पोल्याण्डमा नेपाली दूतावास खोल्ने प्रकृयाको प्रवासी नेपाली एकता मञ्चद्वारा स्वागत

पोल्याण्डमा नेपाली दूतावास खोल्ने प्रकृयाको प्रवासी नेपाली एकता मञ्चद्वारा स्वागत

शेरबहादुर परियार  |  समाचार  |  कार्तिक १४, २०८०

 यूरोप/ पोल्याण्ड लगायत विभिन्न देशहरुमा नेपाली राजदूतावास खोल्ने प्रकृया अगाडि बढाए पछि त्यसको स्वागत भएको छ।

नेकपा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च पोल्याण्डले पोल्याण्ड लगायत विभिन्न मुलुकहरुमा कूटनीतिक नियोग (दूतावास) स्थापना गर्ने प्रकृया सुरु गरेकोमा नेपाल सरकारलाई धन्यवाद तथा आभार प्रकट गरेको छ।

अध्यक्ष रमेश लामा र सचिव निश्कर्ष लामाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा दूतावास स्थापना गर्ने सम्बन्धि मन्त्रिपरिषदबाट चाँडो निर्णय गरी कार्यान्वयन गर्नका लागि माग गर्दे दूतावास स्थापनाले मजबुत कुटनीतिक संरचनामार्फत पोल्याण्ड र नेपालको द्विपक्षीय कुटनीतिक सम्बन्ध घनिष्ट, मैत्रीपूर्ण एवं बहुआयामिक हुने विश्वास गरिएको छ।

नेपालमा वाम लोकतान्त्रिक गठबन्धन सरकारले गरेको यो निर्णयको सकारात्मक हिस्सा हुन पाएकोमा आफ्नो संगठन गौरवान्वित भएको र यसको नेतृत्व गर्न एनआरएनए पोल्याण्डलाई विज्ञप्तिमार्फत भनिएको छ।

गत भदौ २५ र २६ गते काठमाडौँमा ‘श्रम आप्रवासनका सवालहरू र कूटनीतिक नियोगको भूमिका’ विषयमा प्रधानमन्त्रीसहितको बैठक पछि सरकारले पोर्चुगल, पोल्याण्ड, रोमानिया, माल्टा, साईप्रस, क्रोएशिया, माल्दिभ्स, टर्की लगायतका मुलुकमा ड्राई पोस्टिङमार्फत दूतावास स्थापना गर्ने प्रकृया अघि बढाएको हो।