४० वर्ष अघि भेटेकी पात्रको कल्पना गरेर लेखको कथाकी' पात्र' सँगको साक्षात्कार !

फर्कलान् र ती दिनहरु

४० वर्ष अघि भेटेकी पात्रको कल्पना गरेर लेखको  कथाकी' पात्र' सँगको साक्षात्कार !

हरिविनोद अधिकारी  |  साहित्य  |  कार्तिक ४, २०८०

साहित्य सृजनशील कर्म हो । विचारको पुञ्जबाट फुत्त फुत्त निकालेर आफैँलाई आफैसँग सोधपुछ गर्दै गरिने मौन सम्बाद पनि हो साहित्य सृजना । कस्तो रचना साहित्य हो वा हुन्छ भन्ने मानक त्यस्तो के पो होला र ? विभिन्न विद्वानहरुले साहित्य हुनका लागि रचनाका के कस्ता आधारहरु हुनुपर्ने भनेर किटानी त गरेका होलान् तर मानवीय धारणाको सहज र सरल सृजना वा रचनाले ती सीमाहरूलाई भत्काएर सीमा विहीन विचारको सम्प्रेषण भनेर साहित्यलाई व्याख्या गर्न थालिएको छ । 

सबैभन्दा ठुलो साहित्य भनेको आफैँमा गरिने मौन सम्वादमा रचिने गरिन्छ । विचार एक्लै एक्लै आउने गर्छ । एक्लै एक्लै हिँड्दा, बस्दा या अनेक कुराहरु मनमा खेल्दा त्यस्ता विचारहरु पनि आउँछन् जसलाई समाजले सीमा बाँधेर सोच्न पनि दिएको हुँदैन । मनले ती सबै सीमा भत्काएका हुन्छन् तर हामीले बनाएका कृत्रिम बन्धनहरूले हाम्रा विचारहरूलाई स्वच्छन्द हुन दिएका हुँदैनन् । त्यसो त साहित्यले अनेक कल्पना गरेको हुन्छ । भनिन्छ, साहित्यमा बादसाह पनि नाङ्गो हुन्छ । डेनमार्कका कथाकार ह्यान्स एन्डर्सनले द एम्परर्स न्यु क्लथ अर्थात् बादसाहको नयाँ लुगा भन्ने कथामा नाङ्गो बादसाहको कल्पना गरेका छन् र एउटा अबोध बालकले बाबुको काँधबाट बिस्तारै भन्छ- ए बा, बादसाह त नाङ्गै होइन र भन्या ? नभन्दै राजा जुलाहाहरुको सर्त बमोजिम नदेखिने लुगा लगाएर (नाङ्गै)आफ्नो रथमा सबार थिए । कसैले नदेख्ने लुगामा सजिएका राजा साँच्चै नाङ्गै थिए तर जुलाहाहरुको सर्त थियो,जसले उनीहरुले बुनेको लुगा देख्दैन, त्यो फटाहा, लुच्चो र दुई बाबुको बच्चा हुनुपर्छ । संसारमा कसैले पनि आफूलाई अयोग्य मान्न तयार छैन भन्ने मनोविज्ञानलाई कथाका जुलाहाहरुले समाएका हुन्छन् र राजासँग भएका सुन, चाँदी , जवाहरात सबैको मिश्रित लुगा बन्छ तर जसले देख्दैन ऊ अयोग्य हुने छ ।

तर साँच्चै लुगा  बुनिएको हुँदैन । त्यो कुरा अरुले भन्न सक्दैनन् किनभने सबैलाई समाजको स्वीकारोक्ति चाहिन्छ । अबोध बच्चाहरूमा त्यो मोह हुँदैन, त्यो भय पनि हुँदैन र जे देख्छन्, त्यही भन्छन् भन्ने कथाको सार हो । अहिले पनि त्यो कथा संसार प्रसिद्ध छ । अरु पनि कति कथाहरु होलान् , कति कविताहरु होलान् या अन्य रचनाहरू होलान् जसले प्रसिद्धि कमाएका छन् । करोडौँ मानिसहरुले पढेर मन पराएका मात्र रचना साहित्य हुँदैनन् , साहित्य त मुटुको प्रत्येक धडकनबाट निस्किएका प्रत्येक आवाजहरू जुन शब्दमा बाहिर सार्वजनिक भएका हुन्छन् । 

साहित्यको अर्को एउटा पाटो हुने रहेछ, नयाँ नयाँ स्वाद पस्कने र नयाँ नयाँ जानकारी दिने जसले सूचना दिने गर्छन् । कहिले जानकारी मार्फत् चेतनाको प्रवाह गरिने हुन्छ । कहिले चेतनाको प्रवाहका लागि पनि साहित्यको प्रभावकारी धारलाई सशक्त रुपमा प्रयोगमा ल्याइन्छ । यसमा रचना गर्भको इतिहासभन्दा पनि , रचनाकारको जानकारी भन्दा पनि त्यसले दिने सन्देशले शक्तिशाली प्रभावले पुष्टि गर्ने हुन्छ । 

मलाई लाग्छ, प्रत्येक रचनाका लागि एउटा कारण हुन्छ, व्यक्त-अव्यक्त । ती व्यक्त कारण देखिन्छन् र पात्रहरु पनि आँखा अघिल्तिर नै झल्झली आउँछन् , तिनले यथार्थवादी रचनाको काम गर्छन् । ती कहिले भूगोलसँग सम्बन्धित हुन्छन् , ती कहिले इतिहाससँग सम्बन्धित हुन्छन् र कहिले अमर साँस्कृतिक सम्पदासँग सम्बन्धित हुन्छन् । यहाँ रचनाकारले उद्देश्यमूलक तरिकाले जानकारी यति सशक्त रुपमा प्रस्तुत गरेको पाइन्छ कि त्यहाँ कसले रचना गरेको हो भन्दा यो रचनाले दिएको सन्देशले पुर्‍याएको मद्दतको महत्व हुन्छ । 

मैले २०२३-२४देखि रचना गर्न थाले पनि पछि २०२५—२६सालमा विद्यालय स्तरमा कविता लेखेर पढियो तर ती कतै हराए किनभने तिनको संग्रह भोलि आवश्यक पर्ला भन्ने पनि भएन । जति लेखिए, त्यति नै कतै हराए । तर पनि कहिले सानो कथा, लामो कथा, कविता र समसामयिक लेखहरु लेखियो । शिक्षण र पत्रकारितालाई महत्वपूर्ण पेसाको रुपमा समानान्तर रुपमा लिएर हिँड्दा लेखिने कति  सामग्री छापिए तर समयक्रममा पानीको फोका जस्तै बिलाए। तर प्रत्येक रचना, चाहे त्यो कथा, कविता या समसामयिक लेख हुन् , सबैको पात्र एउटा हुन्छ मूर्त या अमूर्त रुपमा ।

सैलाई अपरेसनका लागि तयारी गर्नु छ भने उनले सबै कुरा सम्झाएर भन्थिन् र ओखतीहरूको व्यवस्था गर्नका लागि अस्पतालको सेवा गृहबाट आवश्यक सामग्री लिएर आउँथिन् र भन्थिन् औ -कसैले सोधे भने भन्नु है , किनेर ल्याएको । उनलाई थाहा थियो अस्पतालमा किन हो भएको ओखतीको प्रयोग गर्दैनन् र सरकारी अस्पतालका लागि आएको करोडौँ रुपैयाँको सामान कति त बिग्रेर जान्छन् , कति त समय गुज्रेर फाल्नुपर्छ र कति त चोरिन्छन् र बाहिर बेचिन्छन् । उनी कडा थिइन् र स्टोरमा गएर बिरामीका लागि आवश्यक सामग्री छ भने किन्न लगाउँदिन थिइन् । 

मानवीय मनोविज्ञानलाई जति खोतले पनि खोतल्न सकिँदैन । तर प्रत्येक रचनाले खोतल्ने कोसिस भने गरेको हुन्छ । प्रत्येक व्यक्ति आफैँमा अपूर्ण भए पनि तर आफैँमा पूर्ण एकाइ हो । फरक फरक धारणा, स्वभाव, क्षमता विद्यमान रहेको हुन्छ । मैले पनि केही कथाहरु त्यस्तै धारणामा लेखेको छु । कति छोटा कथाहरु मधुपर्क मासिकमा छापिएका छन् । तर दुई वर्ष अघि एउटा कथा अश्रु  सिन्धुलीयको नाममा हरेक पल र ग्लोब नेपालमा छापिए भनौं या सम्प्रेषित भयो सिस्टर लता लामिछाने । वास्तवमा त्यो कथा मानवीय मूल्यको सम्झना स्वरुप लेखिएको थियो धेरै सत्य र केही कल्पनामा । 

सिस्टर लता लामिछाने 
अश्रु सिन्धुलीय
२०७८.४.२ शनिवार  

१.यो कथा केही सत्य हो र केही काल्पनिक पनि हो । जस्तो कि कथाकी पात्रको नाम नै काल्पनिक हो तर कतिपय घटना भने सत्य घटनामा आधारित छन् ।  सामान्यतः यसो भन्ने गरिन्छ । 

२. आजभन्दा ठिक ४० वर्ष अघिको सम्झना हो जुन बेलामा विरामीहरुको सिधै पहुँच हुन्थ्यो अस्पतालमा र विरामीहरुलाई विना पक्षपात भर्ना गरिन्थ्यो । तर डाक्टरसँगको चिनापर्चीले यसै पनि काम गर्थ्यो नै । त्यो बेलामा पनि लाग्थ्यो स्वास्थ्यको खर्च महङ्गो नै छ तर अहिलेजस्तो बेथितिको थिएन भन्ने गर्छन् भुक्त भोगीहरु । तर स्वास्थ्यको अवस्था अहिले भन्दा सरल थियो जस्तो लाग्छ । ३. मैले सम्झना गर्न लागेको सिस्टर लताका वारेमा हो । सिस्टर लता लामिछाने । यो नाम कतै मिलेमा संयोगमात्र मान्नुहोला । तर मैले सम्झेसम्म उनको नाम सिस्टर लता नै थियो । अहिले ती सिस्टर पनि आफ्नो औपचारिक पेसाबाट निवृत्त भइ होलिन् पक्कै तर मलाई अहिले पनि उनको त्यही अनुहार, त्यही उमेर नै झल्झली यादमा आउँछ । 

४. उनी महिलाको शल्य चिकित्सा सेवा कक्ष अर्थात् फिमेल सर्जिकल वार्ड कोठामा थिइन् र महिलाहरुका कुरुवा पुरुष पनि हुन्थे धेरैजसो । मुस्किल के पनि पर्ने रहेछ भने एउटी विरामीको लुगा परिवर्तन गर्नुपर्दा, उनलाई यदि बेडमा नै शौच गराउनु पर्दा पुरुषहरुलाई बारम्बार बाहिर जानका लागि भन्नै पर्ने । धेरै सिस्टरहरु झर्को फर्को गरेर कराउँथे र भन्थे- कस्ता लोग्नेमान्छे हुन् भनेको, अर्की स्वास्नी मान्छेका लुगा फेर्ने बेला भएको छ, दिसा पिसाब गराउने बेला भएको छ, थाहा नपाएजस्तो गरेर बस्छन् बा । तर सिस्टर लताले भने त्यो समस्याको समाधान बडो कूटनीतिक पाराले गर्थिन् र भन्थिन् -कृपया एकछिनलाई यसो बाहिर गइदिनुहोस् न है । अनि तपाईँको बिरामीलाई कुनै समस्या आइहाल्यो भने मै सेवा गरिदिन्छु नि, हुन्न र ? किनभने बाहिर जान नमान्ने कारण हुन्थ्यो बिरामीको हेरचाह गर्नुपर्ने अनि कुनै काममा बाहिर गएको रहेछ कुरुवा भने पनि ऊ आउने बेलासम्ममा कराउँदै , फत्फताउँदै बस्थे अरु सिस्टरहरु तर हामी कुरुवाका लागि भने लता सिस्टर सधैँ बसिरहून् आफ्नो ड्युटीमा भन्ने लाग्थ्यो ।

अरु त अरु हामी नभएको बेलामा डाक्टर आएर राउन्डमा कुनै ओखती लेखेका रहेछन् भने पनि उनले या त सञ्चित ओखतीबाट दिन्थिन् या बाहिरबाट किन्न लगाएर बिलसमेत राखिदिन्थिन् बेडमा , जुन हामी पछि आएपछि भुक्तानी गथ्यौँ ।  उनी हुनु भनेको त्यो फिमेल सर्जिकल वार्डमा सबै विरामीको अनुहार हँसिलो र हामी कुरुवाहरुका लागि काम छ भने बाहिर जानका लागि छुट थियो किनभने हामी सबैको काम उनी एक्लै भ्याउँथिन् । 

५.डाक्टरहरु पनि उनको सेवाबाट अत्यन्त खुसी थिए । हाम्रा बिरामीहरु पनि उनको अनुहार देखेपछि खुसी हुन्थे र हामी कुरुवाहरूले पनि कम्तीमा पनि गाली खानु पर्दैन थियो किनभने उनले सम्झाउँदा कोही पनि निहुँ खोजेर वार्डमा बस्दैन थियो । कसैलाई अपरेसनका लागि तयारी गर्नु छ भने उनले सबै कुरा सम्झाएर भन्थिन् र ओखतीहरूको व्यवस्था गर्नका लागि अस्पतालको सेवा गृहबाट आवश्यक सामग्री लिएर आउँथिन् र भन्थिन् औ -कसैले सोधे भने भन्नु है , किनेर ल्याएको । उनलाई थाहा थियो अस्पतालमा किन हो भएको ओखतीको प्रयोग गर्दैनन् र सरकारी अस्पतालका लागि आएको करोडौँ रुपैयाँको सामान कति त बिग्रेर जान्छन् , कति त समय गुज्रेर फाल्नुपर्छ र कति त चोरिन्छन् र बाहिर बेचिन्छन् । उनी कडा थिइन् र स्टोरमा गएर बिरामीका लागि आवश्यक सामग्री छ भने किन्न लगाउँदिन थिइन् । 

६. मैले एकदिन सोधेँ—भन्न मिल्छ भने भन्नुस् न, तपाईँको घर कहाँ हो ? कति वर्षकी हुनुभयो ? कति पढ्नु भएको छ ? यसप्रकारको सेवा भाव कसरी तपाईँमा आयो ? अरु त सिस्टरहरु तपाईँजस्तै सेवाभाव राख्दैनन् । 

७. मलाई उनले सोझै तरिकाले जबाफ दिइन् -मेरो घर चितवन हो । पहिले हाम्रो घर लमजुङमा रहेछ तर म चितवनमा नै जन्मेकी हुँ । अहिले म २३ वर्षकी भएँ र अविवाहित नै छु । अनि यो पेसामा आउने विचारले मैले भरतपुरमा स्टाफ नर्सको कोर्स सिध्याएँ र यो अस्पतालमा काम पाएँ । नर्सिङ पेसामा लाग्ने हो भने सेवा भाव जरुरी छ, मानवीय संवेदनालाई आमाजस्तै भएर बुझ्नु जरुरी छ । अरु साथीहरुका वारेमा उहाँहरुलाई नै सोध्नुस् । हाँसेर दिएको जबाफ भए पनि कति मार्मिक थियो र कति स्पष्ट थियो । कतिसम्म भने अपरेसन कक्षमा हुँदा समेत उनले बिरामीका परिवारलाई ढाढस दिएर जान्थिन् र भन्थिन् -धेरै चिन्ता नगर्नुस् , तपाईँका भन्दा बढी चिन्ता हामीलाई हुन्छ बिरामीको किनभने तपाईँहरुले सम्पूर्ण विश्वास हामीमाथि राख्नुहुन्छ अनि हामी त्यो विश्वासको जगमा भगवानसँग प्रार्थना गछौं, हामी त निमित्त मात्रै हौँ । 

८. म त छक्क परेको थिएँ उनको जबाफबाट र दैनिक सेवा व्यवहारबाट । उनी अस्पतालको निवासमा नै बस्ने हुनाले कतिपय सिस्टरहरूको अप्ठेरो पर्दा उनी ओभर टाइमको कुनै वास्ता नगरी सेवामा हाजिर हुन्थिन् । डाक्टरहरु पनि उनको खोजी गर्थे किनभने वार्डका सबै विरामीको उनले रेकर्ड यसरी राखेकी हुन्थिन् कि बिरामीको फाइल नै हेर्नु पर्दैनथ्यो । 

९. राम्री पनि बिछट्टै की थिइन् , लुगा पनि कति सुहाएको हुन्थ्यो तर उनमा अरु जस्तो राम्री भएकीमा घमण्ड देखिँदैनथ्यो र सबैसँगको उनको व्यवहार लाग्थ्यो सबैसँग उनको परिचय पहिलेदेखिकै हो । 

१०. मलाई दिउँसो काममा जानु पथ्र्यो । उनको ड्युटीमा म निस्फिक्रीका साथ जान सक्थेँ । करिब १ महिनाजत्ति म अस्पतालमा बिरामीलाई लिएर बसेँ ।  अरु सिस्टरको समय तालिका भने कसैलाई वास्ता थिएन तर लता सिस्टरको कुन वार कति बजे आउने , कुन वार नाइट ड्युटी पर्छ , सामान्यतः बिरामी र कुरुवाहरूलाई थाहा थियो । हप्तामा शनिवार नाइट ड्युटी हुन्थ्यो अनि एकैचोटि सोमवारमात्र उनी आउँथिन् किनभने त्यो समय तालिका अहिले पनि मलाई सम्झेकै छु । 

११. अहिले कहाँ होलिन् लता सिस्टर, बिहे गरिन् कि गरिनन् ? बिहे गरेको भए उनका श्रीमान के गर्दै होलान् किनभने त्यो बेलाको उनको उमेरसँग अहिले गणना गर्दा उनी ६३ वर्षकी भइन् र उनको श्रीमान पनि त्यही उमेरको हाराहारी या बढी नै भएका होलान् । कुनै डाक्टरसँग बिहे गरिन् कि बाबुआमाले खोजेको केटासँग बिहे गरिन् कि ? मागी बिहे गरिन् कि प्रेम बिबाह गरिन् कि ? छोरा छोरी नाति नातिनी भए होलान् र उनका पनि जञ्जालले देशबाट बाहिरिए या देशमै छन् कि ? 

१२. यसपटकको कोरोना कहरमा नर्स , डाक्टर, प्रहरी, सेनाहरूले गरेको सेवा भावले मलाई उनलाई सम्झिन बाध्य पारेको हो कि जस्तो लाग्छ । मेरी श्रीमतीलाई त्यहाँबाट डिस्चार्ज गरे पछि फेरि म त्यो अस्पतालको सर्जिकल फिमेल वार्डमा गइँन । मलाई अहिले पनि ती लता सिस्टर त्यहीँ सफा सेतो इन्द्र कमल जस्तो ड्रेसमा निलो बेल्ट लगाएर , कपालमा कलम घुसारेर, आवश्यक पर्ने सामग्रीहरुको जोहो गर्ने जाँगर भएकी ती साक्षात्  देवीको कल्पना आउँछ । मैले के पनि देखिन भने त्यो उमेर उनमा कुनै उत्ताउलो पन पनि थिएन र कुनै घमण्ड पनि थिएन । सायद समय मिलाएर पद्मकन्या क्याम्पसमा पढ्दै पनि थिइन् कि ? उनका हातमा कुनै न कुनै किताब हुन्थ्यो साहित्यको तर पढ्न फुर्सद त तिनलाई कहाँ हुन्थ्यो र ? 

१३. म अहिलेको उनको अनुहार कस्तो भयो होला भनेर कल्पना गर्छु । कपाल सेतै फुल्यो होला, गालामा चाउरी परेको होला, तर उनको अनुहारमा त्यो चमक पक्कै होला स्वाभिमानको र सेवाको सन्तुष्टभावको । तर म उस्तै लता सिस्टरमात्र सम्झन्छु  जसलाई ४० वर्ष अघि अस्पतालको फिमेल सर्जिकल वार्डमा देखेको थिएँ । अनि  उनलाई हजारौँ बिरामी र हजारौ कुरुवाले दिएको आशीर्वादले पक्कै पनि जीवन सहजताका साथ चलेको होला । सन्तानको राम्रै अवस्था होला या के भएको होला ? यदि तपाईँले चिन्नु भएको छ भने  मलाई एकपटक ती सेवा मुर्तिको दर्शन गर्नु छ जसले मलाई अहिलेसम्म एउटा सकारात्मक प्रभाव छोडेको छ परिचारिकाहरुको सेवाको । पक्कै पनि यो कोरोना कहरमा उनले निःशर्त सेवा गरि होलिन् संक्रमितहरुको र उनलाई पक्कै पनि कोरोनाले छोएको छैन होला भन्ने अपेक्षा गरेको छु ।

यो कथा ग्लोब नेपालको अनलाइनमा झन्डै १८हजार पाठकहरुले सेयर गरेका रहेछन् । मेरो साहित्यिक नाम थाहा पाएको मेरो साथी रामचन्द्र आचार्य (चितवन, गीता नगर)ले पढेछन् र सोचेछन् , पक्कै यो कथा सत्य कथा पो हो कि ? भन्दै मलाई  फोन गरेर भने - साथी , यो तिम्रो कथा सत्य कथामा आधारित हो ? मैले भनेँ - कथाको भूमिकामा नै मैले भनेको छु, अलिकति सत्य, अलिकति कल्पनमा आधारित हो । तर वास्तवमा त्यो कथा साँच्चै घटनामा आधारित थियो जुन बेलामा म आफ्नी पत्नीलाई अपरेसन गर्नुभन्दा पहिले र अपरेसन गरिसके पछिको अनुभवका आधारमा लेखेको थिएँ । मैले साथीलाई भनेँ -सक्छौ मेरो पात्र फेला पार्न ? उनले एकछिन घोरिएर भने , म कोसिस गर्छु है त उनी नै हो कि अरु नै हुन् तिम्रो पात्र । नभन्दै  पात्र फेला पर्नुभयो । कुरा पनि भयो ।  यो अचम्मको संयोग थियो । उनले मलाई सम्झने कुरै थिएन, मैले पनि ४० वर्ष अघिको त्यो बेलाको कल्पना गरेर, सम्झेर लेखेको हुँ । तर कथाको पात्र फेला परेकै हो र उनले कथा पढेर आफ्नो प्रतिक्रिया यसरी व्यक्त गरिन्- सकेसम्म आफूले गरेको काममा खोट नहोस् भनेर सेवा गरेँ, अहिले मलाई सन्तुष्टि छ आफूले गरेको स्वास्थ्य सेवाका लागि ! क्रमशः