अपेक्षा नै अपेक्षाको घेराबन्दीमा मानिस: पूर्णता कसरी पाउन सकिन्छ होला र ?

फर्कलान् र ती दिनहरु—१८७

अपेक्षा नै अपेक्षाको घेराबन्दीमा मानिस: पूर्णता कसरी पाउन सकिन्छ होला र ?

हरिविनोद अधिकारी  |  साहित्य  |  मंसिर ०२, २०८०

मानिसमा अपेक्षा हुन्छ । त्यसो त सबै प्राणीहरूमा अपेक्षा हुन्छ । कतिले आफ्ना व्यवहारले देखाउन सक्छन्, कतिले आफ्नो भावना आवाज मार्फत् स्पष्ट पार्न सक्छन् । हामी मानिसहरु चाहिँ बुझ्ने गरी कुरा गर्नका लागि भाषाको विकास गरेकाले र भाषाको प्रतीकात्मक आवाजलाई अर्थ आउने गरी बोलचालको रुपमा विकास गरेकाले अपेक्षा भन्न सक्छन् । तर कति कुरा यस्ता हुन्छन्, जुन अव्यक्त हुन्छन् र जे समयले दिन्छ, त्यसैको अपेक्षा गरिरहेका हुन्छन् । अपेक्षाको भाषागत शब्दकोशीय अर्थ हुने रहेछ-प्रज्ञा नेपाली बृहत् शब्दकोशको आधारमा)- 
१. अस्तित्व, विकास, स्थिति आदिका दृष्टिले वस्तुहरुमा रहने स्वाभाविक सम्बन्ध । 
२. आशा, भरोसा । 
३. केही वस्तु पाउन त्यसमा दृष्टि पुर्‍याउने काम, अभिलाषा, वास्ता ।
४.तुलना, दाँजो । 

सबै प्राणीहरूको एउटा साझा चरित्र हुन्छ, उसले वातावरणसँग सिकिरहेको हुन्छ ।  प्रकृति नै उसको गुरु हो । अनि अहिले मानिसको कुरा गरौँ , हामी मानिसहरुको स्वभावलाई पहिलेका ऋषिमुनिहरूले लामो अनुसन्धान गरेर पत्ता लगाए, मानिसमा मात्र होइन, चेतनशील प्राणीहरूमा हुने मुख्य चरित्र नै रहेछ- आहार, निद्रा, भय मैथुन । साँच्चै चेतनशील भनौँ या सास  फेर्ने जातिमा यी चार विशेषताहरु हुन्छन् , झन मानिसमा त त्यो देखिन्छ देखिन्छ । मानिस जब जन्मन्छ, सिक्न थाल्छ । कति प्रकृतिले सिकाउँछ, कति आमाले सिकाउनु हुन्छ, कति अन्य अभिभावकले सिकाउनु हुन्छ र कति परिवेशले सिकाउँछ । अनि विभिन्न गुणहरूको समष्टिले मानिसमा एउटा अपेक्षाको जन्म सुरु हुन्छ । 

त्यसो त समय परिवेश अनुसार अपेक्षा पनि फरक हुन्छन् भन्ने कुरा उमेर, परिवेश, परिस्थिति र क्षमताका आधारमा फरक फरक हुने रहेछ । स्वैरकल्पनाको समेत अपेक्षा गरिन्छ तर त्यही स्वैरकल्पना पनि परिस्थिति र अनुसन्धानले सही साबित हुन्छ, हुँदै गरेको पाइन्छ । 

मानिसको जीवनमा अपेक्षा हुन्छ, जसलाई आकांक्षाको रुपमा पनि अर्थ लगाउन सकिन्छ । आकांक्षाहरुको पनि एउटा सीमा हुन्छ भनेर मान्ने हो भने महत्वाकांक्षा पनि राखिन्छ जसलाई परिस्थिति र समयले पूरा गराउँछ । कालको सीमा हुँदैन, अपेक्षाले कालको प्रतिनिधित्व गर्छ । मानिसहरुको कल्पनामा अनेक अपेक्षा छिनछिनमा आउँछ र बग्दै गरेको नदीमा उठ्ने पानीका फोका झैँ छिनमा फुटेर जाने पनि हुन्छ तर हाम्रो मस्तिष्कमा भने त्यो कल्पना अभिलेखको रुपमा रहने हुन्छ । सायद त्यसैको परिमार्जित अपेक्षाले सपनामा नयाँ संस्करण देखा पर्ने होला ।

कति अपेक्षा भनिन्छ, कति भनिँदैन । कति कल्पनामा आउने अपेक्षाहरू लिपिबद्ध गरिन्छ, कति गर्न पनि मिल्दैन । कल्पनामा के के आउँछ आउँछ, ती सबै अपेक्षामा झल्किन्छ तर लिपिबद्ध हुन सकेमा । मनमा आउँछ, मनमा आशा जाग्छ तर भन्न कति सकिन्छ कति सकिँदैन । मलाई पनि मनमा कति अपेक्षा बोकेर उब्जिन्छ तर मैले अब ती आशा, अपेक्षाहरू पूरा हुन नसक्ने जस्तो लागेर भन्न या लिपिबद्ध गर्न सक्दिन । गर्नु हुने कि नहुने त्यसको पनि सीमा छैन । 

जीवनमा अनेक समस्याहरु आउँछन् र समस्याहरु योजनाबद्ध रुपमा आउने होइनन् तर कति समस्याहरुको संकेत भने आउँछ प्रारम्भिक अवस्थामा । त्यसको बेलैमा समाधान नगरे पक्कै नै अनपेक्षित समस्याहरुको साक्षात्कार गर्नै पर्ने हुन्छ । त्यसो त प्रत्येक समस्याको अन्तिम समाधान भनेको जीवनको अन्त्य हो । सबैभन्दा ठुलो रहस्य पनि जीवन हो र जीवनको अन्तिम सत्य पनि मृत्यु हो हाम्रो मृत्युलोकमा । त्यससम्बन्धमा अनेक साहित्यहरूको सृजना भएको छ तर कुनै पनि बेलामा आउने सक्ने समस्या र अपेक्षाका बारेमा थाहा पाउने मनोविज्ञानको अहिलेसम्म अनुसन्धान भएको थाहा पाइएको छैन । 

कुनै अपेक्षाले अभिभावकको आधार खोज्दो रहेछ, कुनै अपेक्षाले  जीवन साथीको सहयोग माग्दो रहेछ त कुनै अपेक्षाले अन्य साथीहरु र आश्रित रुपमा आफूलाई पुर्‍याएको थाहा पाइँदो रहेछ । बृद्धावस्थामा पनि पराश्रित हुने बेलामा आउने अपेक्षाले नयाँ जीवनको नयाँ मोडको समयमा पुर्‍याउने रहेछ । 

बाल्यकालमा एउटा खालको अपेक्षा हुन्थ्यो । किशोरावस्थामा अपेक्षाको नयाँ नयाँ संस्करण सुरु हुन्छ अनि युवा कालमा आउने कल्पनाले जब साकार रुप लिन थाल्छ, जीवन सुरु भएको मानिन्छ । प्रेम, विवाह, सन्तान र कमाइले नयाँ नयाँ अपेक्षाको थालनी हुन्छ र त्यसले प्रौढावस्थासम्म जीवनलाई डोर्‍याउँछ । अनि वृद्धावस्थामा छोरा,छोरी नाति नातिनी अनि सम्बन्धको सञ्जालको नयाँ जीवनमा अपेक्षा अरुसँग गर्न थालिन्छ । कुनै अपेक्षाले अभिभावकको आधार खोज्दो रहेछ, कुनै अपेक्षाले  जीवन साथीको सहयोग माग्दो रहेछ त कुनै अपेक्षाले अन्य साथीहरु र आश्रित रुपमा आफूलाई पुर्‍याएको थाहा पाइँदो रहेछ । बृद्धावस्थामा पनि पराश्रित हुने बेलामा आउने अपेक्षाले नयाँ जीवनको नयाँ मोडको समयमा पुर्‍याउने रहेछ । 

मैले कति कथा या कविता या निबन्धहरुमा जीवनको त्यस्तै रेसाहरु केलाउने क्रममा एउटा कथा लेखेको थिएँ । त्यसले नयाँ अपेक्षाको एउटा मोडमा कसरी कुनै मानिस पुग्छ या पुगिन्छ भन्ने मनोविज्ञानको सानो विश्लेषण गर्न चाहेको थिएँ । जस्तो कि 

कथा यस्तो छ । 
कथा
पालीकी आमाको एउटा अनपेक्षित संयोगान्त

१. सामान्य बेलामा जस्तो छैन उनको चालढाल । अनुहारमा चमक छ र हिँडाइमा फुर्ती पनि । लुगा पनि बिहेमा लगाउने जस्तो चमकदार र विशेष लगाएको पाएँ । अनि छोरी पनि सँगै छिन् । उनकै छोरी भनेर त अनुमान मात्र गर्ने हो किनभने आमासँग कतै अनुहार मिल्दैन तर एउटी आमाले मेरी छोरी भनेपछि मान्नैपर्‍यो । अन्न त जे छर्‍यो, त्यही नै त उब्जने हो, फल्ने हो । बारी वा खेत अनुसारको बाली कति सप्रने भन्ने त हुन्छ, त्योचाहिँ मानिसमा खासै नदेखिने रहेछ । त्यसैले होला, उनकै छोरी हो भनेर मान्नैपर्‍यो । छोरीको नाम चाहिँ अलि अप्ठेरो जस्तो लाग्यो । भन्छिन् -यो छोरीले मलाई पाल्नु पर्ने हुनाले यसको नाम मैले पाली राखेको । पाली त भाषा पनि हो , अनि हाम्रा पहाडका घरतिर पहिले पहिले दलानमा पानी नपरोस् भनेर पाली गाँस्ने चलन थियो । छानाभन्दा धेरै तलबाट गाँसिएर बनाएको अर्को छानासहितको दलान भन्ने सम्झन्थ्यौँ । सायद त्यसै भएर होला उनले पाली नाम राखेको । उनी त्यति पढे लेखेकी पनि होइनन् जस्तो लागेर एकदिन मैले जब सोधेँ कति पढ्नु भएको छ-उनले मलाई यस्तो अनपेक्षित जबाफ दिइन्- तपाईँलाई किन चाहियो मेरो पढाइ ? तर हाँसेर जस्तो कि नभन्नु पर्ने कारण त छैन तर नभने हुँदैन भनेजस्तै गरी । 

२.सामान्यतः मानिसहरुसँग कुरो गर्ने क्रममा के भनुँ भनुँ भनेको बेलामा सोधिने कुरा भनेको पिताजीको नाम, जन्मेको ठाउ , पढाइ, दाजुभाइ दिदीबहिनी  नपरेको पुस्तक , मन परेको ठाउँ आदि आदि नै हुन् । अझ हाम्रो समाजमा त कति मोटाएकी, कति दुब्लाएकी, गाला त भित्रैसम्म गडेछ वा भुक्क भएछ । मोटाएको वा दुब्लाएको कति सुहाएको वा नसुहाएको आदि । झन् बिहेको कुरा सोधिने त झन मामुली कुरा नै हो । धेरैजसो २५ देखि ३५ सम्मको केटीलाई सोधिने कुरा बिहे नै हो । आजभोलि पोते लगाएको देखेमा, सिउँदोमा सिन्दुर देखेमा बाहेक ती बिहे भएका पनि हुनसक्छन् ,बिहे नभएका पनि हुनसक्छन् । एकपटक त्यस्तै भयो । एउटी झन्डै ३५वर्ष जत्ति की जस्ती देखिने अपरिचित महिलालाई मैले सरकारी अफिसको भाडाको गाडीमा सोधेँ -तपाईँको नाम के हो ? उनले भनिन्-सजला । अनि थर के हो भन्दा पन्त भनिन् । मैले अनायास नै सोधेँ ,अहिलेको कि पहिलेको ? उनले झर्को मान्दै भनिन्-अहिलेको न पहिलेको । अनि मैले बुझ्नु परेको थियो ती भद्र महिलाको बिहे भएको छैन । मलाई बेकारमा अपरिचित महिलालाई सोधेको जस्तो लाग्यो तर परिचयको एउटा कडी नै हो नाम, थर, घर, पढाइ, पिताको नाम, आजभोलि माताको नाम पनि सोधिन्छ,स्वास्थ्य त अनुमानका भरमा सोधिन्छ । पति वा पत्नीको नाम र उस्तै परे छोराछोरीको नाम पनि । काम पनि सोधिन्छ । अलि आकर्षक तलब भएको र सुविधा भएको कार्यालय वा गैर सरकारी संगठन भए स्वयं खुलासा हुन्छ , यो एन जि ओ हो, तलब झन्डै एकलाख जत्ति । दुई लाख जत्ति । सोध्नै पर्दैन । तर मैले जब उनलाई उनको पढाइ सोधेँ , उनले झर्कोसँग त होइन तर मैले धेरै पढेको छैन भन्ने सोचाइ राखेको जस्तो गरी भनेकी जस्तो लाग्यो । तर मीठो भाषामा र शिष्ट लबजमा । 

३.आजभोलि कस्तो पनि हुन्छ भने सानै देखेर कुनै केटी वा केटालाई सोधिन्छ- अहिले कति क्लासमा ? अनि खासगरी केटीले सगर्व भन्छिन्-म त स्नातकोत्तर दोस्रो वर्ष । ए भन्यो अनि फुक्र्यायो- यति सानैमा पनि कति धेरै पढेको ? अनि कहिले लाग्छ पक्कै स्नातकोत्तर होला या स्नातक तहमा होला अनि सोध्यो-बी ए कि एम ए मा नानी ? उनले हाँस्दै लजाएर कक्षा नौ भन्छिन् । हेर्दै डडाक अनि हृष्ट पुष्ट शरीर । हेर्दै २४ या २५ जस्ती । नसोधे पनि हुने हो तर सोधिन्छ । यो एउटा सामाजिक चलन भएको छ । उहिले उहिले कति कक्षा भने पछि उसको कक्षा अनुसारको अंग्रेजी सोध्ने चलन थियो । गणितका सूत्र सोध्ने चलन थियो जस्तो कि कक्षा ९ भन्यो भने चरा उडिरहेको छ लाई अंग्रेजीमा अनुवाद गर त । या ए प्लस बीको  होल स्क्वायर कति हुन्छ ? यस्तै यस्तै । अचेल धन्न त्यस्तो त सोधिँदैन तर अनुमान गरिन्छ कति जानेको होला ? या त्यसै बी ए वा एम ए भनेको पो हो कि ? किनभने प्रमाणपत्र बाटा घाटामा देखाउनु त पर्दैन पनि । त्यसैले मैले सोधेको प्रश्नमा पनि उनले किन चाहियो ? भनेकी होलिन् । तर मैले सोध्न छोडिन र सोधेँ फुक्र्याउँदै-तपाईँको चालढाल हेर्दा लाग्छ स्नातक तह त पास गरेकै हुनुपर्छ । र मैले एउटा ठाउँमा छात्रा होस्टेलमा वार्डेन मागेको थाहा पाएको छु, सिफारिस गर्न मिल्ने हो कि होइन भनेर सोधेको । तर मेरो मनमा चाहिँ लागेको थियो कक्षा ८ सम्मचाहिँ पास गरेकी हुनुपर्छ । तर प्वाक्क सोधियो , फुस्किई त हाल्यो मुखबाट । त्यत्री छोरी छे , उमेर पनि झन्डै ३५भन्दा बढी छ जस्तो लाग्छ । त्यस्तो वार्डेनको ठाउँ पनि काल्पनिक नै भनेको हो । त्यस्तै पर्‍यो भने कतै भन्नु पनि पर्ला भनेर । तर आजको चालढाल चाहिँ उनको खुसीको लागि नै हो भन्ने अनुमान गर्न चाहिँ सकिन्थ्यो । 

४. उनको पसल छ । सबैले उनको व्यापारिक बानी बेहोरा मन पराउँछन् । भन्छन्-त्यो छोरीको बाबु कता छ, कसैलाई पनि भन्दिनन् । किन भन्नुपर्‍यो त ? आफ्नो गोप्य कुरा । कसैले सोधेको पनि त छैनन् होला । सबैका त गोप्य कुरा हुन्छन् नि, सबैले चाहिँ भन्दै हिँड्नु नपर्ने अनि पालीकी आमाले चाहिँ भन्दै हिँड्नु पर्ने हो र ? साँच्चै उनको नाम पनि थाहा छैन किनभने हामी सबै पालीकी आमा नै भनेर चिन्छौँ । तर हाम्रो समाज त्यस्तो छ कि बस्ने ठाउँ पनि दिन्छ अनि कतिका लागि बस्ने ठाउँ पनि हर्ने गर्छ बदनाम गरेर र बस्नै नहुने पारेर । कहीँ पालीका आमा पनि त्यस्तै बस्नै नसक्ने भएर भागेकी पो हुन्  कि कतैबाट ? उनको बोलीको लबजले लाग्छ पाल्पा, अर्घाखाँची , स्याङ्जा , गुल्मी कतै हो ? त्यो सोध्न पनि मलाई किन अप्ठेरो लागेको हो भने उनले फेरि पनि मलाई भनिन् भने- किन चाहियो मेरो जन्मस्थान , मेरा माता पिताको नाम ? उनको बेदना र दर्दको कुनै अनौठो कथा पो होला कि ? या उनले कुनै नयाँ पतिको लागि यो ठाउँमा कुरेर बस्ने गरी व्यवस्था पो मिलाएर बसेकी हुन् कि ? या कुनै पति पो छ कि ? तर आजको बोलीचाली र व्यवहारले नयाँ जीवनको सुरुवात पो गर्न लागेकी हुन् कि जस्तो पनि लाग्यो तर सोध्ने आँट गर्न सकिएन किनभने त्यो उनको निजी काम र व्यवस्था हो । अझ एउटा गलत तर बारम्बार घट्न थालेको घटनाप्रति मन गयो, कतै बलात्कारबाट पीडित महिलाको रुपमा कतै लुकेर समयलाई पर्खेर पो बसेकी हुन् कि? तर त्यो भावना पानीको फोका जस्तै बन्यो,फुट्यो । तर मेरो मनको क्यामेरामा भने त्यो कल्पना चित्रित त भयो । बिर्सिन खोज्दा सबैभन्दा पहिले त्यही कल्पना पहिले आउने गर्थ्यो । 

५. हामी उनको पसलमा जाने र पसलका सामानको प्रशंसा गर्ने स्थायी ग्राहकभित्रै पर्छौँ । उनी ठग्दिनन् भन्ने हाम्रो टोलमा सबैलाई थाहा छ । उनको पसलमा १०० रुपैया पर्ने सामान अरु पसलमा ३०० रुपैयासम्म पनि पर्छ भनेर भन्छन् । बोली पनि साह्रै असल र मिजासिलो छ । सामान्यतः आफ्नो विज्ञापन नगर्ने बानीकी पालीकी आमाका बारेमा सबैको अनुमान छ-अनमेल विवाहको परिणाम हुनुपर्छ यो पाली पनि र उनको यो गुप्त वास पनि । भन्न त कसैले भन्थे पहिले उनी कतै होटेल गरेर पनि बस्थिन् रे । त्यो बेलामा पनि उनका ग्राहकहरुले उनको प्रशंसा नै गर्थे रे । त्यो बेलामा नै एउटा असल ड्राइभर केटोले मनपराएको थियो रे । अनमेल विवाह र यौन आकाँक्षाको कुनै सन्देहसमेत कतै देखाएको कसैलाई थाहा छैन हाम्रो टोलमा । कसैले पनि उनलाई उत्ताउलीको रुपमा लिएका छैनन् । सबैले एउटी असल पसल्नी , मिजासिली पसल्नी र असल आमाको रुपमा लिन्छन् । पालीका साथीहरुलाई समेत उनले आमाभन्दा बढी माया गरेको मान्ने पनि छन् । कसैले त पाली साँच्चै उनकी छोरी हो के त भन्ने पनि छन् तर उनले छोरी भन्ने अनि छोरीले माया पाउने हुँदा हामीलाई केको खसखस लाग्नु नि ती आमा छोरी हुन् कि होइनन् भनेर । बहिनी पनि हुन सक्छे पाली तर छोरी भनेर उनले भनेपछि भैगयो नि ।

६. आमा सिँगार पटारमा छिन् । छोरी साक्षी बस्न लागेजस्तो गरी सिँगार पटारमा भए पनि त्यति खुसी देखिएकी छैनन् तर आजचाहिँ आमाको जस्तो सिँगार पटार पारेर होला, आमाजस्तै देखिएकी छिन् । अनि कतै मन्दिर जानेजस्तो गरी एउटा गाडी पनि तयार छ । आमा र छोरीबाहेक अरु कोही पनि साथमा छैनन् । हामी त बाटोमा हिँड्ने परिचित ग्राहकमात्र हौँ । छोरीले बिस्तारै भनिन् मैले सुन्नेगरी—अब हामी यहाँबाट जान्छौँ । तपाईँहरुसँग पछि पनि त भेट होला नि । तर आमाले फिसिक्क हाँसेर छोरीको कुरालाई स्वीकृतिसम्म दिइन् तर आँखाले केही बोलेनन् , ओठले पनि केही भनेनन् ।  शरीरले भने केही बोल्दै थियो र बिबाहको जस्तो लक्षण देखिन्थ्यो । शरीरको भाषा बुझ्न सजिलो पनि छ, गाह्रो पनि छ । आफ्ना आफ्नै अर्थ लगायो , बस्यो । तर आजको शरीरभाषा भने पालीको र उसकी आमाको सहज र मीठो लाग्ने खालको छ सकारात्मकता झल्कने । कतै विषाद छैन, कठोरता छैन र छ मात्र सहजता र सरलता । 

७. अनि मेरो पाखुरामा च्याप्प समाएर मेरो धेरै पहिलेको प्रश्नको सभ्य भाषामा तर सुस्तरी जबाफ भनिन्—मैले ५ कक्षामात्र पढेकी हुँ र यो छोरी एउटा अनपेक्षित बुढाको सापटी हो । सापटी शब्दभन्दा फेरि फिसिक्क हाँसिन् र त्यो साहुको पनि पहिले की बुढीको मृत्यु भएकाले मलाई फकाएर राखेको थियो । मलाई खासै दुःख त थिएन तर जतिबेर पनि म उसका लागि यौन दासी हुनुपर्ने जस्तो गरेकाले म भागेर छोरी लिएर हिँडे । अहिले उसले अर्को बिहे गरेको छ र म गाउँतिर जाँदा उसको भोक पूरा गर्नुपर्छ । म नियमले अहिले पनि उसकी बुढी नै हुँ र पनि कुनै खोजखबर पनि गर्दैन , रीस राग पनि गर्दैन । म स्वतन्त्र छु र ऊ पनि स्वतन्त्र छ । म विवाहिता पनि होइन तर उसले स्वतन्त्र छोडेकी उसकी नारी हुँ । मलाई उसले जहिले पनि हार्दिकताका साथ स्वागत गर्छ र विदाइ गर्छ । यो छोरीको नाममा थर तर मैले उसको दिइन । अहिलेको प्रेमीको थर दिएकी छु । त्यसमा पनि उसको कुनै विरोध छैन तर भन्ने गर्छ-मलाई मेरै छोरीले दागबत्ती देओस् जबकि उसका छोरा नाति छन् घर भरि । मैले आजसम्म पनि यो छोरीलाई उसको नाम र थर दिएकी छैन र थाहा पनि छैन उसलाई ऊ कस्की छोरी हो । 

८. मैले छोरीतिर इसारा गर्दै बिस्तारै सोधेँ-यो उसको पहिचानको हकको विरुद्धमा भएन र ? अनि उनले भनिन्- पहिचान त अहिले पो भएको छ मलाई र मेरी छोरीलाई । मेरो प्रेमी असल छ र पनि ऊ मसँग विवाह गर्न तयार थिएन । आज ऊ तयार भयो र म बिबाहका लागि दक्षिणकाली जान लागेकी । तपाईँ मेरो मौखिक र पहिलो साक्षी हुनुभयो मेरो विवाहको वारेमा । धन्यवाद छ तपाईँले मेरो कुरा ध्यानपूर्वक सुन्नुभएकोमा । 

९. अब मेरो पालो अलमलमा पर्ने रह्यो । यो आमा छोरीको पहिचान दिनेक्रममा अरु कसैको पहिचानमा र अधिकारमा पो हस्तक्षेप भयो कि ? परिवारको सल्लाहमा त्यो केटाले विवाह गर्न लागेको हो कि भावावेशमा आएर हो ? अनि मैले सुस्तरी भनेँ- यो विवाह असफल भयो भने नि ? उनले फिस्स हाँस्दै भनिन्-आजसम्म जुन चीज थिएन, त्यो भोलि पनि भएन भने म किन चिन्तित हुने र ? तर उसले धेरै पहिलेदेखि नै पालीको परिचयमा सहयोग गरेकोले अब म ढुक्क छु , म मेरो परिचयका लागि उसको सहयोग अपरिहार्य र अपेक्षित छ । हामी जता बसे पनि तपाईँको सहयोग भने पाई रहौँ हामी आमा छोरी र यसका कर्मका बाबुलाई । म किन पनि ऊसँग बिहे गर्न राजी भएँ भने उसले मेरी छोरीलाई छोरीको रुपमा अपनायो र विद्यालयमा नाम दर्ता गर्न स्थानीय तहबाट प्रमाणपत्र दिलायो आफ्नै नाममा । उसका पनि जहान छन्, बालबच्चा छन् र समाज छ । कसैको चिन्ता नगरी उसले मेरा लागि ठूलो खतरासँग जुधेको छ । यदि अलिकति कुरो रड्कियो भने हामी जेलमा पनि जान सक्छौँ र पनि उसले मलाई एउटा परिचय दिन थालेकोले म विवाह गर्न थालेकी हुँ उसैसँग । 

१०. अनि त्यो कार गुड्यौ । कार चलाउने उनै थिइन् । उनको पछि पछि उनको भावी पति अर्को कारमा गुड्दै थियो । छोरी आमासँगै कारमा हाँस्दै हामीलाई हात हल्लाउँदै गइन् । मलाई यो प्रेमको संयोगान्तले खुसी लाग्यो । सायद त्यही पसलको एउटा कुनामा रहेको होटेलमा आउने मध्ये कुनै उनलाई मन पराउने ड्राइभरले नै आफ्नो इमान्दारिता देखाउँदै पाणिग्रहण गर्ने होला र कन्यादान दिने अभिभावकचाहिँ  त्यही पाली होली जसले आफ्नो बाबुलाई आमा जिम्मा लगाउली । पाली पनि खुसी होली उसले बाबु पाई , उसका बाबु पनि खुसी होलान् उनले बहुप्रतीक्षित पत्नी पाए र पालीकी आमा पनि खुसी होलिन् उनले पालीका लागि एउटा पिता पाइन् र आफ्नालागि एउटा साथी । त्यस्तो साथी सायद अब छोड्नु पनि नपर्ला र छोडेर पनि नजाला । 

११. कानुनले के भन्ला , समाजले के भन्ला, आफन्तले के भन्लान् भन्दा पनि यो संयोगले जीवनको नयाँ गोरेटो खनेको छ पालीकी आमालाई । अब त्यो अन्यौलपूर्ण दिनहरु, गन्तव्य विहीन यात्राका समयहरू फेरि उसले भोग्नु नपरोस् । नयाँ नयाँ कानुन आउलान् तर कानुनले मात्र समाजलाई बाटो देखाउन कति असजिलो हुन्छ भन्ने कुरा पालीकी आमाको र पालीको नयाँ जीवनको सुरुवातलाई मैले नियालेर हेरेँ आँखा चिम्लेर । जीवनमा सबै कुरा अपेक्षित मात्र कहाँ हुँदो रहेछ र अनपेक्षित मात्र कहाँ रहँदो रहेछ र ? 
क्रमशः