साहित्य : मानवीय संवेदना विद्युतीय माध्यममा अझ विभिन्न उपायबाट प्रकट भइरहन्छन्

फर्कलान् र ती दिनहरु

साहित्य : मानवीय संवेदना विद्युतीय माध्यममा अझ विभिन्न उपायबाट प्रकट भइरहन्छन्

हरिविनोद अधिकारी  |  साहित्य  |  आश्विन २७, २०८०

साहित्य र जीवन । साहित्य भनेको भावनाको पुञ्ज हो । साहित्यलाई कसरी परिभाषित गर्ने भन्ने पनि विवाद नै छ र पनि हामीले शब्दकोशहरुमार्फत् त्यसको अर्थ लगाउन सक्छौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको प्रज्ञा नेपाली बृहत् शब्दकोशको अनलाइन संस्करणमा हेर्दा लेखिएको छ :

साहित्य
१.इतिहास, पुराण, पुराकथा वा समाज आदिबाट उपजीव्य वस्तु लिएर रस, छन्द। अलङ्कार आदिले सजाई रचिएका गद्य वा पद्य कृति ।
२. कुनै देश वा जातिको व्यावहारिक वा भावनात्मक विषयसम्बन्धी ग्रन्थ , लेख आदि । वाङ्मय । 
३.गद्य वा पद्य कृतिहरूबाट हुने रसको आस्वाद । 
४. जीवन जगत्सँग सम्बद्ध विविध विषयमा सौन्दर्य, रूप , गुण , भावुकता आदिका दृष्टिले अभिव्यक्त हुने पद्यमय वा गद्यमय रचना (कविता, खण्डकाव्य, नाटक, कथा , उपन्यास आदि) । 
५.परस्पर सापेक्ष पदको एउटै क्रियामा हुने अन्वय । 
६.सहित हुनुको पन, गुण वा अवस्था । साथ रहेको स्थिति ।

प्राध्यापक नीलमणि ढुङ्गानाले तयार गर्नु भएको व्युत्पत्तिमूलक संस्कृत - नेपाली शब्दकोशमा साहित्यलाई यसरी अर्थ्याइएको छ :

साहित्यम्-शब्द र अर्थको सहभाव । यसको क्षेत्र अत्यन्त व्यापक छ । साहित्यलाई वाङ्मयको अर्थमा पनि प्रयोग गरिएको छ । संस्कृत वाङ्मयमा साहित्यको परिभाषा गर्ने प्रथम व्यक्ति कुन्तक हुन् । साहित्यमनयोः शोभाशालितां प्रति काप्यसौ । अन्यूनानतिरिक्तत्वमनोहारिण्यवस्थितिः । (कुन्तक)

राज शेखरले साहित्यलाई पन्ध्रौं विद्याको रुपमा लिएका छन् । पाश्चात्य काव्य शास्त्रमा साहित्यलाई दुई भागमा बाँडिएको छ - सामान्य साहित्य र विशेष साहित्य । सामान्य साहित्यभित्र सम्पूर्ण वाङ्मय आउँछ भने विशेष साहित्यभित्र काव्य कलाहरू पर्दछन् । साहित्यका प्रमुख अर्थ- १. एकसाथ रहनु, २. कुनै पनि भाषामा निबद्ध शास्त्रीय ग्रन्थ ३.श्रव्य तथा दृश्यकाव्य ४.शब्द र अर्थको प्रतिस्पर्धात्मक सौन्दर्यले परिपूर्ण रचना विशेष । 

साहित्यकार - १ काव्य, नाटक आदि साहित्यका रचयिता । २. वेद , उपनिषद् धर्मशास्त्र, पुराण , दर्शन, विज्ञान आदि विविध विषयसँग सम्बद्ध वाङ्मयका श्रष्टा । 

यसरी साहित्यले जीवनलाई प्रत्यक्षरुपमा प्रतिनिधित्व गर्ने रचना भन्ने बुझ्नु पर्ने रहेछ । जीवनको परिभाषा त यहाँ यस कारणले दिइएको छैन कि मानिसहरु र प्राणी र वनस्पति तथा स्थावर जंगम सबैको एउटा निश्चित समय हुन्छ जसलाई जीवनको रुपमा मानिएको छ। ब्रह्माण्डमा कोही पनि , केही पनि अमर छैन, झन हामी बसेको मृत्युलोकमा त आउनु र बाँच्नु या अस्तित्व रहनु जीवन हो भने त्यसको क्षयीकरण भएर भौतिकरुपमा निमिट्यान्न हुनुलाई मृत्यु भनिएको छ ।

अन्य अर्थ पनि होलान् तर मेरो विचारमा जसलाई मेरो शरीर जाँदैछ भन्ने याद छ, उसैका लागि जीवनको पनि अर्थ हुन्छ र अरुको जीवनका पनि अर्थ हुन्छ । अहिले संसारभर यो ब्रह्माण्डको क्षयीकरणको चिन्ता छ किनभने त्यसले हाम्रो जीवनयापनमा प्रत्यक्ष सकारात्मक या नकारात्मक प्रभाव पारेको हुन्छ । साहित्य यसरी बाँच्ने मानव जातिका लागि भावनfको प्रस्फुटन गर्ने माध्यमका रुपमा व्यक्त गरिएका कुरालाई मान्ने चलन आएको छ । 

 ती आदि मानववेत्ता, मनोवेत्ता तथा मनीषीहरुलाई साधुवाद दिनैपर्छ जसले जीवनलाई अनेक भाव भंगिमामा विभाजन गरेर साहित्यलाई जीवनसँग जोडेर अत्यावश्यक आधार बनाए । र पौरस्त्य साहित्यले नै मानवीय भावनाको प्रतिनिधित्व गरेको थियो । 

आज पूर्व र पश्चिमको बिचमा खासै विभाजन यस कारणले रहेन कि मानवीय भावनाको उच्छवासको जुनसुकै स्वरुप पनि साहित्यका रुपमा गणना हुन थालेको पाइन्छ । मनका भावना, जीवनमा देखिएका अप्ठ्यारा , सजिला र सम्भावित सबै कुराहरुको पुञ्जलाई साहित्यको रुपमा गणना गर्न थालिएको छ । शास्त्रीय मान्यतामा टेकेर नयाँ नयाँ सिद्धान्तहरू देखिएका छन् र सबै सिद्धान्तको एउटै लक्ष्य देखिन्छ, जसरी हुन्छ मानवीय मनलाई स्वच्छन्दता दिने र उसका भावनाहरूको सम्मान गर्ने । झन अहिलेको विद्युतीय माध्यमबाट सम्प्रेषण गर्ने स्वतन्त्रता प्राप्त भएपछि साहित्यको सीमाले पनि व्यापकता पाएको छ र आजको मनका भावहरू  विभिन्न उपायबाट प्रकट भइरहेको पाइन्छ ।

साहित्यको रचना पनि त्यस्तै रहेछ , किनभने म पनि बेलामौकामा लेख, कविता, कथा, लघुकथा र अनुवाद मार्फत् केही भावना सम्प्रेषित गरिरहेको हुन्छु । अनवरत । निरन्तर । ती सबै साहित्य नहोलान् तर जीवनलाई प्रतिनिधित्व भने तिनले गरिरहेका हुन्छन् , र अरुका रचनाले पनि त्यस्तै जीवनलाई प्रतिनिधित्व गरिरहेका हुन्छन् चाहे ती अन्तरिक्षका बारेमा गरिएका अतिशय कल्पनामा आधारित हुन् ।

अब कुन सृजना साहित्य हो या होइन भन्ने सीमाङ्कन पानीमा लौराले खिचिएको रेखा जस्तै बनेको छ । जुनसुकै भावनालाई पनि चित्तले खानु पर्छ र त्यसको कतै न कतै प्रभाव होला भन्ने सम्झनु पर्छ ।  हामीले जे कल्पना गर्छौँ, ती सबै मनमा कसैले कुनै बेलामा भनेका या आफूले कुनै बेलामा कल्पना गरिएका मनका भावहरू नै हुनुपर्छ भन्ने मान्यता राखिएको हुन्छ । 

कल्पनामा जब कुनै कुरा आउँछ , तत्काल लिपिबद्ध गर्न सक्नुपर्छ ,नत्र सपनामा देखिएको सबै दृश्य साँच्चै जस्तो लाग्छ सपनाभरि, त्यसको प्रमाण पनि हुन्छ सपनामा तर ब्यूँझिँदा भने कति स्वतः विपनामा केही पनि होइन भन्ने आफैँलाई थाहा हुन्छ तर कतिपय कल्पनाले धेरै समयसम्म झकझकाई रहन्छ । साहित्यको रचना पनि त्यस्तै रहेछ , किनभने म पनि बेलामौकामा लेख, कविता, कथा, लघुकथा र अनुवाद मार्फत् केही भावना सम्प्रेषित गरिरहेको हुन्छु । अनवरत । निरन्तर । ती सबै साहित्य नहोलान् तर जीवनलाई प्रतिनिधित्व भने तिनले गरिरहेका हुन्छन् , र अरुका रचनाले पनि त्यस्तै जीवनलाई प्रतिनिधित्व गरिरहेका हुन्छन् चाहे ती अन्तरिक्षका बारेमा गरिएका अतिशय कल्पनामा आधारित हुन् । पूर्व जन्मका बारेमा या पुनर्जन्मका बारेमा या अन्य जन्तु जनावर या वनस्पति या जड पदार्थका बारेमा गरिएका अनुमानहरू किन नहुन् ।

आखिर जुनसुकै रचनाले पनि मानवीय संवेदनालाई नै प्रतिनिधित्व गरेका हुन्छन् । रामायणले , महाभारतले या अन्य पश्चिमा रचनाले या पूर्वीय रचनाले । या भोलि रचिने रचनाले समेत । जीवनका बारेमा, जगतका बारेमा रचना गरिन्छ नै । 

मेरा केही कविता यहाँ म पस्किने धृष्टता गर्नेछु, कति प्रकाशित होलान् या कति अप्रकाशित होलान् । कति जीवन र जगत्लाई प्रतिनिधित्व गर्लान् या मेरा मनका रचनाले मैलाई मात्र सन्तुष्टि दिए होलान् रचना गर्दा । मलाई ती रचना गर्भका कुरा अब कहाँ सम्झना हुन्छ र ? जस्तै कि सपनाका सबै पृष्ठभूमिहरू कहाँ सम्झनामा आउँछन् र तत्काल कै विपनामा पनि । 

जीवन चक्रपथ 
२०७७.५.१०(२६ अगस्ट २०२०)
१.बाटुलो  समय पनि छ
समय चेप्टो पनि हुन्छ
तर घुमी घुमी एकै ठाउँमा
आउने एउटा चक्रपथ छ ।

२.घुमीफिरी रुम्जाटार भन्थे
रुम्जाटार त ओखलढुङ्गामा छ
तर यो उखान नेपालभर 
दोहोरिन्छ उही ठाउँमा आउँदा ।

३. नेपालीहरु जहाँ जहाँ छन् 
त्यहाँ रुम्जाटार पुगेकै छ
चक्रपथको बिम्बमा घुस्रेर
चक्रपथ एउटा घुमाउरो समय ।
 
४. गन्तव्य कसरी निर्धारण हुन्छ र ?
समयले सधैँ पखेटा हाल्छ नि त,
एउटै समय हुन्छ तर विभाजित
मनस्थितिसँगै घुमी घुमी ।

५. वादल मुनिको साम्राज्य
अनि पातालमाथिको असीमित राज्य
घुमी घुमी एउटै जीवनको
परिधिभित्रै बारम्बार घुमिरहेको छ ।

६.न घाम छ, न पानी छ
न खुसी छ , न दुःख छ
सबैतिर निराकार छ 
आकारसँगै निराकारको चक्रपथ छ ।

७.जीवनको परिधि एउटा चक्रपथ
परिधिभित्र एउटा दैनिकी जीवन
जीवनको परिधिभित्र नयाँ दैनिकी
बारम्बार दोहोरिन्छ एउटा परिधि ।

८. व्योम पथसँगै जीवनको परिधि
खगोलसँगै भूगोलको नयाँ परिधि
भूस्वर्गसँगै जीवनको परिधि मापन
चाहिएन त्यस्तो झुठो जीवन ।

९. सीमितता भित्र असीमितताको परिधि
व्यष्टिसँग समष्टिको परिधिभित्र
एउटा जीवनको चक्रपथ 
बारम्बार दोहोरिने तर नयाँ परिवर्तन ।

१०.जहाँ जे सम्भव छ त्यो मात्र
अपेक्षित हुन्छ व्यवहारमा, तर
महत्वाकांक्षा को चक्रपथभित्र 
असम्भव के छ र ?

११.जीवनको चक्रपथमा 
सम्यक परिधिभित्र , तर 
आइरहने व्यवधानसँगै 
खुम्चिएको वर्तमान । 

१२. महिना र वार उस्तै छन्
प्रकृतिका सम्पूर्ण व्यवहारहरू
आफैँमा चक्रपथको परिधिभित्रै 
बाँधिएका छन् सौर्य कक्षको सीमानामा । 

मेरो स्वर्ग
२०७६.८.२६

मलाई स्वर्ग हेर्नु परेको छैन 
किनभने नमरी स्वर्ग देखिँदैन
मलाई जहाँ जन्म्यो त्यही नै 
जिउँदैमा देखिएको स्वर्ग भएको छ
मेरा सबै यतै छन् 
जो हुनुहुन्न ती अब कता पो भेटिनु होला र ?
र पनि स्वर्गको आशामा 
परलोकको मीठो आशामा बाँचेका हामी
स्वर्ग मेरो यहाँ नै छ
म अनि मेरो पहिचान सायद 
स्वर्गमा नहोला । रीस र रागको अलाप ।
लोभ नहोला, लाज नहोला, जायजन्म नहोला
नाता गोता नहोला, नहोला आस्था र भरोसा
त्यसैले कल्पित स्वर्गभन्दा मेरो आदर्शको मृत्यु लोक नै 
मेरो स्वर्ग हो वास्तविक स्वर्ग यदि छ भने पनि
मेरो यही जन्मभूमि नै वास्तविक स्वर्ग हो
मेरो यही पृथ्वी नै वास्तविक स्वर्ग हो 
कल्पनाको स्वर्ग , सुनको स्वर्गभन्दा
यही स्वर्ग नै मेरो प्यारो स्वर्ग हो 
यहीँ मेरा सबै छन् मेरा मानसिक कमाइका
परिणामहरूको स्पष्ट रेखाङ्कन छ
मेरो प्यारो यही धर्तीका फाँटहरूमा
हिमाली पहाड र समथरहरुमा
र मेरा मन र मस्तिष्कका डोबहरुमा
मेरो स्वर्ग यहीँ छ मेरो मनमा
मेरो स्वर्गको सबै  सुविधा यहीँ छ अमृतमा
मेरो परिश्रमको पसिनामा अमृत फलेको छ
मेरो आत्मिक स्वर्गमा । मेरो प्यारो माटोमा । 
मेरो प्यारो धर्ती नै मेरो स्वर्ग बनेको छ यहीँ निर्विकल्प । 

कल्पनामा तत्काल जे आयो , त्यही लेखिन्छ । योजनाबद्ध लेखिँदा पनि आखिर तिनै शब्दहरुको खेल हो, शब्द ब्रम्ह हो, त्यसले रुवाउँछ, हँसाउँछ, संवेदनाको नयाँ भुमरीमा पुर्‍याउँछ र एउटा जीवनको पाटो खोल्छ । सायद साहित्यले दिने पनि जीवनको बाटो हो जसले जसरी बुझेको हुन्छ , त्यसैगरी प्रस्तुत भएको हुन्छ । क्रमशः