थिक प्रशासन शाखा प्रमुख मोहन राईले राय पेस गरेका थिए । 

 यसै रायमा 'भुक्तानी दिन मिल्ने' भनि आर्थिक तथा कानूनी सल्लाहाकार अधिवक्ता सुमनराज पन्तले दिएकाे सुझावलाई आधार मानी भुक्तानी दिँदा सार्वजनिक खरिद ऐन २०६३ उल्लेख नभएको ५० प्रतिशत भन्दा माथि भुक्तानी दिंदा बैंक जमानत राखेर मात्र  भुक्तानी दिने'  भनी प्रतिष्ठान हित विपरीत बिक्रेतालाई मात्र फाइदा हुने काम गरेको छ  भनिएको छ ।   

प्रतिवेदनले पेश गरेका सुझावहरु जस्ताको तस्तै 

१‍. MCH भवनको लागि ICU setup गर्न High end venttilator को ठेक्का पार्न फर्जी कागजात पेश गरेको र टेण्डर हाल्ने दुइटा कम्पनीको Director  एकै व्यक्ति रहेको पाइएकाले सार्वजनिक खरिद ऐन २०६३ को परिच्छेद ३ को २६ (६) बमोजिम ठेक्का रद्द तथा जमानत जफत गरी आवश्यक कार्यबाही प्रक्रिया अगाडि बढाउन उचित हुने ।

२‍‍. MBM Surgrngical and Dental House Pvt.Ltd र MB Meditech Pvt.Ltd ले बोलपत्र दाखिला गर्दा सार्वजनिक खरिद ऐन विपरित कार्य गरेको देखिएकोले दुबै कम्पनीलाई सार्वजनिक खरिद ऐन २०६३ को परिच्छेद ८ को ६३ (१) बमोजिम कार्यबाही प्रक्रिया अगाडि बढाउन उचित हुने । 

३‍. २० थान Medtronic PB980 High end venttilator खरिद प्रक्रिया संलग्न सम्बन्धित उपकुलपति (डा. ज्ञानेन्द्र गिरी) र अस्पताल निर्देशक (डा. जगत नारायण प्रसाद), खरिद शाखा प्रमुख (सागर ताम्राकार), मूल्यांकन समितिका (डा‍‍. प्रमेन्द्र गुप्त, डा‍‍. लोकराज शाह र योगेश ढकाल) र आर्थिक प्रशासन शाखा प्रमुख (मोहन राई) सार्वजनिक खरिद ऐन २०६३ को परिच्छेद ३ को २६ (६) को मर्म विपरित कुनै एक फर्मलाई स्वार्थ बाझिने गरी ठेक्का सम्झौता गरेको हुनाले कानून बमोजिम कार्यबाही प्रक्रिया अगाडि बढाउन उचित हुने ।

४. २० थान Medtronic PB980 High end venttilator काे रकम भुक्तानीको प्रक्रियामा संलग्न  सम्बन्धित उपकुलपति (डा. ज्ञानेन्द्र गिरी) र अस्पताल निर्देशक (डा. जगत नारायण प्रसाद), खरिद शाखा प्रमुख (सागर ताम्राकार), मूल्यांकन समितिका (डा‍‍. प्रमेन्द्र गुप्त, डा‍‍. लोकराज शाह र योगेश ढकाल) र आर्थिक प्रशासन शाखा प्रमुख (मोहन राई),  तत्कालिन इलोक्ट्रोमेड शाख प्रमुख (राहुल मिश्र) र मेडिकल स्टोर शाखा प्रमुख (संजिव कर्ण)ले  सार्वजनिक खरिद ऐन २०६३ को परिच्छेद ७ को ५२(क) को पेश्की सम्बन्धी व्यवस्थाको (१) को मर्म विपरित भुक्तानी गरेको हुनाले कानून बमोजिम  कानून बमोजिम कार्यबाही प्रक्रिया अगाडि बढाउन उचित हुने ।

५. मेडिकल स्टोर शाखाको गोदाम घर नं २२४ मा venttilator भनी देखाइएको २० थान बाकसहरू मध्ये १८ थान बाकस Sealed Pack रहेको र २ थान बाकस Seal खोलिएको अवस्थामा रहेको भेटियो । खरिद शाखा र मेडिकल स्टोर शाखा मार्फत सम्बन्धित कम्पनीलाई भन्सार छुटको कागजात, Invoice, Packing List तथा अन्य कागजात उपलब्ध नगराएकोले ती भेन्टिलेटरको  माथि उल्लेखित कागजातहरु उपलब्ध गराए पश्चात मात्र निरिक्षण गर्न उचित हुने । 

यो पनि  
डा. ज्ञानेन्द्र गिरी: उपकुलपति कै हैसियतमा २०८० सालको दशैँ मनाउने सपनामा तुषारापात !