साहित्यले जीवनलाई कसरी प्रतिनिधित्व गर्छ त ?

फर्कलान् र ती दिनहरु-१८५

साहित्यले जीवनलाई कसरी प्रतिनिधित्व गर्छ त ?

हरिविनोद अधिकारी  |  साहित्य  |  कात्तिक १८, २०८०

फेरि पनि कुरो साहित्यकै गरौँ है । मैले जे जति रचना गरेको छु, गर्नेछु । गरिएको रचना , गर्ने रचना ती सबै परिभाषाको सीमाभित्र कति अटाउलान्, थाहा छैन । परिभाषा र अर्थ लगाउने भनेको समयको चलेको धारणाका आधारमा हुन्छ । साहित्यले इतिहासको काम गर्छ, भौगोलिक अवस्थाको जानकारी दिन्छ ।

जस्तो कि नेपाली साहित्यमा सकेसम्म समुद्रको वयान आउँदैन तर डायस्पोराको नेपाली साहित्यमा समुद्रका बारेमा प्रशस्त जानकारी पाइन्छ । नेपाली रचनामा, स्वतन्त्ररुपमा गरिने रचनामा धेरैजसो पहाड, हिमाल, जङ्गल, गैँडा, बाघ, हात्ती अनि छोटो दूरीको राजमार्गको कुरा आउँछ , अझ भनौँ हामीजस्ता सामान्य परिवारका मानिसहरुको रचनामा, कथा या कविता या नाटक या चित्रमा समुद्रभन्दा हिमाली नदी र खोलाहरुको कुरा आउँछ । अर्थात् साहित्य रचनामा त्यो देशको इतिहास झल्किन्छ, समयको इतिहास झल्किन्छ र भूगोलको झझल्को आउँछ ।

जस्तो कि सन् १९८१भन्दा पहिलेको कुनै पनि रचनामा या चिकित्सकीय विज्ञानमा एड्स्को कुनै चर्चा थिएन, हुने थिएन किनभने त्योभन्दा पहिले एड्स् जस्ता संक्रमण हुने गर्थे होलान् तर त्यसको नामाकरण गरिएको थाहा थिएन । आजभोलि नेपालमा पनि अंग प्रत्यारोपण हुन थालेपछि अचेलका कथा र कवितामा, चित्र कथामा अंग प्रत्यारोपणका बारेमा अनेक काल्पनिकता सुन्न, हेर्न पाइन्छ । 

विज्ञान, मनोविज्ञान, व्यक्तिको र स्थान विशेषको स्थिति विश्लेषण, घुमेको ठाउँको वयान तथा अन्य विषयका आधारमा गरिने स्वैर कल्पनाले पनि सत्यताको झझल्को दिन्छ र मानव मष्तिष्कले सम्भव कुराहरुलाई मात्र कल्पना गर्न सक्छ भन्ने छ । सत्य घटनामा पनि कल्पनाको स्वाद आउँछ र कल्पनामा पनि सत्यताको स्वाद आउने हुन्छ । 

त्यसो त पहिले कल्पना गरिन्छ, अनि त्यसलाई कार्यान्वयन गर्न मानव मष्तिष्कले अनेक बहाना र जुक्ति पत्ता लगाउने गर्छ । जस्तोसुकै सत्य घटनाको पनि एउटा सीमा हुन्छ कति लेख्ने, कति भन्ने । जति देखिन्छ सबै भन्न पनि सकिँदैन, जति भनिन्छ देखिएको पनि नहुन सक्छ । तर विवरणात्मक या सूत्रबद्ध सामग्रीहरूले मानिसहरुको मन खिचेको हुन्छ ।

अचेल नेपालीहरुको रहन सहन नेपाल भित्रमात्रै सीमित रहेन, विभिन्न संस्कृति र धर्मका मानिसहरूसँगको अन्तक्रिर्याले नयाँ संस्कृतिको जन्म हुन थालेको छ । परिवारहरु छरिएर बसेका हुन्छन् । कोही विदेशमा बसेर नेपाल आउने जाने गर्छन् त कोही विदेशमा बसेर नेपाललाई सम्झनामा राखेर बसिरहने हुन्छन् । जे भने पनि जन्मभूमिको याद आइरहन्छ र आमाको सम्झना आउने हुन्छ सधैँ सधैँ ।

झन आमा बा नहुनु भएपछि त बा आमाको सम्झना सधैँ जुनसुकै बेलामा पनि आइरहने हुन्छ । प्रत्येक आख्यान, चित्र र कवितामा, नाटकमा, उपन्यासमा आमा, जन्मभूमि र रहन सहनले धेरै अक्षरहरु खर्चेका हुन्छन् । सायद त्यसैलाई भनिएको होला, जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।

मैले पनि एउटा कल्पनामा कल्पेर कथा लेखेको थिएँ एउटी अधबैँसे महिलाको बारेमा जो मुलुक छोडेर विदेशमा बसेकी महिला र उनको नेपालमा बसेको पतिका बारेमा छ , जुन पति उनको जीवनमा दोस्रो पति थिए । सदा झैँ भनिने के हो भने यो कथा काल्पनिक हो, यदि कसैको जीवनमा आंशिक या पूरा मिल्न गएमा त्यो आकस्मिकता मात्र हुनेछ । तर कथामा कल्पना गरिने पात्र त जेहेनमा आउने कुनै स्पष्ट या अस्पष्ट अनुहार आउँछ । कविताका अक्षरहरूप्रति कवि आफूलाई प्रस्तुत गरिरहेको हुन्छ तर समय बदलिए जस्तै कल्पनामा पनि फरक फरक धारणा आउन सक्छन् समयको अन्तरालमा । 

कथा यस्तो छ-
कथा

जीवनको नयाँ मोड 

अश्रु सिन्धुलीय  

१. प्लेनमा चिकेन सुप आयो । तातो तातो सुपमा बाफ पनि आइरहेको थियो । उनले त्यो सुप बिस्तारै सुरुप्प पारिन् । स्वादिलो थियो । सुपको स्वादसँगै आफ्नो गन्तव्यप्रति पनि सोच्न थालिन् । सुपको स्वादसँगै आफ्नो आगामी दिनका वारेमा नै सोचाइलाई केन्द्रित गरिन् । सोचिन्—किन होला मान्छे एक्लै भएपछि मात्र आफ्ना वारेमा सोच्न थाल्छ ? करिब ५० वर्षको यो प्रौढ उमेरमा भर्खरै जस्तो सुनेको यो अपेक्षित अनपेक्षित समाचार र त्यसका लागि नै मातृभूमि अर्थात् नेपाल जान लागेको कुरा झल्याँस्स सम्झिन् । अनि कल्पनालाई, सोचाइलाई  केन्द्रित गरिन् भावी अवस्थाप्रति -नेपालमा प्लेनबाट झर्ने बित्तिकैको अवस्था कस्तो होला ? को को आउलान् ? मैले चिनेका नै आउलान् कि अरु नै ???

२.उनका चारओटी छोरीहरु छन् । तीन ओटी छोरीहरु पहिलो पतिबाट । एउटी छोरी अर्थात् सानी छोरी पछिल्लो पतिबाट । पति शब्दले अब उनलाई कुनै रोमाञ्चकता पैदा गर्दैन । एउटा बेला थियो पतिसँगै बसेर पनि धेरै पति जस्ताबाट केही अनुभव सँगालेकी थिइन् र प्रत्येक जबान मर्द देख्ने बित्तिकै उनमा  अनौठा अनौठा कल्पनाहरू तरेली खेल्थे । ती कल्पना भनेको क्षुधापीडित एउटा तरुणीको मनमा उठ्ने तरेलीहरु थिए । उनलाई अनौठो केमा लाग्थ्यो भने पतिसँग हुँदा पनि किन त्यस्ता अनौठा कल्पनाहरुमात्र आउँछन् कुनै जबान मर्द देख्ने बित्तिकै । जबान मर्दहरुबाट पनि एकान्त हुने बित्तिकै यस्तै अनुभवहरु व्यक्त गरिन्थे । यसरी व्यक्त गरिने अनुभव वा भावना शिष्टतावश र  औपचारिक भाषामा भनिएका अशिष्ट तर अनौपचारिक कुराहरु हुन्थे । बुझ्नेले बुझ्ने र भन्नेले भन्ने सङ्केतका भाषामा हुन्थे ।

आवश्यक कागजपत्र मिलाएर लाइनमा बस्नु थियो आगमन कक्षमा । त्यसपछि सामानहरु सङ्कलन गर्नु थियो र लिन आउनेसँग रुँदैरुँदै  घरसम्म जानु थियो । यो देखाउन रुने एउटा चरित्र तयार गर्नु थियो  अनि पछिल्लो प्रेमीको रुपमा जीवनमा भेटिएको मान्छेको कमी अबचाहिँ अनुभूत हुन थालेको जस्तो लागेका बुझिन्थ्यो ।

प्रायशः दुई अर्थ लाग्ने गरी भनिन्थे । मनका कुरा पनि भनिने र त्यसलाई गफ नै त हो नि भने पनि हुनेगरी । अहिले प्लेनमा पनि उनको लुगा थियो कालो सर्ट, कालो पाइन्ट, सेतो टोप, पाइन्टमा सेतो बेल्ट अनि सेतो मोजासहितको सेतो नै स्पोर्टस् जुत्ता । हातका औँलाहरूमा विभिन्न खालका औँठीहरू । यसो हेरिन् अरु सिटतिर ,लाग्यो धेरै प्रौढ तथा युवा आँखाहरू उनै तिर हेर्दैछन् अनि लाज मानिन् आफैँसँग । ठिक दाहिनेतिरको गोराले उनलाई ध्यान दिएर हेरेको देखेर त उनलाई लाजमात्र लागेन, त्यसतिर नै बारम्बार हेर्न मनलाग्यो । झल्याँस्स भइन् हातको सुप सेलाउन पो लागेछ । तत्काल सुरुप्प पारिन् एकै घुट्कोमा स्वात्त निलिन् ।

आफू दुई दुईओटा पतिकी पत्नी भन्ने पनि सम्झिइन् तर अहिले ? आफैँमा एउटा प्रश्न तेर्सियो र तत्कालै यथार्थमा आउन आवश्यकता पर्‍यो किनभने अहिले अर्कै समस्या सिर्जना भएको थियो ।

३. उनी पछिल्लो पतिको मृत्युको खबरले नेपाल जाँदै थिइन् र औपचारिकरुपमा उनलाई किरिया गर्नका लागि नै बोलाइएको थियो । एक्लै जाँदै थिइन् । यो समयको परिवर्तनसँगै आएको लैंगिक समानता थियो र महिलाले गर्न नसक्ने केही पनि छैन भन्ने एउटा उदाहरण पनि थियो । उनी छोरीहरुलाई अमेरिकामा नै छोडेर एक्लै आएकी थिइन् । वास्तवमा कान्छी छोरीको बाबुको मृत्यु भएकाले कान्छी आउन पथ्र्यो तर उसले जाँचको बहानामा नेपाल नजाने निधो सुनाएकी थिइन् । पहिलो पतिका पट्टिका तिनओटा छोरीहरुले आमाको नेपाल भ्रमणका वारेमा पटक्कै चासो देखाएनन् र त्यस्तो पिर पनि मानेनन् । सानीले आफ्ना पिताको मृत्युमा पिर गरेजस्तो त गरिन् तर परीक्षा छोड्न नसक्ने बाध्यता देखाउँदै भनेकी थिइन्औ - ममी, यदि म मेरो बाबाकी एउटै मात्र छोरी रहेछु भने मेरो भागमा आउने अंश सबै बेचेर ल्याउनु होला र त्यसले यहाँ एउटा ग्याँस स्टोर खोल्नु पर्ला । उसलाई के थाहा थियो ऊ उसकी बाबाकी एक्ली छोरी हुनुपर्छ र बाबाको भागमा आउने सम्पतिको मूल्याङ्कन नेपाली रुपैयाँ झन्डै ३ करोड जति पुग्छ । भन्न त मान्छेले भन्थे कि उसका बाबाका कम्तीमा ५ओटी जत्ति अनौपचारिक पत्नीहरु  छन् र तीबाट कम्तीमा पनि ७ वा ८जना सन्तान हुनुपर्छ । उसकै आमा पनि बाबाभन्दा १५ वर्ष जेठी थिइन् र पहिलो पतिको सम्पत्तिका लागि नै बिहे गर्न हत्ते गरेका थिए ।

४ प्लेन उडिरहेको थियो । उनी आँखा चिम्लेर आफूमा हराएकी थिइन् । अतीतमा डुबुल्की मार्दै जाँदा कतिपय विस्मृतिका खाली पानाहरुमा पनि बिस्तारै अक्षरहरु स्पष्ट देखिन थाले । अरुभन्दा आफूलाई स्पष्टरुपमा देखिने यो विस्मृत अतीतमा हराउँदा त्यही समयको सेरोफेरोमा जस्ताको तस्तै देखिने विशेषता अहिले यहाँ पनि सार्थक बनेको थियो । पहिलो पति हाकिम भएर जिल्ला जिल्ला जाँदा सबै हाकिम र कर्मचारीहरुका बिचमा उनकै मात्र कुरा हुन्थ्यो रे । त्यो चर्चा उनको रुपको, उनको र उनका पतिको उमेरमा देखिने अन्तरको, उनले पाहुनाप्रति गर्ने मायालु व्यवहार समेतको हुने गथ्र्यो रे । उनलाई उनको नाममा समेत नयाँ पन भएको बताउँथे रे । खासगरी युवा हाकिमहरूमा , प्रहरी प्रमुख, सेना भएको जिल्लामा गणपति, मालपोत हाकिम, प्रमुख जिल्ला अधिकारीहरु राती अबेरसम्म उनको पतिको क्वार्टरमा बसेर नाचगानसमेत गर्थे र उनीसँग बसेर उनले बनाएको खाना खाँदाको महत्व बखान गर्थे । यो क्रम झन्डै १०-१२ वर्षसम्म चल्यो । त्यसबेला उनको उमेर १३ देखि १५ वर्षसम्मको मात्र थियो । हुन त उनले पहिलो बच्ची १४ वर्षमा पाएको पनि भन्ने गर्थिन् । 

५. विस्मृत स्मृतिको तरेलीमा बग्दै गइन् आफैँ । अनि त्यसैबीच उनका तीनवटी छोरीहरु जन्मिए र तिनको आनीबानी, शील स्वभाव सौभाग्यवश साह्रै सँस्कार युक्त रह्यो । बाबु पढेलेखेका र सँस्कार युक्त भएकाले छोरीहरूमा आमाको अनुहारबाहेक अरु झझल्को देखिएन । वास्तवमा उनी पनि सँस्कार युक्त नै थिइन् तर पहिलो पतिको विद्वत्ताले उनलाई एकातिर किचेको थियो भने अर्कोतिर उमेरले गिजोलेको थियो । बढ्दो जबानी र त्यस्तै उमेरको मादकताको पारो उनमा बढ्दै थियो भने श्रीमानको क्षमता घट्दो मात्रामा पग्लिरहेको थियो हिमालमा ग्रीष्म र वर्षा ऋतुको हिउँझैँ । 

६.तन्द्राझैँ तर सचेतनामा रहेकी उनी अचानक केही सम्झेझै गरी झल्याँस्स भइन्-प्लेनमा केही सूचना दिइरहेको थियो र साङ्केतिक सूचनामा पेटी बाँध्ने जनाउ दिँदै थियो । उनलाई प्लेनको गडगडाहटले पनि जीवनको मोहसँग तादात्म्यता देखाएको थिएन र बेल्ट बाँध्ने जाँगर पनि पलाएन । किन बेल्ट बाँध्ने ? आखिर जे हुनु छ , भइहाल्छ । प्लेनमा नै त छु भन्ने भावनाले काम गर्दैँ थियो । पहिलो श्रीमान हुँदा पछिल्लो जो श्रीमान हुनुभयो, तिनलाई आफन्त र नजिकको नाताको भाइ भनेर जोगाउँदै भाइको रुपमा न्यानो माया पोखेकी थिइन् , त्यस्तै देखाएकी थिइन् । समाजको सामूहिक मनोविज्ञानले तर त्यसलाई पत्याएको थिएन । जस्तो सम्बन्ध थियो, त्यस्तै अनुमान लगाउँथ्यो । उनको गुनासो समाजसँगै थियो , आफ्ना श्रीमानसँग बरु थिएन । उनको बाहिरी विचारमा समाजले अनावश्यक टिप्पणी गरेको थियो र नितान्त दिदी भाइको सम्बन्धलाई कर्के नजरले हेरेको थियो । अबचाहिँ उनी फिस्स हाँसिन् किनभने त्यो अनुमान एकदम ठिक थियो र उनले मात्र तत्काललाई त्यसो भनेर आफैँलाई ढाँटेकी थिइन् ।

सबैलाई ढाँटे पनि आफूलाई ढाँट्न सकिन्न भन्ने जो छँदैछ । त्यसैले पहिलो पतिको निधनमा उनलाई देखावटी बाहेक कुनै चिन्ता थिएन किनभने भाइको रुपमा भावी पति उनैसँग थियो । त्यो बेलाको नाटक, बनावटी आँसु, आफन्तहरुलाई दिएको स्पष्टीकरण र साख्खै भाइको नाता देखाउन लगाएको भाइटिका सम्झिइन् र एउटा वेदना मिश्रित मिठासलाई घुटुक्क निलिन् । त्यो बेला, त्यो नाता, त्यो कल्पनाको राज्य र भावी समयको नयाँ योजना । झल्झल्ती आँखा अघिल्तिर आयो, आँखा अचानक खुल्दा उनले आफूलाइ प्लेनमा नै पाइन् । त्यो बेलामा पहिलो श्रीमानको देहान्तमा देखाउने शोक बाहेक अरु कुनै चिन्ता थिएन उनको अन्तर आत्मामा  ।

लोकलाजका लागि पहिलो श्रीमानलाई तार्नु थियो , तारुन्जेलसम्मका लागि उनकै सतमा बसेझैँ गर्नु जरुरी थियो । तिनतिनओटा छोरीहरुले हेरिरहेका थिए मौनताका साथ । ती बुझेर पनि नबुझेझैँ गर्दै थिए या बुझेकै थिएनन्, अहिलेसम्म पनि उनलाई रहस्य जस्तै लाग्छ किनभने तिनले बुझेजस्तो कहिल्यै गरेनन् । सम्भवतः गाउँको समाज भए सायद त्यो सम्भव पनि थिएन, सहरमा कसैको वास्ता नहुने भएकाले कसैले पनि धेरै कुरा गरेनन् होला कि ? तर कर्तव्यको कुरा जो सिकाउनु थियो । गरेझैँ देखाउनु पनि थियो । ती छोरीहरु चटक्कै छोडेर जाने अवस्था पनि थिएन र छाड्न पनि सकिँदैन थियो किनकि तिनकी माता उनी आफैँ पो थिइन् र उनका पिताको छाया अब रहेको थिएन भौतिक रुपमा । उनको पहिलो पतिको काम समाप्त गर्नु थियो, त्यो पनि इज्जतका साथ, पुराना हाकिमको इज्जतका साथ । उनका आफन्तहरुले केही भन्न नपाउने गरी । यहाँ उनको र हुनेवाला पतिको बेग्लै बेग्लै स्वार्थले काम गरेझै लाग्थ्यो ।

काज क्रिया यसरी गराउनु थियो कि छोरीहरूका पिताको स्वर्ग निश्चित गराउनु थियो, उनी प्रेत योनीबाट पितृ हुनु पथ्र्यो । वास्तवमा उनको स्वार्थ लोकलाज मान्नु थियो र छोरीहरुलाई बाबुको माया हराएकोमा सान्त्वना दिनु पनि थियो र उनका आफन्तहरुका अघिल्तिर पतिको सम्पत्तिको सदुपयोग गरेको देखाउनु पनि थियो । यस्तो पिर परेको देखाउनु थियो कि  भावी दिनमा पनि उनकै सतमा बस्ने गरी अडिग भएको देखिने गरी अनुभूत गराउनु थियो , प्रमाणित गर्नु थियो । आज आएर सम्झँदा त्यस्तो नाटक कसरी सम्भव भयो होला , फेरि फिसिक्क हाँसो फुस्कियो । तर यस्तो आरोह अवरोहमा तलमाथि गरिरहेकी उनको गन्तव्यको आधार अलि परै थियो एकातिर भने भाइको रुपमा सँगै रहेको भावी पतिको चाहना भने कहिले १३ दिन बित्ला र आफ्नो लुकीछिपीको अनौपचारिक सम्बन्धलाई स्वतन्त्र सम्बन्धका साथै सामाजिक औपचारिकता दिने भन्ने थियो । उनी सदैब निन्याउरो अनुहार लगाएर बस्न चाहन्थिन् र ऊ पनि सँगै उस्तै अनुहार लगाएर बस्थ्यो । तर दुवैका मनमा भावी दिनका रमाइला समयको कल्पनामात्र हुन्थ्यो । नयाँ जीवनको एउटा सुखद अवसर अचानक आएको थियो कुनै पूर्व योजना विना नै । अनौपचारिक जीवनबाट अचानक औपचारिक जीवनमा प्रवेश गर्ने अनौठो अवसर आएकोमा दुवैका मनमा एउटा त्राससहितको सुखद भाव देखिन्थ्यो ।

७. झन्डै ४८ घन्टापछि नेपालमा प्लेन उत्रने सूचना आयो आवाजमा र सङ्केतमा । ४ ओटा प्लेन परिवर्तन गरेर , धेरै ठाउँमा ट्रान्जिट र अनिद्राले थकित उनलाई नेपालमा बेहोर्नु पर्ने दुःख पनि याद थियो र ती सबै कुरामा कुनै चिन्ता लिएको नदेखिए पनि नयाँ बैधव्यपनको आभासले मन चिमोटेको थियो र नेपाली परिवेशमा त्यसले नयाँ चिन्ता थपेको  थियो । पहिलो बैधव्यपनले तत्कालै जस्तो हरियाली समेटेको थियो भने यसपटकको बैधव्यपनले शिशिरको मात्र कल्पना बढिरहेको थियो । तर मनको एउटा कुनामा  कतै अझै नयाँ जीवनको सुरुवात हुनसक्ने सम्भावना थियो बाँकी थियो किनभने बिहान घुम्न जाँदा उनलाई लोभी नजरले घुरेर हेर्ने एउटा मेक्सिकन अधबैँसेको अनुहार  झल्याक झुलुक जेहेनमा  उदाउँथ्यो तर उमेर, छोरीहरु,वा नाति नातिनीहरुको नैतिक बन्धनले त्यो कल्पना साकार हुन्छ भन्ने बाटोचाहिँ देखिँदैन थ्यो । एउटा कल्पनाको प्रवाहमा त्यो पनि थियो भनौँ । कतै अवचेतनमा रहेको भावना हो भनौँ । कुनै दिन पनि त्यो मेक्सिकनसँग कुनै कुरा भएको पनि होइन, मात्र महिलाको तर्फबाट सोचिएको फगत कल्पनामात्र थियो नयाँ बैधव्यपनसँगै पलाएको नयाँ जीवनको एउटा पालुवा । 

८.काठमाडौँको अन्ताराष्ट्रिय विमानस्थलमा  प्लेन रोकियो । उनको मुटु ढक्क भयो । आँखामा अचानक आँसु टिलपिल भए । आवश्यक कागजपत्र मिलाएर लाइनमा बस्नु थियो आगमन कक्षमा । त्यसपछि सामानहरु सङ्कलन गर्नु थियो र लिन आउनेसँग रुँदैरुँदै  घरसम्म जानु थियो । यो देखाउन रुने एउटा चरित्र तयार गर्नु थियो  अनि पछिल्लो प्रेमीको रुपमा जीवनमा भेटिएको मान्छेको कमी अबचाहिँ अनुभूत हुन थालेको जस्तो लागेका बुझिन्थ्यो ।

९.सोचेभन्दा फरक स्थिति देखापर्‍यो । कोही चिन्तित छैनन् । मानौ कुनै शुभकार्यमा सहभागी हुन आए जस्तो पो भयो । आठ दिन भइसकेकाले सिधै उनको उपस्थिति औपचारिकतामा मात्र सीमित भयो । कताकता नआएको भए पनि हुने थियो कि जस्तो यो देखिन्थ्यो ।

१०.उनको नाममा करिब ७० रोपनी जत्ति जग्गा दर्ता रहेछ र छोरीका नाममा ५० रोपनीजत्ति ।अरु कोही रहेनछन् उनका पत्नी वा छोराछोरी । कोही पनि रहेनछन् प्रत्यक्षरुपमा देखिने हकवाला । छोरा नहुनेका लागि भनिन्छ कि अपुताली खाने दाजुभाइ नै हुन् , तर त्यस्तो पनि कसैले भनेनन् । मानौँ त्यहाँ केही भएकै जस्तो थिएन । यथावत् । 

११. राम्रोसँग काम सिध्याइन् । चोखो मनले नै । पहिले जस्तो देखावटी होइन । परिपक्वरुपमा सम्पत्तिको लेखाजोखा गरिन् जस्तो कि छोरीले हिँड्ने बेलामा भनेकी थिइन् । छोरीलाई फोन गरिन् । भनिन्—अब म तिम्रै बाबाको घरमा बस्ने भएँ, अमेरिका फर्किन्न । आउँदिन अब फेरि अमेरिकातिर । बरु तिमी पनि अबको लामो गर्मी विदामा यतै आउनू । 
१२. जीवनको नयाँ मोडमा अमेरिकाभन्दा नेपालको बसाइ नै सुखकर हुने उनले ठानिन् र अमेरिका बसाइलाई जीवनको सबैभन्दा अनुत्पादक समय पो मानिन् । 

१३. अमेरिकाको दौडधुप, ईष्र्या, अपुग, र सधैँको शरणार्थी जीवनभन्दा प्रेमीको चिनोलाई उनले मूल्यवान सम्झिइन् र पहिलो पतिको सम्पत्तिको अवशेषको रुपमा समेत यसैलाई सम्झिन् । नाता गोता र कुल कुटुम्बको लामो लहरो र आफ्नो सधैँ रानो मौरी जस्तो भूमिका सम्झँदा अमेरिका नजाने निर्णय आफैँलाई एकदम ठिक लाग्यो उनलाई । अनि पहिलो पति र पछिल्लो पतिको तस्बिरमा माल्यार्पण गरी कोठामा दुबै कुनामा उनीहरुको फोटो टाँसिन् शुद्ध मनले र आफैँलाई एक्लै भनिन्—तेरो देश यही हो र तेरा दुवै पति या भनौँ सबै छोरीहरुका पिताहरुको स्मृति यहीँ छ । आज उनलाई खोइ किन हो पहिलो पतिको यादले धेरै सताएको छ । दुवै पितृलोक गइसकेको दुवै पतिहरुसँग अब कुनै गुनासो रहेन । 

कथा हो, कसैको जीवनमा ठिक्क मिल्ला या नमिल्ला थाहा छैन तर यो कथा ७ वर्ष अघि नै लेखिएको हो । क्रमशः