भाषा जीवविज्ञानको अभिन्न अंश रहेछ

भाषा जीवविज्ञानको अभिन्न अंश रहेछ

राम लोहनी  |  दृष्टिकोण  |  मंसिर १४, २०८०

अहिले हाम्रो टीयूले एमएको लागि नयाँ भर्ना आह्वान गरेको छ। चार वर्षे स्नातक तहको चौथो वर्ष भर्खर सुरु भएकोले यो वर्ष विद्यार्थी भर्ना उसै पनि कम हुने निश्चित छ। पुराना ब्याचका विद्यार्थीहरू नै यो वर्ष एमए पढ्न आउने हुन्। त्यसो हुँदा गएको वर्षसम्म विद्यार्थी भर्नामा विभिन्न काँडेतार लगाउने विभागहरूले यो वर्ष उदारता अपनाएका छन्। जस्तो कि स्नातकमा अङ्ग्रेजी साहित्य नपढेकोले स्नातकोत्तरमा अङ्ग्रेजी नपाउने आदि। अब पाइने कुरा सुन्नमा आएको छ जबकि अन्तर्राष्ट्रिय प्रचलनमा यो नयाँ कुरा होइन।

यो प्रचलनलाई टीयूमा भित्र्याउने श्रेयचाहिँ भाषाविज्ञानलाई जान्छ। सुरुमा एमएबाटै सुरु गरेको हुनाले भाषाविज्ञानमा विद्यार्थी बटुल्न पनि त्यो रणनीति जरुरी थियो नै। त्यसै दैलोबाट बीएस्सीको सर्टिफिकेट देखाएर मैले पनि भाषाविज्ञान पढेको थिएँ।

आज फर्केर हेर्दा र आजसम्मको अनुभवअनुसार विज्ञान र कला (science and arts) को गज्जबको सङ्गम रहेछ भाषाविज्ञान भन्ने बोध भएको छ मलाई। प्राणीको संसारमा मान्छे भनेर चिनिने परिचय नै भाषा रहेछ। मान्छेलाई सही रूपमा जान्न भाषाको स्वरूपलाई जान्न जरुरी रहेछ भन्ने बिस्तारै ज्ञान हुँदै छ। दुःखचाहिँ केमा छ भने, यो कुरा किन पहिल्यै कसैले भनिदिएन!

मान्छेले आफू संसारको जुनसुकै कुनामा जाँदा पनि अर्थोक केही नलगे पनि लिएर जाने पहिलो सम्पत्ति भनेको भाषा हो। अफ्रिकाबाट जति पनि दासहरू अमेरिका युरोप लगियो, उनीहरूले अर्थोक केही लैजान सकेनन् तर आफ्नो भाषा लगे र मालिकहरूका भाषाहरूमै रूपान्तरण ल्याइदिए। सृष्टिको अचम्मको रहस्य के छ भने, सानो बच्चाले अरू केही जान्दैन तर दुई-तीन वर्षको हुँदा सम्ममा कम्तीमा एउटा भाषामा एक प्रकारको पोख्तता हासिल गरिसक्छ। त्यो कसरी हुन्छ भन्ने रहस्यको गाँठो भाषाविज्ञानले फुकाउन कोसिस गरिरहेको छ अहिले। त्यसैले भाषा एउटा विशुद्ध कला मात्र नभएर जीवविज्ञानको अंश भएको छ।

भाषा रहने स्थान भनेको मानव मस्तिष्क हो। त्यसैले भाषालाई  मस्तिष्क बुझ्ने आँखीझ्याल भनेर मान्न थालिएको छ। त्यसकै रिफ्लेक्सन हो, हामी अहिले हाम्रो विभागमा cognitive science को कोर्स‌ पनि डिजाइन गरिरहेका छौँ। हिजोआजको बजिङ विषय आर्टिफिसियल इन्टेलिजेन्सको लागि पनि भाषाको ज्ञान अनिवार्य हुन्छ। Computational linguistics कम्युटर साइन्सको लागि अनिवार्य अध्ययन विषय हो। सामाजिक सम्बन्ध कायम राख्ने भनेको पनि भाषा र सम्वादमार्फतै हो। जस्तो कि नेपालीमा तँ, तिमी, तपाईँ, हजुरको प्रयोग कस्तो हुन्छ, कसरी हुन्छ भन्ने कुरा हामी अध्ययन गर्न सक्छौँ। उसै गरी गौर गरेर हेर्दा भाषाको स्वरूपमा विभिन्न कारण बिस्तारै परिवर्तन भइरहेको देखिन्छ। यो परिवर्तनको दर पछिल्लो समय द्रुत गतिले बढेको छ। विभिन्न भाषाभाषीहरूको सोझो सम्पर्क बढ्न थालेपछि एकार्कालाई प्रभाव नपारी छोड्दैनन्। भाषिक लेनदेन आजको यथार्थ हो। त्यो कसरी हुन्छ, कस्तो हुन्छ भन्ने जिज्ञासालाई शान्त गर्ने भनेको भाषाविज्ञानले नै हो।

फ्यासन डिजाइनरले बजारमा प्राप्त कपडाको भराइटीलाई काटकुट छाँटछुट पारेर, गाँसगुस पारेर फरक आकारका, फरक डिजाइनका बस्त्र बनाउने‌ मात्र हो। भाषाको वैज्ञानिक ज्ञान र भाषाको प्रायोगिक कला त्यस कारण फरक कुरा हुन्। माटोको भाँडा बनाउनेले कुन माटोको कस्तो भाँडा बन्छ त जान्दछ तर माटोको रसायनिक र भौतिक ज्ञान जान्दैन, जान्न जरुरी छैन।

हामीलाई इतिहासको चासो छ तर सबैतिर लिखित डकुमेन्ट पाइन्न। इतिहास बुझ्ने माध्यम पनि आज बाँचेका भाषा नै हुन्, जसलाई linguistic paleontology भनिन्छ। मेरो विचारमा नेपालको सही इतिहास नलेखिनुको कारण भाषिक पुरासत्व (linguistic paleontology) र भाषिक पुरातत्त्व (linguistic archeology)को कोणबाट इतिहासको अध्ययन नभएकोले गर्दा हो किनकि हामीसँग लिखित दस्तावेज त एकदम सीमित छ। लिखित दस्तावेज नहुनेको इतिहास नहुने त पक्कै पनि होइन।

पछिल्लो समय हामीकहाँ भाषाविद् र साहित्यकारको सीमारेखा गाँजेमाजे पारिएको छ। भाषाको संरचनात्मक स्वरूपको पहिचान गर्ने कुरा र भाषाको प्रयोगको स्वरूपको निर्धारण गर्ने कुरालाई मिसमास पारिएको छ। त्यसको मतलब के हो भने, कपडा बुन्ने कला र फ्यासन डिजाइनरलाई हामी एकै आँखाले हेरिरहेका छौँ। साहित्य र भाषाको प्रयोग भनेको फ्यासन डिजाइन र कपडाको बुनोट जस्तै हो। साहित्यले यथारूपको भाषालाई कलात्मक डिजाइनिङ दिने मात्र हो।‌ कपडाको बनोट कस्तो हुन्छ, यसको ताना के हो, बाना के हो, यसमा कस्ता बुट्टा कसरी हालिन्छन्, चेक भनेको के, धर्के भनेको के, यो कुरा फ्यासन डिजाइनरको चासोभित्र पर्दैन। फ्यासन डिजाइनरले बजारमा प्राप्त कपडाको भराइटीलाई काटकुट छाँटछुट पारेर, गाँसगुस पारेर फरक आकारका, फरक डिजाइनका बस्त्र बनाउने‌ मात्र हो। भाषाको वैज्ञानिक ज्ञान र भाषाको प्रायोगिक कला त्यस कारण फरक कुरा हुन्। माटोको भाँडा बनाउनेले कुन माटोको कस्तो भाँडा बन्छ त जान्दछ तर माटोको रासायनिक र भौतिक ज्ञान जान्दैन, जान्न जरुरी छैन। त्यसैले माटो बारे जान्न कुमालेकहाँ होइन, माटो वैज्ञानिककहाँ नै पुग्नुपर्छ।

यस्ता अनगिन्ती क्षेे‌त्र छन्, र सायद त्यस्तो कुनै क्षेत्र छैन, जहाँ भाषाबिना कुनै कुराको कल्पना गरिएको होस्। वास्तवमा कल्पनाको माध्यम नै भाषा हो। कल्पनालाई बुझ्न भाषालाई बुझ्न जरुरी छ। मानवेत्तर प्राणीमा कल्पनाको सीमितताको रहस्य नै भाषा हो। नोम चोम्स्की जस्ता वैज्ञानिक अहिले physical law of language को चर्चा गर्दै छन्।‌ त्यस्तो के भौतिक परिस्थिति थियो, जसले मान्छे भनिने प्राणीमा भाषिक क्षमताको विकास गरायो भन्ने चोम्स्कीको अनुसन्धानको पछिल्लो चासो हो। भाषा नै यस्तो विषय हो, जसले मान्छेको विभिन्न संज्ञानात्मक क्षमतालाई mapping गराउने काम गर्छ भन्ने चोम्स्कीको पछिल्लो विचारले वैज्ञानिकहरूले खोजेको unification of sciences को ढोका खोल्छ भन्ने दाबी चोम्स्कियनहरूको छ।

प्रकृतिको भाषा गणितीय सूत्रमा छ भन्छौँ। हाम्रो शरीरको रचनाको जड genetic code पनि एउटा भाषा नै हो। ब्रह्माण्डको रचना random भएको छैन भने त्यसको पनि एउटा कोड त पक्कै छ। ब्रह्माण्डको भौतिक संरचनाको कोड होस् वा जीवनको सृष्टिको कोड होस्, त्यसलाई खोतल्ने सूत्र अहिले कतै छ भने भाषाको सूत्रमै छ किनभने भाषाले अभौतिक विचार र त्यसको भौतिक अभिव्यक्तिलाई जोड्ने काम गर्छ। त्यसैले भाषा कुनै सामाजिक सिर्जना नभएर प्राकृतिक वस्तु (natural phenomenon) हो। तर, यसको अस्तित्वको संसार भने समाज हो। भौतिक र अभौतिकको कुँजी बुझ्न भाषाको संरचनाको मर्मले सहयोग पुर्‍याउँछ भन्ने दाबी आजको भाषा वैज्ञानिक दाबी हो। यो दाबी र चुनौतीलाई सामना गर्ने चाहना कसैलाई छ भने, त्यस्तो युवा जोसको लागि भाषाविज्ञान उपयुक्त छनोटको क्षेत्र हुन सक्छ।

(लोहनीको अनुमतिमा उहाँको फेसबुकबाट साभार!)