सर्जकद्वारा कृति,विचार र वाणीमा शब्दको लेपन: मारेका शब्दको पुनरुत्पादनले विचारको अमरत्व

फर्कलान् र ती दिनहरु-१८४

सर्जकद्वारा कृति,विचार र वाणीमा शब्दको लेपन: मारेका शब्दको पुनरुत्पादनले विचारको अमरत्व

हरिविनोद अधिकारी  |  साहित्य  |  कार्तिक ११, २०८०

कुरो साहित्यको नै हो । साहित्यका बारेमा धेरै धारणा होलान् तर बीपी कोइरालाको जीवनमा एक पटक मात्र साहित्यकारको रुपमा नेपालमा अभिनन्दन गरेको थियो साहित्यिक पत्रकार  संघले। त्यो बेलामा सापसंका अध्यक्ष हुनुहुन्थ्यो ऋषितुल्य अनुसन्धाता अच्युतरमण अधिकारी, उपाध्यक्षमा हुनुहुन्थ्यो हक्की साहित्यकार हरि अधिकारी जस्तो लाग्छ

उहाँहरुले बीपीलाई मनाउनु भयो अभिनन्दनका लागि । बीपीले आफ्नो पोडियमकै  अघिल्तिर बसिरहनु भएका जनार्दन समलाई देखाएर भन्नुभयो- साथीहरु म भन्दा ठुला साहित्यकार हुँदाहुँदै मलाई अभिनन्दन गरिनु पर्ने थिएन, जस्तो मेरै अघिल्तिर कवि, गीतकार तथा गायक जनार्दन सम हुनुहुन्छ । (त्यसबेला जनार्दन सम पिता बालकृष्ण समको बरखीमा हुनुहुन्थ्यो र सेता लुगामा हुनुहुन्थ्यो । बालकृष्ण समको निधन भइसकेको थियो ।) अनि बीपीले त्यहीँ भन्नु भएको हो-साहित्य कति शक्तिशाली माध्यम हो भने साहित्यमा बादशाह पनि नाङ्गो हुन्छ । (बीपीको संकेत थियो डेनमार्कका साहित्यकार ह्यान्स एन्डर्सनको एम्परर्स न्यु क्लथ भन्ने कथाप्रति जुन कथामा राजा आफ्ना कुण्ठा र ठगको जालोमा परेर लुगा लगाएको भान पार्दै नाङ्गै सडकको समारोहमा निस्कन्छन् र एउटा बच्चाले उसको बाबुको काँधबाट बादशाहलाई हेर्न थाल्छ र भन्छ, खोइ त बादशाह ? अनि उसको बाबुले त्यो रथमा छन् नि तिनै हुन् ,तर बाबु बादसाह नाङ्गै छन् भन्न  सक्दैन तर बच्चाले भन्छ , ए बा उनी त्यही नाङ्गै उभिने मान्छे हुन् त ? अनि चारैतिर फुसफुसको रुपमा मौनताका साथ कोकोहोलो भयो कि बादसाह नाङ्गै छन् है भनेर र पछि उनलाई थाहा भयो उनी साँच्चै नाङ्गै छन् )। साहित्य साँच्चै प्रभावशाली पनि हुन्छ जुनबेला त्यसले जीवनको भित्री तह विश्लेषण गर्छ र मानिसलाई बाँच्ने र भोलिका लागि अमर हुने प्रेरणा दिन्छ । 

यसो त मनोरञ्जनका लागि पनि साहित्य सृजना हुन्छ जस्तै संगीत पनि एउटा अत्यन्त प्रभावशाली दिल छुने साहित्य हो जसमा कविताले गीतको लय समात्छ र जीवन बोल्न थाल्छ । आखिर गीत लयका लागि मात्र गाइँदैन, लयका लागि मात्र सुनिँदैन र गाउनका लागि मात्र गाइँदैन । कविता लेख्नका लागि मात्र लेखिँदैन, कथा लेख्नका लागि मात्र लेखिँदैन, निबन्ध लेख्नका लागि मात्र लेखिँदैन , बरु कति प्रचारमा आउँछन् र धेरै मानिसहरुका पहुँचमा पुग्छन् भन्ने हो । 

त्यसो त मनको कुरा लेख्दा कति साहित्य सृजना गर्ने साहित्यकारहरूले मृत्युदण्ड पाउनु परेको छ, कतिले जीवन कहाँ गएर बचाउने भन्ने त्राहि त्राहिमा हुनुपर्छ , कतिले जेलमा कोचिन परेको छ । हाम्रै देशमा मकैको खेती लेख्दा कृष्णलाल अधिकारीले जेलका कोचिनु परेको थियो र जेलमा नै उहाँको निधन भएको थियो । आज पनि विश्व प्रसिद्ध बाङ्लादेशी उपन्यासकार तसलिमा नसरिन देश नै छोडेर बस्नु परेको छ लुके रै, विश्व प्रसिद्ध उपन्यासकार साहित्यकार सलमान रुस्दी लुुक्दालुक्दै पनि केही समय पहिले कतै सुरक्षित ठाउँमा पुगेँ भन्दा पनि छुरा प्रहारमा परेका छन् । कति कलाकारले आफ्ना कला साहित्य मार्फत् जीवन जोखिममा पारेका छन् र संगीत साहित्यका कारणले धेरै जोखिमपूर्ण जीवन बाँचिरहेका छन् ।

कारण हो साहित्यकार वाणी विहीनका वाणीहरू बोकेर पाठक तथा श्रोता समक्ष जान्छन् । अमर कृति मार्फत् । अमर वाणी  मार्फत् । अमर विचारहरु मार्फत् । त्यसैले विचारकका धारणहरूलाई कुन साहित्य हो, कुन होइन भन्ने विभाजन पनि गरेको पाइन्छ । तर जसले जहिले जहाँ जे लेखे पनि सर्जकको अघिल्तिर त्यो झल्झली देखिन्छ र त्यसलाई नै शब्दको लेपन दिइन्छ ।

कति काल्पनिक दृश्यसँग जब मेल खाँदैन, सर्जक आफैँसँग झोकिन्छ र च्यात्छ, डिलिट गर्छ र अरुले पनि आफूसँग सहमत नुहुनेका कृतिलाई च्यात्छन्, दण्डित गर्छन् र विचार मार्नका लागि सर्जकलाई नै मृत्युदण्ड दिन्छन् र भन्छन् - हामीले विपरीत विचारलाई मार्यौँ तर विचारको भित्री तहमा लुकेको विचार त रक्त वीज हुन्छ, मारेको भनेको शब्द, साहित्य, कविता, कथा, निबन्धले, गीत, संगीतले एक शब्दले लाखौँ शब्द उत्पादन गर्छ, पुनरुत्पादन गर्छ र एकदिन कुनै पनि बेला त्यो मारेको भनेको विचारले अमरत्व प्राप्त गर्छ ।

कुनै गीत, संगीत, कविता, कथा, निवन्ध, दृश्य चित्र बनाउँदा , उपन्यास , महाकाव्य जे तयार हुन्छ, सिनेमा तयार हुन्छ, सबैको एउटा दृश्य पहिले सर्जकको मनमा उब्जिन्छ, त्यसैलाई उसले शब्दशिल्प या चित्र शिल्प, दृश्य शिल्पमा देखाउने हुन्छ, गाएर देखाउँछ, बजाएर देखाउँछ । 

एक झङ्कारले कस्तो उर्जा दिन्छ भन्ने कुरा इजिप्टको तहरिर चोकमा आफ्नो गितार बजाउँदै प्रजातन्त्रको गीत गाउने रमी एसमको गीतले लाखौँ  मिश्रीहरुलाई प्रजातन्त्रको आन्दोलनमा लाग्ने प्रेरणा दिएको थियो । हाम्रै देशमा राल्फालीहरुले गाउँ गाउँ गएर साम्यवादी धारणा फैलाएका थिए भन्ने छ गीत संगीतको माध्यमबाट । तत्कालीन मालेको संगठनका लागि गाउँ गाउँमा फैलिएर गर्ने नाटक, गीत र संगीतका माध्यमबाट नै आजको एमाले र माले हुन् भन्ने छ  ।

२०६२-६३को जनआन्दोलनमा नन्दकृष्ण जोशीले झ्याम्म झ्याम्म गाएरै जनतालाई आन्दोलनका लागि उत्प्रेरित गरेका थिए । मिश्रका रमी एसमसँग मेरो ओस्लोमा बास्लाभ हावेल पुरस्कारका लागि उनी आएको बेलामा भेट भएको थियो । उनले आफ्नो तहरिर चोकमा गाएको प्रजातन्त्र गीत अरबी र अंग्रेजीमा गाएर सुनाए र रुँदै भने , साथीहरु प्रजातन्त्र स्थापना गर्न जीवन त्याग गर्न सकिने रहेछ, तन मन धन दिन सकिने रहेछ र पुनस्र्थापना पनि हुने रहेछ तर प्रजातन्त्र जोगाउनु त्यो भन्दा पनि कठिन काम रहेछ । आज म निर्वासनमा छु जुन आन्दोलनका कारणले मिश्रमा प्रजातन्त्र आयो, हामी कतिले ज्यान गुमायौँ, कति जेलमा जानु परेको थियो र कति दमनमा परेर अपाङ्ग भएका थियौँ । उनले आफ्नो गीतमा आज पनि विश्वास छ, किनभने प्रजातन्त्र नै जीवनको गीत हो ।

त्यस्तै कलाकारहरु कति पीडित छन् जनताका भाषा लेखेकोमा चित्रमार्फत ।  आज पनि धर्मराज थापा, झलकमान गन्धर्व, नारायण गोपाल, गोपाल योन्जन, अमर गुरुङ्, या अरु गीत संगीत क्षेत्रका मनीषीहरु सबै  सर्जक हुन् र ती साहित्यकार हुन् जसले जनताका भाषालाई जुनसुकै माध्यमबाट व्यक्त गर्छन् । 

कुनै गीत, संगीत, कविता, कथा, निवन्ध, दृश्य चित्र बनाउँदा , उपन्यास , महाकाव्य जे तयार हुन्छ, सिनेमा तयार हुन्छ, सबैको एउटा दृश्य पहिले सर्जकको मनमा उब्जिन्छ, त्यसैलाई उसले शब्दशिल्प या चित्र शिल्प, दृश्य शिल्पमा देखाउने हुन्छ, गाएर देखाउँछ, बजाएर देखाउँछ । 

मैले एउटा कथा लेखेँ, धेरै पाठकहरुले मन पराएका थिए, कति जनताको भाव या  जीवनलाई या कसैको मनोभाव पढेर लेख्न सकेँ थाहा छैन तर त्यो पात्र पक्कै पनि कल्पनामा आउँदो रहेछ र जहिले पनि मेरो मस्तिष्कमा त्यो सलबलाएर बसेकै हुन्छ । सायद त्यसैलाई मनोवैज्ञानिकहरूले भनेका रहेछन् एकपटक मनमा आएको कुरा मस्तिष्कमा रेकर्ड हुन्छ, विपनामा बिर्से पनि सपनामा त्यो अनेक स्वरुपमा देखिने हुन्छ । 

मेरो कथा भट्टी जब मैले लेखेँ, मेरो मनमा एउटा त्यस्ती पात्राको कल्पना दृश्यमा आयो कि 

कथा : भट्टी

१. सायद त्यसलाई भट्टी भने पनि हुन्छ तर पसल्नी नानी त्यसो नभन्ने हो कि भनेर हाँस्छिन् । उनी रक्सी , जाँड र मासु बेच्छिन् , माछा पनि पाकेकै हुन्छ उनको भान्सामा । सके बाँकी रहँदैन बेलुकासम्ममा तर बाँकी रहेमा घरका सबै मिलेर खाने गरिँदो रहेछ । सबै भनेका घर परिवारका सदस्यहरु भनेर बुझ्नु पर्ने हुन्छ । रक्सी आफ्नै घरमा नबनाउने भएर होला उनले आफ्नो होटेललाई भट्टी भन्न मन नपराएको रे । जाँड नि ? भन्छिन् - त्यो त बनाउँछु र चखाउँछु पनि । डबकामा अब बेच्ने बानी नै छैन, बोतलमा राखेर स्टिलका कप  वा काँचका गिलाँसमा ख्वाउने बानी छ । भन्छिन् - यहीँ एउटा झार छ, त्यसैले मात लगाउने काम गर्छ, भातलाई बिग्रन पनि दिँदैन । त्यसको नाम नि ? अहँ भन्न मिल्दैन भन्दै खितितिती हाँस्छिन् । भनेपछि ओखती लाग्दैन रे त ।

२.  पैसा त राम्रै कमाइ हुन्छ जाँडबाट । रक्सीबाट । बाटो हिँड्दै गरेका बुढाबुढीसमेत यसो घुट्क्याउँ न भन्दै पस्छन् । खासगरी बुढाहरु । कमै बुढीहरु पस्छन् जाँड वा रक्सी खान । कस्तो सभ्यता आयो भने गाउँ पस्दा नै घुट्क्याउने बानी परेको छ । गाउँको पल्लो छेउमा खुलेको होटेलले ड्राइभर, खलाँसी र बटुवालाई त्राण भएको छ । अचम्भ छ, पसल्नी नानीचाहिँ आफू रक्सी, जाँड केही पनि खान्नन् र भन्छिन्- बेच्न पनि घिन लाग्छ, राख्न पनि घिन लाग्छ तर यसैमा पैसा आउँछ , के गर्ने ? जाँड र रक्सी नखानेहरु त मेरा घरमा पानी पनि खान मान्दैनन्, त्यो बेलामा चाहिँ दिक्क लाग्छ । 

३. उनलाई एउटा कुरामा भने सधैँ दिक्क लाग्छ—केटाकेटीले यो सबै देख्छन् र मातेको मान्छेसँग पनि कुरा गरेको सुन्छन् । मातेको मानिस त होसमा हुँदैन र जब होसमा हुँदैन , उसले भन्ने कुराको पनि त कुनै सीमा हुँदैन । साँच्चा साँच्चा कुरा पो गर्न थाल्छन् मातेका झोकमा । रक्सी दियो, जाँड दियो, मासु दियो अनि भन्न थाल्छ उधारोमा टिप है । अनि गाडी लिएर कता हो कता हिँड्छ । बसुन्जेल चिने जस्तै, गए पछि कता हो कता । त्यसैले त ऊसँग पैसा हुन्जेलसम्म नै धेरै पैसा उठाउने गर्नुपर्छ । जब रक्सीले मात्न थाल्छ, उसले सबै पैसा देखाउन थाल्छ र घरबाट टाढा भएको दुखेसो पोख्न थाल्छ । पसल्नी नानीले कुरो बुझे पनि नबुझेजस्तो गर्नु नै दिनचर्या भएको छ ।  

४. सबै काममा जान्छन् । कतै काममा अरुलाई पठाउनु पनि पर्छ । एक्लै हुनुपर्ने हुन्छ । अनि उसको आँङ् ढक्क फुल्छ -कस्तो जँड्याहा कतिबेर आउने हो ? तर उसलाई लाग्छ—जे होला, जोसुकै आउला । डर मानेर कसरी चल्छ र रक्सीको व्यापार त गर्नु नै छ ।

५. धेरै आउँछन् र कोही त उसैसँग नै जिस्किन्छन् । घुमाउरो पारामा जे पनि माग्छन् । उसलाई लाग्छ, छोरीहरुलाई जिस्काएको सुन्नुभन्दा आफैँलाई जिस्काएको कुरा ठिकै लाग्छ । र पनि ख्याल ख्यालमा पनि कसैले पसल्नीलाई नै पट्याएँ पो भन्दै हिँड्ने हो कि भनेर चाहिँ डर नै लाग्छ । फेरि बुढा छन् अलि झन्काहा । आफैँ रक्सी बेच्न कर गर्छन् अनि रक्सी खाने मानिस अबेरसम्म बस्यो भने किन त्यो बसेको अबेरसम्म भनेर निहुँ खोज्छन् । त्यसलाई किन मात्ने गरी खान दिएको भनेर झगडा पो गर्न थाल्छन् । जहान पाल्नु छ, व्यापार गर्नु छ र त यस्तो काम गरेकी भनेर हाक्काहाक्की भनेकी हुन्छिन् सबैलाई सुनाउँदै । 

६. कोही रक्सी बेच्न र मासु बेच्न पाए हुन्थ्यो भन्दै जागिर खोज्न पनि आउँछन् । धेरैजसो तरुनीहरु नै आउँछन्, बिहे नभएका, लोग्नेले छोडेका, लोग्ने विदेस गएका र साँच्चै अरु ठाउँमा भट्टी नै चलाएका । तर उसले भन्ने गरेको चाहिँ के छ भने आफैँलाई त बेच्न पुगेको छैन, अरुलाई कसरी ठाउँ दिने ? फेरि कसको के भर छ र ? 

 ७.अनि गाउँको बिग्रेको अवस्थामा आफू पनि पो सहयोगी भइएको हो कि भनेर राती सुतेको बेलामा सम्झँदा डर पनि लाग्छ,पिर पनि लाग्छ । तर बिहान नउठ्दै कोही आउँछ ढोका ढक्ढक्याउन-साहुनी, आधा गिलाँस लोकल दिनुस्न । फेरि त्यही कार्य सुरु हुन्छ र दिनभर त्यस्तै हुन्छ । कतै ढोका लगाएर गएकी भए पनि फोन पो गर्छन् त चाँडै आउनका लागि । एक घुट्की घुट्क्याउन ।

८.अनि आफू नखाने तर बेच्नै पर्ने , कस्तो बाध्यता हो भनेर खिन्न पनि लाग्छ तर बालबालिकाको शिक्षा, स्वास्थ्य र लुगा चलाउन पनि भट्टीको आवश्यकता परेको सम्झेर चित्त बुझाउने काम गरेको बुझ्न सकिन्छ । 

९. धेरै ग्राहक आउँछन् र पसल्नीलाई नै लैजाने कुरा पनि गर्छन् । माया गरेको जस्तो पनि गर्छन् । उसले सबैका कुरालाई सकारात्मक जस्तै देखाउँछिन् र उनलाई थाहा छ जस्तो रक्सीको मात हो, त्यस्तै उसको माया पनि । केही छिनमा आफैँ हराउँछ पानीको फोका झैँ । उसको संसार आफ्नै छ र पनि कसैको प्रस्तावको न त विरोध गर्छिन् , न त सहजै स्वीकार गर्छिन् । ग्राहक त देवता हो भन्दै सबै कुरा सहने र चुपचाप बस्ने बानी छ जबकि उनी बाचालमा पर्छिन् गाउँमा । सायद ग्राहक रिसाएमा व्यापार हुँदैन भन्ने त्रास पनि छ क्या रे !  

१०. रक्सी, ग्राहक र माया । रक्सी पसलका यी स्थायी भ्रम हुन् र निरन्तर चल्ने भयानक वृत्तको पाटो पनि हुन् । नियमित आकस्मिकता । रक्सी ग्राहक विना चल्दैन, ग्राहक रक्सी खाएपछि मायाका कुरा नगरी रहन सक्दैन र एकछिनपछि ती सबै आफैँ हराउँछन् भन्ने पनि उसलाई थाहा छ । कुनै माया त स्थायी पनि हुनसक्ला तर मनभित्रमात्रै । बाहिर भन्न नमिल्ने ।

११. तर पसल्नीलाई भने आफूले पढ्न नपाएकोमा भने पछुतो छ । त्यस्तै ५—६ क्लासमा पढ्दा होला, एकदिन सरले पिट्नु होला, होमवर्क गरेको छैन भनेर स्कुल नगएको, त्यसपछि कहिल्यै गइएन भन्ने गुनासो प्रायशः ग्राहकहरुले सुन्छन् र पसल्नीले भन्ने कुरा अर्को पनि छ—ऊ त क्लासकी फस्ट पो थिई त । तर किन स्कुल गइनन् र किन पढिनन् भन्ने कुरा थोरैलाई मात्र थाहा छ । उनी आफैँलाई सम्झेर खिसिक्क हाँस्छिन् र एकपल्ट आफूलाई ऐनामा गएर हेर्छिन् । अझै कहाँ कम छु र ? भन्ने भाव झल्किन्छ र आफ्नी ठुली छोरीलाई हेरेर मुसुक्क हाँस्छिन् । ठुलै उमेरमा पढ्न गएकी थिइन् र के के भयो , अब किन सम्झनु भन्ने पनि लाग्छ सायद । तर बिर्सनु त कसरी र ? जो जीवनको बिहानीमा नै घटेको थियो । 

१२. रातदिनको चटारो, ग्राहक , रक्सी, पैसा, उधारो अनि घरको टन्टा । वस्तुभाउ, ऋणको व्यवस्थापन, उधारो उठाउने झन्झट अनि नगदको कारोबारमा आउने नाफा । यही हो जिन्दगी भन्दै एक्लै फतफताउले बानी त छ तर हँसिली पसल्नीको अनुहारले सबैलाई लट्ठ पार्नेगर्छ । उनका बुढा पनि हाँस्छन् र चल्तापुर्जाकी बुढी पाएकोमा भगवानलाई धन्यवाद दिन्छन् । ग्राहकहरुले भन्ने गर्छन्—यी छोराछोरीहरु त ठ्याक्कै बाबु जस्ता । पसल्नी खिसिक्क हाँस्छिन् र भन्छिन्-म जस्ता कि बुढा जस्ता ? अनि अतीतका पाना आफैँ पल्टाउँदै केटाकेटीहरुलाई स्कुल जान कराउन थाल्छिन् । गाउँ घरमा सबैले साहै्र फरासिली भन्छन् र छिन् पनि त्यस्तै । 

१३.  यसपटकको तीजमा पशुपति जाने उनको इच्छा छ , भाकल छ रे बुढाका लागि । केही दिन भट्टी बन्द गरेर भए पनि काठमाडौँ जाने र तीजमा पशुपतिमा गएर बुढाका लागि राम्रै आशीर्वाद माग्ने बिचार सुनाउँछिन् । ग्राहकहरु भने त्यसमा पनि खिज्याउँछन् र भन्छन्—यही जुनीका बुढाका लागि कि अर्को जुनीका बुढाका लागि ? कतिओटा बुढाका लागि ? अनि उनी नरिसाई भन्छिन् - सात जुनी त उहाँसँगै बस्ने निर्णय भइसक्यो नि त । सायद यो बेलामा उनको अतीत कतै बोल्दैन र वर्तमानमा मात्र उनी बोलिरहेकी छिन् ।
क्रमशः