सिस्नो घारीमा मदनको शक्तिप्रदर्शन !

सिस्नो घारीमा मदनको शक्तिप्रदर्शन !

रूपक अलङ्कार  |  साहित्य  |  आश्विन २७, २०८०

असोज १९ गते शुक्रबारको साँझ राजधानीमा मदनकृष्ण मुडको आयोजना भयो । जसमा देशका शिष्ट वरिष्ठ, साहु महाजन, भद्र भलाद्मी, नेताजेतादि, कविकलाकार आदिको भयावह मुठभेड भयो । भयावह यसकारण कि भूतपूर्व प्रधानमन्त्रीदेखि वर्तमान मन्त्री तथा सांसद्, विभिन्न निकायको बहालवाला तथा परिश्रान्त कर्मचारीहरूको उपस्थिति थियो । जोसित ठोकिए पनि ठुलै मानिससित ठोकिने तिनका अङ्गरक्षकको खबरदार पूर्ण आँखाबाट बच्नुपर्ने । 

कार्यक्रम सुरु हुनुभन्दा पहिले नै समयबजी खाजाको कार्यक्रम रहेकाले पनि उचित समयमा धेरैको उपस्थिति भएको थियो । सिस्नुपानीका जुझारु मानवहरू साहित्यकार लक्ष्मण गाम्नाङे, देवी घिमिरे, चक्र दवाडी तथा पाठशाला फाउन्डेसनका पुण्डरिक फुयाँल, दीपेन्द्र ढकाल सरहरूलाई अतिथि स्वागतका लागि भ्याइनभ्याइ । कवि रामप्रसाद ज्ञवालीज्यूले  जाँदाजाँदै खाजाका लागि बाटो देखाइदिनुभयो । सो सुअवसरलाई हामीले तत्कालै 'क्याच' गर्‍यौँ । निष्कर्षमा पेट भर्यौँ ।   

साँझ पाँच बजेको भन्ज्याङबाट घडीको सुई तलतिर झरेपछि कार्यक्रम सुरु भयो । पाठशाला फाउन्डेसनको पाँचौँ हो कि छैटौँ तलामा रहेको मदनकृष्ण सभाहल (मदनकृष्णको कार्यक्रम भएर मदनकृष्ण सभाहल भनेको होइन । पाठाशाला स्कुलले उक्त हलको नाम नै मदनकृष्ण राखेर उनको सम्मान गरेको छ) मा मदनकृष्णका विभिन्न मुद्राका तस्बिरले स्वागत गरे । कार्यक्रम सुरु हुनुभन्दा पहिले नै अठार थरी व्यञ्जनले युक्त समयबजीको ‘सग्धि सपीति’ले छ तला उक्लिन कम गाह्रो परेन त ।

त्यत्रा मान्छेको भिडले ठेलिएर म पनि हलमा छिरे । छिर्न त छिरे तर सिट भरिपूर्ण । हुन त सिस्नोपानीका सदस्य खुंखार भाषणबाज सरोज घिमिरे उर्फ कर्कट कश्यपले ढोकानिर उभिएर हेर्ने गरी मलाई निम्ता गरेका थिए । निम्ता गर्ने त उनको मनसाय थियो कि थिएन मैले नै हात जोडेर 'दाइ ! मलाई नि छिर्ने व्यवस्था मिलाउनुहोस् है ।' भनेको थिएँ । 
उनले नि सामन्ती पारामा 'हल्ला चाहिँ नगर्नू । साह्रै ठुला मान्छेहरूलाई मात्र बोलाएको छ । उभिनुपर्छ सुटुक्क आउनू ।' भनेका थिए ।

 'त्यत्रा ठुला मान्छे भएका ठाउँमा उभिएर मात्र होइन झुन्डिएर पनि कार्यक्रम हेर्ने हो दाइ !' मैले नि जोसमै भनिदिएँ । अनि साहित्य र सङ्गीत भनेपछि हुरुक्क हुने मित्र पुष्पराज सिवाकोटीलाई पनि 'हल्ला नगर्नू, सुटुक्क जानुपर्छ' भनेर सँगै लगे । धन्न हामी पुग्दा कर्कट कश्यप माइक अगाडि उभिइसकेका रहेछन् । मञ्चबाट ओर्लेर अतिरिक्त व्यक्ति पनि ल्याएको निहुँमा मेरो कठालो समातेर आफ्नो कद घटाउन तिर उनी लागेनन् ।

मान्छे नबसेका सिटमा पनि तिनको नाम टाँसिएको थियो जसलाई भनेको समयमा कार्यक्रममा नपुगी नपुगी वरिष्ठ भइसकेका थिए । ससुराली नजाने ज्वाइँलाई समेत दक्षिणा पठाउने देशमा नआउने मान्छेको नाममा सिट रोकिनुलाई अस्वाभाविक मान्नै भएन । यद्यपि त्यस्ता सिटमा पछि नामको सट्टामा सर्वनामहरू बसे । 

के था न मेरो पनि नाम टाँसिएको छ कि भनेर निकै बेर हेरेँ । केपी ओली, बाबुराम भट्टराई, गगन थापा, सुदन किराती सबैको नाम भेट्दा नि मैले आफ्नो नाम भेटिँन । सिटमा त होइन सिँढीमा टाँसिएको रहेछ मेरो नाम । पुगेँ त्यहीँ  । नजिकको सिटमा बस्नुभएको रहेछ सिस्नोपानीका अध्यक्ष लक्ष्मण गाम्नाङे, माथिल्लो सिटमा उपाध्यक्ष मनोज गजुरेल, दायाँ पटि भुइँको आरक्षण सिटमा लम्पसार हुनुहुन्थ्यो बिपी महोदय (गएको गाई जात्राबाट चक्र दवाडी कम र बिपी महोदय बढी हुनुभएको छ उहाँ । यसरी सिस्नोपानीका सिस्नेहरू वरिपरि भएपछि हामीले आफूलाई सिस्नो घारी भित्र नितान्त सुरक्षित महसुस गर्‍यौँ र नाक कोट्याइरह्यौँ । पत्रकार राजु पौडेलले (भूतपूर्व किसान पौडेल) प्रसूति आसनमा खुट्टा पसारे । सानोतिनो गाईजात्रा त्यहीँ सुरु भयो ।  

'नेताहरू सडकमा, खुल्लामञ्चमा शक्ति प्रदर्शन गर्छन् । यो कार्यक्रम चाहिँ हामी कलाकारको शक्ति प्रदर्शन हो । यसै वर्ष शक्ति प्रदर्शनका लागि बेलायत र अष्ट्रेलियामा निम्ता छ । त्यहाँ पनि जाने हो शक्ति प्रदर्शन गर्न ।' यसरी हौसिँदै गरेका मदनकृष्ण फेरि मच्चिनु भयो '

आसन ग्रहणको पत्यार (पट्यार) लाग्दो परिबन्द नभए पनि सञ्चालकले धेरै व्यक्तिहरूको नाम मन्त्रले आवाहन गरे । त्यत्रा बत्ती बलेर अन्धकार छाएको हलमा भूपू प्रमद्वय ओली र भट्टराइले पानसमा जोर बत्ती सल्काएपछि सहस्र भास्कर उदाए कार्यक्रम शुभारम्भको शङखनाद भयो । करतल ध्वनिले सभा गुञ्जायमान भयो । 

कवि तथा निबन्धकार लक्ष्मण गाम्नाङेले स्वागतात्मक निबन्ध पढ्नुभयो । उहाँले तीक्ष्ण व्यङ्ग्यको बल्छीमा नेताजेतादिलाई यसरी उनिदिनुभयो कि सभामा उपस्थित सबै छटपटाइरहेको देखेँ । 'जनता सुर बेसुर भएका छन्, देशमा बस्न लालपूर्जा छैन.......यस्तै यस्तै टाइपले उहाँले परिस्थितिको निन्दा र मदनकृष्णको प्रशंसा गर्नुभयो । जे होस् हामी जस्ता विशुद्ध दर्शकका लागि मसला मात्र हैन गरममसला नै भयो उहाँको मन्तव्य । 

मञ्चमा अघिल्लो हारको बिचमा मदनकृष्ण विराजमान हुनुहुन्थ्यो ।  उनका दाहिने तिर उनका औरस पुत्र यमन र बायाँ तिर औरस पुत्री सराना । पछिल्लो हारमा वाद्यवादक । देब्रे तिर छेउमा उभिएको पोडियमलाई अँगालामा अँठ्याएर सञ्चालक उभिएका थिए । 

'दाइ ! कसको याद आइरहेको छ यतिबेला ?'(सञ्चालकले सोधेको प्रश्नको शतांशमा सारांशीकरण गरिएको हो यो) 

मदनकृष्णले सोचीकन भन्नुभयो 'कसलाई भन्ने ? आज हरिवंश छैन । ऊ यहाँ नदेखिए पनि मसितै छ । यस्तो बेलामा स्वर्गीय पत्नीको याद अलि गाढा हुँदोरहेछ ।' 

उहाँले लेखेको ‘तिमी जून जस्तै शीतल’ गीत उहाँकै छोरीले गाउनुभयो । माहोल निकै गम्भीर बन्यो । हाँस्यविनाको मदनकृष्ण झन्डै झन्डै पचाउन गाह्रो हुनेरहेछ । अरूलाई हँसाउने मान्छेलाई पनि समयले रुवाउन त किन छोड्थ्यो र ?

'हुन त म गायक बन्नै हिँडेको मान्छे हो । तर यो हरिवंशसित भेट भएपछि के भो के भो । जे भए पनि ठिकै छ । काम गर्ने हो । शरीर त कमजोर भयो । भए पनि सकेको बेलाम काम गर्नुपर्छ ।' उहाँले अनुभव र अनुभूतिलाई फिटेर बनाएको सर्बत दर्शकलाई छर्किनुभयो । 

'हजारौँ मानिसहरू......।'को मुडमा सात दशकको जवान मन र अलिअलि जीर्ण तन लिएर मदनकृष्ण माइक समातेर मञ्चमा उभिनुभयो । बल्ल आयो जोस । हलमा अर्कै बतास चल्यो । अर्कै उमङ्ग छायो । कामिरहेको बायाँ हातलाई पछाडि सिउरिन खोजे पनि कहिलेकाहीँ अगाडि आइहाल्थ्यो । ज्यान बल्लबल्ल उभिएजस्तो लागे पनि उहाँले सबै गीत उभिएरै गाउनुभयो । 'बसेर त मजै आउन्न ।' यो उहाँकै भनाइ हो । 

मदनकृष्णलाई शुभाभाव व्यक्त गर्न निम्त्याइएका विश्वप्रकाश शर्माले मदनकै गीत गाइदिनुभयो त्यो पनि सङ्गीतसहित मिठो स्वरमा । लामा लामा मन्तव्य दिनेहरूको सातो गयो । सन्दुक रुइत 'म बोल्न जान्दिनँ । तपाईँलाई शुभकामना ।' भनेर बस्नुभयो । 

'बा भनूँ भने अर्कै अर्थ लाग्छ । दाइ भनूँ भने उहाँको छोरो यमन कट्टु लाउँदा देखिको साथी । के भनूँ मलाई गाह्रो छ । गगन थापा पनि यति भनेर बस्नुभयो । 

'हुन त मलाई हँसाउन आउँदैन । मैले भन्दा राम्रो त केपी ओलीले हँसाउनुहुन्छ । तपाइँको उखान टुक्का प्रयोग गरेर सबैले बुझ्ने गरी बोल्ने शैली मलाई मनपर्छ । यसरी नै बोल्नुहोला' मदन दाइले व्यङ्ग्य गर्नुभएको हो कि प्रशंसा बुझ्न हामीलाई कठिन भयो । 

'नेताहरू सडकमा, खुल्लामञ्चमा शक्ति प्रदर्शन गर्छन् । यो कार्यक्रम चाहिँ हामी कलाकारको शक्ति प्रदर्शन हो । यसै वर्ष शक्ति प्रदर्शनका लागि बेलायत र अष्ट्रेलियामा निम्ता छ । त्यहाँ पनि जाने हो शक्ति प्रदर्शन गर्न ।' यसरी हौसिँदै गरेका मदनकृष्ण फेरि मच्चिनु भयो '

 ‘खोलावारि  खोलापारि पिपल र वर
हावा चल्यो पात हल्यो माया वर वर ।
यौटा सपना छ ..........

बल्ल उहाँको मदनकृष्ण नाम अनुसारका गीत आए । 

मदन भनेको वसन्त हो । कामदेवको वाण हो । मदले उन्मत्त हो । मदन रस हो र आनन्द । त्यसमा पनि कृष्ण थपिएपछि मदनको अर्थ कति रसिलो र कसिलो बन्छ तपाईँ आफैँ अनुभूत गर्न जान्नुहुन्छ । 

'मदनकृष्ण र हरिवंशले मह भएर चार दशक बिताइसक्नु भयो तर हामी कम्युनिस्टले जुट्नु पर्छ फुट्नु हुँदैन भनेर कहिल्यै सिक्न सकेनौँ ।' मन्त्री सुदन किरातीले यसरी मदनकृष्णको प्रशंसा गर्नुभयो ।

मदन अझै हौसिए ‘फुल बुट्टे सारीमा ।’ यौटा बहत्तर वसन्त पूरा गरेको कम्पायमान तनभित्र यति ठिटो मन ! यत्रो जोस त्यत्रो जाँगर ! आफ्नो कर्मलाई पूजा गर्ने  कर्मवीरलाई सायद ठुलै रोग र सकस पनि झिनो लाग्दो हो । भर्खर अप्रेसन गरेका आँखालाई चिम्स्याउँदै अप्रेसन गर्ने डाक्टर सन्दुक रुइतलाई मदनकृष्णले धन्यवाद दिनुभयो । 

'देशप्रति यति वितृष्णा जागेको बेलामा हामी केही मानिसलाई देशमा अड्याउन मदनकृष्णको कलाकारिताले मलजल गरेको छ । हास्यव्यङ्ग्यमा आलोचनात्मक चेत उहाँहरूको विशेषता हो ।' पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मूल्याङ्कनत्मक मन्तव्य पस्किनुभयो गर्नुभयो । 

बोलेरै, भाषण गरेरै जगत् रिङाइरहेका त्यत्रा नेताहरूले बोल्दा पनि कार्यक्रममा लगभग पन्ध्र मिनेटभन्दा बढी समय खपत भएन । यसलाई पनि कार्यक्रमको अर्काे सफलता मान्नुपर्ने परिस्थिति पैदा भयो । 

पूर्वप्रधानमन्त्री केपी ओलीले स्वर्गबाट उज्यालो चोरेर ल्याएर मानवलाई उज्यालो बाँड्ने ग्रिसेली पौराणिक पात्र प्रमिथससित महलाई तुलना गरेर । आफ्नो मन्तव्यलाई छोट्याउनु भयो ।  

मदनका छोरा यमन र छोरी सरानाले पनि धोको फेरेरै गीत गाउनुभयो । आफ्ना पिताले जीवनभर ठुला दुःखले आर्ज्यालाई प्रतिष्ठालाई उत्तिकै सम्मानका साथ प्रस्तुत गर्नुभयो ।
कार्यक्रम अनाकर्षक भएको भए लामो भनेर निन्दा गर्न पनि सकिन्थ्यो तर आकर्षक भएका कारण छोटो भयो । सबैले प्रसन्नता व्यक्त गरे । सबै हाँसे । सबै रमाए । मदनकृष्णले कार्यक्रमको सम्पूर्ण चाँजोपाँजो मिलाउने टङ्क आचार्यलाई धन्यवाद दिँदै भन्नुभयो 'यो मान्छे त बोल्यो कि पोल्यो पो रहेछ ।'

अन्तिममा पालो आयो ‘सय थरी बाजा एउटै ताल’को दर्शकले पनि त्यही तालमा आफ्नो ताल मिलाए । उद्‍घोषकले 'अब यो कार्यक्रम यहीँ सकिन्छ'  भनेपछि कार्यक्रम सकियो ।